Above News Title

भाषिक अस्मिताको सवाल

आफ्नो भाषिक अस्मिताको दाबी गर्ने स्वतन्त्रता प्रत्येक व्यक्तिसँग छ  ।
भाषिक अस्मिताको सवाल

चन्द्रकिशोर

अस्मिताको अर्थ हो— पहिचान । भाषिक अस्मिताको तात्पर्य— भाषा बोल्नेहरूको पहिचान । अस्मिता केही निश्चित समानताहरूका आधारमा कायम सामाजिक समुदायको ‘हामी–भावना’ हो । यो भावनाको अभिव्यक्ति र सम्प्रेषणले जुनजुन माध्यमबाट व्यावहारिक रूप प्राप्त गर्छन्, त्यसमा भाषा सबैभन्दा शक्तिशाली हुन्छ । अस्मिताको विकास शोषणविरुद्ध संघर्ष थालेसँगै हुन्छ ।

दृष्टि भ्रम

लामो समयसम्मको केन्द्रीकृत शासन प्रणालीका कारण तराईका भाषाहरूमा ‘काठमाडौंको दृष्टि’ नै हावी भयो, जसले सही तस्बिर प्रस्तुत गरेन । विडम्बना, तराईका भाषाहरूबारे त्यही भाष्य स्थानीय बुझाइको एक हिस्सा बनिरह्यो, जसले तराईलाई विरोधी तत्त्वहरूको भूमिका रूपमा अर्थ्याउँथ्यो । अर्थात्, स्थानीय बासिन्दाहरूले बोल्ने भाषाहरू एकआपसमा भिन्न छन् । हो, तराईमा क्षेत्रीय विविधताका कारण भाषामा वैविध्य छ, तर यस विविधतालाई यहीँकै धरातलीय कोणबाट सम्झिने विमर्श हुन सके नतिजा विगतमा प्रचारितभन्दा भिन्न हुन सक्छ । तराईको प्रत्येक क्षेत्रमा शताब्दियौंदेखिको सहजीवन र बसाइँसराइका कारण विभिन्न भाषा एकअर्कामा घुलमिल भएका छन् । भिन्नभिन्न भाषाका शब्दसमूह र आहानहरू पनि एकआपसमा गुथिएका छन् । कतिपय लोककथा, लोकगीतमा समानता छ । मिथहरूमा एकरूपता छ । स्थानीय ज्ञानहरूका कैयौं कथ्य उस्तैउस्तै छन् ।

तराईमा आफ्ना भाषाहरूप्रतिको सजगता केन्द्रीकृत शासन प्रणालीले उब्जाएको संकटबाट उत्पन्न उकुसमुकुसको परिणति थियो । नवअस्मिताको खोजीले बेलाबखत कोलाहल मच्चाउँछ, आरोप–प्रतिवादको जुहारी चल्छ र सेलाउँछ । स्थानीय तथा प्रादेशिक स्तरबाट भाषिक अस्मिताको स्वीकार्यता बढाउनु र भाषिक क्षमता वृद्धिका लागि पहल गर्नु उचित नै हो । तर अरू कसैका मातृभाषाप्रति घृणा ओकल्दा त्यसले आफैंलाई दलदलमा पुर्‍याइदिन्छ भन्ने हेक्का चाहिँ राख्नुपर्छ ।

भाषिक तनावका बाछिटा

तराई भाषिक विविधताहरूको भूमि हो । यहाँ प्रत्येक क्षेत्रमा विशेष भाषा र बोलीहरू छन् । भाषालाई क्षेत्रीय अस्मिता र सिंगो प्रदेशको पहिचानको आधार बनाउने राजनीतिक अभीष्ट बेलाबखत प्रतिध्वनित भइरहन्छ । उदाहरणका लागि, उर्दूलाई मुस्लिम पहिचानको प्रतीक मान्न खोजिएको छ । पहाड र मधेशमा लामो कालखण्डदेखि बसोबास गर्दै आएका मुस्लिमहरूले बोल्दै आएका तत्तत् भाषालाई तिनको पहिचानका रूपमा स्वीकार गर्नुको साटो साझा पहिचानको खोजीमा ‘उर्दू’ लाई अंगीकार गर्ने ध्येय यसमा देखिन्छ । यसले तराईका भाषाहरूबारे तथ्यगत र सही मूल्यांकन गर्ने र भाषा जोगाउने, यसको प्रयोग र विकास गर्नेभन्दा भाषिक राजनीतिका माध्यमबाट भोट बैंक खोज्ने प्रवृत्ति बढ्दै गरेको देखाउँछ ।

पछिल्लो समय स्थानीयस्तरमा नयाँनयाँ भाषिक पहिचानको खोजी, मैथिली विरोधको राजनीति, प्रादेशिक भाषाको दाबी तथा एक क्षेत्रका बासिन्दाले अर्काप्रति प्रदर्शित गर्ने श्रेष्ठता वा हेयभाव, प्रादेशिक राजनीतिमा नयाँ दबाब गुटहरूको उदय, उदीयमान भाषाहरूको मान्यताको प्रश्न, भाषिक अल्पसंख्यकहरूको समस्या, मातृभाषा पठनपाठनमा कठिनाइ लगायतका तनाव दृष्टिगोचर हुन थालेका छन् । असुरक्षा भावले ग्रस्त भाषिक वर्चस्वशालीहरू उदीयमान भाषाहरूको अस्तित्वलाई ठाडै अस्वीकार गर्नमा यति विघ्न लागिरहेका छन्, तिनले आफ्नो भाषाको स्वीकार्यताको आयतन फराकिलो बनाउनका लागि गर्नुपर्ने अनिवार्य कार्यभारसमेत बिर्सिरहेका छन् ।

भाषा मान्छेको अस्तित्वको पहिचान हो । मानव जातिलाई सृष्टिका अन्य प्राणीभन्दा अलग बनाउने कारकहरूमा भाषा मुख्य तत्त्व हो । व्यक्तिको जीवनमूल्य, उसका भावनाहरू, बानीबेहोरा सबै भाषामार्फत नै व्यक्त हुन्छन् । भाषा क्षेत्रविशेषको सामाजिक निर्माण, सांस्कृतिक पहिचानको समेत महत्त्वपूर्ण साधन हो । भाषाबाट वर्ग र जातीयता प्रकट हुन्छ । कुनै समाजका मिथकीय धारणाहरू, पौराणिक विचार, नैतिक मूल्यमान्यताहरू त्यस भाषामार्फत अभिव्यक्त भैरहेका हुन्छन् । यस अर्थमा भाषा एउटा जीवन्त विरासत हो । यसबाट सामाजिक सम्बन्धहरू मजबुत हुन्छ, सांस्कृतिक अभिव्यक्तिहरूको साझेदारी हुन्छ र ज्ञान उत्पादनको स्थानीय प्रक्रिया कायम रहन्छ ।

त्यसैले भाषालाई केवल अभिव्यक्तिको उपकरण मान्नु यसको महत्त्वलाई कम गर्नु हो । भाषाको विकाससँगै मानव सभ्यताको इतिहासमा एक क्रान्तिकारी परिवर्तन भएको थियो । यस दृष्टिबाट बिचार्दा सानो संख्यामा बोलिने भाषाहरूले चेपुवामा पर्छन्, बहुसंख्यकवादी आवेगबाट जोगिन असमर्थ हुन्छन् । यो तराईका बासिन्दाहरूको अस्तित्वको संकट हो । तिनका हजारौं वर्षदेखिका सञ्चित विरासत नष्ट हुनुको संकट हो । किनकि भाषा हावा र पानीजस्तै प्रकृतिप्रदत्त होइन, यो तराईका बासिन्दाहरूको आर्जित सम्पत्ति हो ।

रोटी, बिरालो र बाँदर

भाषाको राजनीतिबारे कुरा चल्दा, पुरानो लोककथा सम्झिनुपर्ने हुन्छ । भनिन्छ, दुई बिराला एउटा रोटीको भागबन्डा गर्दा कुरा नमिलेर बाँदरसमक्ष पुग्छन् । बाँदरले रोटीलाई दुई टुक्रा पार्छ अनि एउटा टुक्रा बढी भयो भनेर त्यसबाट फेरि टुक्र्याएर खान्छ । यसो हेर्छ, अर्को टुक्रा ठूलो देखिन्छ, त्यसबाट पनि टोक्छ । यो लोककथामा वर्णित बाँदरको भूमिकामा कुन भाषा छ ? तराईका भाषाहरूका हितचिन्तकहरूमा कतै सहयोगी अर्को भाषाले ठूलो हिस्सा पायो भन्ने आशंका त छैन ? नवभाषिक अस्मिताप्रति सचेत समूह कतै आफ्नो स्थानप्राप्तिभन्दा अर्को भाषाप्रति असहिष्णु त बनेको छैन ? भाषिक तनावहरू आगतका द्वन्द्वका टुसा त होइनन् ?

आफ्नो भाषिक पहिचान मुखरित गर्न खोज्दा किन कोही तर्सिन्छ ? स्थापित भाषाहरू पीँधका मान्छेहरूले बोल्ने वाणीलाई स्विकार्न किन हचकिन्छन् ? भाषिक विमर्श, भाषाका नाममा प्राप्त हुने अवसरहरू केही सीमित व्यक्तिका लागि स्वर्ग त भैरहेका छैनन् ? भाषिक विमर्शमा हुनुपर्ने काम नभएकाले कतिपय शब्द हराउँदै गएका, मासिँदै गएका, मौलिक शब्दहरू बिर्सिइँदै गएका त होइनन् ? वर्चस्वशाली भाषाका शब्दहरूले रैथाने भाषाका शब्दहरूलाई विस्थापित गर्दै छन् । विसर्जनको प्रक्रिया प्रादेशिक अभ्यासमा आइसक्दा समेत रोकिएको छैन । कुनै पनि शब्दको मृत्युसँगै त्यससँग जोडिएका ज्ञान, संस्कृति, मौलिकता, अर्थ तथा कथासमेत मासिन पुग्छन् । कतिपय अवस्थामा परिष्कृत एवं मानक निर्धारण गर्ने गोलचक्करमा भाषाको आफ्नोपन हराउँदै छ । शब्दविशेषले अतीत र वर्तमानबीच पुलको काम गर्छ । जानकारी, अवधारणा र ज्ञानलाई सम्प्रेषण गर्छ । अहिलेको समय विरोधाभासयुक्त छ । एकातिर आफ्नो नयाँ अस्मिताको दाबी, त्यस आधारमा भाषिक भूगोलको मान्यताको खोजी वा सहरीकरणले क्षेत्रविशेषको मिश्रित पहिचान निर्माणलाई स्वाभाविक प्रक्रिया मानिँदै छ, अर्कातिर जुन अनुपातमा दैनिक प्रयोगमा शब्दहरूको कमी हुँदै गएको छ, सो चिन्ताजनक छ । शब्दहरू संकटमा पर्दै जानुको सोझो अर्थ कालान्तरमा भाषाविशेष मर्दै जानु हो, जातिविशेषको पहिचान हराउँदै जानु हो ।

शब्द सम्पदा र भाषाको सत्ता

भाषाका माध्यमबाट राजनीतिक अभीष्ट साध्नेहरूले भाषिक संकटका सामाजिक, सांस्कृतिक एवं ऐतिहासिक निहितार्थलाई बुझ्ने खाँचो देखेका छैनन् । सन् २००१ मा युनेस्कोले भाषिक विविधतालाई सांस्कृतिक विविधताजस्तै मानवताको साझा विरासतका रूपमा हेर्नुपर्ने वकालत गर्दै घोषणा गर्‍यो— सबै व्यक्तिले आफ्नो रुचिको भाषामा, विशेष गरी मातृ भाषामा स्वयंलाई अभिव्यक्त गर्ने अधिकार पाउनुपर्छ । मधेशमा सामाजिक अनुबन्ध बुझ्न पनि यहाँ प्रयोग हुने भाषाहरूबारे अध्ययन हुनु जरुरी छ । यहाँका भाषाहरूको वर्गीकरण र पहिचान ग्रहणको प्रक्रियाका माध्यमबाट सामाजिक विकाससम्बन्धी महत्त्वपूर्ण जानकारीहरू भेटिन सक्छन् । यहाँ बसोबासको विकाससँगै विभिन्न समुदायबीचको अन्तरक्रिया र असरबारे चामत्कारिक सूचनाहरू पाउन सकिन्छ । भाषाहरूको मान्यताको दाबी समस्या होइन, शब्दहरूको मरण समस्या हो । दुर्भाग्यवश, भाषाहरूका सन्दर्भमा यो संकट सम्पूर्ण विकरालताका साथ हाम्रोसामु छ ।

के तराईका भाषाहरूको संरक्षणबारेको गम्भीरता सरोकारवालामा छ ? भाषाहरूमा सञ्चित ज्ञान, सम्पदा तथा सांस्कृतिक निधि लिखित रूपमा मात्रै सञ्चित हुँदैनन्, तिनको लामो र समृद्धि परम्परा पनि हुन्छ । जब कुनै भाषा आफूभित्र सञ्चित ज्ञान भण्डारको समुचित दस्तावेजीकरणबिना नै विलुप्त हुन पुग्छ, तब त्यसको सिंगो मौखिक साहित्य, मौखिक इतिहास र मौखिक परम्परा पनि सधैंका लागि नष्ट हुन जान्छन् । यसको क्षतिपूर्ति कहिल्यै गर्न सकिँदैन । भाषाहरू गहना हुन्, सामर्थ्य हुन् ।

शब्दहरूलाई जोगाउनैपर्छ । भाषाहरूको समानान्तर सत्ता स्थापित गर्नुपर्छ । आज नेपाली भाषा तराईको यथार्थ हो किनभने यसले राजकीय सुख पायो । पछिल्ला शताब्दीहरूमा भाषाहरूको उत्थान र पतन देखियो । अहिले आफ्नो भाषिक अस्मिताको दाबी गर्ने स्वतन्त्रता प्रत्येक व्यक्तिसँग छ । केन्द्रीकृत शासन र वर्चस्वको भाषा भएकै कारण नेपाली आज राष्ट्रिय एकता, शान्ति र सामाजिक समानताको भाषा मानिन थालेको छ । सामाजिक प्रतिरोध र आत्मसम्मान तथा स्थानीय ज्ञान उत्पादनको माध्यमको विरासत बोकेका तराईका भाषाहरू भने पछौटेपन र गृहकलहका बीज बन्दै छन् । यो भनेको तराईका भाषाहरूले ‘होम ग्राउन्ड’ मा खेलिएको ‘म्याच’ हारे बराबर हो । कान्तिपुरबाट

प्रकाशित:

१२४७ दिन अगाडि

|

१९ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३९० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२७ दिन अगाडि

|

२७ मंसिर २०७९