पुष्पलालदेखि मदन भण्डारी जत्तिकै थियो प्रभु नारायण चौधरीको योगदान

पुष्पलालदेखि मदन भण्डारी जत्तिकै थियो प्रभु नारायण चौधरीको योगदान

१०९४ दिन अगाडि

|

२९ भदौ २०७९

जब रेशमको गीतमा अभिनय गरिरहेका कलाकारहरु रोए....

जब रेशमको गीतमा अभिनय गरिरहेका कलाकारहरु रोए....

१०९६ दिन अगाडि

|

२७ भदौ २०७९

भदौ २६ गते बिहान ८ बजे हामीले दिनहुँ चिया खाने ठाउँ ‘चाँदके पार’मा चिया खाइरहेका थियौं । धनगढीबाट बुहारीको फोन आयो, ‘बुवा आज माउ (सासुआमा) आउनुहुन्छ कि नाई ?’ मेरो जवाफ थियो, आफ्नो सासुआमासँग सोध न त, म त बाहिर चिया खाइरहेको छु ।  फोन आएपछि म अनुमान लगाइसकेको थिएँ कि अब महेन्द्र राजमार्गसम्म मेडमलाई पुर्याउन जानुपर्ने भैसक्यो, किनकि बिहान ९ बजे बस छुट्छ, ८ बजे फोन आएपछि तयारी सम्भव हुँदैन, ९ बजेको बस समात्न सकिन्न । म ढुक्क भएर चिया खाइरहेको थिएँ ।  मेडमको फोन आयो, ‘अलि चाँडै आउनु होला, मेरो धनगढी जानुपर्ने भैसक्यो !’  हुन्छ, खाना खाएर म मेनरोडसम्म छोडिहाल्छु नि किन चिन्ता गरेको भनेर जवाफ दिएँ ।  खाना खाँदा, तयार हुँदा १२ बजिसकेको थियो, एकछिन आराम गर्दा १ बजिसकेको थियो । मेडमलाई महेन्द्र राजमार्ग पुर्याउँदा झन् २ बजिसकेको थियो ।  बलियामा मेडमलाई किया गाडीमा बसालेपछि नजिकैको भल्कामा (जहाँ लम्कीचुहा नगरपालिकाको कार्यालय छ) नागरिक उन्मुक्ति पार्टीले ‘पार्टी प्रवेश’ कार्यक्रम राखेको समाचार पाइयो ।  अहिले आफू पनि लम्कीचुहा नगरपालिकामै बस्ने भएकोले कस्तो छ चहलपहल भनी उतैतिर हिँडियो । कार्यक्रममा पुग्नु अगावै चिनजानका साथीहरुसँग भेटघाट भयो र उनीहरुसँग फेरी चिया खान बसीहालियो । चिया खाने ठाउँ धेरै टाढा नभएकोले कार्यक्रमको आवाज अलि अलि आइरहेको थियो । आवाज ठम्याईले साथीभाईहरुले उनीहरुका पार्टीका संगठन विभाग प्रमुख लक्ष्मणकिशोर जोगेठ्वाले बोलिरहेको जानकारी गराए ।  चिया खाइरहेको र कुराकानी गरिरहेकोले धेरै कुरा बुझ्न सकिएन । जोगेठ्वाले भनेको एउटा कुरा बुझियो । उनले भनिरहेका थिए, ‘नागरिक उन्मुक्ति पार्टीलाई सानो भन्नेहरु अहिले नागरिक उन्मुक्ति पार्टीसँग डराइरहेका छन्, खुट्टा कमाइरहेका छन्, हिम्मत छ भने चुनावको मैदानमा एक्लै आउनुस्, हामी चुनाव लड्न मैदानमा आइसकेका छौं’ ।  कार्यक्रममा उदघोषकले पार्टी प्रवेश गर्नेहरुको नाम बाचन गरिरहेका थिए । कार्यक्रममा पुग्दा रैथाने मुङ्ग्रहुवा नृत्य भैरहेको थियो । सहभागीहरुलाई सोद्धा धेरै बक्ता बोलिसकेको जानकारी पाइयो ।  नृत्यलगत्तै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव रतन थापाले कार्यक्रमलाई सम्बोधन गरे । उनले सारमा एमाले, काँग्रेस, माओवादीको कथनी र करणीमा धेरै फरक रहेको, आश्वासन प्रतिबद्धता घोषणा भन्दा निकै फरक रहेकोले त्यसको भविष्य राम्रो नरहेको, पहिचानलाई आवश्यक ठान्नेहरु, मान्नेहरु त्यसमा बस्नु भनेको गल्ती गर्नु हो भन्ने कुरा राखेका थिए । लगत्तै बर्दियाको सांस्कृतिक टोलीले नृत्यमा अभिनय गरेको थियो । अनि, पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कार्यक्रमलाई सम्बोधन गरेकी थिइन् ।  नृत्य भनेपछि कार्यक्रमबाट निस्किरहेका सहभागीहरु पनि मञ्चतिरै तानिए । सांस्कृतिक टोलीका कलाकारहरुले रेशम चौधरीले जेलभित्रैबाट लेखेको ‘चार दिवारमा थुनिएर आज भोलि मन्द छु, धेरै भोट पाएर होला, झ्यालखानामा बन्द छु’, ‘थारु हुइलक कारनसे, अधिकार मंग्लक कारनसे इ सरकार जेलम डारल बा, बाबा टुँहार छावा जेलम परल बा, डाई टुँहार छावा जेलम परल बा’ भन्ने बोलको गीतमा अभिनय गरेका थिए ।  धेरै सहभागीहरु मोबाइलले नृत्यको भिडियो खिचिरहेका थिए । कलाकारहरु अभिनय गर्ने क्रममै साँच्चिकै रोएपछि माहौल नै बदलिएको थियो । उपस्थित धेरै जनाले आँशु थाम्न सकेनन्, धेरैजनाको आँखा रसाएको थियो । गीत सकिसकेको थियो तर कलाकारहरु मञ्चमै रोइरहेका थिए । उनीहरुलाई नेताहरुले हात समाई मञ्च बाहिर ल्याएको दृश्यले धेरैलाई भावुक बनाएको थियो ।  गीत सकिसकेको थियो तर कलाकारहरु मञ्चमै रोइरहेका थिए । उनीहरुलाई नेताहरुले हात समाई मञ्च बाहिर ल्याएको दृश्यले धेरैलाई भावुक बनाएको थियो ।  लगत्तै पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले अधिकार मागेकै कारणले सरकारले रेशम चौधरी लगायत टीकापुर घटनाका राजवन्दीहरुलाई जेल हालेको तथा अहिले न्यायका लागि जनता सामु आइरहेको बताइन् । उनले आफूहरुको एफएम, रिसोर्ट लुटपाट भएको, जलाइएको, आफूले लगाउने गरगहना चोरिएको तर सरकारले उल्टै रेशम लगायतका थारुहरुलाई डाँका चोरी मुद्दामा जेल हालेको बताइन् ।  उनले सभामा सहभागी सबैलाई प्रश्न गरिन्, के हामीले मान्छे मारेकै हो ? डाँका चोरी गरेकै हो ? होइन भने किन हामीलाई अनाहकमा जेल सजाय भैरहेको छ ?  उनले के थारु, के पहाडी, सबै नेपाली एक रहेको बताइन् । उनले भनिन्, ‘म पहाडी कि छोरी हूँ, तर थारुकि बुहारी पनि हूँ । म पहाडकि छोरी हूँ, तर तराईकि बुहारी पनि हूँ । त्यसैले हामी सबै एक हौं । त्यसैले बिना संकोच, बिनाभेदभाव आउनुस्, सबै नागरिक उन्मुक्ति पार्टीमा गोलबद्ध होऔं ।’ कार्यक्रममा सहभागी भएकाहरुको अनुहार हेर्दा, उनीहरुको कुरा गराईलाई बिचार गर्दा लाग्थ्यो, उनीहरुमा नयाँ जोश जाँगर छ । परिणाम कस्तो आउँछ, पछि थाहा हुने कुरा भयो तर यतिबेला उनीहरुमा हौसला छ, अनुहारमा चमक छ । त्यसैले त प्रवेश गर्नेहरुको लर्को छ । उक्त दिन पनि ११३५ जनाले पार्टी प्रवेश गरेको कुरा उद्घोषक भक्त चलाउनेले जनाए ।     

के हो अनत, किन बसिन्छ यसको ब्रत ?

के हो अनत, किन बसिन्छ यसको ब्रत ?

१०९९ दिन अगाडि

|

२४ भदौ २०७९

नवलपुर अर्थात् पूर्वी नवलपरासीका थारुहरुले मनाउने अनत पावन भदौ महिनाको शुक्ल पक्षको चतुर्दशी तिथिमा मनाइने ब्रत हो । त्यस अनुसार आज भदौ २४ गते यस वर्षको अनत पावन हो ।  यस दिन बिशेष गरेर थारूहरूले ब्रत बसेर पिङ (हेणौला) खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर ब्रत राख्ने चलन रहेको छ । अनतको ब्रत राख्ने पुरुषहरुले १४ गाँठो भएको अनतको डोरो दाहिने पाखुरामा बाँध्ने र ब्रतालु महिलाहरुले बायाँ पाखुरामा बाध्ने चलन छ । यसरी बाँधेको अनतको डोरो अमोसा (पितृ औंसी) मा बिसर्जन गर्ने चलन छ। अनतको डोरो बाँधेको ब्यक्तिले डोरो बाँधेपछि अमोसासम्म शाकाहारी भोजन गर्नुपर्ने हुन्छ । अनत ब्रत कथा  जब पाण्डवहरुले जुवामा आफ्नो राजकाज हारेर बनवासको कष्टकर जीवन बाँचिरहेका थिए, तब भगवान श्रीकृष्णले पाण्डवहरुलाई भगवान अनतको ब्रत राख्न सल्लाह दिएका थिए । र, पाण्डवहरु आफ्नो बनवासको समयमा १४ बर्षसम्म हरेक साल अनतको दिन अनतको डोरो बाँधेर बिधिवत ब्रत राखेका थिए । यसैको प्रभावले गर्दा पाण्डवहरुले महाभारतको युद्धमा बिजयी भएका थिए । तत्पश्चात सबैले अनत ब्रत लिन थालिएको पौराणिक कथा र किम्बदन्ती रहेको छ। ब्रत बिधि अनतको अघिल्लो दिन बिहान स्नान गरी चोखो बस्नुपर्दछ, जसलाई लहा खाने भनिन्छ । त्यही राती पिङ बाटेर अनतको दिनको तयारी गरी राती नै भाले बास्नु अगाडि मीठो मीठो परिकारहरुको डटकट खाएर सुरु गरिन्छ । अनतको दिन सफा बस्त्र धारण गरेर पिङ खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर बेलुकीपख स्नान गरी फरहर गर्ने चलन छ। बेलुकीपख ब्रतालुले स्नान गरेर आइ फरहर गर्ने ठाउँमा गाईको गोबरले लिपपोत गरी त्यसै माथी पिर्कामा बसेर केराको पातमा चिउरा, दुधदही, केरा आदि फलफूल भगवान अनतको पूजापाठ गरेर फरहर गर्ने गर्दछन् । फरहरमा नुन बर्जित हुन्छ। ब्रतफल यस दिन ब्रत बस्नाले गुमेका धन सम्पत्ति, यश आराम आदि प्राप्त हुने, बिष्णु लोक प्राप्त हुने र सधैँ सत्यको जित हुने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ । लेखक पेशाले शिक्षक हुन् ।  

के हो बणकी अतवार ?

के हो बणकी अतवार ?

११०४ दिन अगाडि

|

१९ भदौ २०७९

                                                                                                                                              फोटोः लखन दहित मनिराज महतो थारु समुदायको एउटा प्रमुख चाड मध्ये बणकी अतवार ब्रत पनि एक हो । यसलाई पश्चिमा थारुहरुले अटवारी भनेर मनाउँछन् । नवलपुरको थारु समुदायले कजरी तीज पछिको पहिलो आइतबारलाई बणकी अतवार ब्रत मनाउने गर्दछन् । आज भदौ १९ गते यहाँ बणकी अतवार मनाइँदैछ । बणकी अतवार पर्व खास गरी थारु पुरुषले व्रत बस्ने पर्व हो तर महिलाहरु पनि ब्रत बसनेने गर्दछन् । बिशेषतः बाँझो महिलाहरुको लागि ब्रत फलदायक मानिन्छ भने शरीरमा घाउ, चोटपटक र छालासम्बन्धि रोग नलागोस् भनेर ब्रत लिने गरेको पाइन्छ ।  बणकी अतवार पर्व परापूर्वकालदेखि थारु समुदायले मनाउँदै आएको भएपनि त्यसमा कुन देवताको पूजा हुन्छ भन्ने बारेको मतमा एकरुपता देखिदैन । कसैले पाण्डवका पाँच भाइमध्येको एक भाई भीमको पूजा हुने विश्वास गर्छन् । कसैले सो पर्वमा अग्नी देवताको पूजा हुने तर्क गर्छन् । त्यसै गरी कसैले सूर्य भगवानको पूजा हुने विश्वास गर्छन् ।   भीमले थारु चेलीलाई एक राक्षसबाट जोगाएकाले भीमका लागि थारु समुदायले बणकी अतवारमा ब्रत बस्ने गरेको विश्वास एउटा छ । अर्को, अग्नी देवताले थारु समुदायको भात भन्सामा सहयोग गरेको, अन्नपात र कृषि बालीका लागि सहयोग गरेको बुझाई छ । त्यस्तै, अर्कोतिर सूर्य देवताले थारु समुदायका कृषक तथा चेलीबेटीहरुको काममा सहयोग गरेको, सूर्यको प्रकाशले अन्नबाली सप्रेको, दैनिक कामकाजमा सहयोग पुगेको तर्क छ । ब्रत बिधि बणकी अतवार पर्वका लागि शनिबारको रात कुखुरा न बास्दै मध्येरातमा डटकट खाने   गरिन्छ । घरका महिला सदस्यले राती नै भातभन्सा तयार गरी मीठा परिकारले डटकट खाने व्यवस्था गर्छन् । आइतबारका दिन व्रत बस्नुपर्ने भएकाले राती नै व्रतालुहरु पेटभरी मीठा परिकारसहित खाना खान्छन् । आइतबार विहानदेखि बणकी अतवारमा व्रत बसेकाहरुका लागि तेलमा नपकाइएको रोटी, फलफूल, सर्वत (पेय पदार्थ), काठ दाउरा, सल्लाको धुप, आदि तयारी गरिन्छ र बेलुकी पखसम्म सबै परिकार ब्रतालु आफैले तयार गरिसकेपछि नजिकको नदी, तलाउमा गएर स्नान गर्ने गर्छन् । सूर्यास्त नहुदै ब्रतालुले आफू बस्ने ठाउँलाई गाईको गोबर पानीले लिपपोत गरेर चोखो बनाउँछन् र सोही ठाउँमा काठको चिर्पट्, पिर्का राखेर बसेर फरहर गर्छन् । विभिन्न जिल्ला, क्षेत्रमा अटवारी भदौ १२ गते मनाइए पनि नवलपुरमा बणकी अतवार भदौ १९ गते परेको छ । मैले सुनेअनुसार दाङदेउखुरीको लमही नगरपालिकाले पनि अटवारीको विदा भदौ १९ गते दिएको छ । अटवारी, बणकी अतवार जे नाम दिए पनि थारु चाडवाड एकै दिन मनाउन सके मात्र राम्रो सन्देश जाने थियो । व्रतालुका लागि खाने परिकार र अन्य तयारी गर्ने ब्यक्ति पनि व्रत बसेका हुन्छन् । आसन अगाडि राखिएको खानेकुरालाई एक भाग छुट्याई अग्नी देवताको पूजापाठपछि मात्र व्रतालुले बनेको रोटी, फलफूल, सर्वत खान्छन् । त्यो दिन नून र तेल खान वर्जित गरिएको हुन्छ ।  पूजापाठ गरी परिकार खाँदा सूर्य अस्ताउनु अघि नै सबै काम सकिसक्नु पर्ने हुन्छ । सूर्यको अस्त पछि गाई गोरु गोठमा प्रवेश भएपछि खानेकुरामा फेरि प्रतिवन्ध लाग्छ । अर्थात् व्रतालुले खान पाउँदैनन् । पश्चिम तराईमा चेलीबेटीलाई अग्रासन दिने चलन भए पनि नवलपुरमा भने त्यो चलन पाइँदैन । बणकी अतवार ब्रत फल बणकी अतवार पर्व नितान्त थारु समुदायले मनाउने पर्व हो । बिभिन्न कारणले दुःख पाइरहेका ब्यक्तिहरुले यो ब्रत लिए सबै दुःख कष्ट नाश हुने, घाउ चोटपटक र छालासम्बन्धि रोगबाट मुक्त हुने, धन–यश, मनोकांक्षा पुरा हुने, निःसन्तान महिलाले सन्तान प्राप्त गर्ने जनविश्वास रहँदै आएको छ । विभिन्न जिल्ला, क्षेत्रमा अटवारी भदौ १२ गते मनाइए पनि नवलपुरमा बणकी अतवार भदौ १९ गते परेको छ । मैले सुनेअनुसार दाङदेउखुरीको लमही नगरपालिकाले  पनि अटवारीको विदा भदौ १९ गते दिएको छ । अटवारी, बणकी अतवार जे नाम दिए पनि थारु चाडवाड एकै दिन मनाउन सके मात्र राम्रो सन्देश जाने थियो । लेखक पेशाले शिक्षक हुन्

ओइ बाउ, खोइ मेरो साइकल ?

ओइ बाउ, खोइ मेरो साइकल ?

११०९ दिन अगाडि

|

१४ भदौ २०७९

छ महिनादेखि प्रायः हप्तामै दुई तीनपटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ । मैले फोन उठाउन नपाई छोराको एकतमास बालसुलभले भरिएको च्याट्ठिएको एकोहोरो बोली सुनिन्छ – ए बाउ, खोइ मेरो साइकल ? खोइ, खोइ, खोइ ? उ तारन्तार मोबाइलमा बोलिरहन्छ । पहिला केही माग्दैनथ्यो उ । बच्चा भएकै कारणले मैले आफ्ना अभिभावकसँग केही माग्नुपर्छ भन्ने चेतना पनि उसमा थिएन होला । तर जबदेखि उसले खेलौनाहरु आफै खेलाउन सिक्यो तबदेखि उसले हामीसँग माग्न थालेको छ । बच्चा भएर पनि उसले चकलेट माग्दैन । मामुले खुवाउने हापुमा टाउको हल्लाउँदैन । जे खुवाए पनि कुपुकुपु खान्छ । बरु कहिलेकाहीँ उ खाँदा खाँदै निदाइदिन्छ । तर म यो खान्न, उ खान्न भनेर कहिल्यै जोरी खोज्दैन । ठूलै चोट वा कुनै आफतविपत नपरेसम्म उ आँशु पनि झार्दैन । एकदिन संयोग पनि यस्तै प¥यो । मैले फोन गर्दा छोरा साइकल चलाइरहेको रहेछ । मैले फोन गर्नु र उसको पनि साइकल बिग्रनु । साइकलको चेन फ्राइविलबाट उत्रेपछि पाङ्ग्रा अगाडि पछाडि गुड्दैन । धकल धाकल यताउति गरेर उसले साइकल गुडाउने प्रयत्न गरेछ । तर साइकल डेक चलेन । अन्ततः उसले आमाले गुहार लगायो । आमा पनि काठमाण्डौको रैथाने न परिन् । चलाउँदा चलाउँदैको साइकल के गरी बिग्रिएछ । कसरी बनाइदिने हो, उनले पनि जानिनन् र छोरालाई फकाउँदै भनिछन् – बाबु, अब यो साइकल बन्दैन । ऊ बालक न हो आमाले नै अब यो साइकल बन्दैन भनेपछि एकछिन त उ अवाक भयो । अब यो साइकल पुरानो भयो थोत्रो भो, कहिल्यै बन्दैन भनेर छोरा भन्ने आमाको दोस्रो वचन सुनेर उ डाँको छोडेरै रुन थाल्यो । एकछिन त उनले पनि छोरालाई फकाउने प्रयत्न गरिन् । तर खेल्ने साइकल बिग्रिएको पीरमा छोराको मन सजिलै भुलेन । नयाँ किनिदिउँ भनेर फकाउँ साथमा पैसा छैन, नकिनौं खेलेर भुल्ने छोराको एकमात्र खेलौना साइकल बिग्रिएको छ । कसै गर्दा छोराको मन भुलाउन नसकेपछि अन्ततः उनले मलाई फोन लगाइदिएर आफ्नो फोन छोराको हातमा थमाइदिइन् । फोनमा हेलो पनि भन्न नपाई छोरा रोएको सुनेर मनै कुँडियो । तैपनि फकाउँदै सोधें, ‘‘के भयो छोरा ? छोराले मेरो साइकल बिग्रियो भनेर फोनमै ह्वाँ ह्वाँ रुन थाल्यो । पीर नगर छोरा, म अर्को नयाँ साइकल किनिदिन्छु नि भनेर फोनमै फकाउन खोजें । कहिले किन्दिने ? मलाई खेल्ने साइकल चाहिंदैन ? उसले फर्माइसयुक्त स्वरमा भन्यो । पख, म अब केही दिनमै मेरो राजालाई नयाँ साइकल किनेर पठाउँछु है भनेर थामथुम पारें । छोराले हस् भनेर फोन राख्यो । उसलाई विश्वास छ, बाबाले बोलेको वाचा पूरा गर्नुहुन्छ । त्यही भएर मैले फोनमै साइकल किनिदिने गरेको वाचाले उ सुफ्लिदै कुरा गरिरहेको फोन आफ्नो मामुको हातमा थमाइदियो । घटना हुनुपूर्व महिना दिन पहिलेको कुरा हो, एकदिन उ र म टीकापुर बजार डुल्न गएका थियौं । बाबु र छोरा कारमा सवार हुँदै मैले चकलेट खाने प्रस्ताव राखें । चकलेटको नाम सुनेर कुन बच्चाको मन हुरुक्क हुँदैन र ? छोराले मुन्टो हल्लाएपछि हामी एक पसलमा चकलेट किन्न ओर्लिर्यौं । सम्झें, बाबु छोरा मात्रै छौं । आज यसलाई खल्तीभरि चकलेट किनिदिन्छु । र पसलेलाई पाँच सयको नोट दिंदै भनें – साहुजी, यो सबै रुपैयाँको चकलेट दिनुस् है ! साहुजीले बीस, बाइस रुपैयाँ पर्ने क्याड्बरीको झोला थमाएको देखेर उ आश्चर्यमा प¥यो र मलाई हेर्दै भन्यो – ‘‘यो सप्पै चकलेट हामीलाई हो बुबा ?’’ – हो नि, मैले सप्पै चकलेट मेरो छोरालाई किनिदिएको हो । पोलिथिनको झोलाबाट दुइटा मात्रै चकलेट निकाल्दै उसले तोतेबोलीमै जवाफ दियो – ‘‘नो पापा, वि निड इट ओन्ली टु ।’’ उ जन्मेदेखि दुइटा भाषा जान्दछ, नेपाली र अंग्रेजी । रञ्जिताले उसलाई थारु, नेपाली र अंग्रेजी गरि तीन भाषामा पोख्त बनाएकी छिन् । बच्चाको दिमाग तेजिलो हुन्छ र सजिलै सिक्दा पनि रहेछन् । उ मसँग अक्सर अंग्रेजीमै कुरा गर्छ । हैन, मैले सप्पै चकलेट छोरालाई नै किनिदिएको हो, राख न बाबा खल्तीमा । उसले लगाएको हाप पाइन्टमा चकलेट राखिदिने प्रयत्न गर्दै भनें मैले । – नो नो, ह्वाइ वी स्पेन्ट लट अफ मनी ? हामीलाई दुइटा भए पुग्छ के । एउटा हजुरलाई, एउटा मलाई । उसले हाप पाइन्टबाट अरु चकलेट निकालेर साहुजीको हातमा फिर्ता गरिदियो । ‘‘लेउ न बाबु, खल्तीमा राख, बाबाले किनिदिएको चकलेट हो । पछि खाउलाउ नि ।’’ भन्ने साहुजीको आग्रहलाई पनि उसले लत्याइदियो । छोराले देखाएको ज्ञानी व्यवहारले म र साहुजी दङ्ग प¥यौं । केही सीप नलागेपछि बाँकी पैसा फिर्ता लिन बाध्य भएँ म । आँशु सिद्धिएको परेली धारामा धुँदै सम्झें, ‘‘जीवनमा हाँसोको पूर्णविराम पनि हुँदोरहेछ । आँसु नै साथी आँसु नै सहारा ।’’ घरबाट बाबुछोरा मात्रै कारमा घुम्न निस्कदा सोचेको थिएँ, आज छोराले इच्छाएको खुवाइदिने र रोजेको किनिदिने । उ सबै कुरामा पैसा बचाउन मात्रै खोज्छ । नाना किन्न खोज्दा पनि घरमा छँदैछ भनेर टार्छ । खानेकुरा किन्न खोज्दा पनि पैसा धेरै खर्च हुन्छ भनेर आफै पर्स छिनेर मेरो खल्तीमा हालिदिन्छ । छोराको ज्ञानी व्यवहार देखेर कुन चाहीँ बाबुको मन हर्षविभोरित हुँदैन र ? त्यो दिन उसको व्यवहारले मख्ख भै मैले कार चलाइरहेको स्टेरिङकै हातले आँशु पुछें । सकेसम्म कुनै कुराको फर्माइस नगर्ने, नाना, गुडिया किनिदेउ भनेर कहिल्यै ¥याख¥याख्ती नपार्ने आमा बाबुलाई दुःख दिएर हैरान नपार्ने छोराले नयाँ साइकल माग्नुको कारण मैले बुझिसकेको थिएँ । हिजो उ टीकापुरको आफ्नो ठूलो कम्पाउण्डले घेरिएको चौडा घरमा थियो । उ सँग चाहेजस्तो, मनले रोजेका थरिथरिका खेलौनाहरु थिए । पैतालामा गाडी, पैतालामै गुडिया । जे चाह्यो त्यो सबै थिए । तर आज उ सँग मामा घरमा छोडिएको एउटा पुरानो साइकल मात्रै थियो । हप्तौं त्यही साइकलमा खेल्दा खेल्दै उ वाक्क थियो होला । अनि भएको त्यही साइकल पनि बिग्रिएपछि अर्को साइकल नमागेर के गरोस् त ? तर हामी पनि विवशताको पहाडले चिचिका थियौं, रञ्जिता काठमाण्डौमा सुख्खा थिइन्, म भारतमा भुख्खा थिएँ । त्यहाँबाट जुन दिन छोराले सम्झिन्छ, त्यही दिन फोन गर्छ र नयाँ साइकल खोइ भन्छ । बिचरी रञ्जिताले पनि कति दिन थेग्नु छोराको जिद्दी । उनी पनि जब जब छोराले साइकल सम्झेर दुःख दिन थाल्छ, तब तब मलाई फोन लगाइदिएर छोरालाई थमाइदिन्छिन् । छोराको हातमा मोवाइल पर्ने बित्तिक्कै उस्तै धम्की सुन्छु म – ‘‘ए बाउ, मेरो साइकल खोइ ?’’ छोराको मायालु धम्कीपूर्ण भाषा दिन प्रतिदिन यसरी सुन्दै गएँ र भोलि भोलि भन्दै टार्दै गएँ । मसँग पैसा भए पो साइकल किनिदिनु । कहिलेकाहिँ बजार घुम्ने टेम्पो भाडासमेत नभएको अवस्थामा छोरालाई साइकल किन्ने पैसाको जोहो त टाढाकै कुरा भयो । पटक पटक छोरासँग झूठो बोलिरहनुको पीडा बयान गरेरै साध्यै छैन । भोलि भोलि भन्दा छोरो पनि आत्तिइसकेको थियो । अघिपछि भनेको फर्माइस भुइँमा झर्न नदिने बाबुको आनीबानीको बारेमा जानकार थियो ऊ । तर, अहिले त्यत्रो पटक फोन गर्दासमेत मेरो कुरा किन नसुनेको होला बाबाले भन्ने पनि लाग्दो हो उसलाई । झूठको पनि सीमा हुन्छ नि । त्यसैले आजभोलि उसले मेरो कुरा पनि पत्याउन छोडिसकेको छ क्यारे ! मैंले फोन गरें भने पनि सिधा धम्की दिन्छ – ‘‘ए बाउ, खोइ मेरो साइकल ?’’ भारतमा दशैंको रौनक नभए पनि नेपालमा दशैं आएको जानकारी छ मलाई । टीकापुर आन्दोलनका क्रममा हामी सबै परिवारको सम्पत्ति जायजेथासहित सम्पूर्ण लत्ताकपडा पनि जलाइएको छ । एउटा झोलामा आमा–छोराका दुई–चार जोर कपडाबाहेक रञ्जितासँग पनि अन्य लत्ताकपडा कहाँ होलान् र ? दशैंजस्तो चाडबाडमा छिमेकका सबैजना नयाँ नाना किन्न जाँदा उनले पनि सोच्दिहुन् – आमा छोराका लागि एकसरो कपडा किन्न पाए त हुन्थ्यो । च्यात्तिएको एकसरो लुगाबाहेक प्रवासमा म सँग केही नभएको साक्षात जानकार थिइन् उनी । त्यसैले यो अवस्थामा दवाव दिनु उचित ठान्दिन थिइन् क्यारे ! मेरो पीडाको पाप्रा उप्काएर झनै पीडित बनाउन उनी चाहँदैनथिन् होला । मैले सोद्धा जवाफ दिन्थिन् – लगाउने कपडा छँदैछ नि । धेरै चिन्ता नगर । बरु समस्याको समाधान कसरी गर्न सकिन्छ, त्यतातिर ध्यान देउ । – आभूलाई नयाँ नाना छ त ? छातिमाथि बज्रले हिर्काएको भन्दा ठूलो चोट सहदै एकदिन मैले उनलाई सोधेको थिएँ । उनी धेरैबेर बोलिनन् । मोबाइलमा सुनिएको सुँक्क सुँक्क आवाजले कुरा बुझिहालें । यसपालि दशैंमा छोराको लागि नयाँ नाना किन्ने हैसियत रहेनछ हाम्रो । फोन राखेर बाथरुममा छिरें । पानीको धारा खाली बाँटामा खोलिदिएँ । छ्वार्र आवाजले रोएको आवाज पक्कै सुनिदैन होला भनेर डाँको छोडेर रोएँ । धित मरुञ्जेल रोएँ । आँशु सिद्धिएको परेली धारामा धुँदै सम्झें, ‘‘जीवनमा हाँसोको पूर्णविराम पनि हुँदोरहेछ । आँसु नै साथी आँसु नै सहारा ।’’ छोराको जिद्दी थाम्न नसकेपछि एकदिन काठमाडौंमा साथीलाई साइकलको लागि अनुनय गरें । ठीकै छ, म भोलि भाउजूलाई बोलाएर नयाँ साइकल किनिदिउँला साथीले भन्यो । भोलि नै त मलाई फोन सम्पर्क गर्न मन लागेन, साथीले भने बमोजिम निकैदिन कुरें । तर साथीको भोलि कहिल्यै आएन । अर्को एकजना निकटको मित्रलाई गुहारें । दशैंको बेलामा श्रीमती र छोराका लागि केही गरिदिन अनुनय गरें । उहाँले पनि भोलि नै भन्नुभयो । साढे सात र शनीहरुले हाम्रो यो पीडामा थपडी बजाइरहेका होलान् । हामीलाई घानमा पारेर धेरै थारु नेता मन्त्री भएका छन् । उनीहरुको दशैं त उमङ्गमय नै होला !  दशैंको बेलामा आफूलाई केही नभए पनि परिवारको लागि कमसेकम एक जोडी कपडा त किनीदिउँ भनेर धेरै साथीभाइलाई गुहारियो, तर सबैको एउटै उत्तर थियो भोलि । राज्यको मोष्ट वान्टेड सूचिमा रहेकोले पनि होला, धेरै साथी त म सँग फोनमा कुरा गर्न पनि चाहँदैनथे । एकजना पुराना साथी थिए । मेरा असाध्यै प्रशंसक । काठमाडौंमा हुने थारुहरुको हरेक क्रियाकलापमा उनी मेरो पक्षधर हुन्थे । वर्तमानमा उनी सभासद थिए । दिल्लीमा भेट हुँदा ‘भाउजू र छोराको म अवश्य केही गर्नेछु नेताजी’ भनेर उनले मलाई वचन दिएका थिए । अचानक उनी अनलाइनमा देखा परे । ‘भाउजू र छोराको लागि केही गर्न सकिन्छ ?’ उनले मेरो म्यासेज त पढे । तर जवाफ नफर्काइकनै अचानक उनी डिसकनेक्ट भए । आज बिहान फेरि छोराको फोन आयो । रञ्जिता केही बोलिनन् । उनलाई थाहा थियो – मेरो बुढाले आजपनि पक्कै भोलि भन्नेछ । मन थामिएन । काठमाण्डौमा भाइलाई फोन गरेर भतिजाको लागि साइकल किनिदिनु भनेर अनुनय गरें । उसले किनिदिने आश्वासन दिएको छ । सायद मेरो छोराले दशैंमा साइकल पाउँछ होला । जिन्दगीका हरेक संघर्षमय दिनहरुमा रञ्जिता मसँगै छिन् । उनले छोरीजस्तै बाबा, भोक लाग्यो भन्थिन् । म खाजा लिएर टुप्लुक्क उपस्थित हुन्थें । आज घरमा भात नपकाउ है भन्दा हामी गाडी चढेर राम्रो होटेलमा गई मनलाग्दो खान्थ्यौं । तर, समयले अनायस हामीमाथि घोर अन्यायको बादल ओढाइदिएपछि एकअर्काको आलिङ्गनबाट पनि टाढिएका छौं । उनलाई भोक लागेको बेला सकेको खुवाएँ । आजभोलि सोच्छु, जिन्दगीमा छोराको साइकल फर्माइस पूरा गर्न नसक्ने दिनपनि आउँदोरहेछ ? जे भएपनि मन बुझाएकै होलिन् । चित्त बुझाएकै होलिन् । अहिलेसम्म मुद्दा फिर्ता गर्ने सरकारको कुनै छाँटकाटै छैन । यता परदेशमा मैले त आङ ढाकेकै छु । उनी कस्ती छिन् भनेर कल्पेर रुनुको बिकल्प छैन मसँग । उनले पकाएको खसीको मासु असाध्यै मीठो लाग्छ मलाई । तर के गर्ने समयले उनको र मेरो भान्सा अलग अलग गरिदिएको छ । एकै थालमा पस्केर एकअर्कोलाई नखुवाईकन पेट भरेको जस्तो नलाग्ने हाम्रो जोडीमाथि राजनैतिक राहुको प्रवेशले छुट्टयाइदिएको छ । सायद साढे सात र शनीहरुले हाम्रो यो पीडामा थपडी बजाइरहेका होलान् । हामीलाई घानमा पारेर धेरै थारु नेता मन्त्री भएका छन् । उनीहरुको दशैं त उमङ्गमय नै होला ! हामीले धेरै वर्षदेखि दशैंताका रेडियो कार्यक्रममा एउटा गीत निरन्तर बजाउने गर्दथ्यौं दशैंको पीडाको । हामी खुशी भएका दिनमा दुखिला दशैं हुनेहरुको पीडा पनि यसैगरी बज्यो हाम्रो रेडियोमा – ‘‘दिनै बित्छ रोएर, रातै कोल्टे फेरेर कति बसुँ दया राजै बाटो कुरेर ।’’ राति सपनीमा देखें रञ्जु र छोरा बाटोमा बसेर भीख माग्दै रहेछन् । कुनै दयालुले उनले ओछ्याएको रुमालमा एक रुपैयाँको ढ्याक हालिदिएछ । दुबैजना खुसीले उफ्रेछन् । झसङ्ग भएर असिनपसिन भई उठें । फेरि कोल्टो फेरेर निदाउन प्रयत्न गरें । दोस्रो सपनामा रञ्जिता र छोरा अगाडि थिए । रञ्जिता हात जोडेर उभिएकी थिइन् । छोरा भने मलाई थर्काउँदै थियो – ए बाउ, मेरो साइकल खोइ ? के हाम्रो जीवनमा यस्तो दिन पनि आउँछ ? कल्पनै नगरेको सपना कसरी देखें मैले ? भिजेको छाती र निधार रुमालले पुछेर फेरि निदाउने प्रयत्न गरें । दोस्रो पटकको निदरीमा पुनः सपना देखें । रञ्जिता पोको पकुन्तरोसहित छोराको हात समातेर उभिइरहेकी थिइन् । छोरा भने मलाई थर्काउँदै थियो, ‘‘ए बाउ, खोइ मेरो साइकल ?’’ चिरफार पुस्तकबाट  

बा आमाजस्तै मेरा गुरुहरू 

बा आमाजस्तै मेरा गुरुहरू 

११११ दिन अगाडि

|

१२ भदौ २०७९

२०४५ सालमा मैले श्री वालजनता उच्च मावि दाङदेउखुरीबाट एसएलसी पास गरेको हुँ । प्राविको सुरुवातको तहमा म साह्रै कमजोर विद्यार्थी थिएँ । कारण हामीलाई ‘गाइड’ गर्ने मान्छे घरमा कोही थिएन । परिवार नै पहिलो पाठशाला हो । तर परिवारको पाठशालामा सिकाउने कोही थिएनन् । मेरा पिता टीकाराम चौधरी पहाडमा फरेष्टरको जागिर खानुहुन्थ्यो । आमा पढेकी थिइनन् (हाल साक्षर भएकी छिन्) । काका हामीभन्दा माथिल्लो तहको कक्षामा भएपनि हामीलाई पढाइमा डोर्याउने काम कहिल्यै गर्नुभएन ।     कक्षा २ मा म फेल भएँ । कारण मलाई ‘क’ लेख्न समेत आउँदैनथ्यो । १ कक्षा कसरी उकालिएको थिएँ, मलाई सम्झना छैन । ३ कक्षा म बडो मुश्किलले तेश्रो श्रेणीमा पास भएको थिएँ । त्यसवेला ३ कक्षा जिल्लास्तरीय हुन्थ्यो । जब कक्षा ४ मा पुगेँ, पढाई आफ्नै लागि हो भन्ने भावना केही ठूला लेखकहरुको जीवनी पढेर थाहा पाइसकेको थिएँ । त्यसैले पढाईमा जति सक्दो ध्यान दिने प्रयास गर्थेँ । तर मेरो टेक्ने आधार नै कमजोर थियो ।  कक्षा ४ मा म अँग्रेजी र गणितमा फेल भएँ । विद्यालयले २ विषयमा फेल हुनेलाई १ महिनाको कोचिङ कक्षाको व्यवस्था गर्यो र पुनः मौका परीक्षा दिने अवसर दियो । यो व्यवस्था ४ कक्षाबाटै सुरु गरिएको थियो । यो कोचिङ कक्षाले मलाई निकै उर्जाको काम गर्यो । जम्मा २ विषयमा मात्रै महिना दिन घोरिएर पढ्दा अँग्रेजी, गणित धेरै सुधार गर्ने मौका पाइयो । फलस्वरुप कक्षा ४ मा व्याक लागेर बल्लतल्ल पास भएको विद्यार्थी कक्षा ५ मा एकैपल्ट दोश्रा भएँ । उता दुई तह माथि हुनु भएको मेरो दाई ऋषिराज चौधरीलाई कक्षा ६ मा व्याक लागेकोमा कक्षा ७ मा एकैपल्ट पहिला हुनुभयो ।  विद्यालयका शिक्षकहरु हाम्रो पढाईमा सुधार भएको देखेर आश्चार्यचकित थिए । सबै शिक्षकको मुखमा एउटै कुरा झुन्डिएको थियो । यिनी दुई भाई अचानक यति तगडा कसरी भए ? जबकि घरमा छुट्टै शिक्षक पनि राखिएको थिएन ।  तर हाम्रो सफलता अचानक भएको थिएन । व्याक लागेपछि हामी दुई भाई साह्रै रन्थनिएका थियौँ । परीक्षाको समयमा मात्रै पढ्नुपर्छ भन्ने सोच त्यागेका थियौँ । वर्षे विदा र दसैं तिहार जस्ता लामो विदामा पढाई भएका सवै पाठ लेखेरै तयारी गर्ने बानीको विकास गरेका थियौँ, जो पछिसम्मै रह्यौ । कुशे औंसीका अवसरमा लेखिदै गरेको यस आलेखमा म मेरा पिताजी पछि मलाई प्रभाव पार्ने स्कुलका गुरुहरुप्रति केही सम्झनाको पोको खोल्ने प्रयास गरेको छु । व्याक परीक्षाको योजना ल्याउने तत्कालीन प्रधानाध्यापक राजेन्द्रप्रसाद चौधरीलाई आफूमा आएको परिवर्तनको श्रेय दिन चाहन्छु । वास्तवमा ब्याक परीक्षाको योजना नल्याएको भए म औसत विद्यार्थीको रुपमा मात्रै हुन्थेँ कि ?  प्रधानाध्यापक चौधरीका अरु पनि विशेषता थिए । उहाँ कक्षा कहिल्यै खाली हुन दिनु हुन्नथ्यौ । अँग्रेजीको शिक्षक भए पनि कक्षा खाली भएको बेला जुनकुनै कक्षामा के विषयको घण्टी खाली भएको हो पढाउन थाल्नु हुन्थ्यो । त्यो विषय कहिल्यै नपढाउनेले पढाउँदा विद्यार्थीमा अझ उत्सुकता, रुचि जाग्दोरहेछ ।  पछि हेडसरले कक्षा खाली भएको परिपूर्ति गर्न गज्जबको ‘आइडिया’ ल्याउनुभयो । कक्षाका उत्कृष्ट विद्यार्थीले नै घण्टी खाली भएकोमा पढाउन थाल्ने । ५ र ६ कक्षामा दोश्रा भएकोमा म ७ कक्षामा  पहिला भएको थिएँ । ७ कक्षामा पढ्दा त्यो योजना ल्याइएको थियो । निश्चय नै जुन विषयको घण्टी खाली भएको हो, कक्षा प्रथम विद्यार्थीको नाताले त्यो विषय पढाउनुपर्ने मेरो पहिलो दायित्व पथ्र्यौ । यसरी विद्यार्थी छँदै म शिक्षक भएको थिएँ । आफ्नै सहकर्मीहरुलाई ‘गाइड’ गर्न पाउँदा यो भन्दा खुशीको कुरा अरु कुन होला र ?  हेर्दाहेर्दै विद्यार्थीलाई त्यो तहसम्मको जिम्मेवारी सुम्पिने राजेन्द्र गुरुलाई म यो लेखनी मार्फत पनि प्रणाम गर्न चाहन्छु । जसले मलाई पढाइमा थप आत्माविश्वास दिलायो र परीक्षाको लागि कहिल्यै डराउनु नपर्ने स्टेजमा पुर्यायो । मेरा पिताजी पछि कसैले मलाई प्रभाव पार्यो भने त्यो राजेन्द्र गुरु नै हुन् ।                                   तत्कालीन प्रधानाध्यापक राजेन्द्रप्रसाद चौधरी     अग्लो हृष्टपुष्ट खाइलाग्दो ज्यान, रवाफिलो वोली, हात्ती जस्तो लमक लमक हिँडाइले जो कोही विद्यार्थी राजेन्द्र सरसँग तर्सिन्थे । कारण घण्टी लागेपछि कक्षा वाहिर हुने जो कोही विद्यार्थी उहाँको कोपभाजनको शिकार हुन्थ्यो । उहाँको रवाफिलो वोलीले विद्यालयको वातावरण औधी शान्तमय थियो, विद्यालय अनुशासित थियो । उहाँको छोरा सुरेन्द्र चौधरीसँग हामी सहपाठी थियौं । गृहकार्य नगरेकोमा छोरालाई समेत कुट्नु हन्थ्यो । यसरी कसैलाई काखा, कसैलाई पाखाको व्यवहार कहिल्यै गर्नुभएन उहाँले । प्रशासनसमेत चलाउने प्रधानाध्यापकमा ओजपूर्ण आवाज हुनैपर्छ, जुन उहाँमा थियो । अमेरिकाबाट अँग्रेजी भाषाको तालिम लिएर आएपछि राजेन्द्र सर अझ खारिएर आउनु भएको थियो । त्यसको थप उपलब्धि अमेरीकी स्वयमसेवक शिक्षिका ‘एमी एकर’लाई विद्यालयमा भित्र्याउनु भयो । जसले गर्दा कक्षा पूर्ण रुपले अंग्रेजी वातावरण भएपछि सुरु सुरुमा गाह्रो लागे पनि पछि अंग्रेजी बुझाई सहज हुँदै गयो ।  एमीले ६ र ७ मा अंग्रेजी पढाउँथिन् । पाठयोजना घरबाटै बनाएर ल्याउने र कालोपाटीमा टेपले टाँसेर पढाउने उहाँको सैलीले थोरै समयमा सवैको मन जित्यो । त्यसरी पाठयोजना वनाएर सुरुका र पछिका कुनै शिक्षकले पढाएनन् ।  एकदिन राजेन्द्र सरले अंगे्रजी सिकाइको लागि थप योजना ल्याउनुभयो । उहाँले भन्नुभयो, अमेरीकी शिक्षकले पूर्ण रुपले अंग्रेजी पढाएको तिमीहरुले बुझेकै छौ । म पनि अब पुरै घण्टी अंग्रेजीमै बोल्छु । तिमीहरुले कुनै प्रश्न भए अंग्रेजीमै गर्नेछौ । कोही नेपाली बोल्न पाउनेछैन । बोलेमा प्रति वाक्य १० पैसा फाइन लाग्नेछ ।  अनि, नेपाली बोल्नेलाई अनुगमन गर्ने र जरिवाना रकम टिप्ने जिम्मेवारी मैमाथि पर्यो । म आफै पनि ‘फाइन’ तिर्नेमा परें । तर यसले अंग्रेजी सिक्ने वातावरणको भने धेरै विकास गर्यो । अर्को कुरा अक्षर विगार्छ भन्ने हेतुले डटपेनले लेख्न प्रतिबन्ध लगाउनु भएको थियो उहाँले । यसले ह्याण्डराइटिङमा धेरैको सुधार भएको थियो ।      विज्ञान शिक्षक प्रकाशकुमार चौधरीको कक्षाको वातावरण पनि मुग्ध पार्ने खालको हुन्थ्यो । नअड्किइ सरासर परिभाषा लेखाउने शैलीमा उहाँ पढाउनुहुन्थ्यो । म पहिलो बेन्चमा बस्थे । एकदिन पढाइरहेको समयमा मलाई वाहिर हेरेको देख्नुभयो र झपार्नु भयो–‘कक्षा वाहिर हेर्ने भए म तिमीलाई सवैभन्दा पछिल्लो वेन्चमा वसालिदिन्छु । विद्यार्थीको नजर सधैँ पढाउने शिक्षककै मुहारमा केन्द्रीत हुनुपर्छ, अनि मात्रै पाठ पढाएको राम्ररी वुझिन्छ ।’ त्यो घटनापछि पढाइरहेको समयमा कक्षा वाहिर हेर्ने धृष्टता कसरी गर्नु र ?  ९ र १० कक्षामा अनिवार्य र ऐच्छिक दुवै गणित पढाउने श्याम बहादुर त्रिपाठी सरको पढाईले भने मलाई कहिल्यै तान्न सकेन । सायद उनी गेस पेपर हेरेर पढाउन आउँथे । कालोपाटीमा प्रश्न हल नगर्दै पुछारमा उत्तर लेखिसकेका हुन्थे । त्यसैले राम्ररी बुझाएर यो कसरी भयो भन्ने नअथ्र्याइ ठ्याक्कै उत्तर मिलाउनमै उनको ध्यान केन्द्रीत हुन्थ्यो ।  कक्षा १, २, ३ मा पढ्दा पाएको सजाय म जिन्दगी भरी भुल्न सक्दिन । कुखुरा नबनेको कुनै दिनै हुन्नथ्यो । कुखुरा बन्न नसक्ने धेरै साथीहरुले उहिल्यै पढाई छाडे । कुखुरा बनाउँदै पिठ्युँमा झोला, त्यसमाथि ईंटा थपिदिँदै शिक्षक प्रेम चौधरीले भन्ने गर्थे– यो केटोले कहिल्यै उन्नति गर्न सक्दैन । मैले नेपालीमा एमए सक्दा उनी आश्चार्यचकित भएका थिए । चाँडै पो विते विचरा । न भए आज मैले पीएचडी सकाउँदा उनको भाव कस्तो पो हुँदो हो ?  माथि वर्णित मेरो अनुभवले के भन्छ भने पाठयोजना बनाएर कक्षामा प्रवेश गर्ने, विद्यार्थीको मनोभावना बुझ्ने, थरीथरीका अतिरिक्त क्रियाकलाप गराउने, घण्टी खाली हुन नदिने, सजायले मात्रै विद्यार्थीले सिक्न सक्छन् भन्ने भावना त्याग्ने गुण राम्रा शिक्षकका उदाहरण हुन् । विद्यार्थीलाई अनुशासित र सफा सुग्घर भएको देख्न चाहने शिक्षकले आफूमा पनि त्यो गुण खोज्नुपर्छ । सबै विद्यार्थीलाई आफ्नै छोराछोरी सम्झिनु पर्छ ।  

थारू समुदायमा किन मनाइन्छ अट्वारी ?

थारू समुदायमा किन मनाइन्छ अट्वारी ?

१११२ दिन अगाडि

|

११ भदौ २०७९

                                                                                                                सबै तस्विरः लखन दहित पश्चिमा थारू समुदायमा भदौको दोस्रो या अन्तिम आइतबारको दिन अट्वारी टिउहार विशेष महत्वका साथ मनाइन्छ । यस वर्ष भदौ १२ गते अटवारी मनाइने भएकाले थारू समुदायमा अट्वारी पर्वको चहलपहल सुरु भैसकेको छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशले भदौ १२ गते अटवारीको विदा पनि दिएका छन् ।  लेखक छविलाल कोपिलाका अनुसार सामान्यतया अटवारी थारु समुदायको अस्टिम्की पर्व पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंसी) पछिको पहिलो आइतबारलाई बर्का अटवारी मान्ने चलन छ । बर्का अटवारी मानेर ४ आइतबार पछि दसैं लाग्छ । किनकि बर्का अटवारीपछि थप चार आइतवार अटवारी व्रत बस्ने पुरानै चलन छ । अथवा कुशे औंसी र दसैंको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ । यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबार नै बर्का अटवारी हो भनेर प्रमाणित हुन्छ । लेखक कोपिलाका विचारमा केही मानिसहरूको धारणा हिन्दू नारीहरूको हरितालिका तीज पछिको आइतबारलाई अटवारी मान्ने पनि छ । तर यो त्यति सान्दर्भिक देखिदैन । उनका अनुसार यदि तीजपछिको आइतबारलाई मान्ने हो भने ‘पाँच अटवारी’ व्रत बस्नेहरूको अटवारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । थारू वस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरूको बसाइँ थिएन । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो ।  कोपिला भन्छन्, कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । यो एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई अटवारी मान्ने भन्ने तथ्यलाई बढावा दिन सक्छ । तर सँधै यस्तो हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ अथवा तीज अगावै पनि पर्छ । तर, पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अटवारी मान्ने समस्या देखा परेको छ । यसमा एकरुपता हुनुपर्छ ।  कसरी मनाइन्छ अटवारी ? अट्वारी पर्वको लागि थारू चेलीहरु हरियो पात र दाउरा संकलनको जोरजाममा ब्यस्त छन् । तीन दिनसम्म मनाइने यो पर्वमा सुरुको दिन भटौर, डँट्कट्टन (दर) खाने, दोस्रो दिन ब्रत बस्ने र तेस्रो दिन आफ्ना दिदी बहिनीकहाँ अग्रासन अथवा कोसेली दिन जाने गरिन्छ । अट्वारीको दिन थारू समुदायमा मीठा परिकार पकाउन र पूजाआजा गर्नमा ब्यस्त रहन्छन् । खास गरी पश्चिम तराईका दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारू समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउने गर्दछन् ।       अट्वारी पर्वमा थारू समुदायका पुरुष मात्रै ब्रत बस्ने चलन रहेको छ । तर अहिले महिलाहरुसमे ब्रत बस्न थालेको देखिएको छ । अट्वारीमा ब्रतालु पुरुषहरु पानी समेत नपिएर निराहार ब्रत बस्ने गर्दछन् । यसअघि शनिवार राती भाले बास्नुभन्दा पहिलै मीठा मीठा परिकार बनाएर भटौर खाने गर्दछन् ।  ब्रत बसेको दिन ब्रतालु पुरुषहरु साँझपख पाँच पाण्डवमध्ये भेवा (भीमसेन) काो पूजा गर्ने गर्दछन् । भीमको पूजा गरेमा भीमजस्तै बलवान हुने  मान्यता रहेको छ । यसै गरी यस पर्वमा विभिन्न थरिका रोटी पकाएर पूजा गर्ने गरिन्छ । गन्यारि नामक् काठ घोटेर शुद्ध आगो बालेर सोही आगोबाट रोटी पकाइन्छ । र, त्यही आगोबाट यो पर्वमा परिकार पकाइन्छ ।  अझ विशेषत यस पर्वमा भीमको पूजाको लागि एककर मतलब एकातिरमात्रै पकाएको रोटीको बिशेष महत्व रहेको छ । थारू समुदायले यो रोटी भीमलाई नै समर्पित गरेर भ्याँओक रोटी बनाउँछ ।  भीम रोटी पकाउँदा पकाउँदै दुश्मनसँग लडिरहेका थारुहरुलाई सघाउन युद्ध लड्न गएको र लडाई सकेर आउँदा हतारमा एकातिर मात्र पाकेको रोटी खाएको भन्ने कथन थारू समुदायमा सुन्न पाइन्छ । त्यसैले थारू समुदायमा भीमको पूजाको लागि एकातिरमात्र पाकेको एउटा रोटी पकाउने चलन छ ।  दाङ्गका थारू राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको बेलामा सुर्खेतको काँक्रे विहार घुम्न आएका पाँच पाण्डवमध्येका भीमले दंंगीशरणलाई सहयोग गरेर शत्रुलाई पराजय गरी विजय प्राप्त गरेको खुशियालीमा थारू समुदायमा अट्वारी पर्व मनाएको किम्बदन्तीमा उल्लेख छ ।  ब्रत बसेको दिन ब्रतालु पुरुषहरु दिउँसो भीमको पूजा सकेर रोटी, दूध, दही फलफूल मात्रै खाने गर्दछन् । दिन डुबेपछि खान पाइँदैन ।  आइतबारको पूजा सकेर सोमबार बिहान नुहाएर शुद्ध भई फरहार गर्ने चलन छ । फरहारमा गेडागुडीलगायत हरियो तरकारी पोंइको साग, कैंठा (चिचिन्डो), माछा, खँरिया, फुलौरि लगायत परिकारको बनाइन्छ । फरहार गरिसकेपछि आफ्ना चेलीबेटीहरुलाई अग्रासन दिन जाने चलन छ ।  दिदी बहिनीहरु पनि दाजुभाइ आउने आसमा बसेका हुन्छन् ।  दाजुभाइको आगमनपछि विशेष स्वागत सत्कार गर्ने गर्दछन् । अन्तमा, सबै पाठक वर्गमा अटवारी २०७९ को शुभकामना छ ।