Above News Title

थारू गीत–सङ्गीतको बाटो कता ?

थारू गीत–सङ्गीतको बाटो कता ?

                                                       
१. विषयप्रवेश
भनिन्छ, भाषाको विकास हुनुभन्दा पहिले ध्वनिको विकास भएको थियो । त्यही प्रकृतिमा पाइने मीठो ध्वनिहरूको मानिसहरूले पत्ता लगाइ संयोजन गरी प्रयोगमा ल्याए । ललितकलाका विधाहरू चित्रकला, मूर्तिकला, वास्तुकला, नृत्यकला, नाट्यकला, साहित्यमध्ये सङ्गीतकला पनि एक हो । आफ्नो मनमा रहेका विविध भावनालाई सुर, ताल र लयको माध्यमबाट कलात्मक तरिकाले पोख्नुलाई सङ्गीत भनिन्छ । साधारणतयः सङ्गीत भन्नाले केवल गायन मात्र हो भनेर बुझिने गरिन्छ तर शास्त्रीय आधारमा हेर्ने हो भने गीत, वाद्य तथा नृत्य यी तिनै कलाको समुदायलाई सङ्गीत भनिन्छ । प्राचीनकालमा गायन, वादन तथा नृत्य कलाहरूको प्रयोग प्रायः एकैसाथ हुन्थ्यो । आजकाल गायन, वादन तथा नृत्य कलाहरूले आ–आफ्नो क्षेत्रमा छुट्टै महत्व राखेको पाइन्छ । विश्वको इतिहास पल्टाउने हो भने सङ्गीत प्राचीन कालदेखि नै स्वतन्त्र रुपमा प्रयोग भएको पाइन्छ । 
नेपालमा शास्त्रीय सङ्गीतको सुरुवात लिच्छवि कालदेखि नै भएको पाइन्छ । संसारमा अहिले लगभग तीन प्रकारका सङ्गीत प्रचलित छन्– शास्त्रीय सङ्गीत, आधुनिक सङ्गीत र लोक सङ्गीत । सङ्गीतले हामीलाई मानसिक तथा आध्यात्मिक दुबै किसिमको आनन्द दिलाउँछ । चाहे सुखमा होस् या दुःखमा या मनोरन्जनका लागि होस्, हामीले सङ्गीत श्रवण गर्ने गर्दछौँ ।  यसले हामीलाई सकारात्मक उर्जा प्रदान गर्दछ । भाषा नबुझे पनि श्रोताले सङ्गीत सुनेर आनन्द लिन सक्छन् । त्यसैले सङ्गीतलाई विविधतायुक्त अन्तर्राष्ट्रिय कला भन्दा फरक पर्दैन । 
सङ्गीतले पहिचान, रितिरिवाज, भाषा, र संस्कृति झल्काउने काम गर्छ । झन् थारू समुदाय त गीत सङ्गीत बिना नै अपूरो हुन्छ । २०१६÷०१७ सालतिरै बाराका संगीत उस्ताद रामप्रसाद राय थारूले थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभामार्फत् गाउँ गाउँमै गीत गाउँदै गीतमार्फत् जनचेतना फैलाउने काम गरे । लोकगीतमा सीमित थारू गीतलाई आधुनिक गीतमा छिराउने श्रेय उनै रामप्रसाद राय थारूलाई जान्छ । उनको थरुहटके बौवा और बहुरिया (२०१९) पुस्तकमा जनचेतनाका लागि गाइएका गीत समेटिएका छन् । थारू गीत–सङ्गीतको बाटो शीर्षक दिइएको यस लेखमा थारू गीत सङ्गीतको इतिहास भन्दा पनि अवस्थालाई बुँदागत रुपमा नियाल्ने प्रयास गरिएको छ ।
२. थारू समुदायः लोकगीतको भण्डार 
खास गरी पश्चिमा थारू समुदायमा सजना, मैना, होरी, अस्टिम्की, सख्या, सुर्खेल, ढमार, मघौटा, बरमासा, रतनचवा, दिननचवा, बिरहैन जस्ता अनेक थरि लोकगीतको भण्डार रहेको छ । थारू जातिको हरेक महिना र पहरमा गाउने विभिन्न खालका गीत छन् । जस्तो कि बैशाखमा सजना, राम जलम, बहला झुल्ना गीत, जेठमा सजनी, सजना गीत, असार तथा साउनमा सिङग्रु, राजा चरिवल, घोघर, बैठाउन गीत, भदौमा अस्टिम्की, उदासी, गीत गाइन्छ । त्यस्तै, असोज र कार्तिकमा सख्या, फूलवार, बर्किमार, जितिया, झमटा गीत, जर्माैटी, करनौटी, लाला, डफक गीत, ढमार, बिरहैन चाँचर गीत, मंसीरमा साँची, जर्मौटी गीत, पुस र माघमा मघौटा, मैना, लगुनी, बनगीत, फागुनमा माँगर, होरी (ढुरहेरी गीत) र चैतमा सजना र सजनी गीत रहेका छन् । यसैगरी बरमास्या नाच र बरमास्या गीत भने बाह्रै महिना गाउन र नाच्न मिल्छ । यसरी नाच नगरी सोभैm गाइने गीतहरू पनि प्रशस्त रहेका छन् (दहितः २०६२ः १३४) ।
एक पहरमा गाइने गीत अर्को पहरमा गाउन पाइँदैन । हुरडुङ्वा नाचमा राम कहरा (दिउँसो गाइने गीत), लटिया (साँझपख गाइने गीत), बिहग्रा (झिसमिसे बिहान गाइने गीत) बर्किमार (बिहानमा उज्यालोमा गाइने गीत) हुन् । थारू लोकगीत गेयात्मक र लयात्मक छन् । गायन सँगसँगै नृत्यका रूपमा पनि गीत प्रस्तुत गरिएका पाइन्छन् । सामान्यतया ६ श्लोकदेखि लिएर बृहत महाकाब्य स्तरका लामा प्रकारका गीत पनि छन् । थारू लोकगीतलाई विभिन्न आधारमा वर्गीकरण गर्न सकिन्छ । फनिश्याम थारूले (२०७०ः १६) ऋतुगीत, सामाजिक गीत, धार्मिक गीत तथा अन्य गरी चार वर्गमा वर्गीकरण गरेका छन् । त्यस्तै, गोविन्द आचार्यले संस्कार गीत, चाडपर्व गीत, ऋतु गीत, श्रम गीत र बाह्रमासे गीत गरी पाँच वर्गमा वर्गीकरण गरेका छन् (आचार्य, २०६३ः ३७) । त्यस्तै, दिवस र प्रधानले पनि गायनको आधारमा संस्कार गीत, चाडपर्व गीत, ऋतु गीत, श्रम गीत तथा बाह्रमासे गीत गरी पाँच वर्गमा विभाजन गर्न सकिने मत राखेका छन् (दिवस र प्रधान, सं. २०६५ः २३६) । 
३. थारु लोकगीतको दस्तावेजीकरण
मौखिक रुपमा रहेको थारू समुदायको लोकगीत अब लिखित रुपमा दस्तावेजीकरण हुन थालेको छ । थारू आयोगले २०७८ सालमा ‘थारू लोक गित मोट्री’ प्रकाशन गरेको छ, जसमा २५३ थान लोकगीत समेटिएको छ । यसमा राना, कठरिया, डेसौरी, डंगौरा, चितवनिया, नवलपुरिया, पूर्वीया सबै क्षेत्रका गीत समेटिएका छन् । यो पुस्तक थारू लोकगीत क्षेत्रमा कोशेढुंगा हो भन्दा फरक परोइन । यसमा संकलित प्रायः लोकगीत भने रेकर्ड हुन सकेको छैन । यदि यी गीत समयमा रेकर्ड भएन भने यी गीतको भाका पनि लोप हुँदै जाने देखिन्छ । 
थारू समुदायको चाडपर्व मनाउने तौरतरिकादेखि विवाह संस्कारमा पनि निकै फेरबदल आएको छ । आम नेपाली समुदायको दसैं तिहार आयो भने त्यससँग सम्बन्धित सयौं गीत रेडियो, टिभीबाट बज्न थाल्छ । तर थारू समुदायको माघी, अस्टिम्की लगायत चाडमा थरुहट क्षेत्रका एफएम रेडियोमा खै ती चाडसँग सम्बन्धित थारू लोकगीतको झंकार ? किनकी त्यस्ता गीत नै रेकर्ड भएका छैनन् । 
थारूहरूको विवाहमा विभिन्न गीत गाइन्छ, जसलाई माँगर भनिन्छ । मुख्य विवाहको अघिल्लो साँझ डिउली डर्ना संस्कार सम्पन्न गर्दा, दुलहालाई लुगा लगाइदिदा, दुलहा जन्ती हिँड्दा, दुलहा ससुराल पुग्दा, सम्धी मिलन अनि दुलही निकाल्दा फरक फरक लयको माँगर गाइन्छ । तर यी माँगर गीत रेकर्ड हुन सकिरहेको छैन । जसले युवा पुस्ताले यी गीत बिर्सिदै गएको छ भने थारूहरूको बिहेभोजमा हिन्दी, भोजपुरी, नेपाली गीत घन्किन थालेको छ । 
कृषि थारू समुदायको पुख्र्यौली पेशा हो । खेतीपातीका बेला गाइने गीत भरमार छन् । विभिन्न सुमदायमा श्रम गर्दागर्दै या श्रमको अघिपछि गीत गाउने चलन छ । यसले श्रमिकको थकान मेटाउँछ । थारू समुदायमा पनि श्रम गीत रहेका छन् । खेतीपाती सकिएपछि एक नवदुलही माइत जाने विचार गर्छिन् । यस श्रम गीत सजनामा माइत गइरहेकी श्रीमतीलाई श्रीमान्ले सम्झाएका छन् । यस्तो भरिएको नदीमा तिमी कसरी माइती जाउली भन्दा आफैँ डुंगा बनाए जाने बताएकी छन् ।     
डेस गइलुँ डेस डुनियाँ रे, कि छैंला पटुरिया ।
कौने बिढि उटरुँ मै पार, नैहर बरि डुसे ।।१।।
नैहर–नैहर जिनि करो ढनियाँ रे, नैहर बरि डुसे ।
डस कोस नडी भरियाइ, चौंरासि कोस बनवाँ ।।२।।

काठ कटैबुँ पाँडन फरहि रे, नडि रे बिचे ढरबुँ ।
उटरि जैबुँ नडि कइ पार्हे, नैहर हिरकि जैबुँ ।।३।।

              स्रोत ः ईश्वर (सागर) चौधरी, लमही नपा–१, नर्ती देउखुरी–दाङ
उदाहरणको रुपमा दिइएको यस्ता मौलिक सजना गीतहरु पनि रेकर्ड हुन सकिरहेको छैन । यो दुःखद पक्ष हो । 
४. थारू गीत सङ्गीतमा व्यावसायिकता 
हालको अवस्थालाई नियाल्ने हो भने थारू गीत सङ्गीत व्यावसायिक ढंगले अगाडि लम्किदैछ भन्दा फरक परोइन । परशुराम चौधरीको निर्देशनमा २०४९ सालमा बनेको थारू भाषाको पहिलो फिल्म करमपछि थारू गीत सङ्गीतको बाटोमा व्यावसायिकता थपिएको मान्न सकिन्छ । तर पचासको दशकमा जुन हिसाबले थारू गीत सङ्गीतको बाटो फराकिलो हुनुपर्ने हो, त्यो भएन । त्यसो त २०५४ सालमा रेशम चौधरीले भुवर विहान, युनिक नेपाल, बर्दियाले ओजरार डगर तथा थारू साँस्कृतिक समाज, ललितपुरले घर भेलै कोशीके पार थारू गीति क्यासेट ल्याएका थिए । २०५७ सालमा सुशील चौधरी र सुमित्रा चौधरीको लखारगीन, २०५८ सालमा प्रेम म्यूजिक, कैलालीको विछोड, २०५९ सालमा पतिराम चौधरी, प्रमिला चौधरीको माधो सुन्दरी लगायत औंलामा गन्न सकिने थारू गीति क्यासेट मात्रै  पचासको दशकमा आएको देखिन्छ (दहित र सर्वहारी, सन् २००६ः ५१–५५) । संघीय राजधानी काठमाडौंमा २०५९ सालमा पहिलो पटक माघी महोत्सव मनाउन सुरु गरिएपछि स्टेजमा थारू गीतको जोडदार उपस्थिति हुन थाल्यो ।
साठीको दशक थारू गीत सङ्गीतको स्वर्णिम काल हो । कैलालीबाट आएको चम्पा फुलवारे (२०६०) क्यासेटले थारू गीतमा एक किसिमको मानकता बनायो । यही गीति क्यासेटबाट मनिराम चौधरीको नाम हिट भयो । अहिले उनलाई थारू लोकमहागायक समेत भन्न थालिएको छ । कैलालीबाट मोर चम्पा फूलवारे, रोजल दुल्हनिया, दुलहा घुमे मरुवा, हमार बगिया, चमेलीक फूला, सोल सिंगार, पुर्खा सैडान, टुटल अस्रा, जानकी कुँवारी, बर्दियाबाट दिलके आवाज, हमार अर्जी, साँवर गोरिया, सुग्घर साली जस्ता गीति क्यासेट, दाङबाट दाङसे बुह्रान, राउट डमन्ड्वा, साली भाटु, सुर्खेतबाट भ्याँवक घर लगायत गीति क्यासेटले थुप्रै लोकगायक जन्मायो (दहित र सर्वहारी, सन् २००६ः ५१–५५) । यी गीतमा गैरथारू गायकहरूको पनि स्वर रह्यो । जनआन्दोलन २०६२÷६३ पछि अधिकार, पहिचानकेन्द्रीत गीतको सुरुवात त भयो तर यसले निरन्तरता पाउन सकेन, बरु माया प्रेमकै चर्चा गरिएका साली भाटुको गीतको बर्चस्व रह्यो । 
प्रविधिले मारेको फड्कोले सत्तरीको दशकबाट गीत सुन्ने मात्रै होइन, हेर्ने प्रणालीको विकास भएको छ । गीत रेकर्ड गरी भिडियो बनाई रिलिज गर्ने परम्परा बसेको छ । यसबाट थारू गीतसङ्गीत पनि अछुतो छैन । २०७८ माघ २७ गते सुवेश कठरियाको शब्द, गणेश चौधरीको सङ्गीत अनि अन्नु चौधरी र आरके थारूको स्वर रहेको ‘मन लागेना’ थारू गीतले थारू सङ्गीतको इतिहासमै पहिलोचोटि १ करोड भ्यूज रेकर्ड राख्न सफल भएको छ । तर पछिल्लो समय थारू गीतहरूमा गैर थारूहरूको अत्यधिक मात्रामा प्रयोग भएको पाइन्छ । थारू गीतहरूमा थारू संगीतकार, एरेन्जर तथा भिडियोमा कलाकारलाई नै प्राथमिकतामा राखी अभिनय गराए सुनमा सुगन्ध थपिने थियो ।
५. खै थारू बालगीत ?
बालबालिकाहरूलाई उनीहरूको मातृभाषामा उनीहरूको शब्द सुहाउँदो गीत गाएर सुनाउँदा, अभ्यास गराउँदा भाषा, साहित्य सिकाउन धेरै नै मद्धत गर्छ । त्यसैले थारू बालगीतहरू आउन निकै जरुरी देखिन्छ । तर थारू सङ्गीत जगत्मा बाल गीतको खडेरी नै छ भन्दा फरक नपर्ला । इन्दु थारूको शब्द र निर्देशन अनि सीएल चौधरीको संगीत संयोजन, मनिष थारू र मिस्मिता चौधरीको गायन रहेको ‘हमार बाल अधिकार’ नामक् थारू गीत रेकर्ड भएको पहिलो थारू बालगीतको रुपमा चिनिन्छ । यो गीत सन् २०१९ मा रेकर्ड भए पनि युट्यूबमा सन् २०२१ मात्र अपलोड भएको हो । 
भिन्सरहिया उठ्क ग्वाबर ना करहाउ
आने घर छेगरि भेरि चरहाइ ना पठाउ
स्कुल पठाउ ग्यान गुनके बाट सिखब
पह्र लिख पैना ट हो बालअढिकार
सजना, माँगर, ढमार गिट गैना मन लागठ
सखिया, झुमरा मँुगरहवा फे नच्ना मन लागठ

यो गीतले बालबालिकाको हक अधिकारको कुरा गरेको छ । २०७८ माघको दोस्रो सातामा हमार म्यूजिक बगियाको युट्यूब च्यानलबाट ‘बेबी आउ ना खेले’ भन्ने गीत अपलोड भयो जसमा शेखर (छोटा ¥यापर) नाम गरेको नाबालकको दुरुपयोग भएको देखिन्छ । उनले ‘नाच छैली नाच’ जस्ता थारू ¥याप गीत पनि गाइसकेका रहेछन् । यी दुबै गीतमा उमेरभन्दा भारी शब्द उनलाई गाउन लगाइएको छ । यस्ता गीतसंगीतले बालबालिकामा नकारात्मक असर त पर्छ नै बालमस्तिष्कले भविष्यमा कस्तो आकार लिन्छ ? सोचनीय विषय हो । बालबालिकालाई कस्तो गीतमा सहभागी गराउने हामीले सोच्ने बेला आएको छ । यो पक्कै पनि गम्भीर विषय हो । 
अर्को थारू बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ (सन् २०२०) इन्दु थारूकै शब्द, सङ्गीत, अनि निर्देशन, सी.एल चौधरीको संयोजनमा रहेको यो गीतमा मनिष थारू र अमृता चौधरीको आवाज रहेको छ । यसपछि कुनै पनि थारू बाल गीतहरू सुन्नमा आएनन् । संगीतकार सीएल चौधरकिा अनुसार अब चाँडै नै इन्दु थारूकै शब्द रहेको अर्को बालगीत ‘हमन जन्ना हक बा’ रेकर्ड भई रिलिज हुने तयारीमा छ । थारू समुदायले पनि नयाँ पुस्ताहरूलाई थारू गीत सङ्गीतको अभ्यास गराउन आवश्यक छ । थारू बालबालिकाहरूलाई मौका दिए उनीहरूले पनि यस क्षेत्रमा टेवा पु¥याउन सक्छन् । यसो गर्दा हाम्रो गीत सङ्गीत, भाषा, संस्कृति सधैँ जीवित रहनेछ । अनि नयाँ पुस्ताले थारू सङ्गीतको माटोलाई मलिलो बनाउन कहिले कसर छाड्ने छैनन् । 
६. आधुनिक प्रभाव
पछिल्लो समय केहि थारू साँस्कृतिक गीत आए तापनि आधुनिक गीत नै हाबी बनेको छ । अहिले युट्यूबमा थारू ¥याप गीत सर्च गर्ने हो भने छ्याप्छ्याप्ती पाइन्छन्, जुन सबैजसो बेअर्थका शब्द संयोजन गरिएका छन् तर अपवादमा भने ‘कमैया’ शीर्षकको गीतले ¥यापमा नै थारू समुदायको कथा उठाएको छ, जसलाई राम्रो प्रयास मान्न सकिन्छ । 
थारू सङ्गीत अझै पनि एउटै धारमा बगिरहेको छ । यसो झट्ट मात्रै सुन्ने हो भने थारू गीत सुनेको भान हुँदैन । आधुनिक प्रभावले मौलिक स्वादको अभाव देखिन्छ । माया प्रेमका गीतहरू अधिक मात्रामा फस्टाइरहेको छ । ‘आदिवासी थारू हम्रे’, कौनो किल्लामे नै छुट्लि जस्ता केही अपवादका गीतहरूले मात्र पहिचान अनि अधिकारका कुरा उठाएको छ । थारू इतिहास, कमैया कमलरीको कथाव्यथा बोकेको रेशम चौधरीको थारू फिल्म ‘कमैया’ मा समावेश गीत ‘माटिके ओरहौना, माटिके बिछौना’ सुन्दा सायद जो कोहीको मन भक्कानिन्छ । 
‘लाल लाल बायो, सबके रगटवा
कोहि मालिक, कोहि कमैया हो’

उनले गीतमार्फत् सबैको रगत रातो छ, तर कोही मालिक त कोही कमैया किन ? भन्ने प्रश्न गरेका छन् । तर अहिले साँच्चै उनलाई सरकारले कमैयाकै व्यवहार देखाएको छ । पहिचान रहे मात्र हाम्रो अस्तित्व रहन्छ । के हामी थारू अधिकारका लागि पछि हटिरहेका त छैनौँ ? वास्तवमा कमैया फिल्मका गीतले जति थारू समुदायको आवाज बोलेको छ, अरु थारू सिनेमामा खास थारू मौलिकता भेटिदैन । सबैभन्दा बढी थारू सिनेमा बनाउने परशुराम चौधरी लगायत थारू फिल्म निर्माताहरूको यतातिर ध्यान जानु जरुरी देखिन्छ ।  
७. उपसंहार
पहिले पुर्खाहरूले रातीदेखि झिसमिसे बिहानसम्म पनि गाउँथे । विभिन्न चाडपर्व अनुसार गीतहरू गाइन्थ्यो र बाजा बजाएर नाच्ने गरिन्थ्यो । अहिले गाउँमा पुर्खाहरूले गुनगुनाउने ती धुनहरू सुन्न पाइदैन । अनि धुनसँगै लय मिलाउँदै लहङगा फरफराएर कसले नाचिदिने ? नयाँ पुस्ताहरू यहाँ डिजेकै धुनमा कम्मर मर्काइरहेका छन् ।  आधुनिकताको नाउँमा थारू गीत सङ्गीतले विकृति र विसङ्गतिको रुप लिइरहेको छ । थारू मौलिकपन बोकेको लोकगीतहरू नयाँ पुस्तामा हस्तान्तरण हुनुको साटो ओझेलमा परिरहेका छन् । परम्परागत गीतलाई आधुनिकताले छोपेर क्यासेट नृत्यले ओझेल पार्दैछ । यसको संरक्षणका लागि यी लोकगीतको प्रतियोगितादेखि रेकर्ड पनि गरिनु आवश्यक छ । समय परिस्थिति अनुसार परिवर्तन हुन जरुरी छ तर पहिचान नै भत्किने गरी परिवर्तन भए थारू गीत सङ्गीत भविष्य ओझेलमा पर्नेछ । त्यसैले थारू गीत संगीतलाई आत्मसत, संरक्षण गर्ने जिम्मा एवम् कर्तव्य अब नयाँ पुस्ताको हो । 


सन्दर्भ सामग्री
थारू, फनि श्याम । २०७० । थारू लोकसांहित्यः एक अध्ययन, सुनसरीः श्यामाकुमारी  थारू ।
दहित,  गोपाल    । २०६२ । थारू संस्कृतिको संक्षिप्त परिचय, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान । 
दहित,  गोपाल र कृष्णराज सर्वहारी     । सन् २००६ । बिब्लियोग्राफी अफ इन्डिजिनियस इथ्निक थारू ।  काठमाडौंः थारू बौद्धिक तथा राष्ट्रिय अनुसन्धान केन्द्र नेपाल ।
दिवस, तुलसी र प्रमोद प्रधान (सम्पा.)  । २०६५ । थारू लोक वार्ता तथा लोक जीवन, काठमाडांैः नेपाली लोकवार्ता तथा संस्कृति समाज । 


स्रोतः स्मारिका २०७९ (पृ.९३–९७), थारू आयोग
 

प्रकाशित:

१३८३ दिन अगाडि

|

३१ साउन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९