उत्पादनसँग नागरिकलाई जोडने विचौलियाको अन्त्य विना मुलुक, समाज कसैको भविष्य सम्भव छैन । हाम्रो देशले फड्को मार्न नसक्नुको एउटै कारण विचौलियाको विगविगी हो ।
आज हाम्रो देशको नेता देखि विकास, व्यापार निर्माण, उत्पादन, यहाँ सम्मकि शिक्षा र स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रमा समेत विचौलियाको वर्चस्व छ । यदि समयमै विचौलिया निरूत्साहित गर्ने योजना नल्याउने हो भने देशैं विचौलियाको हातमा नपुग्ला भन्न सकिन्न । यसका लागि नागरिक उन्मुक्ति पार्टीले ‘उत्पादनसँग नागरिकलाई जोड्ने’ विशेष योजना ल्याएको छ ।
के छ योजनामा ?
१. नागरिक उन्मुक्ति पार्टी विजय भएको क्षेत्रमा कुनै पनि कार्य विचौलिया मार्फत गर्ने छैन ।
२. कृषक, उद्योगी, उद्यमी, आदिले उत्पादन गरेका वस्तु उनै मार्फत बिक्री वितरण गर्ने व्यवस्था गर्नेछौं ।
३. विकास निर्माणका कार्यहरू सामूहित परिश्रमसहितको उत्पादनबाट व्यवस्था मिलाउनेछौं । हामी गर्नेछौं
१. शुद्व पिउने पानीको ज्ञारेन्टी ।
२. एक पालिका एक वृद्धाश्रम
३. जेष्ठ नागरिकको मासिक एकपटक स्वास्थ्य जाँच ।
४. गरिब, सुकुम्बासी, मजदुरका बालबालिकालाई सतप्रतिशत शिक्षा निशुल्क ।
५. स्वरारेजगारको आधारभूत तालिम ।
हामी गर्दैनौं
१. घुस खान्नौं ।
२. भ्रष्टाचार गर्दैनौं ।
३. कसैको दबाब तथा अनावश्यक करकापमा रहेर अनुचित कार्य गर्नेछैनौं ।
स्वास्थ्य हरेक मुलुकको शाकसदेखि राज्य सञ्चालनसम्म सबैले चाहन्छन्– आफ्ना नागरिक स्वस्थ रहुन् । स्वस्थ नागरिक बिना मुलुक सञ्चालनको परिकल्पना गर्न सकिँदैन । सबैजसो राजनीतिक दलहरूको एजेण्डामा स्वास्थ्य शीर्षक बिनाको घोषणापत्र, प्रतिवद्धतापत्र सम्पूर्ण अपूरा हुन्छन् । धेरै शब्द खर्चिरहनुभन्दा नागरिक उन्मुक्ति पार्टी जनस्वास्थ्यको सबालमा निम्न कुरामा प्रतिवद्ध छ ।
नागरिकको स्वास्थ्य नै राज्यको धन हो
१. जन्मदेखि ५ वर्षसम्म सम्पूर्ण बालबालिकाको उपचार निशुल्क ।
२. हरेक नागरिकको स्वास्थ्य उपचार बिमा निशुल्क ।
३. ६५ वर्षभन्दा बढी उमेरका नागरिकको उपचार निशुल्क ।
४. दीर्घ रोगी नागरिकको उपचार निशुल्क ।
५. हरेक पालिकास्तरमा कम्तिमा २५ शैयाको एक अस्पतालको साथै असक्त, वृद्धवृद्धा, बालबालिका र महिलाहरूलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने ।
६. हरेक महिना कम्तिमा एकपटक प्रेसर, सुगर, युरिक एसिडजस्ता रोगको परीक्षण घुम्ति शिविरमार्फत् अनिवार्य गर्ने ।
७. नागरिक उन्मुक्ति पार्टी सरकार निर्माणको तहसम्म पुगेको खण्डमा कम्तिमा ‘एक प्रदेश एक शिक्षण अस्पताल’को अवधारणा ल्याई स्थापना गर्ने ।
रोजगार
रोजगारका विषयमा धेरै राजनीतिक दलले आ–आफ्ना अवधारणा ल्याएका छन् । नागरिकलाई वैदेशिक रोजगारमा पठाउँछौं भन्नेहरूको चेतना छ कि छैन ? के नागरिक वधुवा मजदुर हुन् ? आफ्नो जनतालाई अर्काको देशमा काम गर्न पठाउँछु भन्नेहरूको मानसिकतामा नेपाली जनता दास हुन कि होइनन् ? अशिक्षित संकीर्ण मानसिकताले आजसम्म मुलुकको रथ नगुडेकै हो भन्ने सबै नेपाली नागरिकले बुझ्न जरूरी छ । नागरिकलाई रोजगारमुलक कसरी बनाउन सकिन्छ ? यो सोचको चेतना सबैमा आउनु जरूरी छ ।
उदाहरणतः एक जना नेपाली नागरिक विदेशमा जान्छ । कृषि पेसामा रोजगारी पाउँछ । परिश्रमिक पनि हाम्रो देशको भन्दा कयौं गुणा बढी रकम प्राप्त गर्छ । अनि त्यही देशको उत्पादन यहाँ हामीले हाम्रो उत्पादनभन्दा सस्तो दरमा खरिद गरेर खाइरहेका हुन्छौं । कारण के ? हाम्रो नेपाली नेता र राजनीतिक दलहरूको चेतनामा ‘स्वरोजगार’ भन्ने विषयले कहिले प्रवेश पाउला ? हामी स्वरोजगारमूलक देश बनाउँछौं भनेर किन भन्न सक्दैनन् ? धरानका मेयर हर्क साम्पाङले ढुंगा बोकेको, गिटी कुटेको दृश्य यिनको मानसपटलमा कहिले छिर्ने हो ? अब को नेता नेतृत्व गर्नसक्ने, पश्रिम गर्नसक्ने, स्वयं अहोरात्र खर्चिनसक्ने ल्याकत राख्ने हुनुपर्छ ।
हाम्रो नागरिक उन्मुक्ति पार्टीले सगौरव घोषणा गर्दछ– हामी ‘स्वरोजगारमूलक देश’ बनाउँछौं । सामूहिक परिश्रमले ठूलाठूला जल आयोजना, कृषि कारखानाको निर्माण गर्छौं ।
देशको उर्वर भूमिलाई हराभरा कृषि उब्जनी क्षेत्र बनाउँछौं । हामी अल्छी, गफाडी, एकल जातीय मानसिकता बोकेका घमण्डी नेताहरूलाई चुनौती दिन चाहन्छौं– पहाडको खाली जमिन तराईका श्रमिक, मेहनती जनतालाई हस्तान्तरण गरिएको खण्डमा मुलुक हराभरामात्रै होइन, साँच्चिकै समृद्ध बन्नेछ ।
हाम्रो योजना छ
१. नेपाली श्रमिकलाई विदेशमा स्याउ टिप्न, विरूवा गोड्न, धान रोप्न, पशुपालन कार्यमा लगाउन नपठाउने । हामी सबैले त्यो वातावरणको निर्माण आफ्नै देशमा गर्ने । यो सम्भव पनि छ, गर्नैपर्छ ।
२. हिमाली, पहाडी र तराईको कृषि प्रणालीका लागि अध्ययन, अनुसन्धान गर्न कृषि विज्ञहरूको टोली बनाउने । कहाँ, के गन सकिन्छ, सोको व्यवस्था तत्कालै गर्ने । कृषि विउविजन अनुसन्धान केन्द्रको तत्कालै स्थापना गर्ने । रैथाने विउविजन, फलफूल उत्पादनलाई बढी महत्व दिने । आज संसारमा उत्पादन, बिक्री वितरण गरेर सबैभन्दा बढी लाभ रैथाने उत्पादनले नै पाएका छन् । त्यसैले रैथाने बाली, विउविजन र उत्पादनलाई विशेष महत्व दिने ।
३. जीवनयापनमा अति महत्वपूर्ण वस्तुमात्रै आयात गर्ने । सौख रहरिला वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाउने । यदि राज्यले वैदेशिक हरियो तरकारी, माछामासु, फलफूलमा तुरून्त रोक लगाउने हो भने रोजगारी चौगुणा बढेर जानेछ । त्यसैले भान्सामा विदेशी तरकारी होइन, स्वदेशी पकाउने, स्वदेशी फलफूललाई उपभोग गर्ने, स्वदेशी कृषकले उत्पादन गरेको माछामासु मात्रै खाने । हरेक स्वदेशी उत्पादनलाई बढावा दिने हो भने रोजगारी खोज्न विदेश जानै पर्दैन ।
४. यान्त्रिक खेतीको विकास विना राज्यको नागरिक पाल्नु अब सम्भव छैन । त्यसैले यान्त्रिक प्रणालीलाई अवलम्बन गर्ने । स्वदेशका यान्त्रिक वैज्ञानिक महाविर पुनजस्तालाई राज्यले सहयोग गरी त्यस्ता केन्द्रको राज्यभरि नै विस्तार गर्ने ।
५. मुलुकको उत्पादन वस्तु विदेशमा निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्ने परिपाटी मिलाउने ।
६. अब सरकारी प्राविधिकको मात्रै भर नपरि स्वंय स्थानिय कृष्कलाई नै तालिम दिइ दक्ष प्राविधिक बनाउने
स्वयं स्वरोजगार हुने आधारहरू
१. आफूले उपभोग गर्ने वस्तुको उत्पादन आफैँले थालौं ।
२. वैदेशिक सामाग्रीको प्रयोग गर्नपरे मात्रै गरौं । अनावश्यक सौख नपालौं ।
३. पहिलो सुरूवात आफ्नै घरदैलो, भान्साबाट गरौं ।
४. आफ्नो करेसाबारीमा आफूलाई पुग्ने तरकारीका लागि परिश्रम गरौं ।
५. आफ्नो थोरै जमिनको सदुपयोग गरौं । दुई बोट फूल, दुई बित्ते जमिनबाट उत्पादित तरकारीले एक परिवार सहजै धान्न सकिन्छ भन्ने बुझौं ।
६. परिवार जीवनयापनको सहजीकारणको प्रशिक्षण हाम्रो नागरिक उन्मुक्ति पार्टीले पहिलो प्राथमिकतामा राखेको छ ।
तब स्वरोजगार भइन्छ
१. खाली नबस्ने र जमिन खाली नदेख्ने ।
२. सरकारसँग रोजगार माग्ने होइन, सरकारलाई वैदेशिक मजदुर झिकाउन दबाब दिने वातावरणको सिर्जना आफैँले गर्ने ।
३. भलो चिताउने होइन, हलो जोताउने नेताको खोजी गर्ने ।
४. घरछेउका, खोला–नाला सदुपयोगका लागि स्थानीय सरकारसँग समन्वय गरी सामूहिक श्रम र लगानीबाट मनग्य आम्दानी लिन सकिन्छ । त्यसैले घरछेउका खोला–नाला, वनमै सामूहिक श्रम गरी रोजगारका वैकल्पिक व्यवस्थापन आफैँले गर्ने । पारिश्रमिकसहितको सामूहिक श्रमदान गर्न तत्पर हुने ।
५. सानातिना बाटोघाटो, पुलपुलेसा, ठेकेदारलाई होइन, जनतालाई दिनुपर्छ भनेर स्थानीय सरकारलाई दबाब दिने ।
६. सिक्ने गुणको बानी बसाल्ने । सक्दो आफैँले गर्ने, अरूलाई नअह्राउने ।
७. मुलुक श्रमले बन्छ, सीपले बन्छ र सकारीले बन्छ । श्रम, सीप र सकारी छैन भने स्वरोजगार पनि भइन्न । त्यसैले सरकारलाई श्रम, सीप, सकारी सदुपयोगका लागि खबरदारी गर्ने वातावरणको सिर्जना नागरिक उन्मुक्ति पार्टीले गर्नेछ ।
केही कुरा... हामी अरू दलजस्तो ठूलो, परिपक्व, अनुभवी भइसकेका छैनौं । नयाँछौं, सिक्दैछौं भन्दैमा अपरिपक्व र आलोकाँचो पनि छैनौं । हाम्रो नागरिक उन्मुक्ति पार्टी जन्म भएको नवौं महिनामा हामीले स्थानीय प्रतिनिधि, प्रदेश गरी दुई निर्वाचनको सामना गर्नुपरेको छ । हामी साइवेरियाबाट उडेको पन्छीले जस्तो गन्तव्य भेटाइसकेका छैनौं । भेटाउने प्रयत्न जारी छ । भेटाउँछौं पनि । त्यसैले चुनावी घोषणा पत्रमा नसकिने, नगर्ने कुरा लेखेर नागरिकलाई चुतिया बनाउने हाम्रो नियत छैन ।
नागरिक उन्मुक्ति पार्टी विद्रोहबाट जन्मिएको पार्टी हो । यसले अझै केही विषयमा अहिंसित राजनीतिक विद्रोह गर्न बाँकी छ । केही कुरा हाम्रो पार्टीले गर्ने लक्ष्य नै लिएको छ । यो हाम्रो दृष्टिकोण, लक्ष्य राजनीतिक उद्देश्य जे भन्नुस्, यसमा हामी अनवरत संघर्ष गरिरहने छौं ।
१. राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने ।
२. ‘भौगोलिक, साँस्कृतिक पहिचानसहितको संघीयता’ हाम्रो राजनीतिक उद्देश्य हो । प्रदेशको नामाकरणमा हाम्रो गम्भीर असहमति छ ।
३. केही प्रदेशको भूगोलमा पनि हाम्रो गम्भीर आपत्ति छ । राज्यको भूगोल नेताले होइन, जनताले व्यवस्थापन गर्नुपर्छ । देशको केही जिल्ला नेताको स्वार्थमा थपिएको छ र, अझ केही जिल्ला जनव्यवस्थापनका लागि थपिनुपर्दछ ।
४. जथाभाबी बाटो निर्माणको नाममा ठेकेदार नेताले ब्रह्मलुट गरिरहेको सर्वविदितै छ । त्यसैले अब बाटो होइन, वस्ती व्यवस्थापन गर्नुपर्छ ।
५. असक्त, अस्वस्थ, वृद्ध नेतालाई राजनीतिमा छाइरहन दिने हो भने मुलुक कहिल्यै समृद्ध हुनसक्ने छैन ।
६. प्राकृतिक न्याय नपाएका व्यक्ति अपांग जीवन व्यतित गरिरहेकाहरूको गाँस, बाँस कपासको, पुनः ग्यारेन्टी राज्यले लिनुपर्छ ।
७. विषय कठिन छ, असजहजस्तै छ । तर पूर्ण मानसिकताले सहजै सम्भव छ । एकीकृत वस्ती नबनाइकन चक्लाबन्दी गरेर कृषि प्रणाली नअपनाएसम्म अन्नपातको आयात भइरहन्छ । र, जबसम्म आयातित मानसिकताबाट हामी ग्रसित भइरहनेछौं, तबसम्म देश विकास सम्भव छैन ।
८. नेपालका धेरै वनलाई तुरून्त आरक्ष बनाउनु जरूरी छ । हाम्रो नागरिक उन्मुक्ति पार्टीको सरकारले सम्भव भएका स्थानमा तुरून्त त्यसको अवधारणा अघि सार्ने छ ।
९. राज्यले छुट्याएको जातीय कल्स्टर अति नै विभेद्पूर्ण छ । हाम्रो नागरिक उन्मुक्ति पार्टीले संसदीय संघर्षमा यही विषयको उठाउन गर्ने छ ।
एक प्रदेश एक संकल्प
१. एक प्रदेश एक अन्तर्राष्ट्रियस्तरको रंगशाला अनिवार्य बनाइनेछ ।
२. एक प्रदेश एक मल कारखाना अनिवार्य बनाइनेछ ।
३. एक प्रदेश एक शिक्षण अस्पताल अनिवार्य बनाइनेछ ।
४. एक प्रदेश एक हाइड्रोपावर हाउसको निर्माण अनिवार्य गरिनेछ ।
५. एक प्रदेश एक पहिचान सहितको शिक्षा अध्यापन गराइने विश्वविद्यालय खडा गरिनेछ ।
६. रुग्न उद्योग सञ्चालन गर्नुको साथै एक प्रदेश एक कृषियन्त्र कारखाना खेल्नेछौं ।
अबको केही प्रदेश सरकारमा हाम्रो नागरिक उन्मुक्ति पार्टीको जबरजस्त उपस्थिति रहनेछ । हामीले नेतृत्व गर्ने, प्रदेश सरकारले गर्ने कार्यले नै हाम्रो मार्गदिशा निर्धारण गर्नेछ । ‘हामी हार्ने छैनौं, थाक्ने छैनौं । आफ्नो अधिकारको लडाइँमा कोही पराया डाक्ने छैनौं’ भन्ने उद्देश्यका साथ अगाडि लम्किरहेका छौं । सम्पूर्ण जनताको साथ भरोसा र विश्वासको अपेक्षा लिएका छौं । त्यसैले परिवर्तनको सम्बाहक, नौलो नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियामा छाप लगाई अत्यधिक बहुमतले विजयी गराउनुहुने छ भन्ने अपेक्षा लिएका छौं ।
आदरणीय बुबाआमा, दाजभाइ तथा दिदीबहिनीहरू,
हाम्रो नागरिक उन्मुक्ति पार्टीलाई धेरैले जातीय पार्टीको बिल्ला भिराउने गर्दछन् । जसको सोच एकल जातीय छ, उसैलेमात्र यस्तो कुरा गर्छ । नेपाल बहुजातीय, बहुभाषिक राष्ट्र नै हो । तर के हाम्रो देशमा रहेका अन्य जातिको रहनसहन, भाषा, भेषभुषाको कुनै महत्व नै छैन ? अधिकांश थारू लालिगुराँस फूल नदेखेरै मर्छन् । तर थारूले राष्ट्रिय फूल लालिगुराँसको कहिले विरोध ग¥यो ? दौरा सुरूवाल सबैले लगाउने पोसाक होइन, तर के हामीले दौरा सुरूवाललाई राष्ट्रिय पोसाक मानेका छैनौं र ?
सबै जातजातिको, भाषा भेष, रहनसहन, सम्मानका लागि नै संघीयता चाहिन्छ । संघीयतामा सबैको सम्मान, इज्जत, पौराणिक परम्परा सम्मानार्थ हुनुपर्छ । विभिन्न भाषा बोले पनि हामी नेपाली हौं । विभिन्न पोसाक लगाए पनि हामी नेपाली हौं । भूगोलअनुसार धर्म, पोसाक परिवर्तन हुन सक्ला, तर समग्रमा हामी सबै नेपाली हौं । त्यसैले अब मानसिकता परिवर्तन गर्नुपर्छ । यो पोसाक मेरो, त्यो पोसाक तेरो, यो धर्म मेरो, त्यो धर्म तेरो, यो जात मेरो, त्यो जात तेरो, डोको मेरो, ढकिया तेरो । यस्ता कुरा नेपाललाई विभाजित गर्ने मानसिकता बोकेकोले मात्रै गर्छन् । देउराली भन्ज्याङ, समुल फाँट, हिमाली भेग, पहाडी पाटन सबै नेपालीका साझा हुन् । यी सबैलाई संघीयतामार्फत् व्यवस्थापन गर्नुपर्छ ।
पहिचान पहिचान सम्मान हो कि अपमान ? ल्याटिन अमेरिकी देश ब्राजिलमा हेर्न गए पुग्छ । अहिले पहिचानको विरोध गर्नेहरूको आखिर गन्तव्य पनि उही नै हो । तर संसार नबुझ्नेहरूलाई बुझाउन अत्यन्त कठिन हुँदो रहेछ । आफ्नो कुनै साँस्कृतिक पहिचान नभएका युरोपियन र अमेरिकनहरू साम्बा फेस्टिबल अवलोकनका लागि सडकको एक छेउमात्रै पाए कति भाग्यमानी सम्झिन्छन् आफूलाई । अहिले विश्वको विकास यति तीव्र गतिमा भइरहेको छ कि मान्छे पुरातन सोँचको कल्पनासमेत गर्न रूचाउँदैनन् । तर पहिल्याउँदै जाँदा एउटा यस्तो विम्व स्तम्भित हुन्छ, जसलाई कसैले न भुल्न सक्छन्, न उखेलेर फाल्न नै सक्छन् । हो त्यही हो पहिचान । पहिचान कुनै व्यक्तिको पेवा होइन र हुन पनि सक्दैन ।
पहिचान त मुलुक समृद्धिको सबैभन्दा ठूलो आधार हो । पहिचानले विश्व पर्यटनलाई आगमन गराउँछ र संस्कार, परम्परालाई बाचाइराख्नुको साथै अर्थतन्त्रको वृद्धिमा यसले अहम् भूमिका खेल्छ । आफ्नो देशमा भएको साँस्कृतिक पहिचानलाई नस्ट गरेर पछि अरूको पहिचानको प्रसंसा गर्ने मुर्खताको मार्गमा छौं हामी । लाटाहरूले केवल इशारा बुझ्छन्, बोली बुझ्न सक्दैनन् । हो, अहिले विद्वानहरूको आवाज हो पहिचान । दुईचार वटा सुगा÷मैनालाई– राम राम कहो पट्टु ? भनेर रटाएरमात्रै केही हुनेवाला छैन । पहिचान त सक्कली आवाज हो, जुन प्राणीले गर्भमै सिकेर आएको हुन्छ । जसलाई संस्कार र परम्परको ख्याल हुँदैन, उसलाई न त आफ्नी आमाको ख्याल हुन्छ, न मुलुकको नै ।
हो, त्यसैले त आफ्ना पुर्खालाई वृद्धाश्राम पु¥याउँछन् । जसले बुबा–आमालाई नै घरबाट लखेटेर वृद्धाश्राममा पु¥याउँछन् त्यस्ताले मुलुक कहाँ पु¥याउँछ ? धेरै साथीहरू पहिचानको कुरा गर्दा जातीय कुरो भो भन्छन् । भूत, भविष्य र वर्तमानको विचारै नगर्नेलेमात्रै यस्तो कुरा गर्ने हो । ‘मेरो गोरूको बाह्रै टक्का’को परिणामले विश्वका धेरै देश भड्खालामा जाकिएको कुरा धेरैलाई थाहा छ । शान्ति अदृश्य शक्तिकी दूत हुन् । अशान्तिको विकल्प खोजिनुपर्छ । संघीयता, पहिचानसहितको भएन भने मुलुक सधैं कुण्ठाले ग्रसित भएर बाँचिरहेको जस्तो देखिन्छ । आखिर यसको पनि त विकल्प होला ।
संघीयताले देश टुक्रिन्छ भनेर गलत पाठ्यक्रम पढाउनेले संघीयताको विषय नै किन उठाए होलान् ? मुलुक संघीय लोकतन्त्रमा प्रवेश गरिसकेको छ । अब यसबाट बाहिर निकाल्नु भनेकै मुलुक पछाडि फर्किनु हो । लोकतान्त्रिक मुलुकमा जनता जागेपछिको परिणाम परिवर्तनीय हुन्छ । मुलुकलाई पछाडि फर्काउन खोजे जनताले नेतृत्व नै परिवर्तन गरिदेलान् भन्ने हेक्का पनि नेताले राख्नुपर्छ । हाम्रो देश नेपालमा संघीयता बहसको प्रारम्भमा पहिचानसहित दिने भनिए पनि अन्ततः शुक्राचार्यको बुद्धि कसले शासकको गिद्दीमा भ¥यो कुन्नी ? अहिले मुलुक विवादको भूमरीमा फसेको छ । पहिचान परिचय हो भन्ने सबैलाई थाहा हुँदाहुँदै बुझ किन पचाइँदैछ कुन्नी ?
राजनीतिमा आफ्नो पार्टीका पकड बलियो होस् भनेर जातीय संगठन खोल्ने राजनीतिक दलहरू अहिले हुँदै नभएको जनजाति आदिवासीले जातीय राज्यको माग गर्दैछन् भनेर जबरजस्ती आरोप थोपर्दैछन् । जुनबेला प्रमुख राजनीतिक दलहरूले धमाधम जातीय संघसंगठन खालेर पार्टीको भातृ संगठनको रूप दिँदैथिए, त्यो बेला हामी आदिवासी सबै कांग्रेस, एमाले, माओवादीका सदस्य थियौं । भातृ संगठनको रूप दिँदै हरेक चुनावमा भोट लिँदै र अधिकारबाट वञ्चित हुँदै गएपछि विस्तारै यसले हामी आदिवासी जनजातिको मनमा चिसो पसायो । अहिले देश लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । गणतन्त्रमा संघीयता अनिवार्य हो । लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई पनि नबुझ्ने नेताहरूको ठूलै झुण्ड रहेछ ।
गणतन्त्रको पूर्ण परिभाषा नबुझिकनै दुई जनाले त उपप्रधानमन्त्री नै पड्काइदिए । आदिवासी÷जनजातिले भौगोलिक–साँस्कृतिक पहिचानसहितको संघीयता माग्दैछन् । तर राज्यका शासकले जबरजस्ती जातीय राज्य माग्दैछन् भनेर हौवा फैलाउँदैछन् । साँस्कृतिक पहिचान राज्यको परिचय हो भन्ने कुरा नेतालाई ब्राजिलको उदाहरण भए पुग्दैन र ? आदिवासीको हक र अधिकारको महत्वका बारेमा अमेरिकाकै उदाहरण प्रशस्त छन् । एकले अर्कालाई धम्क्याउन छाडौं । पहिला प्रस्ट बनौं । हामीलाई जातीय राज्य चाहिएको होइन, भौगोलिक–साँस्कृतिक पहिचानसहितको संघीय प्रदेश चाहिएको हो ।
धर्म र सँस्कृति धर्म र सँस्कृति आफ्ना आफ्ना हुन् । शक्ति र सत्ताको आडमा यसको हरण भयो भने राज्यलाई मात्रै होइन, विश्वलाई नै अपुरणीय क्षति हुन्छ । सत्ता र शक्तिको आडमा मेटाइएको धर्म र सँस्कृतिको इतिहास भोलि अनुसन्धानका लागि विज्ञहरूको सोधसमेत अपुरो हुनजान्छ । तसर्थ, अहिले नास गर्न लागिएको यही धर्म र सँस्कृतिका लागि भोलि राज्यले अर्बौं खर्च गर्दासमेत प्राप्त हुन सक्दैन । बौद्ध सभ्यता नेपालको पुरानो सभ्यता हो, जुन भारतका कट्टर हिन्दुवादी अशोक सम्राटले समेत लुम्बिनीमा स्तम्भ खडा गरेको इतिहासबाट प्रष्ट हुन्छ ।
राज्य धर्मनिरपेक्ष हुनुपर्छ । सबै नेपालीको पौराणिक धार्मिक सभ्यताको संरक्षण र सम्वद्र्धनमा राज्यको सरोबरी भूमिका हुनुपर्छ ।
अन्त्यमा, ढकिया एकल जातीय चिन्ह होइन । हाम्रै देशको पहिचान हो । राष्ट्र, पहिचान स्थापनार्थ पनि सबै बुबाआमा, दाजुभाइ, दिदीबहिनीले नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकियामा छाप लगाई विजयी गराउनुहुनेछ भन्ने अपेक्षा लिएका छौं । जय नागरिक ।
प्रकाशित:
१३६६ दिन अगाडि
|
१७ कात्तिक २०७९
३ दिन अगाडि
|
१३ साउन २०८३
५ दिन अगाडि
|
११ साउन २०८३
७ दिन अगाडि
|
९ साउन २०८३
११ दिन अगाडि
|
५ साउन २०८३
१३ दिन अगाडि
|
३ साउन २०८३
१४ दिन अगाडि
|
२ साउन २०८३
१५ दिन अगाडि
|
१ साउन २०८३
१३९० दिन अगाडि
|
२५ असोज २०७९
१४२४ दिन अगाडि
|
२१ भदौ २०७९
१४३४ दिन अगाडि
|
१२ भदौ २०७९
१३८९ दिन अगाडि
|
२६ असोज २०७९
१३३८ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९४ दिन अगाडि
|
२० असोज २०७९
१३२७ दिन अगाडि
|
२७ मंसिर २०७९