धनगढी : मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरु अन्तिम कसरतमा जुटेका छन् ।
आ–आफ्नो पक्षमा मत केन्द्रित गर्न हरसम्भव भगीरत प्रयत्नमा उम्मेदवारहरु लागेका हुन् ।
दलीय उम्मेदवार जस्तै कैलाली जिल्लामा थरुहट÷थारुवानलगायत पहिचान आन्दोलन हाँकेर आफ्नो राजनीतिक छवि बनाउन सफल पहिचान आन्दोलनका सारथीहरुलाई पनि चुनावी धपेडी छ ।
आन्दोलनमा प्रायः एकै मोर्चामा देखिने अनुहारहरु निर्वाचनमा भने एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । पहिलो हुने (प्रत्यक्ष) निर्वाचन निर्वाचन प्रणालीभन्दा समानुपातिकतर्फ उम्मेदवार रहेका उनीहरु पनि अन्तिम कसरतमा लागेका हुन् ।
भानुराम थारु
भानुराम थारु, थरुहट आन्दोलनको प्रयायीवाची झै छन् । लामो समयदेखि थरुहट, आदिवासी जनजाति आन्दोलनको अग्रपंक्तिमा देखिने उनी पनि चुनावी मैदानमा छन् ।

नेपाल लोकतान्त्रिक पार्टीका केन्द्र्रीय अध्यक्ष समेत रहेका ६७ वर्षीय भानुराम थारु आफ्नै पार्टीबाट समानुपातिक उम्मेदवार छन् ।
कैलारी गाउँपालिका १ रानामुडा घर भएका उनले सप्तरी, सुनसरी, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपुर, नवलपरासी, रुपन्देही, सुर्खेत, कैलाली जिल्लामा पार्टीका उम्मेदवार रहेको बताए ।
समग्रमा हालको संविधान स्वीकार नगरिएकोले संविधान संशोधन जरुरी रहेको बताउँने उनी संविधानमा स्वीकार गरिएको पक्षलाई कार्यान्वयन गर्न आफूहरु आन्दोलनरत रहेको सुनाए ।
उनले भने, ‘हाम्रो माग पहिचानको आधारमा पहिचानसहितको भूगोल, भूगोलसहितको प्रादेशिक संरचना १० जोड १ हुनुपर्ने हो । जसको लागि हाम्रो आन्दोलन हो । मौजुरा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सुदूरपश्चिम प्रदेश संरचनालाई स्वीकार गरेका छैनौ । तर बाध्यात्मक अवस्थाले मान्नुपर्ने अवस्था भएकाले कानून निर्माणमा जोड दिनुपर्ने माग हो ।’ जुन मुद्दासहित पहिलो संसदीय अभ्यासमाको क्रममा चुनावमा होमिएको थारु बताउँछन् ।
२०७४ बैशाख ७ गते गच्छदार नेतृत्वको मधेशी जनाधिकार फोरम लोकतान्त्रिक र थरुहट तराई पार्टी एकीकरणपछि नेपाल लोकतान्त्रिक फोरम गठन भयो । जसको अध्यक्ष गच्छदार र सहध्यक्ष थारु थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमले समानुपातिकतर्फ सवा लाख भोट पायो । ४६६ जना निर्वाचित प्रतिनिधि थिए ।
तर गच्छदारले २०७४ असोज ३० गते कांग्रेसमा फोरमलाई विलय गराए । तर भानुराम थारुलगायत नेताहरु गच्छदारको सँगै कांग्रेसमा नगइ २०७४ फागुन १२ गते नेपाल लोकतान्त्रिक पार्टीको नाममा पार्टी पुनर्गठन गरे । पुनर्गठित पार्टीको अध्यक्ष आफै रहेका थारुले २०७५ साउन ३० गते निर्वाचन आयोगमा दर्ता गरे ।
धनुषा निर्वाचन क्षेत्र नं. ४ मा डा. कृष्णचन्द्र प्रसाद साह, नवलपरासीको निर्वाचन क्षेत्र नं. २ धर्म चौधरी र सप्तरीको निर्वाचन क्षेत्र नं. १ श्रवण थारुलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको सो पार्टीले ३ सिट ल्याउने लक्ष्य बनाएको छ ।
इन्दु थारु
पहिचान तथा अधिकारवादी आन्दोलनकी प्रखर वक्ता, लेखिकाको रुपमा आफ्नो पहिचान बनाएकी इन्दु थारु (३३) पनि चुनावी मैदानमा छिन् ।

बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनदेखि कैलालीमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट उनी प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक उम्मेदवार छिन् ।
उनले भनिन् ‘थरुहट आन्दोलन तथा टीकापुर विद्रोहबाट नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो । खासगरी न्याय, पहिचान र विकासको लागि हाम्रो पार्टी र हाम्रो उम्मेदवारी हो ।’
इन्दु थारु २०६२÷२०६३ जनआन्दोलन हुँदै आदिवासी थारु जातिलाई मधेशीको रुपमा करार गरेपछि त्यसको विरुद्धमा अग्रमोर्चामा उभिँदै आएको बताउँछिन् ।
यतिमात्रै होइन, संविधान लेखनको क्रममा भएको थरुहट÷थारुवान आन्दोलनमा पनि नेतृत्वदायी भूमिकामा रहेको बताउँदै उनी थारु, दलित, महिला अधिकारको क्षेत्रमा वकालत गर्दै आएकी छिन् ।
कैलालीको कैलारी गाउँपालिका १ रानामुडा घर भएकी इन्दु १० वर्षे सशस्त्र जनयुद्धको शहीद परिवार हुन् । उनी जनयुद्धताका तत्कालीन शाही सेनाको कारवाहीमा परेर ज्यान गुमाएका कम्युनिष्ट नेता एवं प्रगतिवादी लेखक जोखन चौधरीकी छोरी हुन् । जोखन चौधरीलगायतका समूहले त्यसताका भूमिगत अवस्थामै क्रान्तिकारी विचारधारा बोकेको ‘मुक्तिक डगर’ म्यागजिन प्रकाशन तथा सम्पादन गर्दै आएका थिए । शाही सेनाको कारवाहीमा सो प्रकाशन तथा सम्पादन समूह नै परेपछि म्याग्जिन बन्द भयो ।
बुवाको लेखन र विचारबाट प्रभावित इन्दुले आफ्नो बुवालाई नै प्रेरणाको स्रोत मानिन्छन् । उनी निलम्बित निबन्ध (लेख संग्रह) र बुवाले प्रकाशसन गरेको मुक्तिक डगर म्याग्जिन प्रकाशन गरेकी छिन् ।
तर उनी माओवादी पार्टीमा आवद्ध नभइ रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा क्रियाशिल छिन् ।
माओवादी पार्टीमा तपाईको परिवारको ठूलो बलिदानी छ । बुवा आवद्ध पार्टीमा नलागेर नागरिक उन्मुक्ति पार्टी किन अँगालेको भन्ने जिज्ञासामा उनले भनिन्, ‘मेरो बुवाले देश र जनताको लागि रगत बगाउनुभएको हो । तर कसैको कुर्सीको लागि होइन । पहिचानसहितको सघीयताको लागि थियो । माओवादी पार्टीले आफ्नो मुद्दा विर्सिदै गयो । संविधान नै विभेदकारी ल्याउनमा भूमिका माओवादीको छ । निर्दोष थारुलाई ठग्ने, जेल कोच्ने काम भयो । जुनकारण मेरो रोजाइ नागरिक उन्मुक्ति बन्यो ।‘
पढाइमा अब्बल इन्दु कैलाली बहुमुखी क्याम्पस धनगढीबाट समाजशास्त्र विषयमा स्नाकोत्तर गरेकी छिन् । कोरियाको सङकङ्होए विश्वविद्यालयबाट पनि इन्टर एसिया एनजीओ अध्ययन विषयमा पनि स्नाकोत्तर गरेकी छिन् ।
थरुहट आन्दोलनका रथी माधव थारु
थरुहट÷थारुवान आन्दोलनको हरेक मोर्चा तथा आन्दोलनमा अग्रपंक्तिमा देखिने अनुहार माधव थारु । उनलाई पनि चुनावी चटारोले भ्याइनभ्याइ छ । नेपाल लोकतान्त्रिक पार्टीको जिल्ला अध्यक्ष समेत रहेका उनी प्रदेश सभा सदस्यतर्फको समानुपातिक बन्द सूचीको पहिलो नम्बरमा छन् ।

कैलालीको गोदावरी नगरपालिका ८ फकलपुर घर भएका उनको राजनीतिक जीवन २०६४ देखि विद्यार्थी राजनीतिबाट सुरु भएको हो ।
थरुहट तराई पार्टी हुँदै नेपाल लोकतान्त्रिक फोरम र हाल नेपाल लोकतान्त्रिक पार्टीबाट राजनीतिमा सक्रिय उनी थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलाली प्रवक्ता, थरुहट÷थारुवान मोर्चाका संयोजक तथा थारु कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति पनि हुन् ।
उनले हालको संविधान अपूर्ण रहेको बताउँदै त्यसमा संशोधनसहित समानुपातिक निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने, पहिचानसहितको १० जोड १ को प्रादेशिक संरचनाको अवधारणा लागु गर्नुपर्ने, राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता, टीकापुर मुद्दा राजनीतिमा समाधान गर्नुपर्ने एजेण्डाका साथ चुनावमा होमिएको बताए ।
जनयुद्धका घाइते विकास
टीकापुर नगरपालिका १ टीकापुरका बालकृष्ण चौधरी (विकास)लाई चुनावी घरदैलो भ्याउन भ्याइनभ्याइ छ । प्रत्यक्षतर्फका उम्मेदवारहरुको लागि भोट माग्नुका साथै प्रदेश सभातर्फ समानुपातिकको थारु कोटामा पहिलो नम्बरमै आफै परेपछि विकासलाई चुनावी घरदैलोको चटारो छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका प्रदेश सचिव रहेका विकास चौधरीको पार्टीभित्रै विद्रोही छवि छ ।
जनयुद्धका घाइते समेत रहेका उनी पहिलो संविधान सभाबाट पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान नबनेपछि मोहन वैद्य नेतृत्वको माओवादी ड्यासमा आवद्ध भए । पछि नेत्रविक्रम चन्द –विप्लव र वैद्यबीच पनि फुटको अवस्था आएपछि उनी पुनः प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किए ।
२०७२ को संविधान अझै अपूरो रहेको, राज्य पुनसरचना सर्व स्वीकार्य नरहेको उनको बुझाइ छ । राज्य पुनःसंरचनाा थरुहट पक्षधरलाई उपेक्षा गरेकोले पार्टीभित्र अन्तरसंघर्ष गर्दै आएको बताउँदै उनले थरुहट आन्दोलनको हरेक मोर्चामा अगाडि रहेको बताउँछन् । आफू प्रदेश सभा सदस्य भएको अवस्थामा यिनै मुद्दा उठान गर्ने उनको भनाइ छ ।
‘ती गाएका जनवादी गीतलाई सार्थकतामा उतार्ने उर्मिलाका चाहना
जनयुद्धकालीन प्रखर गायिका एवं एक लडाकु उर्मिला चौधरी पनि मतदाताको घरदैलोमा छिन् ।

नेकपा माओवादी केन्द्रबाट प्रदेश सभाको समानुपातिक उम्मेदवार रहेकी उनी पनि प्रत्यक्षतर्फका उम्मेदवारसँगै घरदैलोमा छिन् ।
जनयुद्धताका जिल्ला जनसाँस्कृतिक संघ कैलालीकी संयोजक समेत रहेकी उर्मिलाले जनवादी गीतमार्फत क्रन्तिको बिगुल फुक्ने आफूहरु कता–कता सामाजिक संरचनामा रुम्मालिएको अनुभूति गर्छिन् ।
उनले भनिन्,‘हाम्रा एजेण्डाहरु आधुरै रहे । कहाँ गए थारुवान राज्य र महिला अधिकारका एजेण्डाहरु ? पार्टी धेरै पटक सरकारमा गयो तर आफ्नो एजेण्डा लागु गर्न सकेन । हुँदाहुँदै विद्यमान सामाजिक संरचनाले अझै पनि महिलालाई अधिकार दिनुपर्छ भन्ने मान्यतामा गएको देखिन्न ।’
आफू प्रदेश सांसद भएको अवस्थामा ती आधुरा सपना पूरा गर्न आवाज उठाउने बताउँछिन् ।
धनगढी उपमहानगरपालिका १९ फूलबारीमा २०३९ मंसिर २२ गते जन्मिएकी उर्मिला चौधरी ‘प्रतिक्षा’ १६ वर्षकै उमेरमा २०५७ साउन ११ गते माओवादीले सञ्चालन गरेको जनयुद्धको क्रममा भूमिगत भएकी थिइन् ।
उनी जिल्ला जनसाँस्कृतिक संघ कैलालीकी संयोजक थिइन् । उनी र उनको टीम हरेक मोर्चामा जनवादी गीतहरु गुनगुनाउँन पुग्थ्यो । महिला हिंसा, घरेलु हिंसा, विभेद तथा सबैखाले विकृतीका विरुद्ध वस्ती–वस्तीमा गीतमार्फत जनजागरण अभियान सञ्चालन गरेको उनी सुनाउँछिन् । स्मरण गर्दै गुनगुनाइन्
जंगल धाउने चेलीहरु हिमाल चढ्न आँत गर
चुलोचौका अब होइन, संघर्षमय आँत गर
आधा संसार, यो धर्ती हाम्रै हो, चिन्ता नगर ।।
हाल उनी नेकपा माओवादी केन्द्रको कैलाली जिल्ला समन्वय समिति सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य छिन् ।
आफूहरुको एजेण्डाहरु आधूरै रहेको बताउने उनी क्रान्तिका विगुल फुक्ने कालजयी गीतहरु, जनयुद्धताका एजेण्डाहरु, सहयोद्धा शहीदका चित्कारहरु आफूलाई रातदिन झस्काउने गरेकोले कार्यान्वयन गर्ने स्थानमा पुगे ती सपना पूरा गर्ने आफ्नो एक मात्रै उदेश्य हुने बताउँछिन् ।
प्रकाशित:
१४०२ दिन अगाडि
|
१ मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९