कैलालीको टीकापुर नगरपालिका–१ सत्घरुवा गाउँ अचेल मादलको ताल र मञ्जिराको झंकारले गुञ्जायमान छ ।
४४ घर घरधुरी रहेको गाउँका बालकदेखि बृद्धासम्म बेलुका गाउँकै बरघर अमित कुमार चौधरीको घरमा भेला हुन्छन् । अनि सुरु हुन्छ, मादलको ताल र मञ्जिराको झंकारसँगै सामूहिक नाचिने सखिया नाच । फटक ट्वाङ घरौना, फटक टवाङ घरौना...मादलको आवाजमा नर्तकीहरु कम्मर मर्काउन थाल्छन् ।
सामूहिक नाचिने सखिया नाचले गाउँमा दसैँ आएको छनक दिएको छ । सुनसान हुने गाउँको मोहोललाई एकाएक उल्लासमय बनाएको छ ।
गाउँका बरघर तथा सखिया नाचका अगुवा मडरिया (मादल बजाउने प्रमुख) समेत रहेका अमित चौधरीले दसैँमा प्रदर्शनको लागि सखियाको तयारी भदौ २१ गतेदेखि नै सुरु गरेको जानकारी दिए ।
सत्घरुवाका स्थानीयहरु प्रमिला चौधरीको अध्यक्षतामा ५३ सदस्यीय समिति नै गठन गरेर तयारी थालेका थिए । हप्तौंदेखि तयारीमा जुटेका स्थानीयहरु असोज १८ गते (नवमी) पर्ने डसिया (दसैँ)को पिट्रहुवा अर्थात् पिण्ड सेलाउने दिनदेखि दसैँको टीकापछिको दिनसम्म नाच्ने जानकारी बरघर चौधरीले दिए ।
दसैंको आगमनसँगै टीकापुरको सत्घरुवा गाउँ मात्रै होइन, पश्चिम नेपालको थारु बस्ती नै सखियाले उल्लासमय बनेको छ ।
कैलालीको कैलारी गाउँपालिका–६ बेनौली गाउँका भलमन्सा पहलमान चौधरीले भने, ‘दसैँमा सखिया नाचै भएन भने के को दसैँ ?’ बेनौलीका अगुवा मडरिया वेदप्रकाश महतोले सखिया नाचकै लागि हप्तौं अघिदेखि मादल साज्ने (तयार)गरेको सुनाए ।
सखिया नाचको तयारीमा मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा) मार्फत् गीतिनृत्यको रुपमा रहेको सखिया नाच्ने र गाउने विधि र प्रक्रियाहरु सिकाइने गरिएको लोकसंस्कृतिविद अशोक थारु बताउँछन् ।
कैलालीको भादा होम स्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार यहाँ सखिया नाचको लागि दसैँ नै कुर्नुपर्दैन । पर्यटकहरुको मनोरञ्जनकै लागि भएपनि वर्षौमास सखिया नाचिदै आएको उनको भनाइ छ ।
लोक संस्कृतिविद थारुका अनुसार दसैँमा सखिया र पैंयाँ नाच विशेष रुपमा नाचिन्छ । नाचका लागि युवतीहरुको समूहमा एकजना अगुवा (मोरिन्या) रहने र मादल बजाउने युवाहरुमा पनि एकजना अगुवा मन्दरिया हुन्छन् । गाउँअनुसार नाच्ने महिला धेरथोर हुन्छन् । यो नाचमा भगवान् श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाइन्छ ।
के हो सखिया ?
सखिया थारु लोकभागवत पुराण हो । दसैंमा थारु जातिका महिलाहरुले सामूहिक रुपमा गाइने काव्य कोटीमा पर्ने संस्कृतिविद थारु बताउँछन् । जसको आरम्भ नै समरौटी (मंगलाचरण) बाट हुन्छ ।
डानु डाडा डानु रि डाडा डानुु, डरिउना भलि र
सखि र डानु रि डाडा डरिउना रि कहिले
टोहि मैं सामिरौं सरस्वती मैयाँ
सखि र सरस्वती मैयाँ स्यावा रि मोरि लेओ
पैंयाँमा कृष्ण र गोपिनीको रासलीला
दसैँमा सखिया नाचको बीच–बीचमा पैंयाँ पनि नाचिन्छ । पैंयाँको अर्थ पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनीरुपी बठिनिया (युवती) र कृष्णरुपी मड¥या (मदाल बजाउने युवा)हरु एकअर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ ।
लोकसंस्कृतिविद थारु भन्छन्, ‘पैंयाँलाई कृष्ण र गोपिनीबीचको रासलीला झल्काउने चरणको रुपमा लिइन्छ । यो मुलतः गीतविहीन सामूहिक नृत्य हो ।’
एनरि बाहाँस हो काटि कमवा सिटैबु
कमवा सिटैबु मै पिन्जला बनैबुँ
पिन्जला बनैबु मै सारि सुगा पलबु
वचनक बिनल पिन्जला कबु रे जिनि टुट
टुटि गिल पिन्जला रे मोर उरिगिल सुगिना
प्रस्तुत पैंयाँ गीतमा सारी–सुगा प्रेमपात्रका प्रतीकको रुपमा लिइएको छ । पिँजडा प्रेमको प्रतीक हो । गीतमा औंलो काटेर कलम बनाउने र रगतको मसीले प्रेमपत्र लेख्ने सन्दर्भ आएको छ ।
पछिल्लो समय पैँयाँ नाचलाई आधुनिकीकरण गरिएको छ । यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ । यसमा गाइने गीतहरु समेत आधुनिक रुपमा रचना गरिएको थारु संस्कृतिका जानकारहरु बताउँछन् ।
त्यस्तै पैंयाँ २२ प्रकारको हुने भए पनि हाल मडरियाहरुले आफैं नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएका छन् । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भीड लाग्छ ।
यतिमात्रै होइन, सखियालाई आजभोलि सदाबहार नृत्यको रुपमा समेत लिने गरिएको छ । दसैँमा मात्रै सीमित नभई यो नृत्य बाह्रैमास विभिन्न सभा, समारोह, महोत्सवहरुको प्रमुख शोभाको रुपमा प्रस्तुत हुँदै आएको छ । त्यसैले, सखिया नाच व्यावसायिक समेत भएको भादा होम स्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन् ।
प्रकाशित:
१४४१ दिन अगाडि
|
१८ असोज २०७९
१४ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९