Above News Title

ड्युटीमै बित्छ डीआईजी मीरा चौधरीको दसैँ

‘दसैँमा घर जानुपर्छ भन्ने जुन भाव हुन्थ्यो, आमा नहुँदा अब छैन’
ड्युटीमै बित्छ डीआईजी मीरा चौधरीको दसैँ

राजेश भण्डारी
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी अहिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मीरा चौधरीको काँधमा छ । आजभोलि उनी चटारोमा हुन्छिन् । काठमाडौँ महानगरपालिकासँगको समन्वयमा बेसमेन्ट पार्किङ खुलाउने अभियान चलिरहेको छ । अत्यासलाग्दो सडक जाम खुलाउन बिहानदेखि नै कडा मेहनत गर्नुपर्छ ।

नेपालीहरूको महान् चाड दसैँ सुरु भएदेखि मीराको काँधमा अर्को जिम्मेवारी पनि थपिएको छ । चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण गर्न र यातायातको सहज व्यवस्थापन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सो समितिमा सदस्य छिन् मीरा ।
सहसचिव फणीन्द्रमणि पोखरेल नेतृत्वको समितिले सार्वजनिक यातायातको यान्त्रिक परीक्षण गर्ने, बिमा नभएका सवारी चल्न नदिने, मादक पदार्थ र लागु पदार्थको नियमित चेकजाँच गर्ने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयनमा मीराको टिम लागेको छ ।
सबैलाई दसैँ लागेको छ तर, मीरा ड्युटीमै दसैँ मनाउने योजनामा छिन् । ‘दसैँ कसरी मनाउनुहुन्छ ?’ भन्ने प्रश्नमा मीरा भन्छिन्, ‘ड्युटीमै बित्छ, कतै जान्नँ ।’
ट्राफिक कमाण्डरको जिम्मेवारीमा रहेकी उनी दसैँमा औपचारिक र अनौपचारिक कार्यक्रममा व्यस्त हुन्छिन् । सैनिक मञ्चमा आयोजित फूलपाती बढाइँ समारोह तथा प्रहरी प्रधान कार्यालयमा गरिने मौलो पूजामा उनको सहभागिता अनिवार्य हुन्छ ।

‘अनौपचारिक कार्यक्रममा पनि कमाण्डरको हिसाबले मैले मनिटरिङ गर्नुपर्छ,’ मीरा भन्छिन्, ‘विजया दशमीको दिन घर जान नपाएकालाई सिनियरले टीका लगाइदिने चलन छ, मेरो कार्यालयमा सिनियर भएको हिसाबले म पनि त्यही गर्छु ।’

मीराजस्तै घर जान नपाएर ड्युटीमै दसैँ मनाउने ट्राफिक प्रहरी धेरै हुन्छन् । आफूभन्दा जुनियरलाई परिवारको न्यास्रो मेटाउने प्रयास पनि उनले नै गर्नुपर्नेछ ।

ती दसैँ

मीराको पुर्ख्यौली थातथलो पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१३ मा पर्छ । बालापन र क्याम्पस जीवन उनले वीरगञ्जमा बिताइन् ।

स्कुल तहको शिक्षा उनले वीरगञ्जको राष्ट्रिय विद्यापीठ व्यावसायिक माविबाट पूरा गरिन् । स्नातक तह हरिखेतान बहुमुखी क्याम्पस र स्नातकोत्तर तह ठाकुरराम क्याम्पसबाट पूरा गरिन् । स्कुल र क्याम्पस पढ्दा मीरा फुटबल खेल्थिन् ।

घर नजिकै चउर थियो । सिनियर दाइहरुसँग खेलेर मीराले फुटबलको लय समातिन् । २०५१ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएपछि मीराले प्रहरीमा महिला फुटबल टिम बनाइन् । नेपाल प्रहरीको टिम क्याप्टेन हुँदै राष्ट्रिय टिमको कप्तान भएर मीराले फुटबलबाट सन्यास लिइन् ।

नारायणी अञ्चलबाट टिम क्याप्टेन भएर खेल्ने गरेकी मीरा सिनियर र केटा साथीहरूसँगै धेरै खेल्थिन् । ‘घर नजिक चउर भएको फाइदा मैले उठाएँ,’ मीरा भन्छिन्, ‘बेलुका भएपछि टोलका मानिसहरू त्यहाँ भेला हुन्थे, त्यहीँबाट फुटबलमा लगाव भयो ।’

स्कुल तहमा भलिबलबाट खेल जीवन सुरु गरेकी मीराले फुटबल कप्तान भएर आफ्नो खेल जीवनबाट विश्राम लिइन् ।

स्कुल पढ्दा ‘वीरेन्द्र शिल्ड’मा सहभागी भएको अहिले पनि उनको स्मृतिमा ताजा भएर आउँछ । प्रहरीमा भर्ना हुनुअघिका दसैँ र त्यसपछिका दसैँ मीराका लागि भिन्न छन् । जागिरमा आउनुअघि वीरगञ्जमा बुबा र आमासँग उनले दसैँ मनाउने गरेकी थिइन् ।

‘पारिवारिक हिसाबले दसैँ भनेको लुगा किन्ने, मिठो खाने सामान्य चलन जुन थियो, हामी पनि त्यसरी नै मनाउँथ्यौं,’ मीरा भन्छिन्, ‘हाम्रो तराईतिर मन्दिरहरूमा मेला लाग्थ्यो साथीभाइसँग बिहानै मेलामा जान्थ्यौँ, छुट्टै रमाइलो हुन्थ्यो ।’

मीरा वीरगञ्जको थारु समुदायमा हुर्किइन् । दसैँलाई तराईमा सबै समुदायले समान रूपमा मनाउने गरेको उनी सम्झिन्छिन् । निधारमा रातो टीका र जमरा लगाउने आम परम्परालाई पछ्याएर उनी हुर्केकी हुन् । तराईमा अहिले पनि दसैँ, तिहार र छठलाई उल्लासाका साथ मनाउने गरिन्छ ।

बाल्यकालमा मीराले परिवार र साथीभाइसँग मनाएको दसैँ र अहिलेको दसैँमा ठुलो अन्तर छ । ‘परिवारसँग बिताएको दसैँ र अहिलेको दसैँमा त तुलना नै हुँदैन,’ मीरा भन्छिन्, ‘व्यक्तिगत र व्यावसायिक हिसाबले ती दसैँ र अहिलेको दसैँलाई दाँज्न पनि मिल्दैन ।’

बाल्यकालमा साथीभाइ र परिवारसँग बिताएको दसैँको रौनक छुट्टै थियो । २०४१ सालमा बुबाको निधनपछि मीराको दसैँ आमासँग बित्थ्यो ।

प्रहरीमा आएपछि

२०५१ मा प्रहरीमा प्रवेश गरेपछि उनले मनाउने दसैँको स्वरुप फेरियो । मीरा उनको परिवारकी पहिलो सन्तान हुन् । त्यसैले उनको परिवारप्रति अभिभावकिय दायित्व हुनु स्वाभाविक हो । प्रहरीमा आएपछि तालिमको दौरान र शान्ति मिसनमा जाँदा उनको दसैँ छुट्न थाल्यो । वीरगञ्ज जान नपाउँदा दसैँमा आमाको हातको टीका छुट्थ्यो ।

तर, आफू कमाण्डर नभएको बेला कार्यालयबाट छुट्टी मिलाएर मीरा छोटो सयमका लागि भए पनि दसैँमा घर पुग्थिन् । ‘मुमा एक्लै भएको बेला मिलाएर घरमा जाने प्रयासचाहिँ गरिरहेँ,’ उनी भन्छिन्, ‘विशेष गरी तिहारमा भन्दा पनि दसैँमा चाहिँ जानैपर्छ भन्ने हुन्थ्यो ।’

जिम्मेवारीका कारण जागिरमा प्रवेशपछि उनी धेरै दसैँमा घर जान सकिनन् । उनले भनिन्, ‘मुमा हुँदा सम्भव भएसम्म जान्थेँ, कहिलेकाहीँ मुमालाई आफू बसेको ठाउँमा बोलाएर पनि दसैँ मनाएँ ।’

बडादसैँ भनेपछि घर जानुपर्छ भन्ने संस्कार छ । मीरा सो संस्कारअनुसार एक–दुई दिनमात्र भए पनि दसैँमा घर जाने गर्थिन् । यस वर्ष फुलपातीमा उनको आमा बितेको दुई वर्ष पूरा हुँदैछ । आमा बितेसँगै दसैँमा घर जाने क्रम टुटेको छ उनको ।

बडादसैँ भनेपछि घर जानुपर्छ भन्ने संस्कार छ । मीरा सो संस्कारअनुसार एक–दुई दिनमात्र भए पनि दसैँमा घर जाने गर्थिन् । यस वर्ष फुलपातीमा उनको आमा बितेको दुई वर्ष पूरा हुँदैछ । आमा बितेसँगै दसैँमा घर जाने क्रम टुटेको छ उनको । ‘जिल्लामा कमाण्डर भएर काम गर्दा आफ्नो काम सकाएर मिल्यो भने साँझमा भए पनि घरमा पुगेर आउँथे,’ उनी भन्छिन्, ‘दसैँमा घर जानुपर्छ भन्ने जुन भाव हुन्थ्यो, मुमा नहुँदा अब त्योचाहिँ छैन ।’

मीरा ७ कक्षामा पढ्दादेखि नै खेल्न थालेकी हुन् । बालापनमा खेल्ने र साथीसंगीसँग रमाएर दसैँ मनाउने उनी जागिरमा आएपछि काममा समय दिन थालिन् । मानिसहरू दसैँ बिदालाई घुमेर पनि मनाउँछन् । तर, उनी दसैँको छुट्टीमा अहिलेसम्म कतै घुम्न गएकी छैनन् । ‘छुट्टी पाउँदा म कहिल्यै पनि बाहिर घुम्न गइनँ,’ उनी भन्छिन्, ‘मुमा एक्लै हुनुहुन्थ्यो, घरमै जान्थेँ ।’

ड्युटीमा दसैँ

सार्वजनिक यातायातको व्यवस्थापन गर्न गठन गरिएको समितिकी सदस्य भएकाले मीरा चौधरी दसैँभरि सो समितिले गरेका निर्णय कार्यान्वयनमा व्यस्त हुन्छिन् । कमिटीले सार्वजनिक सवारीको अवस्थाबारे यान्त्रिक परीक्षण, बिमाको अवस्था, चालकको मादक पदार्थ सेवन र  लागु पदार्थ सेवनको अवस्थाबारे कडाइका साथ चेकजाँच गर्ने निर्णय गरेको छ । उपत्यकामा सो निर्णय कार्यान्वयन गर्ने मुख्य दायित्व उनकै काँधमा छ ।

भाडामा हुने कालाबजारी नियन्त्रण र यात्रुलाई सहजीकरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका १४ ठाउँमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । त्यहाँ भाडादर र यात्रुका लागि सूचना टाँसिएको छ । ‘समस्या परेमा यात्रुले तत्काल खबर गर्न सक्नुहुन्छ,’ मीरा भन्छिन्, ‘चालकले मापसे गरेर सवारी चलाइरहेको कुरा यात्रुलाई थाहा भयो भने तुरुन्त सूचना दिन सक्नुहुन्छ, हामी तत्काल कारबाही गर्छौँ ।’

यातायात व्यवस्थापन समितिले लामो दुरीमा दुई जना चालक अनिवार्य गरेको छ । निर्णय कार्यान्वयनको अवस्था अनुगमन, औपचारिक कार्यक्रम र ट्राफिक व्यवस्थापनमै बित्छ डीआईजी मीराको यो वर्षको दसैँ ।  रातोपाटीबाट

प्रकाशित:

१४४४ दिन अगाडि

|

१६ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९