‘ए जिन्दगी, के तिमीलाई सपनाविहीन केटीको माया लाग्दैन ?’

‘ए जिन्दगी, के तिमीलाई सपनाविहीन केटीको माया लाग्दैन ?’

८४७ दिन अगाडि

|

५ जेठ २०८०

'अभियान २०८४'ले  नाउपालाई देशकै ठूलो पार्टी बनाउने धोको

'अभियान २०८४'ले नाउपालाई देशकै ठूलो पार्टी बनाउने धोको

८६१ दिन अगाडि

|

२२ वैशाख २०८०

रेशम चौधरी धानले भकारी भरिन्छ । पानीले गागरी भरिन्छ। कुराले भरिने मनै त हो । भकारी भरिएपछि धान थन्काउन या त अर्को नयाँ भकारी बन्नुपर्छ, या त त्यतिकै पोखाउनुपर्छ  । यस्तै गाग्री भरिए पानी छछल्किएर जान्छ। तर कुराले भरिने त मन हो। मन भरिए कुरा कता पोखिन्छ होला ? जेलमा हरेक चिज साँघुरो छ। सुत्ने ठाउँ साँघुरो छ। खाने ठाउँ साँघुरो छ। खाएर फाल्ने ठाउँ साँघुरो छ । बाहिरका मान्छेहरूलाई थाहा हुन्छ कि हुन्न, सुन्दा सुन्दा कुरा अटाउने मन पनि साँघुरो भइसकेको हुन्छ हाम्रो। आजभोलि जेलमा यही कुरा महसुस गर्न थालेको छु म ।  भर्खरै जेल पर्दा भेटघाटका लागि आएका भेटालुहरू त्यति बोल्दैनथे।  यस्तै हो रेशम बाबु, यो जुनीको नभए पनि अर्को जुनीको कर्मले पिरोलेको होला। नआतिनुहोला दैवले जरुर न्याय देलान्। तिनको कुरा सुनेर घुटुक्क निल्थें म। तीन वर्षको प्रवास भोगेर आए पनि भर्खरै प्राप्त अपार जनमतले म पूर्ण थिएँ। त्यसैले भेटालुले देखाएको करुणा मलाई त्यति मन पर्दैनथ्यो। साँच्चै भन्ने हो भने ममा एक क्रान्तिकारीको दम्भ थियो। म कल्पिन्थें- चुकचुकाउने त विचारा दिनदुखीलाई पो हो। मैले के विगार गरेको छु र त्यस्तो, दयाको पात्र कहलिने? त्यस्ता भेटालुलाई विदा गरेर म भित्र छिर्थें र उनीहरू गएको जेलको बुईंगलबाट चियाइरहन्थे। सिंहदरवारमा सपथ खाएपछि भेटघाटमा आउने आफन्ति, इष्टमित्र, साथीभाइको संख्या बाक्लिन थाल्यो। तिनको उपस्थिति बाक्लिएकोमा मैले लिएको माननीयको सपथ र लेखेको पुस्तक 'टीकापुर घटनाको चिरफार'कै प्रभाव हो जस्तो लाग्छ मलाई।  जेल बसाइ‌को क्रममा दुई वर्षजति कोरोनाको कारणले भेटघाट बन्द गरायो कारागार प्रशासनले। त्यो २ वर्ष मेरा लागि जीवनकै महत्वपूर्ण भो। त्यो २ वर्षमा ११ वटा पुस्तक लेखें मैले। जेलको रुटिन पनि अस्याध्यै अनुशासित। राति २ बजे उठ्यो। विहान जेलमा कैदीको कल्याङमल्याङ नहुन्जेलसम्म लेख्यो। ९ बजे भात खायो। २ बजेसम्म सुत्यो। ३ बजेदेखि ५ बजेसम्मम लेखेको कुरा सम्पादन गर्‍यो। ६ बजे भात खायो, घुप्लुक्कै खुत्यो। शून्यतामा वितेको त्यो दुई वर्षले मलाई सबकुछ सिकायो । काठमाडौंमै रहेका श्रीमती र बच्चासँगको विछोड़ । घरमा बज्यै बितेको वियोग । साथीभाई इष्टमित्रसँगको भौतिक विछोड । कसैसँग साक्षात नभएपछि तिनीहरूसँग विताएका पलमात्रै झल्झल्ली याद आउने। तिनै भावनामा चुर्लुम्म डुब्यो। लेख्यो। खायो। सुत्यो। सलल नदी बगेजस्तैको जिन्दगी ।  राजनीतिक उतारचढावका कारण जेल परियो। राजनीतिक उछालकुद‌ले मेरो आँखा खोलिदियो। देशका नेतालाई मन लाग्दा सपथ खुवाउने, मन लाग्दा निर्वाचन आयोग लाने। मन लाग्दा जेलमा ल्याएर थुनिदिने। मैले मन बाँधेर निर्णय गरेँ- के म नेताहरूको मन लाग्दो बस्तु हुँ र ?' चल चौधरी चल। अब आफैं चलमलाउने पार्टी खोल । निर्वाचन आयोगको कानुन पनि कस्तो, म अन्य दलको सदस्य भई सनाखत गर्नहुने। तर पार्टी खोल्न नमिल्ने रे! जति दमन गरे पनि उपाय हजार! श्रीमतीको नाममा दल दर्ता गरेँ- 'नागरिक उन्मुक्ति पार्टी ।' २०७८ फागुन ३ गते दल दर्ता भो । वैशाख ३० गते स्थानीय चुनाव छ। जेलमा १/२ जनाबाहेक कसैले टिक‌टै माग्न आएनन्। रञ्जिताले टीकापुरमै भेट्‌या जतिलाई टिकट बाँडिदिइन्। हाम्रो लागि त नतिजा सोचेकै आयो तर अरुका लागि अप्रत्यासित भो। २ नगर, २ गाउँ गरी ४ पालिका र ९९ प्रतिनिधिले बाजी मारे  । असार साउन खेतीपातीमै गयो। दसैंको टीका जेलमै लगाएर रञ्जितालाई विदा गरें, मंसिर ४ को चुनावका लागि। १२ प्रदेश र ४ संघीय गरी १६ सांसद प्राप्त भो नाउपालाई। केही हजारको मतले मात्रै राष्ट्रिय पार्टी हुनबाट वञ्चित भो नाउपा । केही समय प्रदेश र संघीय सरकार निर्माणको झमेला सर्वविदितै छ। अन्ततः कार्यकर्ताको अतिरिक्त दबाब र जनआकांक्षालाई शिरोपर गर्दै पार्टी सरकारमा गयो। रञ्जिता भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनिन् । आजभोली भेटघाटमा कार्यकर्ता कम अन्य बढी आउँछन् । कसैले जागिर माग्या छन् । कसैको मान्छे कहाँ सरुवा गर्नु छ । कसैको काम गरिदिनै पर्‍यो रे  । कोही कोहीले त यो मन्त्रीले काम गरेन भने फाल्दिने हो सम्म सुन्नुपरेको छ । रञ्जितालाई मन्त्री बनाएर हाम्रो मुद्दा कतै ओझेलमा त परेन ? निकै पिरोलिन्छु म । 'अरु नसके पनि भूमिहीन कमैयालाई त जग्गा बाँडेरै छोडिन्छ' जेलको एकान्तमा दाह्रा किट्‌छु म । त्यसो त हिजोअस्ती नखुलेको धेरैको आँखा खुलेको पाउँछु म। आदिवासी जन‌जातिलगायत नाउपामा जोडिनेको संख्या हजारौंमा छ। सबैलाई हातेमालो गर्दै 'अभियान २०८४'को कार्यपत्र कोर्दैछ् म । 'अभियान २०८४'ले देशकै ठूलो पार्टी बनाउने धोको छ मेरो। आजस‌म्म असफल भएको छैन। पुरा नहुने सपना देखेको छैन। आँटेको कुरा जितेरै लिएको हुँ। हिम्मतका साथ रवाफिलो जवाफ छ मेरो- मिसन २०८४। हात्तीले धेरै खान्छ मुसोले थोरै। ठूलो पार्टी धेरै कार्यकर्ता। हाटबजार मान्छे हजार। फागुमा रंगीविरंगी। कार्यकर्ताका कुरा थरीथरी। थरिथरिका मान्छे थरिथरिका स्वभाव । सबैलाई एउटै डालोमा बोक्न भरियालाई कम्ति सकस हुन्न। र, पनि नाम्लो कसेपछि नबोकी सुख ? चल चौधरी, सबको सुन। सबको गुन। सयथरी कुरा लगाएर कान भर्नेको पनि सुन। तर लक्ष्य एउटै राख- अभियान २०८४ ।  हालः डिल्लीबजार, कारागार 

‘जिम्डारनक लाग ढ्यार कैगिल, आब आपन लाग कर्ना हो’

‘जिम्डारनक लाग ढ्यार कैगिल, आब आपन लाग कर्ना हो’

८९१ दिन अगाडि

|

२२ चैत २०७९

मानबहादुर चौधरी बर्दियक् ठाकुरबाबा नगरपालिकाके नेउलापुर गाउँम इह चैत १९ गते  द्वन्द्व पीडित परिवारहुकन भेटघाट कर्ना क्रमम डगरिम नेङ्गटि रहुँ । बुह्राइल अन्हार, टाङ्ग भरुवा डुनुवर छिट्वा झुलाइल, आपन सुरम नेङ्टि रहल बुह्राइल पुर्खासे से मुटभ्यार हुइल । मै बोल्नु, ‘बुडु कहाँ से आइटि रु कहाँ जाइटि रु’ जवाफ म उहाँ कल ‘सिढ्रा बेच गैल रहुँ । घर जाइटु’ कल ।  अच्चम्मित हुइटि पुछ्नु । ‘कै बरस पुग्ली, का नाउँ ? गाउँ कहाँ हो ?’ उहाँ कल रगविर थारु नाउँ हो । टकिया गाउँ हो । ८० बरस पुग्गिनु ।’   महिहन अच्चम्मित हुइटि डेख्क उहाँ कल, ‘महिहन सब जान अस्ट कठ । उमेर कठु ट झन अचम्म पर्ठ । बुह्राइल मनै घरहँ रना हो । बिसैना हो । घरमन कर्ना मनै पल हुँइहि जे कठ । महिहन ओसिन नि लागट । हाँठ पक्ख्रा चलटसम आपन लाग अपनेहे कर्ना हो । छिट्वा म टाँग भरुवा बोक्ख गाउँ गाउँ घुम्टि सिढ्रा ब्याच भिर्लक आठ बरस हुइल । डिनक २ हजार कमाही हुइट । हुइल कमाही बैंकम ढर्ठु । दुःख बेरामम ओ समस्याम काम लागठ । प्याटिम पट्ठरी परल रह । अप्रेशन ओ बिर्वा कराइ ब्याला डेढ लाख  लागल । कमाही कर्ल रहुँ ट, काम लागल काहुँ, रिन नि लागल, बुह्रागिनु कैख घर परल रटु ट कहाँ पइटु । लर्कापर्कन के आस कर परट ।  कोइ कर्ट कि नाही ? जाँगर चलटसम कर्ना हो । ओस्ट नि रना हो । मै ट मुक्त कमैया हुइटु । जवानी म जिम्डारनक लाग ढ्यार कैगिल । आब आपन लाग कर ब्याला झन जोस जाँगर आइट । लर्कापर्का आपन करट । मै फे स्याकटसम आपन लाग कर्ना हो कना मन कहट ।’ बुडु रगबिरके बाट सुन ब्याला भिट्टरसे मन फुह्वाइल । चार बीस उमेर काट्स्याकल टब फे जंग्रार ‘रगबिर बुडु’ के बाटले मनम बहुट्ट उर्जा आइल ।

 सन्हला वनगैंयासँगै हरायो उनको जडिबुटी ज्ञान पनि

 सन्हला वनगैंयासँगै हरायो उनको जडिबुटी ज्ञान पनि

८९९ दिन अगाडि

|

१४ चैत २०७९

डिल्ली आचार्य  म डंगौरा थारू गाउँमा हुर्केको हुँ। हाम्रो गाउँका एकजना पात्र थिए,  सन्हला वनगैंया अर्थात् साइँला वनगैंया। गाउँतिर व्यक्तिको होइन, घरका नाम हुन्छन्। उनको वास्तविक नाम थाहा भएन। सबैले सन्हला वनगैंया भन्थ्यौँ।  उनी वा उनका पुर्खा वनगै भन्ने गाउँबाट बसाइँ सरी आएकाले उनलाई वनगैंया र साइँला सन्तान भएकाले सन्हला भनिन्थ्यो। उनी निरक्षर थिए। गाउँमा कसैलाई सन्चो भएन भने उनले नाडी छामेर जडिबुटी दिन्थे। सन्चो हुन्थ्यो। विशेष गरी ज्वरो आएका वेला उनले दिएका बुटीले आराम हुन्थ्यो। उनले खेतमा गएर आवश्यकताअनुसार खोजेर तीनवटा बुटी ल्याउँथे।  उनले औषधि खोजेर ल्याई सन्चो बनाउँथे। त्यसबापत उनलाई मान्छेले चुरोट दिन्थे। अलिक समयअघि बिडी पनि दिन्थे। कसैले केही नदिए पनि केही भन्दैनथे। त्यो उनले आफ्नो कर्तव्य ठान्थे। केही समयपछि हाम्रो घरबाट नजिक पर्ने बजार तुलसीपुरमा डाक्टर बस्न थाले। हिँडेर तुल्सीपुर पुग्नुपर्थ्यो। सक्ने मानिस तुलसीपुर जान थाले। बजार पुग्दा डाक्टरको सामान्य फी तिर्नुपर्थ्यो। औषधि पनि किन्नुपर्थ्यो। त्यसबापत गाह्रो मानी भए पनि शुल्क तिर्थे।  कोही टाठा मान्छे गाउँमा नपढेको मान्छेले गरेको उपचारमा विश्वास नगर्ने भयौँ। पैसा तिर्न सक्नेले पनि उनको ज्ञान र सेवालाई उपेक्षा गर्‍यौँ। उनलाई आर्थिक अवस्थाले कहिले साथ दिएन। उनले परम्परागत ज्ञान सिके। त्यसलाई जोगाए। समाजका लागि योगदान पनि दिए। त्यसबापत समाजले उनलाई संरक्षण गरेन। उनको जीवन यसैगरी बित्यो। पुस्तान्तरण भएको एउटा परम्परागत ज्ञान मेरो गाउँबाट सधैँका लागि सकियो।  पछि मैले क्यामेरा किनेँ। यस्ता औषधीय गुण भएका जडिबुटीको नाम लेखेर तस्वीर खिच्न थालेँ। त्यतिखेर रिलवाला क्यामेरा हुन्थ्यो। रिल सकिएपछि धुलाउनुपर्थ्यो। तिनले दिने गरेका बुटीका तस्वीर पनि खिचेको थिएँ।  माओवादी द्वन्द्वका वेला दुवै पक्षबाट कोठा खानतलासी हुन्थे। रिल, तस्वीर, पुस्तकका खात यता उता हुन्थे। दुवै पक्षले ती चिज छरपष्ट पारेर जान्थे। त्यो वेलाका थुप्रै पीडा छन्। कोठा सर्दा तिनको बिजोग भएर कति सामग्री नष्ट भए।   उनले दिने गरेको एउटा बुटी यो पनि थियो। मेरा धेरै मित्रहरू आयुर्वेदका विज्ञ पनि हुनुहुन्छ। उहाँहरूले भन्नुहोला। यो बुटी के कस्तो खालको हो र केमा प्रयोग गरिन्छ ? अहिले ठ्याक्कै म यी घटना सम्झिन्छु। निकै पीडा बोध गर्छु। ग्लानि पनि छ। मैले देख्दा देख्दै त्यो ज्ञान सकियो। नेपाली समाज यस्ता सम्पदाप्रति पटक्कै सजग र सचेत छैन। एउटा तप्का त यस्ता ज्ञानलाई अन्धविश्वासको बिल्ला भिराउन उत्सुक छ। जसरी उनी बिते। हाम्रो समाज, ज्ञान र देश पनि यसै गरी सकिनेछ। जीवनमा ढिलो चिनेका पात्र। हामी नेपाली कसरी सकिन्छौँ भन्ने गतिलो उदाहरण  हुन् सन्हला वनगैंया ।

ककौरा थारु गाउँको होलीमा बर्षौँपछि सामेल हुँदा

ककौरा थारु गाउँको होलीमा बर्षौँपछि सामेल हुँदा

९१९ दिन अगाडि

|

२४ फागुन २०७९

सागर गैरे मङगरा थारु मच्घराने घरका हुन  । उनी कैयौं बर्षदेखि ककौराका चौकिदार रहेका छन । हिजो होलीको दिन उनी गाउँले महिलाहरु सँगै डफ बजाउदै गाउँको पश्चिममा  तालछेउमा रहेको जगन्नाथी थानमा आए । महिलाहरुले पहिले  थानमा पुजा गरे ।  थानमा घोडा आकारका मूर्ति थिए । मूर्तिलाई  बह्रनी चढाए,  दुधपानीले छिटा हाले र  चामल छर्किए  ।   त्यसपछि चौकिदारलाई पानीले नुहाईदिए । गाउँभरिकाले अन्दाजी एक किलोको दरले साथमा चामल ल्याएका थिए ।  ककौरामा २६० किसानका घर छन  । हरेक घरबाट कम्तिमा एकजना  पुजामा सामेल थिए ।  हेर्दाहेर्दै चामलको थुप्रो भयो । कार्यक्रम सकिएपछि चौकिदारले संकलित चामल बोरामा हाले ।   पुजा गरेर  सबै महिलाहरु चौकिदारको घर गए ।  उनीहरुले  खानपिन गरे ।  कसैले जाँड रक्सी खाए, कसैले चिया सर्वत खाए । त्यसपछि उनीहरु बरघरकहाँ गए । बरघर रामप्रसाद थारु रहेछन् । उनी कलिला थिए । दुई चार बर्षअघि  आर्मीबाट रिटायर्ड भएका रहेछन् । महिलाहरुले उनको शरिरमा बुकुवा लगाईदिए । सबैले  टीका लगाईदिए । त्यहाँ पनि खानपिन भयो ।   उनीहरु गाउँकै छोटकी बरघरको घर गए । त्यहाँ  पनि त्यस्तै भयो ।  छोटकी बरघर लिला थारु कोठियाने घरका रहेछन् ।  ककौरा छोडेको बर्षौँपछि ककौरा थारु गाउँको होलीमा सामेल हुने संयोग जुरयो यस पटक ।                                                                                                           होलीको  शुभकामना साट्दै लेखक सागर गैरे ।

को हुन् आदिवासी, जनजाति ?

को हुन् आदिवासी, जनजाति ?

९२२ दिन अगाडि

|

२१ फागुन २०७९

                                                                                                                                                 तस्विरः बुनु थारु प्राडा महिनारायण चौधरी संसारका विभिन्न मुलुकमा आदिवासी र जनजाति आफ्ना हक अधिकारका लागि संघर्ष गरिरहेका छन्। नेपालमा आदिवासी र जनजातिको पर्यायवाची रूपमा प्रयोग  गरिए पनि ती दुवैमा स्पष्ट भिन्नता छ। १. आदिवासी : आदिवासी भन्नाले आदिमकाल देखि बसोवास गर्दै आएका जाति वा मूल निवासी भन्ने बुझिन्छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अनुसार आदिवासी भन्नाले विद्यमान शासकसमूहद्वारा पहिले आएका र आफ्नो परम्परा, रितिरिवाज, संस्कार लगायत सामाजिक, संस्कृतिक र आर्थिक रूपमा राज्यको मूल प्रवाह भन्दा बेग्लै भएका तर शासित भएर रहनु परेकालाई जनाउँछ। नेपाल जनजाति महासंघ अनुसार आदिवासी भन्नाले नेपालको कुनै एक खास भूभागमा आवादी गर्ने वा आफूलाई पहिलो वा पहिलो मध्येको वा मूल वासिन्दाका रूपमा स्थापित गर्ने वा आदिअनादि कालदेखि बसोवास गर्दै आएका भिन्न उत्पति, जाति, भाषा, संस्कृति भएको, राज्य र शासनसत्तामा निर्णायक भूमिका खेल्नबाट वञ्चित तथा आफ्नो पुर्ख्यौली भूमिलाई भौतिक अभौतिक विकासको स्रोत मान्ने तर वर्तमान राज्यको निर्माण हुँदा उत्पिडित तथा विस्थापित गरिएका जो आफ्नो पहिचान र सांस्कृतिक सम्पदालाई आफ्नो भावी पुस्तामा सुरक्षित रुपमा हस्तान्तरण गर्न चाहने तथा आफूलाई आदिवासी भएको भन्ने समुदायलाई जनाउँछ। २. जनजाति : नेपाल जनजाति उत्थान प्रतिष्ठान अनुसार जनजाति भन्नाले आफ्नै मातृभाषा र परम्परागत रितिरिवाज भएको तर हिन्दु वर्णाश्रम व्यवस्थाभित्र नपर्नेहरू जनजातिभित्र पर्छन्। यसरी जनजातिको आफ्नो छुट्टै सामुहिक सांस्कृतिक पहिचान, भाषा, धर्म, रितिरिवाज र संस्कृति, परम्परागत भौगोलिक क्षेत्र, लिखित वा अलिखित इतिहास भएको, देशको राजनीति र राज्यसंचालनमा भूमिका नभएको, आर्थिक तथा सामाजिक रूपबाट पिछडिएका समुदायलाई जनजाति भनी बुझिन्छ। ३. थारु : आदिवासीको सम्बन्ध इतिहासको लामो कालखण्डसित जोडिएको हुन्छ भने जनजातिको सम्बन्ध सामुदायिक आर्थिक र सामाजिक पछौटेपनसित गाँसिएको हुन्छ। सबै आदिवासी जनजाति हुन्छन् भने सबै जनजाति आदिवासी नहुन सक्छन्। यो अर्थमा नेपालका थारु आदिवासी र जनजाति दुवै हुन्। ४.भिन्नताको विषय : नेपालमा आदिवासी र जनजातिबीच फरक नछुट्याईदा पर्यायवाची रूपमा प्रयोग हुने भएकाले र ६० बढी प्रकारका जनजातिमध्ये आदिवासी र जनजाति कुन कुन हुन् भन्ने नछुट्याई सम्पुर्ण अनुसूचित जातिहरू लाई केवल जनजाति भनिएको छ। केही विद्वानले भूमिमा प्रथम बसोवास गर्नेहरूलाई भूमिपुत्र वा मूलवासी वा आदिवासीका रुपमा लिनुपर्ने विचार व्यक्त गर्छन्। ५. तराई-मधेस : राष्ट्रिय जनजाति विकास समिति विसं. २०५४ को अनुसुची १ अनुसार ६० थरी जनजातिमा तराई-मधेसी समुह भित्र जनजाति अन्तर्गत किसान, कुशवाडिया, गन्गाई, झाँगड, ताजपुरिया, थारु, दनुवार, धानुक, धिमाल,मेचे (बोडो), राजवंशी (कोचे) र सतार (सन्थाल) मात्र पर्छन्।                      

पूर्व कमलरी विष्णुको ती विवश दिन...

पूर्व कमलरी विष्णुको ती विवश दिन...

९३० दिन अगाडि

|

१३ फागुन २०७९

म पूर्व कमलरी विष्णु थारु ।  तर अहिले विष्णी थारु भनेर चिनिन्छु । म कमैया महिला जागरण समाजकी अध्यक्ष । मेरो बुवा लक्ष्मण थारु कमैया थिए । कमैया भनेको जमिनदारको घरबारीमा अर्धदासको रूपमा काम गर्ने व्यक्ति । कमैयाले मालिकको खेतबारीमा काम गरेबापत चौकुरबटैया (कुल उब्जनीबाट चार भागको एक भाग) पाउँथे । एउटै मालिकले थुप्रै कमैया राखेका हुन्थे, ती सबैले त्यही एक भागलाई बाँड्नुपथ्र्यो, त्यसले एक महिना खान पुग्दैनथ्यो ।  कमैया मुक्त हुनुअघि (२०५७ साउन २)सम्म कमैयाका स्वास्नी बुकरही हुन्थे । कमैयाकी स्वास्नी भएकै नाताले ऊ आफ्नो लोग्नेले काम गर्ने मालिकको घरमा अर्धदास हुन पुग्थी । गोठ, भान्सा, जुठोभाँडो, लिपपोत, बढारकुँडारदेखि खेतबारीको काम भ्याउनुपथ्र्यो । तर बुकरहीलाई कुनै ज्याला वा अन्नको भाग आउँदैनथ्यो ।  बा कमैया भएपछि मेरी आमा मनबुझाउनी थारु सिधै बुकरही भइगइन् । नामै मनबुझाउनी हजुर । यस नामको अर्थ ? मलाई नै थाहा छैन, उसो त मलाई मेरो नामको अर्थ पनि थाहा छैन– विषनी थारु । के अर्थ होला र ? उसै पनि कमैयाका लोग्नेस्वास्नी र छोराछोरीको यो राज्य र समाजमा के मूल्य छ र ! हेर्नुस् न, देश एउटै हो, दमन र दुर्दशा फरक ! व्यवस्था एउटै हो, व्यथा बेग्लै ! बाआमाका नौ सन्तानमध्ये माहिली म । २०३५ सालको जन्म हो, यतिखेर जीवनका ४४औँ वसन्तमा हिँड्दै छु ।  मेरै अगाडि देशमा दुईवटा व्यवस्था फेरिए । अरुलाई बहुदल आउँदा म कमलरी थिएँ । १६ वर्षको उमेरमा कमैयासँग विवाह भयो र बुकरही भएँ । बहुदल आएपछि कमैयालाई मुक्त गरियो, म बुकरही रहिनँ, पुनः कमलरी हुन पुगेँ । अरु गणतन्त्र ल्याउन लडिरहँदा हामी कमलरी मुक्तिका लागि लडिरहेका थियौँ । कमलरी भनेको ? यति छिटै बिर्सिसक्नु भयो र ! हुन त, मुक्त घोषणा गरेकै आठ वर्ष नाघ्यो क्यारे । अँ, कमैयाका श्रीमती बुकरही भएजस्तै कमैयाका सन्तान सिधै कमलर र कमलरी भइहाल्थे । कमैयाको श्रमको कुनै मूल्य थिएन । मालिकले दिएका फाटेका कपडा र दुई छाक खानामा खटिनुपथ्र्यो । खाना पनि आफ्नो भाग पाउने हो र ? मालिकको भान्सामा हामीले सबै तयार गरेर चुलोमा बसालिदिएपछि छुन पाइँदैनथ्यो । मालिकका जहान–परिवारले खाइसकेपछि उभ्रियो भने मात्रै खाने हो । त्यसपछि भान्सा, भाँडाकुँडाको सरसफाइ गर्दा रातको १२–१ बज्थ्यो ।  हेर्नुस् न, देश एउटै हो, दमन र दुर्दशा फरक ! व्यवस्था एउटै हो, व्यथा बेग्लै ! गणतन्त्रले कमलरीलाई मुक्त गर्‍यो । ०५७ सालमै कमैयालाई मुक्त गर्दा पुरुषको टाउको गनेर पुनर्स्थापना गर्ने भनिएको थियो । हामी बुकरही बिनाज्याला मालिकको दास भएको क्षतिपूर्ति के ?  कसरी र कहिलेदेखि कमैया भए भन्नुहोला । उत्पीडितहरू अन्याय र विभेदमा परेको थाहै नपाएजस्तो गर्नु सरकारको चरित्र नै हुन्छ क्यारे !  मेरी आमा बिहानै उठेर जमिनदारको घरमा काम गर्न पुग्थिन् । घरमा सानी बहिनी भोकाएर रुन्थी । आमाको दूध चुसाउन बहिनीलाई बोकेर म मालिकको घरमा जान्थेँ । आमाले बहिनीलाई दूध चुसाउँदासम्म मैले आमाको काम गरिदिन्थेँ । यसरी काम सिक्दै थिएँ, जब ठूली भएँ, मलाई मालिकले कमलरी राखे ।  १६ वर्षको उमेरमा अर्का कमैयासँग मेरो बिहे भयो, अनि म बुकरही भएँ । बुकरहीको अर्थ ? कमैयाहरू मालिकको घरछेउ मालिककै जग्गामा बनाइएको बुकुरो (झुपडी)मा बस्थे । बुकुरोमा बस्नेलाई नै बुकरही भनिने हो ।  कसरी र कहिलेदेखि कमैया भए भन्नुहोला । उत्पीडितहरू अन्याय र विभेदमा परेको थाहै नपाएजस्तो गर्नु सरकारको चरित्र नै हुन्छ क्यारे !  कमैया, भूदास हुनुको कथा लामो छ हजुर । मुखिया, राजा, राज्यको जन्म हुँदै भूदासहरूको जन्म भएको भन्छन् । हामी कमैया हुनुको कथा त त्यति पर पुग्दैन केरे । औलोको कथा बिर्सनुभएकै होला ! तराई क्षेत्रमा औलोका कारण टिक्न सक्ने अवस्था थिएन । सन् १९६० मा औलो उन्मूलन भएपछि पाँचवटा जिल्ला (दाङ, कैलाली, कञ्चनपुर, बाँके र बर्दिया)मा पहाडबाट बसाइ सर्नेहरू बढ्न थाले । औलो समाप्त भएपछि ती क्षेत्रमा ठूलो मात्रामा उर्वर जमिन खाली भयो, त्यसकै लोभमा टाठाबाठाको बसाइँ सर्ने होड चलेको थियो । यस क्षेत्रमा परिस्थितिसँग मुकाबिला गर्दै पहिलेदेखि बसिआएका थारुहरू सोझा थिए । उनीहरूको मेहनतले उर्वर बनाएको जग्गा अनेक प्रपञ्च गरेर बसाइँ सरेर आएका टाठाबाठाले फुत्काए । सोझा र मेहनती थारुलाई त्यसको पत्तै भएन । उनीहरूलाई कानुन, कर, जग्गानापी आदि थाहा भएन । कति थारुहरूले कुरो बुझे र जमिन जोगाए, सोझाहरू ठगिए । बिस्तारै जमिन सकिएसँगै भूमिहीन बनेका थारुहरूले खान र बाँच्नकै लागि जमिनदारसँग ऋण लिन बाध्य भए । ऋण तिर्ने कुनै माध्यम थिएन । ऋण लिएबापत जमिनदारकहाँ नै काम गरिदिन उनीहरू बाध्य भए । यस्तो ऋणलाई सौकी भनिन्थ्यो । यसरी हामी कमैया हुन पुग्यौँ ।  म भन्दै थिएँ, विवाहपछि म बुकरही भएँ भनेर । ठीक त्यही बेला कमैयाको मुक्ति घोषणा गरियो । सरकारले २०५८ सालमा ‘कमैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन’ ल्यायो । यसको केहीपछि मेरा बुढाले सरकारबाट १९ धुर जग्गाको लालपुर्जा पाए– मालिककै जग्गाको होइन, राजापुर– २, चैनपुरस्थित ऐलानी जग्गामा । त्यहाँ हामीजस्ता केही कमैयाले पुर्जासहितको जग्गा पाएका थियौँ ।  मुक्त भएपछि सरकारले केही कमैयालाई लालपुर्जा त दियो, जग्गा कहाँ छ भन्ने पत्तै थिएन, स्रेस्ता कायम भएको थिएन । त्यहीँ सानो झुपडी बनाएर मेरा बूढा भारततिर लागे, नोकरी खोज्दै । भारतमा तीन वर्षजति मजदुरी गरेर कमाएको पैसाले झुपडीमा टिन हालियो । त्यही झुपडीमा दुई छोरी र एक छोरा हुर्किए । जेठी छोरीले गाउँमै स्नातक गर्दैगर्दा भर्खरै बिहे गरी, अहिले पनि उसको अध्ययन निरन्तर छ । छोराले अहिले स्नातक पढ्दै छ । बीचमा पढाइ छाडेकी कान्छी छोरी अहिले कक्षा ९ मा भर्ना भएकी छ । बाबुआमा मुक्त भएपछि छोराछोरीको जीवनमा आएको फेरबदल यही हो । अब छोराछोरीले राम्रो जागिर वा अवसर पाए हुने ! मुक्त भएपछि १९ धुर मात्रै जग्गा पाउँदा मेरा छोराछोरीले केही पढ्न पाएका छन् । अक्षर चिन्ने र देशको शासन–प्रशासन बुझ्ने हो भने यहाँ हामीजस्तो मान्छे ठगिनुपर्दैन नि हजुर । यहाँ त सरकारी कर्मचारीले पनि अनुहार, लवाइखवाइ, वर्ग, जात हेरेर व्यवहार गर्छन् । हामी त हिजोका कमैया । आज सरकारी मान्छेले हामीलाई हेर्ने दृष्टिकोण नै बेग्लै छ ।  मुक्त भएपछि सरकारले केही कमैयालाई लालपुर्जा त दियो, जग्गा कहाँ छ भन्ने पत्तै थिएन, स्रेस्ता कायम भएको थिएन । स्रेस्ता कायम गर्न जाँदा कर्मचारीबाट हामीलाई सहयोग हुँदैन हजुर– अनेक दुःख दिन्छन्, कतिले त पैसा खोज्छन् ।  कोही–कोही जमिनदार यतिसम्म फटाहा र शोषक थिए, छोरी हुर्केपछि बेला न कुबेला बुकरहीलाई भन्थे– तेरी छोरी पठा । म भन्दै थिएँ, लोग्ने भारत गएपछि म फेरि कमैया हुनुपर्‍यो– खानका लागि, बाँच्नका लागि । १९ धुर जग्गाले मात्रै खान पुग्ने होइन । लोग्ने गएपछि कमलरी बसेबापत मैले वार्षिक एक क्विन्टल धान (सय किलो) पाउन थालेँ, त्यतिबेला कमैया श्रम निषेध ऐन आइसकेको थियो । बडो दुःखले छोराछोरीलाई हुर्काइयो, पढाइयो । आफूले पनि अक्षर चिन्न प्रौढ शिक्षा पढियो ।  दुःख ? अहो, कमलरीहरूको दुःख यहाँले कल्पना गर्न सक्नुहुन्न । कमैया मुक्तिको घोषणा अघिसम्म थुप्रै कुमारी आमा भए । मालिकको कुकृत्यबाट जोगिएकाले आज म यहाँ यसरी बोल्न सक्ने भएकी छु भनौँ न । कमलरीको काम मालिक र मालिक्नीलाई मालिस गरिदिनेसम्मको हुन्थ्यो । भनेको काम नमाने गालीगलौज र कुटपिट गरिन्थ्यो । मालिक र उसका छोराले कतिपयलाई यौनदुव्र्यवहार गर्थे । मुक्त घोषणा गर्नु अघिसम्म कुमारी आमा भएका घटना धेरै छन् । मालिकबाट बलात्कृत भई गर्भवती भएका कमलरीलाई मालिकले नै अर्को कमैया खोजेर जबर्जस्ती विवाह समेत गरिदिन्थे । कमैया पुरुषले विवाह गर्न मानेन भने उसलाई पनि कुटपिट हुन्थ्यो, अनेक धम्की दिइन्थ्यो । पुलिस–प्रशासन सबै मिलेका थिए नि हजुर ।  कोही–कोही जमिनदार यतिसम्म फटाहा र शोषक थिए, छोरी हुर्केपछि बेला न कुबेला बुकरहीलाई भन्थे– तेरी छोरी पठा । कसैले भर्खर बिहे गरेर बेहुली ल्याएको छ र ऊ राम्री छ भने, त्यो रात जमिनदारले ती नयाँ बेहुलीलाई सुत्न बोलाउँथे ।  कमैया, बुकरही र कमलरीले कहिलेकाहीँ माघीका बेला मालिक फेर्नुपथ्र्यो । घरमा धेरै कमैया छन् र सस्तोमा अर्को कमैया पाएपछि मालिकले भएका कमैयालाई निकाल्थे । त्यसैले हरेक वर्ष माघीमा निकालिएका कमैयाहरू अरु मालिकको घरघर हात जोर्दै जान्थे– मलाई राख्नुस्, म काम गर्छु । कुनै जमिनदारले राख्छु भनेपछि उनीहरूले आफ्ना भाँडाकुँडा, कपडा लगायत सामान बोकेर अर्को मालिकको बुकरीमा बस्न जान्थे ।  जमिनदार खोज्दै आफँै दास हुन किन गएको त भन्नुहोला ? देशकै सहरबजार, अन्य गाउँ वा भारत लगायत ठाउँमा ज्याला–मजदुरी गर्न सक्दैनथ्यौ भन्ने प्रश्न पनि सरकारको दिमागमा आउला । आफैँ भन्नुस् त ? परिवार कहाँ राखेर हिँड्ने ? समाजै छाडेर जाने कहाँ, बस्ने कहाँ ? मालिकको दास वा अर्धदास हुन पुग्नुको व्यथा नै अलग छ सरकार ।  त्यतिबेला माओवादीले ‘घर कसको पोत्नेको, जग्गा कसको जोत्नेको’ भन्ने नारा दिएको थियो हजुर । घर र जमिन नभएका कमैया यस नाराले आकर्षित भएका थिए । लाउन, खान, नुनतेल, स्वास्थ्योपचार, सामाजिक कार्य आदिमा ऋण लिनुपथ्र्यो । दुई–चार सय रुपैयाँ ऋण दिएर दुई–चार हजार बनाइदिन्थे । हामीलाई त आफ्नै आवश्यकताले थप दास बनाउँथ्यो सरकार । कमैया आन्दोलन कसरी सुरु भयो भन्नु’भा ? बिर्सनु भो र ! कैलालीका शिवराज पन्थको घरमा १९ जना कमैया थिए । श्रमशोषण भयो भनेर उनीहरूले त्यतिबेला गाविस र जिल्ला प्रशासनमा निवेदन हाले । यहीँबाट सुरु भएको आन्दोलन चर्कंदै गएको हो । राजापुरकै एक जमिनदारले धेरै कमैया राखेका थिए । उनको ज्यादती र शोषण चरम थियो । उनलाई जनयुद्धकालको सुरुवातमै माओवादीले कुटपिट गरेर घाइते बनाएका थिए । उनलाई विद्यार्थीले पनि कालोमोसो दलेर, चप्पलको माला लगाएर डुलाएका थिए ।  त्यतिबेला माओवादीले ‘घर कसको पोत्नेको, जग्गा कसको जोत्नेको’ भन्ने नारा दिएको थियो हजुर । घर र जमिन नभएका कमैया यस नाराले आकर्षित भएका थिए । त्यतिबेला माओवादीले कतिपय जमिनदारको जग्गा कब्जा गरेर कमैयालाई दिएको पनि थियो । जमिन पाइन्छ कि भनेर हामीले माओवादीलाई भित्रभित्रै सहयोग गर्‍यौँ तर जनयुद्धमा लागेनौँ । किनभने, हाम्रो घर जमिनदारकै जमिनमा थियो । सबै केटाकेटी र बूढाबूढीलाई लिएर हिँड्ने कुरा भएन ! मुक्त कमैया घोषणा भएको आज २२ वर्ष भइसक्यो । कमैया मुक्तिको घोषणापछि पाँच जिल्लामा मुक्त कमैया समाज गठन गरियो । सरकारले मुक्त घोषणा गरेपछि कतिपयलाई लालपुर्जा त दियो, तर जग्गा कहाँ छ भन्ने कतिपयलाई थाहै थिएन । आफूहरूको पुनर्स्थापना नभएपछि पाँचवटै जिल्लाका कमैयाले ०६१ सालमा सरकारको स्वामित्वमा रहेको जग्गा कब्जा गर्न थाले ।  मुक्त भएपछि हामी ज्याला–मजदुरीमा लाग्यौँ, त्यहाँ पनि उचित ज्यालासहितको अधिकार भएन । मजदुरी गर्ने मुक्त कमैयालाई ठेकेदारले पनि दोस्रो दर्जाको रूपमा हेर्ने गरेको छ । बर्दियाका कमैयाले कपास विकास समितिको जग्गा कब्जा गरेका थिए । पछि सरकारले मुक्त कमैयालाई त्यहीँको जग्गामा लालपुर्जा दिएको छ । राजापुरको सरकारी वनमा ठूलाठूला रूख जमिनदारले तस्करी गरिसकेका थिए । त्यस्ता वनमा पनि कमैयाले कब्जा गर्न थाले । मेरो परिवार त त्यही १९ धुर जग्गामै छ हजुर, सरकारले त बढीमा पाँच कट्ठासम्म दिने भनी कानुन बनाइसकेको छ क्यारे ।  तँ कसरी कमैया महिला जागरण समाजको अध्यक्ष भइस् भन्नुहोला ? कमैयालाई मुक्त घोषणा गरेपछि सरकारले घरमूली पुरुषको पहिचान त गर्‍यो, तर उसकी श्रीमती बुकरहीको पहिचान भएन । बुकरहीले पनि मालिककहाँ दासीकै जीवन बिताउनुपरेको थियो । सरकारले हाम्रो पहिचान नगरेपछि मुक्त कमैया समाजकै अगुवाइमा २०६४ जेठ ३१ मा राष्ट्रिय सम्मेलन गरेर ‘कमैया महिला जागरण समाज’ बनाइयो । २०६७ सालमा विधिपूर्वक सञ्चालनमा आएको यस संस्थामा सुरुको अध्यक्ष कृष्णी थारु हुनुहुन्थ्यो, म सदस्य थिएँ । उहाँ (कृष्णी) २०७४ मा लुम्बिनी प्रदेशको उपसभामुखमा निर्वाचित हुनुभयो, अनि म अध्यक्ष भएँ ।  सरकारलाई अचेल रोगै लागेको छ, समाजमा अलिकति आवाज उठाउने महिलालाई कुनै ‘उप’ पदमा लगेर थन्काइदिन्छ, कार्यकारी अधिकार दिँदैन । ‘उप’ नै होस्, चित्त बुझाउँदै छौँ, यही पनि क्रमशः खोसिने लक्षण देखिएका बेला ।   मुक्त कमैया समाजले २०६३ मा काठमाडौंको तीनकुने घेरेको थियो । मुक्त कमैया समाज र जागरण समाजले कमलरी मुक्तिका लागि संघर्ष गर्‍यो । राजापुरबाट दुई दिन एक रात हिँडेर हामी सदरमुकाम गुलरिया पुग्थ्यौँ, सरकारी कार्यालय घेरेर आन्दोलन गर्न । खानका लागि चामल, बास बस्नका लागि कटेरो बनाउने बाँस, ओढ्ने–ओछ्याउने आदि बोकेका हुन्थ्यौँ ।  अहिले हामी हाम्रै हक–अधिकारका लागि संघर्षरत छौँ । सरकारले पाँचवटै जिल्लामा ३२ हजार ५०९ जना कमैयाको तथ्यांक संकलन गरेको छ । कमैयाका श्रीमती नै बुकरही भएकाले सरकारले अर्को तथ्यांक संकलन नगरी पहिलेकै आधारमा बुकरहीलाई अधिकार दिन सक्छ ।  बुकरहीलाई एकै वर्ग र रङको परिचयपत्र दिइनुपर्छ । हामी बुकरही मालिकको घरमा अर्धदास भयौँ, हामीलाई जग्गाको आधारमा होइन अन्य प्याकेजका आधारमा सरकारले हेर्ने हो, त्यसका लागि फरक–फरक परिचयपत्र जरुरत हुँदैन । पहिले हामीलाई परिचयपत्र दिनुपर्‍यो । सरकारले विभिन्न कार्यक्रम लक्षित वर्गका लागि भन्छ, तर कार्यक्रम हुनेखाने पहुँचवाला वर्गले मात्रै पाउँछन् । बुकरहीको परिचयपत्र हुन्छ भने सरकारले लक्षित वर्ग खोज्दै हिँड्नुपर्दैन ।  परिचयपत्रसँगै हाम्रा केही माग छन्– सीप नहुनेलाई सीप वा तालिम दिइनुपर्छ, तालिमअनुरूप रोजगारी वा स्वरोजगारीको व्यवस्था हुनुपर्छ, सीप भएकाहरू अर्थात् जो कृषिमा अभ्यस्त हुँदै आएका छन्, उनीहरूलाई कृषि उत्पादनमै जोड्न पहल गर्नुपर्छ, कतिपयले घर बनाउने लगायत मजदुरी गर्दै आएका छन्, उनीहरूको सोसम्बन्धी सीप प्रवद्र्धन गरिनुपर्छ, उचित र समान ज्याला हुनुपर्छ । सरकारले हामीलाई भाडामा जग्गा उपलब्ध गराएर पनि उत्पादनसँग जोड्न सक्छ । सरकारले कतिपयलाई पाँच कट्ठा वा सोभन्दा कम जमिन दिएको छ, त्यसको उब्जनीले त खान पुग्दैन ।  मुक्त भएपछि हामी ज्याला–मजदुरीमा लाग्यौँ, त्यहाँ पनि उचित ज्यालासहितको अधिकार भएन । मजदुरी गर्ने मुक्त कमैयालाई ठेकेदारले पनि दोस्रो दर्जाको रूपमा हेर्ने गरेको छ । सरकारले स्वास्थ्य बिमाको कुरा गरेको छ । बिमाका लागि ३५ सय रुपैयाँ तिर्नुपर्छ । दिनभरि मजदुरी गरेर साँझ खाने मुक्त कमैयाले कसरी त्यत्रो पैसा तिरेर बिमा गर्ने ? सरकारले हामीलाई निःशुल्क उपचारको सुविधा दिनुपर्छ । कमैया श्रम (निषेध गर्ने) सम्बन्धी नियमावली– २०६७ ले मुक्त कमैयाको चार प्रकारले वर्गीकरण गरेको छ । आफ्नो वा आफ्नो परिवारको नाममा घर र जग्गा नभएकोलाई ‘क’ वर्ग, सार्वजनिक वा सरकारी जग्गामा बसोबास गरेको र आफ्नो वा आफ्नो परिवारको नाममा जग्गा नभएकोलाई ‘ख’ वर्ग, आफ्नो वा आफ्नो परिवारको नाममा नाममा दुई कट्ठासम्म जग्गा र घर भएकोलाई ‘ग’ वर्ग र आफ्नो वा आफ्नो परिवारको नाममा दुई कट्ठाभन्दा बढी जग्गा र घर भएकोलाई ‘घ’ वर्ग । यी वर्गलाई क्रमशः रातो, नीलो, पहेँलो र सेतो रंगको परिचयपत्र दिने व्यवस्था नियमावलीमा छ ।  तर सरकारले ‘ग’ र ‘घ’ वर्गलाई कुनै सेवा–सुविधा दिएको छैन । बुकरहीलाई एकै वर्ग र रङको परिचयपत्र दिइनुपर्छ । हामी बुकरही मालिकको घरमा अर्धदास भयौँ, हामीलाई जग्गाको आधारमा होइन अन्य प्याकेजका आधारमा सरकारले हेर्ने हो, त्यसका लागि फरक–फरक परिचयपत्र जरुरत हुँदैन । संविधानमा उल्लिखित ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व’ले भन्छ– मुक्त कमैया, कमलरी, हरवा, चरवा, हलिया, भूमिहीन, सुकुम्बासीको पहिचान गरी बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने ।’ सरकार, मौलिक हकअन्तर्गत पनि थुप्रै हक छन् । राज्यले कम्तीमा संविधानको पालना गरे पुग्थ्यो  । प्रस्तुतिः ध्रुवसत्य परियार