विकृत हुँदै गएको थारु पहिरन: माथि अंगिया, ब्लाउज, तल मिनिस्कट किन ?
११२९ दिन अगाडि
|
२५ साउन २०७९
राजु चौधरी ‘राज’
आजभोलि थारु पोशाक लगाउने चलन केही मात्रामा बढ्दै जानु सुखद पक्ष हो । तर यससंगै लगाउने तरिका पनि फरक हुँदै गएको छ । हामी नयाँ युवाले समयअनुसार परिवर्तन हुनु जरुरी पनि हुन्छ । तर, परिवर्तन हुने भन्दै आफ्नो संस्कृति पहिरन पोसाकको अस्तित्व नै मेटिने गरी पनि परिवर्तन गर्नु कदापी राम्रो होइन ।
हो, ठिक त्यस्तै हुँदैछ हाल थारु पहिरन पोशाकमा पनि । म थारु हुँ, मैले थारु पोसाक नै लगाउनु पर्छ भन्ने छैन । गैरथारुले पनि थारु पोसाक लगाउन सक्छन् । तर यदि थारु पोसाक लगाउनै परे पोसाकको सम्मान हुने गरी लगाउनु पर्छ ।
कुन पोसाक कसरी लगाउने थाहा हुँदा हुँदै आजभोलि थारु पोसाकको बेइज्जत हुने गरी जान्ने बुझ्ने, पढेलेखेका साधारणदेखि चर्चित कलाकार समेतले त्यस्तो गरेको छ्याप छ्याप्ती सामाजिक संजाल, टिकटकमा देखिन्छ । के माथि अंगिया, ब्लाउज लगाएर तल मिनिस्कट लाए सुहाउँछ त ? के थारु पोसाकको पूर्णता त्यही हो ? के यसरी नै हुन्छ त थारु पोसाकको जगेर्ना ?
जसले पोसाक जुनसुकै लगाओस्, त्यो उसको अधिकारको कुरो हो । तर पोसाकको मर्यादा पनि राख्न सक्नुपर्छ । जान्ने बुझ्ने चिरपरिचित ब्यक्तिकै सिको गर्छन् सर्बसाधारणले पनि । यदि जान्ने बुझ्नेले नै त्यस्तो गरेपछि कता जान्छ हाम्रो समाज ? बेलैमा यस्तो कुरामा ध्यान पुर्याउने हो कि जान्ने बुझ्ने चिर परिचित ब्यक्तिहरुले ।
लेखक गायक हुन् ।