सन्तोष श्रेष्ठ
झिङ्नी गाउँ आफ्ना विजयी आँखाहरूले संसार नियालिरहेको थियो । लडाइँमा होमिएर दुस्मनहरूलाई जित्ने सिपाही पनि कहिलेकाहीँ आफ्नै घरसँग हार्छ, आफैँसँग हार्छ । हार र जीतको शृङ्खला भौतिक समाजको संरचनात्मक स्वरूप पनि हो ।
झिङ्नी, जहाँ ग्वालाहरूको एउटा ठूलै जमात थियो । गाउँघरमा खेतीकिसानी गर्नेहरूको समूह हो यो । हो, सबै खेतीकिसानी गर्ने वर्गका मानिसहरू धनी पनि हुँदैनन् । न त सबै गरीब नै हुन्छन् । तर, यी किसानी गोठालाहरूको समूहमा अधिकांश मानिस भने शोषित एवम् पीडित परिवारका नै थिए ।
झिङ्नीको त्यही माटोमा, त्यही बाटोमा एक किशोरीले आफ्ना गोडाका खाली पैतालाहरू चालिरहेकी थिइन् । एक किसिमले हेर्दा त यो पृथ्वीसँगको सम्मोहन पनि हो । यद्यपि, खडेरीले चिरा परेका बाँझा खेतहरूजस्ता उनका कुर्कच्चाबाट मुस्किलले बगेका रगतका थोपाहरूले जमिनको उष्णतामा शितलता प्रदान गरिरहेझैँ देखिन्थे । उनी थिइन्, गरिब कमैया थारू परिवारभित्रकी किशोरी फरैना चौधरी ।
चर्को घामले राज गरिरहेको ऋतु । जसमाथि किशोरीका खाली पैताला । धूलौटे बाटोमा उनका पैतालाले जीवनको आदिम अक्षर कोरिरहेझैँ देखिन्थे । उनका गोडाका ती पैतालाले अहिलेसम्म कुनै जुत्ता–चप्पल पाउनै सकेका थिएनन् । यद्यपि, जुत्ता–चप्पलले सुशोभित हुने अप्राप्तिको प्राप्ति पर्खेर बाँचिरहेकै थिए । जुन चीज अप्राप्य छ, त्यसैको खोजीमा भौँतारिएर अनगिन्ती दिनका पानाहरू पल्टाउनु पनि जीवनको अध्यायमा घातक सन्दर्भ नै हो । यही कुराको तत्त्वबोध उनका पैतालाहरूलाई पनि थियो । उनी आफ्ना पैताला सार्न आफ्नै समुदायको मैना गीतको भाका गुन्गुनाउन थालिन् ।
हरि मैना, हाँठे लिहलो जोगि, बिरहुल बसिया हो मैना,
फुकि न डारो जोगि, बिरहुल बसिया हो मैना ।
धूलोमा पाइला बजाउँदै आएको एक अनाम बटुवाको स्वर अचानक सुनियो, “ओहो कस्तो सुरिलो स्वर । कहाँ हो बहिनीको घर ?”
गोठालाको हुलमा रहेकी किशोरी आफ्नो पछाडिबाट कानसम्म ठोक्किन आइपुगेको आवाज सुनेर फरक्क पछाडि फर्किइन् । जोगीलाई बाँसुरी बजाउन अनुरोध गरिएको गीत गुन्गुनाउँदै थिइन् । जोगीको झैं भेषमा एक बटुवा देखिन् । अलिकति लजाइन् । अनि उनले बटुवालाई उत्तर दिइन्, “मेरो घर उः ट्यो झिङ्नी गाउँ हो बा ।”
जीवनको गीत सधैँ आफूले सोचेको लयमा बज्दैन । यो समाज र प्रकृतिको नैसर्गिक नियम पनि हो । देखभेट, चिनजान, नातासम्बन्ध भन्ने कुरा समाजको मर्यादाले निर्माण गर्दै जाने कुरा हो । कहिलेकाहीँ नचिने पनि बोल्नु पर्दोरहेछ, अन्जानमा पनि मुस्कुराउनु पर्दोरहेछ ।
बटुवाले तिनै किशोरीमाथि फेरि शब्दहरूको थुँगा समेटेर प्रश्नको माला तेस्र्याए,“अनि तिम्रो नाउँ के हो नि ?
किशोरी बोलिन्, “फरैना ।”
किशोरीको नामरूपी शब्द फरैना सुनेपछि बटुवा एकछिन अलमलिन पुगे । जसरी दोभान भेट्नुअघि खोलीको गति अलमलिन्छ । पहाडमा ठोकिनुअघि बतासको बहाव अलमलिन्छ । धर्तीमा बर्सनुअघि बादलको गुजुल्टो अलमलिन्छ । फेरि सम्हालिँदै बटुवा बोले,“कस्तो फरक खालको नाम रैछ तिम्रो ! फरैना भनेको के हो, थाहा छ तिमीलाई ?”
फरैना अलिअलि लजाउँदै थोरै मुस्कुराउँदै बोलिन्,“नाइँ, थाहा छैन । सानैदेखि सबैले फरैना भनेर बोलाउँछन् ।”
केही ग्वालाहरू अगाडि बढिसके । गाईबस्तुका बथानहरू धूलोमा आफ्ना पाइलाका डोबहरू छोड्दै अगाडि बढिरहेको देखिन्थ्यो । क्षितिजमा अस्ताउन लागेको घामले आफ्नो सिन्दुरे किरण छर्केर ध्यानमग्न पहाडलाई मनमोहक तुल्याएको थियो । भोलि फेरि तम्तमाउँदै बिउँझेर आफ्नो नित्य कर्मका खातिर सूर्य हतार–हतार परिवेशबाट बिदा हुने तरखर गरिरहेथ्यो । दिनभरि पहाड र बस्तीहरू तताएर तातिँदै भागेको सूर्यले सायद आफूलाई अब केही समय फ्रिजको गोप्य बाकसमा लुकाउला र भोलि फेरि उस्तै ऊर्जाका साथ उदाउला । गोधूली साँझमा हातमा लौरी लिएकी फरैना अघि–अघि र जीवनजस्तै गह्रुङ्गो भारी बोकेको बटुवा पछि–पछि हिँडिरहेका थिए ।
दिनभरि पहाड र बस्तीहरू तताएर तातिँदै भागेको सूर्यले सायद आफूलाई अब केही समय फ्रिजको गोप्य बाकसमा लुकाउला र भोलि फेरि उस्तै ऊर्जाका साथ उदाउला । गोधूली साँझमा हातमा लौरी लिएकी फरैना अघि–अघि र जीवनजस्तै गह्रुङ्गो भारी बोकेको बटुवा पछि–पछि हिँडिरहेका थिए ।
हिँड्दै गर्दा उनीहरूबीचको संवादको क्रम पनि निरन्तर चलिरह्यो । सोधीखोजीकै क्रममा बटुवाले फेरि अर्को प्रश्न तेस्र्याए, “कसकी छोरी हौ त नानी ?”
फरैनाले छोटोमा उत्तर दिइन्, “रूपलाल ठारुकी ।”
“तिम्रा आफ्नै हुन् त फरैना यति धेरै गाईबस्तुहरू ?” बटुवाले फेरि सोधे ।
फरैनाले जवाफ दिइन्, “हाम्रा टा होइनन् । यी टा हाम्रा जिमडारका हुन् ।”
दाहिनेतिरको झोलाको फितालाई देब्रेतिर सार्दै बटुवाले फेरि प्रश्नको वाण फरैनातिरै फ्याँके, “के यो बगालका सबै गाईगोरु, भेडाबाख्रा जेजति छन्, यी जम्मै जमिनदारकै हुन् त ?”
फरैना बोलिन्, “सबै टा होइनन् । केही अरुका पनि मिसिएका छन् ।”
“तिम्रा घरका पनि मिसिएका छन् त ह्याँ ?”
“नाइँ, हाम्रा ट छैनन् ।” फरैनाले भनिन् ।
परिवेश मधुरो–मधुरो हुँदै गइरहेथ्यो । घरतर्फ फर्कँदै गरेका गाईबस्तु, भेडाबाख्राका आवाजले बटुवाको प्रश्नशील मानसिकतालाई अझै प्रश्रय दिइरहेथ्यो । त्यसमाथि फरैनाबाट प्राप्त छोटो–छोटो जवाफले पनि बटुवा उत्साहित भइरहेका थिए । खै किन–किन, बटुवालाई फरैना आफ्नै कोही हो जस्तो महसुस भइरह्यो । आखिर आफूले सोच्न सके त दुनिया आफ्नो हुने हो नि ।
हिँड्दै गर्दा बटुवाले आवाजको रुमालमा शब्दका सिताराहरू भरेर फेरि सोधे, “तिम्रो घरमा अरु को को हुनुहुन्छ त ?”
फरैनाले एकै सासमा भनिन्, “बाआमा र भाइबहिनी ।”
“तिम्रा बा आमाले के काम गर्नुहुन्छ नि ?” बटुवाले फेरि सोधे ।
फरैना बोलिन्, “बाले जिमडारको जग्गा अढिया लाउने र आमा आफ्नै घरको काममा ।”
यसरी अरुको घरमा बसेर काम गरेको सुनेपछि बटुवाले अचम्मित हुँदै सोधे, “अनि, तिमीहरू आफ्नो घरको काम नगरेर किन जमिनदारको घरको काममा लागेको त ?”
यसपटक फरैना बोलिनन् । उनको मनमा जवाफका लागि शब्दहरू नभएका होइनन् । तर, ती शब्दहरू मनबाट अचानक फुत्केर बाहिरसम्म आउन अप्ठ्यारो मानिरहेका थिए । मनमा धेरै शब्दहरूको सङ्ग्रहालय भएर पनि कहिलेकाहीँ शब्दकै अभाव हुने रहेछ ।
“किन नबोलेको ? के भयो ?”
बटुवाको प्रश्नले फरैनाको निस्तब्धतालाई चि¥यो । उनी झसङ्ग भइन् । के बोलूँ, के नबोलूँको दलदले सिमसारमा उनको अन्तस्करण भासियो ।
नेपाल पर्यटन बोर्डमा भदौ २४ गते विमोचन गरिएको संगीतकार सन्तोष श्रेष्ठको ‘फरैना’ उपन्यासबाट ।
प्रकाशित:
१४२० दिन अगाडि
|
२५ भदौ २०७९
२ दिन अगाडि
|
१३ साउन २०८३
४ दिन अगाडि
|
११ साउन २०८३
६ दिन अगाडि
|
९ साउन २०८३
१० दिन अगाडि
|
५ साउन २०८३
१२ दिन अगाडि
|
३ साउन २०८३
१३ दिन अगाडि
|
२ साउन २०८३
१४ दिन अगाडि
|
१ साउन २०८३
१३८९ दिन अगाडि
|
२५ असोज २०७९
१४२३ दिन अगाडि
|
२१ भदौ २०७९
१४३३ दिन अगाडि
|
१२ भदौ २०७९
१३८८ दिन अगाडि
|
२६ असोज २०७९
१३३७ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९३ दिन अगाडि
|
२० असोज २०७९
१३२६ दिन अगाडि
|
२७ मंसिर २०७९