सन्तोष दहित
दाङ
थारू समुदायको अट्वारी पर्वबारे मनाउनेबारे सधैँझैं यस वर्ष पनि विवाद देखिएको छ । धेरैले आगामी भदौ १२ गते अटवारी पर्ने धारणा राखेका छन् भने कतिपयले भदौ १९ गते पर्ने भन्दै आएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले भदौ १९ गते अटवारीको विदा दिने निर्णय गरेपछि सरोकारवालाहरुले भदौ १२ मा विदा दिन ज्ञापन पत्र नै बुझाएका छन् । हरेक वर्ष कृष्ण जन्माष्टमीको दुई आइतबारपछि अर्थात् कुशे आंैसीको पहिलो आइतबार थारू समुदायले अट्वारी मनाउँदै आएका छन् ।
यसै बीच थारू आयोगले यस वर्षको अट्वारी भदौ १२ गते भएको जनाएको छ । थारू आयोगले थारू अगुवा तथा संस्कृतिविद्हरुसँग छलफल गरेर यस वर्षको अट्वारी पर्व आफ्नो क्यालेन्डरमा भदौ १२ गते भएको उल्लेख गरेको थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए । ‘अट्वारी पर्व कुन दिन मनाउने भनेर लिखित तिथि मिति उल्लेख नभएकोले यसअघि थारू समुदायले फरक–फरक आइतबारमा अट्वारी मनाउने गरेका थिए’, अध्यक्ष चौधरीले भने, ‘यसरी मनाउँदा एकताको सन्देश नजाने भएकोले अट्वारी पर्वलाई एकरुपता बनाउन आफूहरुबाट थारू अगुवा तथा संस्कृतिविद्हरुसँग छलफल गरेर एकैदिन बनाउने प्रयास गरेका हौं ।’
थारू आयोगले यस वर्षको अट्वारी भदौ १२ गते भएको जनाएको छ । थारू आयोगले थारू अगुवा तथा संस्कृतिविद्हरुसँग छलफल गरेर यस वर्षको अट्वारी पर्व आफ्नो क्यालेन्डरमा भदौ १२ गते भएको उल्लेख गरेको थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए ।
पुर्खाहरुले थारू समुदायको अस्टिम्की पर्व पछिको दुई आइतबार र कुशेंऔसीको पहिलो आइतबार अट्वारी मनाउने गरेकाले सोहीअनुसार आफूहरुले थारू आयोगको क्यालेण्डरमा लिखित मिति उल्लेख गरेको उनले बताए ।
यसै गरी थारू कल्याणकारिणीसभा (थाकस) दाङले पनि भदौ १२ गतेका दिन अट्वारी मनाउन थारू समुदायललाई अपिल गरेको छ । सभाका जिल्ला अध्यक्ष भुवन चौधरी र सचिव प्रकाश चौधरीले एक विज्ञप्ती जारी गर्दै अस्टिम्की पर्वपछिको दुई आइतबार र कुशेंऔसीको पहिलो आइतबार अट्वारी मनाउने भएकाले यस वर्ष भदौ १२ गते अट्वारी मनाउन आग्रह गरेको हो ।

के हो अट्वारी ?
अट्वारी पर्व थारू समुदायको एक महत्वपूर्ण पर्व हो । अट्वारी पर्व दाङका थारू राजा दंगीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित रहेको पाइन्छ । थारू अगुवाहरुका अनुसार महाभारतका पाँच पाण्डवहरु र दाङका थारू राजा दंगीशरणबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहेको थियो । यही क्रममा पाँच पाण्डव र द्रौपदी सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका रहेछन् ।
त्यही क्रममा दाङका थारू राजा दंगीशरणको राज्यमा शत्रुहरुले आक्रमण गरिरहेको खबर पाउने बित्तिकै टावामा पकाउन राखेको रोटी छाडेर भीमले भोकै पेट पानीसमेत नखाई थारू राजा दंगीशरणको पक्षमा लड्न गएछन् र शत्रुहरुलाई हराएछन् ।
यसरी भोकै पेट केही पनि नखाएर थारू राजा दंगीशरणको पक्षमा लडेर विजय हासिल गरेकोले भीमजस्तै बलियो भइन्छ भन्ने जनविश्वास भएकोले थारू समुदायले परम्परादेखि अट्वारी मनाउँदै आएका छन् । जुन घटना आइतबारको दिन परेकोले यसको नाम पनि अट्वारी हुन गएको थारू अगुवाहरु बताउँछन् ।
यो पर्व विशेष गरेर पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारू समुदायले दुई दिनसम्म धुमधामका साथ अट्वारी मनाउँदै आएका छन् ।
यसै बीच विगत चार वर्षदेखि थारू समुदायको अट्वारीमा प्रदेश सरकारले बिदा दिदै आएको छ । यस वर्ष पनि अट्वारीको दिन लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले थारू समुदायलाई विदा दिने तयारी गरेका छन् ।
लुम्बिनी प्रदेश सरकरका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले गत वर्षजस्तै यो वर्ष पनि थारू समुदायले अट्वारीमा विदा दिने जनाए । ‘अहिले हामीले कुनै सूचना निकालेका छैनौं’, उनले भने, ‘एक दुई दिनमा मन्त्रालयको वेवसाइटमा सूचना निकाल्छौं ।’
प्रकाशित:
१४८२ दिन अगाडि
|
९ भदौ २०७९
१४ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९