सबै तस्विरः अविनाश चौधरी
सन्तोष दहित
कानकहि पायरिया मै जलम मैं लेहनु र ।
सखि र इह रि पायरिया रि मोर नाउँ रि रहिजा ।।
सखि र इह रि पायरिया रि मोर नाउँ रि रहिजा ।।
इह लेओ महरिन रि बेटवक नाउँ र
सखि र परि ट गैल रि कहनैया बिर नाउँ ।।
सखि र परि ट गैल रि कहनैया बिर नाउँ ।।
यो थारू समुदायले डस्या (दशैं) मा गाउने सख्या गीत हो । अहिले यही गीत थारु वस्तीमा गुन्जिरहेको छ । दशैं आउनु अघि थारू समुदायले एक साता अगाडिदेखि सख्या पैयाँ नाचगान गरेर दशैंलाई स्वागत गर्छन् । यस बेला थारू समुदायका अविवाहित युवती (बठिन्या) थारू मौलिक भेषभूषामा सजिएर हातमा मन्जिरा बजाउँदै एक स्वरमा सख्या गाउँछन् भने पुरुष (मन्ड¥या)ले मादल बजाएर साथ दिन्छन् । दशैं शुरू भएसँगै थारू गाउँ बस्ती सख्यामय बनेका छन् । यो नाच विशेष गरेर लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाचिन्छ ।.करिब एक महिनासम्म नाचिने सख्या नाच महाभारत कथासँग सम्बन्धित रहेको थारू अगुवाहरू बताउँछन् । भदौमा गरिने हा¥या गुरै पूजा शुरू भएदेखि बडादशैंपछि एक सातासम्म सामूहिक रूपमा मादल र मन्जिराको साथमा गीत गाउँदै सख्या नाचिन्छ ।

के हो सख्या
थारू संस्कृतिविद् अशोक थारूका अनुसार सख्या थारु लोक भागवत पुराण हो । आख्यानको आधारमा सख्यालाई लोककाव्य महागाथाकोे कोटिमा राख्न सकिने उहाँको भनाइ छ । सखियालाई थारू भाषामा सख्या भनिन्छ । साथी साथी मिलेर नाचिने भएकाले पनि यो नाचलाई सख्या भनिएको उहाँको तर्क छ । यस्तै धार्मिक तथा सांस्कृतिक महत्वसँग जोडिएको सख्या नाचमा थारूका हरेक देवीदेवताका नामलाई सम्बोधन गरेर सख्या गीत गाउने गरिएको संस्कृतिविद् चन्द्रप्रसाद चौधरीले बताउनुभयो । यस्तै सख्या गीतमा जमिनमा बस्ने सबै जीवजन्तुको नाम पनि सम्बोधन गरेर सख्या गीत गाउने गरिएको उहाँको भनाइ छ ।
कसरी नाचिन्छ सख्या
सख्या नाचको नेतृत्व मोह्रिन्या (युवतीको मुख्य व्यक्ति) ले गर्छन् । उनको सहयोगीका रूपमा पछगिन्या (दोस्रो व्यक्ति) हुने गर्छन् । यी दुबैजनाको पछि १५ देखि ४० जना बठिन्याले सघाउँछन् । गाउँमा भएका लगभग सबै बठिन्याहरु सख्या नाचमा सहभागिता जनाउँछन् । जुन गाउँमा जति धेरै बठिन्या हुन्छन्, त्यही गाउँमा सख्या नाचका लागि उनीहरूको उपस्थिति बाक्लो हुन्छ । सख्या नाच नाच्ने बेला दुई वटा समूह बनाएर नाच्ने गरेको दंगीशरण गाउँपालिका–३, हेकुलीको मोह्रिन्या सिरु चौधरीले बताउनुभयो । उहाँको अनुसार एउटा समूहको नेतृत्व मोह्रिन्याले गर्छन् भने अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन् । सख्या गीत गाउ‘ँदा शुरूवातमा मोह्रिन्याको समूहले र दोस्रो पटक पछगिन्याको समूहले गाउने गरेको चौधरीले बताउनुभयो । मन्ड¥या भने जुन समूहले गीत गाउँछ त्यही समूहतर्फ गएर मादल बजाउने गरेको उहाँले भन्नुभयो । यसरी सख्या नाचसँगै बीच–बीचमा विभिन्न किसिमका पैया नाच पनि देखाइन्छ ।

सख्या नाच र गीत एउटै भए पनि गाउँ ठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरिन्छ । यो नाच मटावा, बडघरको आँगनमा नाचिन्छ । दिनभरि खेतबारीको काम सकाएर रातिमा सख्या नाच्ने चलन छ । राजाटीका अर्थात् नवमीको दिनदेखि बडादशैंको दिनसम्म भने दिउँसै सख्या नाच्ने गरिन्छ ।
द्वापर युगदेखिको परम्परा
सख्या नाचको उत्पत्तिबारे थारू संस्कृतिविद्को आ–आफ्नै तर्क छ । थारू संस्कृतिविद् अशोक थारू सख्या नाचको उत्पत्ति द्वापर युगमा भएको सुनाउनुभयो । ‘मेरो अध्ययनमा सख्या नाच द्वापर युग अर्थात् पाँच हजार वर्षअघिदेखि चलेको देखिन्छ’– उहाँले भन्नुभयो । त्यस्तै, थारू अनुसन्धाता कृष्णराज सर्वहारी आजभन्दा दुई हजार पाँच सय वर्षअघिदेखि थारू समुदायले सख्या नाच नाच्दै आएको बताउनुभयो । सख्या नाच कृष्ण जन्माष्टमीसँग जोडिएकाले कृष्णको जन्मदेखि नै शुरू भएको सर्वहारीको भनाइ छ । त्यस्तै थारू संस्कृतिविद् चन्द्रप्रसाद चौधरी थारू समुदायको तन्त्रमन्त्र शुरू भएसँगै सख्या नाच पनि शुरू भएको बताउनुहुन्छ । ‘थारू समुदायमा तन्त्रमन्त्रको माध्यमबाट विभिन्न रोगव्याधि हटाउने, देवीदेवताको पूजापाठ गर्ने परम्परा छ’– चन्द्रप्रसादले भन्नुभयो– ‘त्यही तन्त्रमन्त्रसँग यो सख्या गीत जोडिएकोले त्यही बेलादेखि नै नाच्ने गरेको हुनुपर्छ ।’
लोप हुने संघारमा
पछिल्लो समय सख्या लोपको संघारमा रहेको देख्न सकिन्छ । पहिला पहिला हरेक थारु बस्तीमा दशैंताका दशैको सख्यापैयाँ नाच नाचेको सुनिन्थ्यो । तर अचेल एकदमै कमैमात्रमा केही गाउँमा मात्र सख्या नाचेको पाइन्छ । कुनै गाउँमा मादल बजाउने मन्ड¥याको अभावमा त कतै सख्या गीत गाउन सक्ने बठिन्याहरुको अभावले सख्या नाच लोप हुने अवस्थामा पुगेको देखिन्छ । घोराही उमनपा–६, लख्वारकी कल्पना चौधरी मन्ड¥याको अभावले आफनो गाउँमा पाँच–छ वर्ष अगाडिदेखि सख्या नाच नाच्न छोडेको बताउनुभयो । सानैदेखि सख्या नाच्दै आएको भए पनि अहिले रोकिएको उहाँले सुनाउनुभयो । ‘गाउँमा मादल बजाउने मन्ड¥या नभएपछि सख्या नाच नाच्न छोडेका हौं’– उहाँले भन्नुभयो ।

अधिकांश युवाले विभिन्न पेशा तथा व्यवसायका कारण गाउँ छोड्ने गरेकाले सख्या नाच्ने बठिन्या भए पनि मन्ड¥याको अभाव देखिएको चन्द्रप्रसाद चौधरीले बताउनुभयो । ‘पहिला हामीले २२ ख्वाँट (मादलको ताल) को पैयाँ लगाउँथ्यौं, अहिलेका युवा चार–पाँच ख्वाँटमा मात्र पैया लगाउँछन्’– उहाँले भन्नुभयो– ‘त्यो पनि रिमिक्स जस्तो भइसक्यो ।’ नयाँ युगबोधबाट
प्रकाशित:
७०३ दिन अगाडि
|
२४ असोज २०८१
१० घण्टा अगाडि
|
२८ भदौ २०८३
१३ दिन अगाडि
|
१५ भदौ २०८३
१५ दिन अगाडि
|
१३ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
७ भदौ २०८३
३० दिन अगाडि
|
२९ साउन २०८३
४१ दिन अगाडि
|
१८ साउन २०८३
१४३३ दिन अगाडि
|
२५ असोज २०७९
१४६८ दिन अगाडि
|
२१ भदौ २०७९
१४७७ दिन अगाडि
|
१२ भदौ २०७९
१४३२ दिन अगाडि
|
२६ असोज २०७९
१३८२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३८ दिन अगाडि
|
२० असोज २०७९
१३७० दिन अगाडि
|
२७ मंसिर २०७९