बीपीका नाममा चार दशकदेखि जहाँ कोठा खाली छ...

बीपीका नाममा चार दशकदेखि जहाँ कोठा खाली छ...

९९३ दिन अगाडि

|

२४ भदौ २०८०

चेपाङ समुदायले न्वागी पर्व मनाउँदै

चेपाङ समुदायले न्वागी पर्व मनाउँदै

९९५ दिन अगाडि

|

२२ भदौ २०८०

आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ। बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी) का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।  हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । प्रदेशका चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । यस वर्ष पनि चेपाङ समुदायले सामूहिकरूपमा छोनाम (न्वाग) पर्व मनाउँदै छन् । शुक्रबार सामूहिकरूपमा छोनाम पर्व मनाउन लागिएको  नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिए । उनले सामूहिक उत्सवको सबै तयारी गरिएको बताए । उहाँका अनुसार चितवन, धादिङ, मकवानपुर र गोरखाका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वागी मनाउँदैछन् । विगत आठ वर्षदेखि चेपाङ समुदायले चेपाङ सङ्घको पहलमा सामूहिकरूपमा न्वागी मनाउँदै आएका छन् । “चेपाङ सङ्घको तर्फबाट उत्सवका रूपमा सामूहिकरूपमा पर्व मनाउन लागिएको हो”, उनले भने, “उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउनुहुनेछ ।” उनले सरकारले सार्वजनिक बिदा दिन थालेपछि छोनाम पर्वमा थप उत्साह बढेको बताए । उनका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए ।  वर्ष दिनमा कम्तीमा नौ महिना जङ्गली कन्दमूल र सिस्नो खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए । उनका अनुसार भिरपाखामा बस्ने चेपाङ जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम पर्व मनाउने गरिएको इतिहास छ । छोनाममा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वागी भनिन्छ । नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङ समुदायको बसोबास छ । रासस

काठमाडौंमा भव्यताका साथ मनाइयो अष्टिम्की

काठमाडौंमा भव्यताका साथ मनाइयो अष्टिम्की

९९६ दिन अगाडि

|

२१ भदौ २०८०

सरला चौधरी थारू समुदायबाट काठमाडौंमा भव्यताका साथ भदौ २० गते अष्टिम्की टिउहार मनाइएको छ । “आपन संस्कृति आपन पहिचान इहि बचैना हमार अभियान” भन्ने मूल नारासहित अग्रासन थारू महिला समुहको मुल आयोजनामा विजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा बुधबार कार्यक्रमको आयोजना गरिएको थियो । न्यौछार थारू महिला समूह, बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, निस्राउ गु्रप लगायत २ दर्जन बढी संघ संस्थाको सहआयोजनामा अष्टिम्की पर्व मनाइएको हो । कार्यक्रममा लेखक तथा अष्टिम्की विषयमा विद्यावारिधि गरेका डा. कृष्णराज सर्वहारीले अष्टिम्की पर्वको विविध महत्वबारे प्रष्टयाएका थिए । उनले अष्टिम्कीमा बनाइने चित्रकलाको बारेमा व्याख्या गर्दै अष्टिम्की पर्वको चित्रकलाले प्रकृति र थारू जातिको आत्मीय सम्बन्ध रहेको बताए । मूल रुपमा अष्टिम्कीमा कान्हाको पूजा गरिने भए पनि यसमा गाइने काव्यमा खेतीपातीको प्रसंग आएकाले थारूहरु भूमिपुत्र भएको विचार राखे ।  त्यसै गरी, कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री, काँग्रेसका केन्द्रिय सदस्य  डा. गोपाल दहितले थारू समुदायले आफ्नो भेषभूषा तथा संस्कृति वचाउनु पर्ने तथा थारू संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने धारणा राखे । डा दहितले थारू कला र संस्कृति संरक्षणमा सरकारले महत्व नदिएको र यसमा नेपाल सरकारको विशेष ध्यान जान जरुरी रहेको बताए ।  कार्यकक्रमा, माननीय तेजुलाल चौधरी, माननीय अरुणकुमार चौधरी, थाकसका महामन्त्री प्रेमीलाल चौधरी, थाकसका सहमहामन्त्री मिनराज चौधरी,  अग्रासन थारू महिला समुहका सल्लाहकार शिवशक्ति चौधरी, थाकस उपत्यका समितिका अध्यक्ष सुमन चौधरी, गीता चौधरी, कुछत नारायण चौधरीले लगायतले आ–आफ्ना धारणा राखेका थिए । अग्रासन थारू महिला समुहकी उपाध्यक्ष किरण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा गायक दोषहरण चौधरी तथा कलाकार अन्जु चौधरीले कार्यक्रम सहजीकरण गरेका थिए । प्रेमा चौधरीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा विभिन्न कलाकार तथा गायकहरुले नृत्य तथा गीतको प्रस्तुति दिएका थिए ।  अष्टिम्की पर्व विशेष गरी पश्चिम तराईका थारू समुदायमा धुमधामका साथ मनाउने गरिन्छ । परिवारमा खुसी र निरोगिताको कामना गर्दै थारू महिलाहरु वर्त बस्ने गर्दछन् । अष्टिम्कीको विशेष आर्कषण भनेको अष्टिम्की भित्तेचित्र हो, जुन पूजाका लागि घरको पिढीको उत्तरतिरको भित्तामा बनाइन्छ । तत्कालीन समयमा अष्टिम्की चित्र गाउँको महटाँवा, बरघरको घरमा बनाइन्थ्यो भने अहिले यो चलन घर घरमा विस्तार हुन थालेको देखिन्छ ।  व्रत बेसेको दिन व्रतालुहरु साँझ सामूहिक रुपमा अष्टिम्की टिक्ने प्रचलन छ । टिक्ने काम सकेपछि कान्हालाई मनपर्ने अमिलो, काँक्रालगायत चढाउने तथा केरा, अम्बा, दही आदि फलाहार गर्ने र रातभरि अष्टिम्की गीत गाउने प्रचलन छ ।  त्यसपछि बिहान दियो बाली फेरी टिक्न जाने र आफूले पूजा गरेका समानसहित नजिकैको नढी वा खोलामा सेलाउन जान्छन् । सेलाएर फर्के पछि हरियो सागपात र गेडागडीको परिकार बनाई फरहार गरिन्छ । फरहार गरिसकेपछि चेलीबेटीलाई कोशेलीस्वरुप अग्रासन दिएर अष्टिम्की पर्व सम्पन्न हुन्छ ।   

थारु गाउँँमा हरेरी पूजा

थारु गाउँँमा हरेरी पूजा

९९९ दिन अगाडि

|

१८ भदौ २०८०

दशरथ घिमिरे देउखुरी । लमही नगरपालिका–५ निवासी पुन्टेश्वर चौधरीलाई हरेरी पूजाबारे केही भुलेको जस्तै लागिरहन्छ । पहिलेको जस्तो समाज अहिले छैन । मिश्रित समाज भइसकेको छ । तर पनि आफ्नो पुर्खाहरुले मनाउँदै आएको संस्कृतिको बारेमा युवा पुस्ताले जान्न खोज्दैछन् । त्यसैले धेरै वर्षपछि लमही गाउँमा भव्य रुपमा हरेरी पूजा गरिएको छ । ‘धेरै वर्षपछि भब्यरुपमा हरेरी पूजा गरियो । युवा पुस्तालाई जानकारी नहँुदा समस्या पर्ने भयो’– उहाँले भन्नुभयो– ‘पूजा नै नहुने भएपछि जानकारी हुने कुरा पनि भएन । सबैलाई जानकारी गराउन पनि यसपालि हरेरी पूजा गरियो ।’ यो पूजामा गाउँभरिका मानिस देउताको थानमा जम्मा हुन्छन् । गुरुवा धामी पूजामा बस्छन् । हरेक घरबाट पूजाको सामाग्री एक ठाउँमा जम्मा गरिन्छ । अनि गाउँमा बजाउने मादल पनि लगिन्छ । देवी देवताको पूजा गरेपछि मादलको पनि पूजा गरिन्छ । यसरी हरेरी पूजा गरेपछि थारु समुदायका चाडपर्व शुरु भएको मानिने गाउँका अगुवा कमलनारायण चौधरीले बताउनुभयो । ‘खेतीपाती सक्यौं । अब यसमा हानि नोक्सानी नहोस् भनेर हरेरी पूजा गर्छौं । हरेक वर्ष मनाउने पर्व हो’– उहाँले भन्नुभयो– ‘धान सप्रियोस् भन्ने कामना गरिन्छ । गाउँमा रोग नछिरोस् भन्ने कामना पनि गरिन्छ ।’ हरेरी पूजाबारे नयाँ पुस्तालाई जानकारी दिन आवश्यक रहेको बुद्धिजीवी हरि चौधरीले बताउनुभयो । ‘यो प्रकृति पूजा हो । खेतीपाती सप्रियोस् भनेर सदियौंदेखि गर्दै आएका छौं’– उहाँले भन्नुभयो, ‘तर नयाँ पुस्ताका युवाले यो पूजा गर्ने विधि र महत्वको बारेमा थाहा पाएका छैनन् । जानकारी दिन पनि यसपालि राम्रोसँग गरेका छौं ।’ थारु समुदायको कला संस्कृतिबारे अध्ययन गर्नु भएका उदयराज आलेले थारु समुदायको महत्वपूर्ण पर्व हरेरी भएको बताउनुभयो । ‘खेतीपाती सकेपछि गरिन्छ । नियमित पूजा गर्ने परम्परा छ’– उहाँले भन्नुभयो– ‘रोगव्याधी नलागोस् भन्ने हो । अर्काे महत्वपूर्ण कुरा भनेको गाउँभरिको मादल खुलाउने पूजा पनि यही हो ।’ सामूहिकरुपमा गरिने हरेरी पूजाले एकता र सामूहिक भावनाको विकास गर्ने पनि तर्क उहाँको छ । ‘समाज त मिश्रित भइसक्यो । पहिले जस्तो त रहेन । तर पनि हरेरी पूजालाई निरन्तरता दिनु नै राम्रो विषय हो’– उहाँले भन्नुभयो– ‘दाङसहित थारु बाहुल्य गाउँ तथा जिल्लामा हेरेरी पूजा गरिन्छ ।’ यसरी गरिन्छ हरेरी पूजा अहिले थारु गाउँमा हरेरी पूजा भइरहेका छन् । खेतीपातीमा कुनै किसिमको हानि नोक्सानी नहोस् भनेर किसानहरु हरेक वर्ष साउन वा भदौ महिनामा हरेरी पूजा गर्दछन् । वर्षायामको खेतीपाती सकाएर बालीको सुरक्षाका लागि थारु समुदायमा हरेरी पूजा गर्ने पर्ने प्रचलन रहेको छ । हरेरी पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्छन् । हरेरी पूजा दुई दिनसम्म गर्ने गरिन्छ । पहिलो दिन गाउँको मरुवा वा देउता थानमा पूजा गर्ने र साँझ पूजाको लागि गुइँठाको आगोमा गुरुवाले हाम्फाल्ने, मन्त्रोच्चारण गर्ने गरिन्छ । यसरी गर्दा अग्निले नछोए राम्रो शुभ वर्ष हुने विश्वास छ । पूजाको भोलि पल्ट पूजारीले दिएको खरिभन अर्थात दूध र आगो लिएर खेतबारीको गराको पानीमा उक्त खरिभन मिसाउँदा खेती सप्रिने र यसले बाली जोगाउँछ भन्ने विश्वास छ । कुनै–कुनै गाउँमा थारु किसान रातभरि जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन् । यो पूजा नभएसम्म थारु गाउँमा मादल बजाउन पाइँदैन । यो पूजापछि मात्र थारु गाउँमा नाचगान र मादल बजाउन पाइने प्रचलन रहेको छ । हरेरी पूजाको दिन थारु समुदायमा हरियो घाँसपात काटे अशुभ मानिने भएकोले यो दिन केही कार्य पनि गरिदैन । एक दिन आराम गर्ने दिनको रुपमा लिइन्छ ।

सर्वहारीसहित १५ स्रष्टालाई सम्मान गरिने

सर्वहारीसहित १५ स्रष्टालाई सम्मान गरिने

९९९ दिन अगाडि

|

१८ भदौ २०८०

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरुद्वारा डा. कृष्णराज  सर्वहारीसहित १५ जना स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । समाजले वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा)लाई प्रदान गर्ने भएको हो । प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गरेका राजेश्वर नेपालीको २०८० भदौ ११ गते निधन भएको छ । यसैगरी दाङका डा. कृष्णराज चौधरी सर्वहारीलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान गरिनेछ । चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.राजेन्द्र विमल (जनकपुर), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा. रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाडांै), पवित्रादेवी चौलागाइँ मानवअधिकार स्रष्टा सम्मान प्रा.डा. सावित्री कक्षपती (पाल्पा), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रा.नवराज पाण्डेय (अर्घाखँँची)लाई प्रदान गर्ने निर्णय गरिएको शान्ति समाजका निर्वतमान केन्द्रीय बरिष्ठ उपसभापति एवं पुरस्कार छनोट समितिका सदस्य सुशील बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार जोगमाया बराल स्रष्टा सौगात मुकुन्द आचार्य (मकवानपुर), भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल (काठमाडौं), जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी (ललितपुर), श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना (स्याङ्जा), राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ (पाँचथर), श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत (हुम्ला), पद्मप्रसाद दाहाल स्रष्टा सौगात हंसावती कुर्मी (कपिलवस्तु) र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात मधु हमाल (बालकुमारी) (कञ्चनपुर) लाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कृत हुनेहरुमा सातजना महिला स्रष्टा हुनुहुन्छ भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानवअधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारु, अवधि, मगर, र लिम्बु गरी आठ भाषामा विशेष योगदान गरेका छन् ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा (कार्तिक अन्तिम साता) कार्यक्रम आयोजना गरी रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजले स्रष्टाहरुलाई पुरस्कृत गर्न थालेको यो चौथो वर्ष हो ।