Above News Title

हालसम्म प्राप्त थारु भाषाको पहिलो पुस्तक पुनः प्रकाशन

२०१६ सालमा प्रकाशित दंगीशरणकथा, बडकिमार, गुरु बाबाकि जन्मौतिको २०८२ मा पुनः प्रकाशन भएको हो ।
हालसम्म प्राप्त थारु भाषाको पहिलो पुस्तक पुनः प्रकाशन

सिद्धरत्ननाथ मठ, दाङ चौघेराका बदरीनाथ योगी तथा दाङ जलौराका चौधरी (गाउँका अगुवा) रूपलाल महतोले २०१६ साल वैशाख पूर्णिमामा दंगीशरण कथा, बडकिमार, गुरु बाबाकि जन्मौति पुस्तक प्रकाशन गरे । यद्यपि यसमा दुवैले आफूलाई सम्पादक/सङ्कलक नभनी प्रकाशक मात्रै उल्लेख गरेका छन् । हालसम्म प्राप्त थारु भाषाको पुस्तकमध्ये यो नै पहिलो हो । त्यसैबेला एक हजार प्रति छापिएको यसको मूल्य जम्मा एक रूपैया उल्लेख छ । गोरक्षपात्रदेवता श्रीसिद्धरत्ननाथ मठ घोराहीबाट २०८२ मा पुस्तक पुनः प्रकाशन भएको छ ।

योगी नरहरिनाथले प्रस्तुत पुस्तकको भूमिकामा सम्पादकहरूले उपयोग गरेका प्रमुख आदर्श पुस्तकहरू भनी सूची दिएका छन् । यसरी बदरीनाथ योगी र चौधरी रूपलाल महतोलाई प्रकाशक/सम्पादक दुवै भन्न सकिन्छ । रूपलाल महतो आफैले सङ्कलन गरेको बाहेक नीलवराही बस्ने पूर्ण बहादुर, महदेवा बस्ने नरांप्रसाद चौधरी, दाङ चटकमटिया बस्ने भोजुका बेटा, भारतका वेटा, रामलाल, जोगीराम, सीताराम तथा उत्तर तेघरा बस्ने वलीभद्र थारूको सङ्कलन गरेको पाण्डुलिपिबाट पनि उतार गरेको भनिएको छ । यस आलेखमा पुनः प्रकाशन गरिएको पुस्तकको सामान्य परिचय दिइएको छ ।

१. दंगीशरण कथा

कुनै वेला दाङमा थारू राजा दंगीशरण थिए । तिनकै कथाको बारेमा दंगीशरण काव्यको जन्म भएको छ । बड्कीमार र गुर्वावक् जन्मौती थारू समुदायमा गायनको दृष्टिले महत्वपूर्ण भए पनि दंगीशरण काव्य गाइने परम्परा छैन । यहाँ सङ्कलित दंगीशरण कथा पनि थारू लवजमा छैन । यसको शुरुवातमा नै अथ दंगीशरण कथा प्राकृत भाषामा भन्ने उल्लेख छ । यसको भाषा शैली अवधीझै लाग्छ । दंगीशरण काव्यको अन्त्यमा कवि इशर दासको उल्लेख छ । उदाहरणका रूपमा केही पंक्ति उल्लेख गरिन्छ– 

पहिले दंगीकर वीदा किन्हा, जाहि नेपाल राज तोही दिन्हा 
पाँचो पाण्डव, हस्तिनापुर आवा, कौरव पति जयन्त यै ठावा । 
देव गये इन्द्रासन, कृष्ण द्वारका नाथ
इशर दास कवि गोचर, रह्यो सामी के साथ
जत सुनले फल स्मृति पुृराना, जत फल काशी डिल्हे दाना
जत गुरु माला पिताको सेवा तत फलये, राश कन्हर देवा
महापुन्य होइ ताके, कथा सुनय मन चितलाय

इशर दास कवि भाषै, विष्णुलोकसे नर जाय ।

माथिको पंक्तिमा इशर दास कविले काशीबाट विद्या हासिल गरी सुनेको स्मृतिको आधारमा काव्य रचेको उल्लेख गरेका छन् । यो काव्य लेखी सकेर उनले जसले यो कथा सुन्यो, उसले महापुन्य पाउने, मनले चिताएको पुग्नेछ, कवि इशर दासको भाषा सुन्ने नर (मान्छे) विष्णुलोकमा पुग्ने भनेका छन् । यही काव्यका आधारमा महेश चौधरीले थारू भाषाको पहिलो आदिकवि इशर दास हुने तर्क गछ्र्र्रन् । यसरी लोककाव्यको सङ्कलनमा सिर्जनात्मक कार्य पनि देखिन्छ । 

२. बडकिमार

महाभारतको कथा समेटिएको बडकिमार (बर्किमार) मा विभिन्न पैधार (खण्ड) दिइएको छ । यसमा कुल १२ पैढार (अध्याय) समेटिएको छ । जसमा लखागीर, जतीया मार, राउबेध, पसावर, बनिवास, घरबास, हँठ्यक मार, किच्का मार, सुसर्मक मार, मनसाधक, बर्किमार र स्वार्गारोहण पैढार रहेका छन् । देवीदेउताको समह्रौटी (स्तुती) गाउँदै बर्किमारको शुरूवात भएको छ । जस्तो स्तुतीको एक श्लोक हेरौं–

पुरूव मै समिरौँ सुरज भरार, पछिउँ मै समिरौ देवी र अउतार
उत्तर मै समिरौ हरिकविलास, लंका रि पवन समिरौ हनुमान 

अर्थात् पुर्व उदाउने सुर्य देउतालाई म सधै स्तृती गर्छु, पश्चिम दिशामा अवतार लिने देवीहरूलाई, उत्तरमा हिमालय कविलाश (कैलाश) मा वस्ने महादेवलाई तथा लंका नष्ट गर्ने हनुमानलाई स्मरण गर्छु । त्यति मात्रै होइन, समह्रौतीमा आकाशका ईन्द्र, पातालका वासुकी, विद्याकी देबी सरस्वती लगायत रचनाकारले भुलवश लिन नसकेका सम्पूर्ण देवदेवीहरूको स्मरण गर्दै बर्किमारको कथा सुरूवात हुन्छ । यद्दपी विभिन्न सङ्कलकहरूले सङ्कलन गरेको बर्किमार महाकाब्यको समह्रौती पछि पहिलो अध्यायको श्रृङ्खलामा फरक–फरक प्रस्तुति छ (चौधरी, २०६७ः ९३) । 

बेबुरिक बिनायक झमकी उराय, बिना बुँदी तुहरी पाऊ
घनिपति घन रे सुगा कई थोर, हृदा बइस मोति देहोर सिखाई,
भगमोति शरण लिहनु तोंहर नाउ, देखी धरम देवी बन्धन बात ।
देश देश राजा कोदरा मगावै, चौदो जोजन भुँइया राजा उत्तीस खाँर,
छोली छाली भुइया चापर होय,जेकर नाउ धर जीउ होय ।
देश देश राजा घोरिया बलावै, चौदो जोजन भुइया रे सिंचा,
सिंची साँची भुइया सुचा होय, जेहीम गरावै राजा उत्तीम खाँ ।
उत बेद दुर्पती लइ जाउ, जेकर नाउर धनर जीउ होइ ।
देश देश राजा गोबरा मगावै, चौदो जाजन भुइया रे निपाय,
निपी पोती भुँइया सुचा होय, जेहीम गरावै राजा उत्तीम खाँर ।

यहाँ द्रौपदीको स्वयमवरको प्रसँग छ । विभिन्न देशबाट राजकुमार निम्त्याइएका छन् । धर्नुवेदले जसले चरालाई भेदन गर्न सक्छ, उसैले द्रौपदीलाई  लैजाला भन्ने चर्चा छ ।

विपरो र भैया नान दुलार, राजा बैराठक बेह्री र गाई
भली र भीवाँ अर्जुन धनुर्धर, कौरो मारी बहुत गाई ।
चह्र डौनागीर चह्र गंगेव, चह्र सकुनी चह्र सपकेवा
हसटा चह्र बिबरु चह्र चह्र सकुनी चह्र सपकेवा
हसटा चह्र बिवरु चह्र, चह्र भगदन्ता सुशर्मा बीर ।।
भली र भीवाँ अर्जुन धनुर्धर, कौरो मारी बहुत गाई । 
एक लाख चह्र बरती गोपाल, दुई लाख चह्र घोर सवार
छत्तीस लाख चल घोर सवार, सवा री लाख चल धनुर्धर
भली र भीवाँ अर्जुन धनुर्धर, कौरो मारी बहुत गाई ।
जेट पीता चल घरम गँगेवा, दुवदान देह र दूत
छिरकी त दिहल निरजल सोन, जियत राजा टीकाधार
भली  भीवाँ अर्जुन धनर्धर, कौरो मारी बहुत गाई ।

यहाँ लाखौ घोडसवार कौरवहरूबाट असंख्य गौहत्या गरेको प्रसँग  छ । महाभारतका घटनाक्रमलाई समेटिएको यो गाथा दशैको बेला गरिने बर्का नाचको रूपमा गीत गाउँदै नाचिन्छ । बडकिमारको आधारमा नाचिने बर्का नाच ५/५ बर्षको अन्तरमा गरिए पनि यो असाध्यै खर्चालु छ । जस्तो नाच समापन पछि ४ बोका, १ भेडा, ४ सुँगुर, १०० वटा कुखुरा, बलि चढाउनु पर्छ । दाङमा २०१०, २०१५, २०२० र २०५५ मा गरि ४ पटक मात्रै वर्का नाच विधिवत रूपमा गरिएको छ (थारू दहित २०५७ः ४४) । यसलाई बडकिमारको सङ्कलनकर्ता दाङ जलौराका रूपलाल महतोको छोरा चन्द्र प्रसाद थारूको समूहले मात्र निरन्तरता दिएका छन् । 

३. गुरुबाबाकि जन्मौति

गुरुबाबाकि जन्मौति (गुरुबाबक् जन्मौटी/जल्मौटी) थारू जातिको चेतनाको प्राचीन अवशेष हो । यसमा सम्बत् १६४४ कार्तिक १० गते शुक्रबारको दिन लेखिएको काथा (कथा) भनिएको छ । त्यसको तल राज्य दाङ पश्चिम चरकमटिया बस्न्या चौधरी भोजुका बेटा, भारतका वेटा रामलाल जोगीराम सीतारामको सुर्षेल पुस्तक छापेर दिने भन्ने सँग्रहकालको २०११ मा लेखिएको छ । यस भनाईबाट सामाजिक परिवेश आजभन्दा ४ सय वर्ष अघिको छ । रचनाकाल यसभन्दा पनि निकै पूर्व हुनुपर्छ (आचार्यः २०६३ः १२८) । यस आधारमा गुरुबाबक् जन्मौती नेपालकै प्रथम सङ्कलित लोकसाहित्यको सामग्री बन्न सक्छ  (आचार्यः २०६३ः २१) । भनिन्छ, जुन समुदायमा सृष्टिको कथा छ, त्यो निकै आदिम समुदाय हो । गुरुवावक् जन्मौतीमा सृष्टिको कथा छ । यसको उदाहरण हेरौ–

हाँ हाँ रे पहिल ट बर्स धुधीर कुहीर ।
आव दैया कलजुग घेरल मीरती भवन ।।
आव डैया......
हाँ हाँ रे सोनकै झलकटाव अगीउनकै रेख
जरी र धरती होइला र अन्ढार । 
हाँ हाँ रे चीरी चुरङगन मनुवा जरी र होइला र अन्ढार
हाँ हाँ रे रुख बरिख बाट जरि जरि होइ र अंगार
जरी धरती होइ र अंगार
हाँ हाँ र इन्दर रानी इन्दर राजा भौना घुमा ।
चीरै भई घुमली मीरती भवन,
चारीकोन पीरथमी खखट उजाड
हाँ हाँ र एक छतर राजा रानी खेल हाँस करी
मासुकै धोधार रकतमै बुँड
हाँ हाँ र एक महिनवा गुरुबाबा नाहि सर्पुन
एक महिनावकै कारी चीमटी होइ जा

                (योगी र महतो, २०१६ः ७७)

अर्थात् कलियुगले घेरेर पहिले पृथ्वी धुलै–धुलो भएर कुहिरीमन्डलझैँ ढाकियो । पृथ्वीको गर्भमा रहेको खनिज लाभाको रूपमा चारैतर्फ विस्फोट भएर कोइलाको फिलिंगोसँगै आगो जाजवल्यमान देखियो । रुखवृक्ष, मनुष्य सबै अंगार भए । पृथ्वी अन्धकारमय भयो । यसै क्रममा इन्द्र राजा र इन्द्र रानी चरा भई पृथ्वीको परिक्रमा गरे । हाँसखेल गर्दा गर्दै रानीको गर्भ बस्छ  र पहिलो महिना कालो कमिलाको जन्म हुन्छ । यद्यपि सखिया तथा अष्टिम्की गीतमा जल, स्थलपछि कुशको उत्पत्ति भएको कथा छ ।

अन्तमा, २०१६ सालमा प्रकाशित भएको थियो दंगीशरण कथा, बडकिमार, गुरु बाबाकि जन्मौति ऐतिहासिक पुस्तक । डा गोविन्द आचार्यलगायतको सत्प्रयासमा यसको पुनः प्रकाशन हुनु अर्को ऐतिहासिक कार्य हो । स्टक सकिएका अन्य ऐतिहासिक पुस्तकहरुको पनि यथाशक्य पुनः प्रकाशन हुनु जरुरी छ । 

यहाँ चर्चा गरिएको सामग्रीको मुख्य स्रोत नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित थारु साहित्यको इतिहास (२०७३) पुस्तकबाट लिइएको हो । 


 

प्रकाशित:

२८३ दिन अगाडि

|

४ कात्तिक २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२५ दिन अगाडि

|

२७ मंसिर २०७९