थारु  लोकसाहित्यप्रतिको रुझान र साहित्य सम्मेलनको साइनो

थारु  लोकसाहित्यप्रतिको रुझान र साहित्य सम्मेलनको साइनो

१२५१ दिन अगाडि

|

१३ जेठ २०८०

राष्ट्रपतिले फायल फिर्ता पठाएः छुट्छन् त रेशम चौधरी ?

राष्ट्रपतिले फायल फिर्ता पठाएः छुट्छन् त रेशम चौधरी ?

१२५२ दिन अगाडि

|

१२ जेठ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धि प्रस्ताव फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आममाफी सम्बन्धी  फाइल गृहमन्त्रालयमा फिर्ता गरेको  हो । कानुनवीदहरुका अनुसार यसले अब पूर्वसांसद रेशम चौधरीलाई सजाय माफी गर्न बाटो खुल्यो  । राष्ट्रपतिको रामचन्द्र पौडेलको सचिवालयकाअनुसार कानुन कार्यार्थ राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको उनले सचिवालयले जनाएको छ । साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ । (यस अघि पोष्ट गरिएको शीर्षक सच्याइएको)  

टीकापुर घटना: न्यायको खातिर लामो संघर्ष

टीकापुर घटना: न्यायको खातिर लामो संघर्ष

१२५४ दिन अगाडि

|

१० जेठ २०८०

सीएन थारू टीकापुर घटनाबारे सर्वोच्च अदालतले अन्तिम फैसला यही जेठ २ गते दियो । त्यसको विस्तृत नोट तीन गते सार्वजनिक भएपछि राजनीति तातेको देखिन्छ । नक्कली भुटानी प्रकरण मुद्दाले राजनीतिलाई तताएको समयमा सर्वोच्च अदालतको टीकापुर घटना बारेको फैसला सञ्चार माध्यममा यो पटक प्रखर रूपमा देखा परेन ।  टीकापुर घटनामा ४ जनाको हकमा जिल्ला अदालतकै फैसला अर्थात् आजीवन कैद सदर गरियो । साथै सात वर्षको जेलबन्दी पछि सन्तकुमार चौधरीलाई निर्दोष साबित गर्दै रिहा गरियो ।  नेता लक्ष्मण थारुका अनुसार टीकापुर मुद्दामा ४ जना जन्मकैद, ४ जना दश वर्ष,  ८ जना पाँच वर्ष, ४ जना तीन वर्ष, एकजना छ महिना, ६ जना सफाइ, २९ जना फरार वारेन्टेड छन् । जिल्ला अदालतबाट तीन वर्ष कैद पाएका लक्ष्मण थारुलाई उच्च अदालतबाट जन्मकैद फैसला भएकोमा सर्वोच्चले जिल्लाकै फैसला सदर गरेको छ । उनले तीन वर्ष सजाय काटिसकेकाले मुद्दाबाट छुटकारा पाएका छन् । फैसलालगत्तै सामाजिक सञ्जालमा तत्काल दुइटा विज्ञप्ति जारी भएको देखियो । पहिलो डिल्लीबजार कारागारबाट रेशम चौधरीको हस्तलिखित विज्ञप्ति थियो, जहाँ सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै सामाजिक सञ्जालमा जे पायो, त्यो नलेख्न भनेर आग्रह गरिएको थियो ।  दोस्रो नागरिक उन्मुक्तिका पार्टी उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षरमा तीन दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिए आमहडतालमा जाने उद्घोषसहितको मशाल जुलुस कार्यक्रम तय थियो । विज्ञप्तिमा सर्वोच्च अदालतले आन्दोलनकारी थारुहरूलाई न्याय नगरेको उल्लेख थियो ।  विगत फर्केर हेर्दा सञ्चार माध्यमको आफ्नो व्यावसायिक सीमा यो फैसलाको सन्देशले सतहमा ल्याएको भन्न सकिन्छ । टीकापुर थारु विद्रोहको भाष्य आतङ्ककारी गतिविधि प्रचारित गरियो । तर्क यसरी गरियो कि खुँडा, तरबार तथा बर्छा बोकेर आएका आतङ्ककारी समूह एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरीको भाला रोपी नृशंस हत्या गरे ।  यो तर्क खासै ‘क्याची’ नभएर विभिन्न मिडियाबाट अर्को घटनाप्रति दुनियाँको नजर आकर्षित गरियो । त्यो थियो, डेढ वर्षे बालक टेकबहादुर साउदको कन्चटमै गोली प्रहार गरेर हत्या गरेको विषय । हत्याको आरोप आन्दोलनकारी उपर थियो, जबकि बालक साउदको पोष्टमार्टम नै गरिएन । सोही दिन तत्कालीन गृहमन्त्री बामदेव गौतमले दक्षिण तिरबाट आएका पेशेवार हतियारधारीहरू यो अकल्पनीय घटना घटाएको संसद्मा जानकारी गराए । यी सब त सामान्य तथ्य मानिन्छन् । यहाँको सञ्चार माध्यमहरूको विषवमन कडा थियो । एकतर्फी समाचार हप्तौँ दिनसम्म छापिरहे ।  भदौ ८ गते टीकापुर बजारमा अनिश्चितकालीन कर्फ्युको बीच थारु समुदायको पसल तथा घरलगायत व्यापारिक भवनमा आगजनी भयो । खुलेआम थारुलाई सेना, प्रहरी बल तथा प्रशासन कार्यालयबाटै आतङ्कित बनाउँदै गाउँ गाउँबाट लखेट्ने काम भयो । तर मानवअधिकार आयोग तथा इन्सेक लगायतका संस्थाहरूले विभत्स हत्याबाहेक केही देखेनन् । उनीहरू पक्षपाती त देखिए नै, साथै त्यस क्षेत्रमा महिला तथा बालबालिका उपर भए गरेका दुर्व्यवहारसमेत नजरअन्दाज गर्न पुगे ।  यतिसम्म कि सद्भाव बैठक बोलाई थारु अगुवा, बरघरलगायत युवाहरूलाई अनावश्यक मुद्दा लगाउन थाले । प्रहरी हिरासतमा यातना दिई नाम पोलेको भरमा प्रहरी रिपोर्ट तयार हुने र सरकारी वकिल कार्यालयमा समेत त्रासको वातावरणसहित वकपत्र गराउने गरेको विषय मानवअधिकार हनन अन्तरगत समेटिएन । मुद्दाको अन्तिम फैसला आएपश्चात एकपल्ट फेरि थारु आन्दोलनको विषयमा बहस जोडिएको छ । बहसमा नागरिक उन्मुक्ति पार्टी र उसको जिम्मेवारी समेत उठ्नु अस्वाभाविक होइन । रेशम चौधरीले त म अपराधी ठहर्छु भने फाँसीको सजाय पनि स्वीकार्य रहेको बताए । धन्य नेपालको संविधानमा फाँसीको सजाय वर्जित गरेको कारण रेशम चौधरीको इच्छा पुरा नहुने भयो ।  उसै त मासिन्या मतवाली थारु, सजायको दायरा हेर्दा सर्वोच्च अदालतले कसैलाई सर्वस्वहरणसहित जन्मकैदको फैसला सुनाएन । सप्तरी बरमझियाका भोलानाथ सुब्बा थारुलाई आजभन्दा एक सय पैतिस वर्ष अगाडि फाँसीको सजाय दिएको इतिहास छ । यदि साबिकको मुलुकी ऐन हुँदो हो त, यो समयमा राज्यधारी सम्भ्रान्त वर्ग फाँसीकै सजाय माग गर्थे होलान् ।  अहिले पनि एउटा प्रश्न अनुत्तरित छ । त्यो के भने थारुले यो नेपाल राज्यको सुरक्षा निकाय उपर हमला किन गर्दा हुन् ? २०१७ सालको किसान आन्दोलनमा गुम्रा थारुले दाङको बेलवामा प्रहरी अधिकृतको हँसिया प्रहारमार्फत् घाइते बनाए । गुम्रा थारु सहिदको सूचीमा छन् । यहाँ राज्यधारी सम्भ्रान्त र थारूबीच फल्टलाइन हालपर्यन्त कायम रहेको बुझ्न सकिन्छ ।  त्यस अर्थमा राज्यधारी सम्भ्रान्त वर्ग थारुलाई जालझेलमार्फत् नियन्त्रणमा राख्ने निरन्तर कोशिश गरिआएको छ । सर्वोच्च अदालतको फैसला जुन पोलुवाहरूको प्रहरी रिपोर्टमा आधारित रहेर आयो, त्यसले कानुनी रूपमा न्यायको ढोका बन्द गरेको स्पष्ट ठहर्छ ।  त्यसो त रेशम चौधरी लगायतका राजबन्दीहरू पुनरावलोकनमार्फत् फेरि कानुनी प्रक्रिया अगाडि बढाउन सक्लान् । तर, फेरि पनि नयाँ तथ्य एवम् प्रमाणको अभावमा पूर्ववत फैसला सदर भएर आउने सम्भावना रहन्छ । थारु आन्दोलनकारीलाई राज्यमार्फत् गलाउने प्रयत्न प्रशस्तै भयो । षड्यन्त्र फेरि पनि हुने पक्का छ । राज्यधारी सम्भ्रान्त वर्गलाई थारु कन्सेन्ट म्यानुफ्याकचरर राज्यको लागि भइदेओस् भन्ने चाहना छ । थारु यो राज्यमा आफ्नो स्वतन्त्र पहिचान अनुरूपको राजनीतिक हिस्सेदारी खोजेपछि अन्तरद्वन्द्व चर्किनु स्वाभाविक हो ।  टीकापुर थारु विद्रोह ऐतिहासिक भूमि उपर थारुको दाबी थियो र थरुहट स्वायत्त राज्य त्यसको राजनीतिक मेनिफेष्टेशन । थारुहरू आफ्नो भूमिमा स्वशासन कायम गराउन आन्दोलित भएका हुन्, न कि शासक सम्भ्रान्तको लागि कन्सेन्ट म्यानुफ्याकचरर बनेर केही कोटा प्राप्त गर्दै शासित बनिराख्न । यो यथार्थलाई थारुले आत्मसात गरेकै हुन् ।  साथै, राज्यधारी सम्भ्रान्त वर्गलाई यसको अनुभूति नभएको होइन । यही अनुभूतिका आधारमा उनीहरू आन्दोलनकारीलाई थकाउने र गलाउने काम अगाडि बढाए झुट्टा मुद्दाहरू लगाएर । तर रेशम चौघरी गलेनन् र भन्दै रहे कि न्याय चाहियो ।  न्यायको अनुभूति थारुले गर्नुपर्छ भन्ने जारी आन्दोलनको माग हो । सरकारले केही समय पहिले थरुहट÷थारुवान संयुक्त संघर्ष समिति तथा थारु कल्याणकारिणी सभासँग छ बुँदे सहमति गर्दा सोही न्यायको आकाङ्क्षा प्रतिबिम्बित गर्न अग्रसर भएको थियो । हालको सर्वोच्चको फैसलाले उक्त आकाङ्क्षा उपर पानी फेर्दियो । सरकारको नेतृत्व गर्दै गरेको पुष्पकमल दाहालले संसद्मा लाल आयोग प्रतिवेदन पनि सार्वजनिक गर्ने र रेशम चौधरीलाई पनि जेलबाट बाहिर ल्याउन विधेयक संसद्मा पेश गरिसकेको जानकारी गराउने काम गरे । सरकारको काम गराइ स्वार्थ मिल्दा मात्र अग्रसरता लिने हो । आन्दोलनकारी थारुको मत अनुसार रेशम चौधरी निर्दोष रहेको कारण अनिवार्य छुट्नुपर्ने बताउँदै आएका छन् ।  साथै, बाँकी सबै राजबन्दीहरू निर्दोष रहेको पनि थारु समुदायको भनाई हो । सरकारले रेशम चौधरीलाई छोड्न जे जे प्रक्रिया पुरा गर्नुपर्छ गरोस् । कानुनमा संशोधन गर्नु परे त्यो पनि गर्न तयार होस् । यसलाई सकारात्मक भावले नै स्वागत गरिएला । अझ जुन दिन रेशम चौधरी जेलमुक्त हुने छन्, यो सरकार धन्यवादको पत्र ठहर होला । बाँकी निर्दोष राजबन्दीको राजनीतिक प्रक्रिया अगाडि बढाउनसमेत रेशम चौधरीको जेलमुक्त अवस्थाले सहयोग हुने शङ्काको लाभ लिऊँ । राजनीति सरल रेखामा गमन गर्दैन भन्ने यथार्थ बुझ्दै थारु आन्दोलनकारी रणनीतिक लक्ष्य हासिल गर्न अग्रसर हुनैपर्छ । रणनीतिक लक्ष्य प्राप्त गर्न कहिलेकाहीँ दुइ कदम पछाडि सर्नुपरे पनि तयार हुनुपर्छ । तर रणनीतिक लक्ष्य हात पार्न तयारीको लागि विशेष लगानी आवश्यकता पर्न सक्छ । स्वशासन हाम्रो प्राकृतिक हक हो र यो राज्यमा लोकतन्त्रलाई मजबुत बनाउन राज्य पक्ष देखिएका आइएलओ महासन्धि नं. १६९ लगायत युएनड्रीपलाई नेपालको कानुनसरह मान्यता दिने अनिवार्यता पुरा गर्नुपर्छ ।  अर्को कुरा अहिले त्यो सम्भव नहोला, तर कुनै यस्तो दिन अवश्य आउने छ, जुन दिन नेपाल सरकारले थारु उपर थोपरिएको औपनिवेशिक नीतिको विपक्षमा उभिएर थारुसँग माफी माग्ने छ । कारण थारु औपनिवेशिक नीतिमार्फत शासित त ठहरिए तर मासिन्या मतवाली बनाउँदासमेत एक सय एघार वर्षमा मासिएनन् । उनीहरूको प्रतिरोध निरन्तर चल्दै गर्दा राज्यले पहिलो पटक मधेसी जनतासँग साझेदारी शासनको सम्झौता गर्न पुगे । यही नजिरको आधारमा राज्यधारी सम्भ्रान्त थारुसँग स्वशासनको मुद्दामा सहमति गर्न बाध्य हुनेछ ।  थारुहरू न्यायको लामो लडाई लड्दै गर्दा अब नयाँ विचार–साझा विचार, नयाँ योजना–साझा योजना, नयाँ नेतृत्व–साझा नेतृत्वमार्फत नयाँ शिराबाट थारु आन्दोलनको काउन्टर मोडेल तयार गर्नुपर्छ । यसले नयाँ आशा जगाउन प्रेरित गर्छ । केही अगुवाहरू थाक्न सक्लान् र उनीहरू वर्तमान सत्ताकै जुठोपुरोमा रम्ने काम गर्लान् । तर अन्तर्विरोध थारु र राज्यधारी सम्भ्रान्तबीच हल भएन भने आन्दोलन रोकिने छनक देखिँदैन । अझ सतिसाल भएर प्रतिरोधी क्षमता विस्तार गरेर लड्नेछन् थारु आन्दोलनकारीहरू । बूढो नश्लीय सत्ता एक अर्को धक्का पर्खेर बसेको छ ।

लुम्बिनीमा दोस्रो चरणको मन्त्रीमण्डल बिस्तार, पाएन पूर्णता

लुम्बिनीमा दोस्रो चरणको मन्त्रीमण्डल बिस्तार, पाएन पूर्णता

१२५५ दिन अगाडि

|

९ जेठ २०८०

लुम्बिनी प्रदेशमा सोमबार नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । खनालले स्वास्थ्य, गुप्ताले सामाजिक विकास र अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् ।  नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएका थिए । लुम्बिनीमा अझै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मुख्यमन्त्री चौधरीसँगै छ । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने छन् । माओवादीमा आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति बजेटपछिका लागि तय भएको स्रोतको भनाइ छ । माओवादीबाट कृष्णा केसी नमुना र दीपेन्द्र पुनको नाम चर्चामा छ । यसपाली इन्द्रजीत चौधरीको नाम चर्चामा छैैन । लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

नाउपालाई  मन्त्रिमण्डल विस्तारमा किन गरियो बाइपास ?

नाउपालाई  मन्त्रिमण्डल विस्तारमा किन गरियो बाइपास ?

१२५७ दिन अगाडि

|

७ जेठ २०८०

सुदूरपश्चिममा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीलाई बाइपास गरेर मन्त्री मण्डल विस्तार गरिएको छ । मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले शनिबार नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराए। मुख्यमन्त्री शाहले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा माओवादी केन्द्रबाट झपट साउदलाई सामाजिक विकास मन्त्रालय र रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादीकै गीतादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारीसहित शपथ ग्रहण गराइएको छ । २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए। यता सत्तारुढ दल नाउपा सरकार बाहिरै रहेको छ । २ मन्त्रालय पाउनुपर्ने अडानमा रहेको नाउपालाई १ मन्त्रालय मात्रै दिने भएपछि बाहिर रहेको हो ।  नाउपाको नेता तथा सांसद लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्री शाहले आफूहरूलाई बाइपास गरेर मन्त्री मण्डल विस्तार गरेको दुखेसो पोखे । उनले भने, ‘हामीलाई जुनसकै सरकारमा बाइपास गरियो । अधिकारबाट वञ्चित परेको समुदायको प्रतिनिधि हामीले गर्दै आएका छौँ । अझै हामीलाई अधिकारबाट वञ्चित गरिँदैछ । शीर्ष नेताबीचको सहमति अनुसार हामीले २ मन्त्रालयको अडानमा रहेका हौँ ।’  योसँगै यहाँको मन्त्रीमण्डलले अझै पूर्णता पाउन सकेको छैन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अझै मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन् ।  सरकार बनाउन हाल काँग्रेस र माओवादीकै स्पष्ट बहुमत पुगेकाले नाउपालाई बाइपास गरिएको छ । जबकि कुनैबेला काँग्रेसले नाउपालाई मुख्यमन्त्रीकै अफर गरेको थियो । नाउपालाई एउटै मन्त्रालयमा चित्त बुझाऊ, नभए यही पनि पाउँदैनौं भनेर मुख्यमन्त्री शाहले एउटा मन्त्रालय आफूसँग राखेको देखिन्छ ।  

टिकापुर घटनामा ७ वर्ष जेल बसेपछि ‘निर्दोष’ ठहरिएका सीताराम भन्छन्– यो कस्तो न्याय हो ?

टिकापुर घटनामा ७ वर्ष जेल बसेपछि ‘निर्दोष’ ठहरिएका सीताराम भन्छन्– यो कस्तो न्याय हो ?

१२५९ दिन अगाडि

|

५ जेठ २०८०

धनगढी । टिकापुर घटनाका सम्बन्धमा जेठ २ गते सर्वोच्च अदालतको फैसलापछि कैलालीको भजनी नगरपालिका–६ नवलपुरका सीताराम चौधरी जेलमुक्त भए । तल्लो अदालतको फैसला अनुसार ७ वर्ष जेल जीवन भोगिसकेका उनी सर्वोच्च अदालतको फैसला अनुसार निर्दोष साबित भएका हुन् । गह्रौं मन लिएर घर फर्किएका उनी जेलबाट रिहा भएकोमा खुसी हुने कि बिना कसुर ७ वर्ष जेल बसेकोमा दुःखी हुने भन्ने मेसो पाउन सकिरहेका छैनन् । उनी भन्छन्, ‘नखाएको विष लाग्दो रहेछ । यत्रो लामो सजायपछि निर्दोष साबित भएँ, यो कस्तो न्याय हो ?’ ७ वर्षको अवधिमा धेरै परिवर्तन भएको र आफ्नो परिवारले धेरै सास्ती पाएको उनले सुनाए । उनी भन्छन्, ‘व्यक्तिगत रुपमा म र मेरो घर परिवारको हालत राज्यले धरासयी बनायो । मेरो परिवारजनले खेप्नुसम्म पीडा खेपे । छोरीहरूले राम्ररी लेखपढ समेत गर्न पाएनन् ।’ संविधान लेखनका क्रममा कैलालीमा दुई परस्पर विरोधी आन्दोलन भयो । साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई नै प्रदेश बनाउनुपर्ने माग राख्दै अखण्ड सुदूरपश्चिम र पश्चिम कञ्चनपुरदेखि नवलपरासीसम्मको थारु बाहुल्य भूगोललाई थरुहट प्रदेश बनाउनुपर्ने माग राख्दै थरुहट आन्दोलन भयो । यसैबीच २०७२ भदौ ७ गते एक नाबालकसहित ८ जनाको ज्यान जाने गरी टिकापुर घटना घट्यो । त्यसको भोलिपल्ट कर्फ्युकाबीच थारु समुदायका ८३ घर टहरा, पसल, एफएममा आगजनी भयो । प्रहरीले सो घटनामा संलग्न भएको भन्दै सीताराम चौधरीलाई २०७३ वैशाख २७ गते पक्राउ गर्‍यो । तर प्रहरीले किन पक्राउ गर्‍यो भन्नेबारे सीतारामलाई नै थाहा थिएन । जब उनी कैलाली कारागार पुगे, तबमात्रै टिकापुर घटनामा पक्राउ परेको उनले थाहा पाए । दोहोरो नामले पीडा टिकापुर घटनाका दिन सीताराम नियमित काममै थिए । गाउँमै सानो होटलसँगै मासु पसल सञ्चालन गरी जीविकोपार्जन गर्दै आएका उनी बिहानै खसी काट्थे, अन्य होटलमा पनि मासु पुर्‍याउँथे । त्यो दिन पनि खसी काटेर टिकापुरका होटलमा मासु पुर्‍याउन गएका थिए उनी । घटनाको दिन टिकापुर गएको थियो भन्ने आधारमै उनलाई पक्राउ गरिएको थियो । टिकापुर गएकै कारण पक्राउ परेका उनी आफ्नो दोहोरो नामले झनै पीडित भए । परिवारलाई निकै सास्ती भयो । गाउँघरमा सीताराम नामले चिनिने उनको नाम सन्तकुमार थियो । प्रहरीले सीताराम र सन्तकुमार दुवै नाममा पक्राउ पुर्जी जारी गरेको थियो । सीताराम पक्राउ परेपछि फेरि सन्तकुमार खोज्न प्रहरी उनकै घरमा पुग्थे । किनकि प्रहरीले सन्तकुमार र सीताराम एउटै व्यक्ति हो भन्ने पत्तो पाएन । ‘सन्तकुमार खोइ भनेर प्रहरी घरमा आउँथे,’ उनकी पत्नी यमुनाले भनिन्, ‘जबकि ठेगाना र बाबुको नाम एउटै थियो, दुवै नाम एउटै व्यक्तिको हो भन्दा पनि प्रहरी मान्दैनथे ।’ सीताराम जेलमा थिए । यमुनालाई सीताराम र सन्तकुमार दुवै एउटै हुन् भनेर प्रमाणित गराउन झन् सकस भयो । वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय धाएर मुस्किलले दुवै नाम एकै व्यक्तिको रहेको प्रमाणित गरेको उनी बताउँछिन् । ‘टिकापुर घटनामा कसरी जथाभावी मुद्दा चलाइएको थियो भन्ने यसले पनि देखाउँछ’, यमुना भन्छिन्, ‘सन्तकुमार र सीताराम एउटै मान्छे हो भनेर प्रमाणित गराउन गाह्रो भयो ।’ यमुनाले आफ्ना श्रीमान्को दोहोरो नाम त मुस्किलले प्रमाणित गरिन्, तर निर्दोष प्रमाणित गर्न सकिनन् । कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते सीतारामलाई जन्मकैदको सजाय सुनायो । त्यस विरुद्ध यमुनाले उच्च अदालत, दिपायलमा निवेदन दिइन् । उच्च अदालतले पनि २०७७ पुस २ गते जिल्लाकै फैसला सदर गर्‍यो । निर्दोष श्रीमान् छुटाउन यमुनाले कुनै कसर बाँकी राखिनन् । उनी उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुगिन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले सीतारामको पक्षमा फैसला सुनायो । सर्वोच्चको संक्षिप्त फैसलामा भनिएको छ, ‘प्रतिवादीमध्येका विद्रोह भन्ने सीताराम चौधरी र गंगाराम चौधरीको हकमा हेर्दा सुरू अदालतबाट साविक मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १३ (३) नंं बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योग तर्फ ऐ. १५ नं. बमोजिम पाँच वर्ष कैद सजाय गरेको मिति २०७५÷११÷२२ को फैसला सदर गरेको उच्च अदालत दिपायलको मिति २०७७÷०९÷०२ को फैसला मिलेको नदेखिँदा उल्टी भई निज प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’ सर्वोच्चको फैसलापछि जेल मुक्त भएका सीतारामले भने, ‘बिना कारण जेल सजाय पाएँ । जेलबाट मुक्त भए पनि हृदयदेखि खुसी हुन सकेको छैन । राज्य हाम्रो हुन सकेन । यो बीचमा मैले र मेरो परिवारले धेरै कुरा गुमाइसकेको छ, त्यसको क्षतिपूर्ति कसले दिन्छ ?’ सीतारामकी पत्नी यमुना पनि यस्तै गुनासो गर्छिन् । उनले भनिन्, ‘ढिलै भए पनि सर्वोच्च अदालतले निर्दोष ठहर गरेको छ । हामीले ७ वर्षसम्म के गुमायो, हामीलाई थाहा छ । अब राज्यले क्षतिपूर्ति दिनुपर्छ ।’ टिकापुर घटनामा कैलाली कारागारमा रहेका सीतारामसँगै गंगाराम चौधरीलाई पनि सर्वोच्च अदालतले निर्दोष साबित गर्‍यो । तर गंगारामको पहिल्यैदेखि अर्को मुद्दा रहेकाले उनी जेल मुक्त हुन सकेका छैनन् ।  

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको फैसलाले रोकेको प्रधानमन्त्री  प्रचण्डको दावी भ्रामक

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको फैसलाले रोकेको प्रधानमन्त्री  प्रचण्डको दावी भ्रामक

१२५९ दिन अगाडि

|

५ जेठ २०८०

                                                                       २०७२ भदौको दोस्रो साता कर्फ्युको समयमा टीकापुर बजारः फायल फोटो उमेश श्रेष्ठ प्रतिनिधि सभाको २०८० जेठ ४ गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि अदालतले हाल लाल आयोगको प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको बताए। तर हाम्रो तथ्य जाँचमा प्रधानमन्त्रीको दावी भ्रामक देखियो। सर्वोच्च अदालतले सूचना आयोगलाई प्रतिवेदन सम्बन्धी निर्णय शीघ्र गर्न परमादेश दिएको र आयोगले २०७८ फागुन ५ गते ६० दिनभित्र प्रतिवेदन उपलब्ध गराउन आदेश जारी गर्ने निर्णय गरेको तथ्य भेटिएको छ। तथ्य जाँच प्रकाशनपछि प्राप्त थप विवरण अनुसार सरकारका मुख्य सचिवले सूचना आयोगसहितलाई प्रतिवादी बनाएर रिट दायर गरेपछि अल्पकालीन अन्तरिम आदेश दिएको भेटिएको छ। के हो विषय ? नयाँ संविधान जारी हुनु अघि र संविधान जारी भएपश्चात तराईका विभिन्न ठाँउमा मधेशकेन्द्रित दल तथा अन्य दलहरुले नेपाल सरकारसँग विभिन्न माग राखी आन्दोलन गरिरहेका थिए। आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिनको लागि भन्दै २०७४ साल मंसिर २८ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा “तराई, मधेश, थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्यतथ्य छानबिन सम्बन्धी उच्चस्तरीय छानबिन आयोग” गठन गरेको थियो। उक्त आयोगले अध्ययन र छानबिन गरी तयार पारेको प्रतिवेदन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो। यो प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन। प्रतिनिधि सभामा जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तरका क्रममा सांसद शिशिर खनालले लाल आयोगको रिपोर्ट सार्वजनिक गर्छ कि गर्दैन? गर्छ भने कहिलेसम्म गर्छ भनेर प्रश्न सोधेका थिए। यसको जवाफमा प्रधानमन्त्री दाहालले भने, ‘यो कुरा साँचो हो कि म दोस्रो पटक प्रधानमन्त्री हुँदा थारुहट आन्दोलन र मधेश आन्दोलनसँग सम्बन्धित विषयहरुमा छानबिन गरेर रिपोर्ट पेश गर्नका लागि लाल आयोग गठन भएको कुरा साँचो हो। र, त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्दछ भन्ने भित्र पर्छु म पनि। त्यो प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्ने भित्र पर्छु तर त्यसलाई कुन रुपमा, कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको जानकारी म यहाँहरुलाई गराउन चाहन्छु। र हामी अहिले पनि त्यो आयोग… सर्वोच्च अदालतको फैसलालाई कुनै किसिमले पुनरावेदन गरेर त्यसलाई खुला गरेपछि त्यो लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्दछ भन्ने मेरो मान्यता छ…. ‘ के हो तथ्य? हामीले यो विषयमा तथ्य जाँच गर्ने क्रममा दि काठमान्डु पोस्ट अङ्ग्रेजी दैनिकका पूर्व सम्पादक सञ्जीव सतगैँयाले गरेका ट्विट हेर्‍यौँ। उनको ट्विटमा सर्वोच्च अदालतले अक्टोबर २०१९ मा सर्वोच्च अदालतले सूचना आयोग र सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न वा गर्न नसकिने भए कारण दिन तीन महिनाको समय दिएको काठमान्डु पोस्टको समाचारको लिङ्क राखिएको छ।हामीले यही आधारमा सर्वोच्च अदालतको वेबसाइटमा आदेश खोज्ने क्रममा आदेश भेट्टायौँ- शशिधर पाण्डेयसहित चार जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय सूचना आयोग र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै दायर गरेको रिट निवेदनमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा र सपना प्रधान मल्लको संयुक्त इजलासले २०७६ असोज ३० गते आदेश गरेको थियो। आदेशमा प्रधानमन्त्री दाहालले दावी गरे जस्तो सर्वोच्चबाट प्रतिवेदन सार्वजनिक गर्न रोक लगाएको नभई राष्ट्रिय सूचना आयोगलाई ‘कुन के प्रकृतिको हो दिन मिल्ने सूचना भए दिन मिल्ने निर्णय गर्नु तथा निबेदकले माग गरेको सूचना दिन नमिल्ने प्रकृतिको भए सोही बमोजिमको निर्णय गर्नु पर्नेमा हाल सम्म निर्णय नभई ढिलाई गरी राखेको अवस्थाले नागरिकमा सूसुचित हुने हकमा बन्देज लाग्न गएको अवस्था देखिदा तत्कालै निर्णय गर्नको निमित्त राष्ट्रिय सूचना आयोगका नाममा परमादेशको आदेश जारी गर्नु पर्ने देखिन आयो’ भनिएको छ। आदेशमा लेखिएको छ- ‘राष्ट्रिय सूचना आयोगका नाउँमा निज निवेदकले दिएको पुनरावेदनमा यो आदेश पाएका मितिले ३ महिना भित्र “तराई, मधेश, थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग”को प्रतिवेदन सम्बन्धी निर्णय सिघ्र गर्नु भनी परमादेशको आदेश जारी हुने ठहर्छ।’ सूचना आयोगले के निर्णय गर्‍यो ? सर्वोच्च अदालतको आदेशपछि सूचना आयोगले यस विषयमा के निर्णय गर्‍यो भनी हेर्ने क्रममा हामी राष्ट्रिय सूचना आयोगको आधिकारिक वेबसाइटमा गयौँ। त्यहाँ हामीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ भेट्टायौँ।उक्त प्रतिवेदनको पृष्ठ १३, बूँदा नम्बर ४.१.४ मा ‘प्रस्तुत प्रतिवेदन सार्वजनिक चासोको विषय रहेको र यस्ता प्रतिवेदन गोप्य राख्नु भन्दा सार्वजनिक गर्दा वा चासो राख्ने नागरिकलाई उपलब्ध गराउँदा पारदर्शी कायम हुने र कुनै घटनाका सम्बन्धमा छानवीन भएका विषय सबै नागरिकको पहुँचमा पुग्ने’ उल्लेख गर्दै लेखिएको छ, ‘तसर्थ सूचना मागकर्तालाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (३) को खण्ड (क) अनुसार तपसिलको सूचना ६० दिनभित्र उपलब्ध गराउनू भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका कार्यालय प्रमुख, मुख्य सचिवका नाममा मिति २०७८।११।०५ मा आदेश जारी गरेको छ।’ अर्थात् राष्ट्रिय सूचना आयोगले २०७८ साल फागुन ५ गते लाल आयोगको प्रतिवेदन माग गर्नेलाई ६० दिनभित्र उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यालय प्रमुख, मुख्य सचिवका नाममा आदेश जारी गरेको थियो। उक्त पूर्ण पाठमा सर्वोच्चको आदेशपछि सूचना आयोगले गृह मन्त्रालयलाई लिखित जवाफ पठाउन आदेश भएको, गृह मन्त्रालयको जवाफपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसित लिखित जवाफ मागिएको र त्यसपछि आयोगले गरेको ठहर बारे विस्तृत उल्लेख छ। तथ्य जाँच प्रकाशनपछि प्राप्त थप विवरण अनुसार सूचना आयोगको निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्य सचिव शंकरदास बैरागीले राष्ट्रिय सूचना आयोग र उक्त प्रतिवेदन प्राप्त गर्न आयोगमा निवेदन दिनेहरु शशिधर पाण्डे , गीता कुमारी बरई , धर्मेन्द्र मुराउ, अवधेश प्रसाद कुर्मीलाई प्रतिवादी बनाई २०७८ चैत १६ गते रिट दायर गरेका थिए। न्यायाधीश कुमार रेग्मीको इजलासले चैत २० गते ‘कारण देखाउ, अल्पकालीन अन्तरिम आदेश र अन्तरिम आदेश छलफल’ को आदेश दिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। उक्त अल्पकालीन अन्तरिम आदेश के थियो भन्ने बारे सार्वजनिक रुपमा दस्तावेज उपलब्ध छैन। प्राप्त गर्ने प्रयास जारी छ। प्राप्त हुने बित्तिकै हामी यहाँ अपडेट गर्नेछौँ। यो रिटमा २०७९ साउन ३० गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठले पूर्ण सुनुवाईका निम्ति पेश गर्ने आदेश दिए पनि हालसम्म अन्तिम आदेश/फैसला भइसकेको छैन। यसबारे अनलाइनखबरले पनि ‘प्रधानमन्त्रीको दोहोरो रवैया : प्रतिवेदन गोप्य राख्न मुद्दा हाल्ने, सदनमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउने’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। तथ्य जाँच दावी : सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन हाल प्रकाशित नगर्नू भन्ने फैसला गरेको छ।  सूचना आयोगले सर्वोच्च अदालतमा त्यो विषयमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको हो। दावीकर्ता : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथ्य : भ्रामक। सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन प्रकाशित नगर्नू भन्ने ‘फैसला’ गरेको छैन। उक्त प्रतिवेदन माग्दै राष्ट्रिय सूचना आयोगमा परेको निवेदनमा ३ महिना भित्र निर्णय गर्न सर्वोच्चले परमादेश दिएको हो। उक्त परमादेशपछि सूचना आयोगले २०७८ साल फागुन ५ गते लाल आयोगको प्रतिवेदन माग गर्नेलाई ६० दिनभित्र उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कार्यालय प्रमुख, मुख्य सचिवका नाममा आदेश जारी गरेको थियो। प्रधानमन्त्रीले संसदमा दावी गरे जस्तो सूचना आयोगले त्यो विषयमा मुद्दा दिएको नभई सरकारकै मुख्य सचिवले सूचना आयोगलाई प्रतिवादी बनाई रिट दायर गरेका हुन्। यो विषयमा प्रधानमन्त्रीले भने जस्तो सर्वोच्चले ‘फैसला’ गरिसकेको छैन, अल्पकालीन अन्तरिम आदेश दिएको मात्र हो। तसर्थ प्रधानमन्त्री दाहालले संसदमा गरेको दावी भ्रामक छ। नेपाल  फ्याक्ट चेक डट ओआरजीबाट विस्तृत हेर्नुहोस्ः  https://nepalfactcheck.org/2023/05/laal-aayog/?fbclid=IwAR0fZrFcUMS5tqnJTXRzWH72V1QgfhBvMJ-cGgdF3JXoZo8CRUQkC4pD8zs