भन, साथी !
तिम्रो माघीसँग के छ ?
मेरो माघसँग त
मेरा पूर्खाहरूको हजारौं बर्षको इतिहास छ
टप–टप चुहाएर बन्जरभूमिसँग गरेको लामो संघर्षको कथा
र, श्रमले सिंगारिएको हराभरा एउटा भूगोल पनि छ ।
मेरो माघसँग
मेरा पुर्खाहरूले छाडेर गएका
प्राचीन संस्कृतिहरू छन्,
ढिक्री, सुंगुरको मासु र जाँड पनि छ
नदीघाट छ, स्नान छ
सेवा ढोग छ, आर्शिर्वाद पनि छ ।
मेरो माघसँग
भुरा–खेल छ
जहाँ बनाइन्छ
एक वर्षको अलिखित नियम कानुनहरू
गरिन्छन, बर्षभरि गरिएका कामका समीक्षाहरू
र, मिलाइन्छ लेन–देनका हिसाब किताबहरू
अनि,
माघसँग जोडिएका छन्
एक बर्षे कर्तव्यपालक जिम्मेवारहरू
बरघर, भल्मन्सा, ककन्डार, चिराकी, अघरिया, चौकीदार ...
र, जोडिएका छन् भच्ना–बाँध, कुलो, नदी, ताल–तलैया
पुल पुलेसो, साधु पाटीपौवा र चौपारीका कुराहरू पनि ।
मेरो माघसँग
कमैयाँका संघर्ष र पीडाहरू छन्
कम्लहरीका दर्दनाक कथाहरू छन्
ओर्गिन्या, सख्लहरा, बिग्लहरीका दुखेसाहरू पनि छन्
ऋण–धन, सौकीका कुरा पनि छन्
मालिकसँगको खुलेयाम विद्रोहका कुराहरू पनि छन्
कठोर संघर्ष र मुक्तिका कुरा पनि छन् ।
मेरो माघसँग
विवाह बन्धनका कुरा छन्
बसाइ–सराइका कुराहरू पनि छन्
घरभित्र जुट्नु फुट्नुका कुराहरू पनि छन्
संगै छरछिमेकको साथ सहयोग पनि छ ।
भन तिम्रो माघीसँग के छ ?
मेरो माघसँग अापुताली माग्न आउँछौ
तिम्रो माघीसँग
मेरो माघको कुनै आचरण मिल्दैन त
खिचरासँग कुनै रंगअनुहार मिल्दैन
तिला संक्राइतसँग पनि यसको रूपरंग मिल्दैन
यो माघी न पश्चिमको हो, न पुर्वको
न थारुको हो, न पहाडीको हो, न मधेशीको हो
यो अबैध सन्तान कसको हो ?
जसले मेरो माघसँग बेश्यावृत्ति गर्छ
खिचरासँग लसफस गर्छ
खिचडी जुठेल्छ
तिला संक्राइतसँगको हिमचिम बढाउँछ
र, माग्छ प्रत्येकसँग एक एक गरी अंश
भन, यो अबैध सन्तान
तिम्रो आफ्नै हो कि
तिम्रो मालिकको ?
सुनेको छु
मेरो गाउँमा कमैया मुक्त भएपछि
कमलहरीहरू मुक्त भएपछि
मालिकहरूका निर्देशनमा
माघीलाई होरिङबोर्डमा टाँसेर बिज्ञापन गरिरहेछौ
मालिककै भिक्षादानमा बनेको
मञ्चको भित्तामा माघीको तस्वीर टाँसेर
उत्सव महोत्सव मनाइरहेछौ
र, यो पनि सुनेको छु
शासकहरूलाई मञ्चको अग्रभागमा राखी
एकहोरो भाषण गर्न लगाएर
आफू भने बेसूर थपडी बजाइरहेछौं ।
भन साथी
यही हो तिम्रो माघीको स्वरूप ?
दशकको हुलिया लाडेर
मेरो माघ मेट्ने षडयन्त्र
मेरो इतिहाससँग मजाक
र मेरो मौलिकता माथि खेलाँची गरेर
मेरो हजारौं बर्षको थरुहट/थारुवानको इतिहास कसरी लेख्छौं ?
भन न ओ साथी भन ।
प्रकाशित:
१३३९ दिन अगाडि
|
३० पुष २०७९
१६ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९