एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

९९५ दिन अगाडि

|

७ पुष २०७९

जथाभावी हातखुट्टा मर्काउने बानी छ ? सावधान, आजीवन प्यारालाइसिस हुन सक्छ

जथाभावी हातखुट्टा मर्काउने बानी छ ? सावधान, आजीवन प्यारालाइसिस हुन सक्छ

१०१३ दिन अगाडि

|

१८ मंसिर २०७९

कैलालीका ६३ वर्षीय देवानन्द बजगाईँलाई केही समयदेखि कम्मर दुख्ने समस्या थियो । बूढो शरीर, कहिले दुख्ने कहिले आफैं दुखाइ कम हुने गर्थ्यो । गत शुक्रबार दुखाइका कारण घरमा एक्लै आराम गरिरहेका बेला छिमेकी भाइले ढाड मर्काएर दुखाइ ठीक पारिदिने बताए। ती त्यक्तिले जोशीलाई घोप्टो पारेर ढाडमा घुँडाले टेकेर हातखुट्टा मर्काए । दुखाइ कम हुनुको सट्टा उनको घाँटीनिर असह्य पीडा भयो । उनको त्यस्तो अवस्था देखेपछि ती व्यक्ति भागे । तर दिउँसो घरका सदस्यले अस्पताल लगे । जाँचपड्ताल गर्दा उनको घाँटीको हड्डी फ्याक्चर भइसकेको रहेछ । अन्तत: नेपालगञ्जमा उपचार नहुने भएपछि उनलाई राष्ट्रिय ट्रमा सेन्टर रेफर गरियो । जोशीका दाइ पदमराज बजगाईँ घटनाको बेलीविस्तार लगाउँदै भन्छन्–‘खोइ भाइले त्यो मान्छेमा कसरी भर पर्‍यो यस्तो अवस्था आइलाग्यो ।भलै हिँड्न नसकोस् तर आफ्नै हातले खान सकोस् भन्ने आश गरेको छु।’ मंगलबार ट्रमा सेन्टर ल्याइएका देवानन्दको बुधबार बिहान शल्यक्रिया गरिएको छ । हाल उनी आईसीयूमा उपचाररत छन् । होस खुले पनि हातखुट्टा चलाउन तथा आफैं दिसापिसाब गर्न सक्ने अवस्थामा छैनन् । घोप्टो पारेर खुट्टा तथा ढाड मर्काउने अभ्यासले आजीवन प्यारालाइसिस नै हुनसक्ने जोखिम रहेको बताउँछन् ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट तथा अर्थोपेडिक एन्ड स्पाइन सर्जन डा. रुद्र मरासिनी । बिरामीको शल्यक्रिया गरेका उनी भन्छन्–‘त्यसरी घाँटी र खुट्टा बटार्दा घाँटीको हड्डी भाँचिएर मेरुदण्डको नसा च्यापियो। उनको गर्दनको हड्डी भाँचिएको र मेरुदण्डको मुख्य नशा च्यापिएकाले शल्यक्रिया गरिएको छ तर हात खुट्टामा कत्तिको तागत आउँछ यत्तिकै भन्न सकिँदैन ।’ बिरामी होसमा आए पनि पहिलेको जस्तो सामान्य अवस्थामा आउन सक्ने छैनन् र आजीवन प्यारालाइसिस समेत हुन सक्ने डा. मरासिनीको भनाइ छ । डा. मरासिनीले कपाल काट्ने नाईको उदाहरण दिँदै भन्छन्–‘केही समयअघि करिब ४५ वर्षीय पुरुष नाईले कपाल काटिसकेपछि टाउको तथा गर्दन मर्काउँदा हड्डी भाँचिएको केश आएको थियो र शल्यक्रिया गर्नुपऱ्यो ।यस्तो केशहरु कुनै सामान्य तर कुनै एकदम गम्भीर हुनसक्छन्। सानो लापार्बाहीले पनि भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।त्यसैले यस्तो लापारबाही नगर्नुहोला।’ चिकित्सकहरुका अनुसार धेरैजसो ढाड तथा कम्मरको दुखाइ ‘बडी पोस्चर’ ले हुन्छ । सिधा नबस्ने, झुकेर बस्ने,कम्प्युटरमा धेरै काम गर्ने व्यक्ति, शारीरिक व्यायाम कम भएकालगायत धेरै कोठामा बसिराख्नेलाई भिटामिन डीको कमीले पनि ढाडको दुखाइ हुन सक्छ । डा. मरासिनीले ढाड तथा कम्मर दुखाइका केही समस्या भए जाँचपड्ताल गरेर विशेषज्ञ तथा दक्ष फिजियोथेरापिस्टबाट मात्र मसाज वा मालिस गराउनुपर्ने सुझाव दिन्छन्। भन्छन्–‘ एकपटक ढाडमा समस्या आएपछि त्यो निको हुन समय लाग्छ । ढाड मर्काएर निको पार्ने अभ्यास गलत हो । मेरुदण्डको हड्डी भाँचिएर मान्छे प्यारालाइसिससम्म हुनसक्छ । मानिसको जीवनसँग खेलवाड गर्नु हुँदैन ।कम्मरको नसा च्यापिने समस्या अलि गम्भीर हो । यसको दुखाइ हात तथा खुट्टामा पनि सर्छ । चिकित्सकको परामर्श लिइहाल्नुपर्छ । अन्य अवस्थामा भने आफ्नो बसाइमा सुधार गर्ने, फिजियो थेरापी गर्ने र व्यायाम गर्नाले दुखाइ कम हुन्छ ।’ कान्तिपुरबाट  

मधुमेहको नियन्त्रण कसरी ?

मधुमेहको नियन्त्रण कसरी ?

१०३३ दिन अगाडि

|

२८ कात्तिक २०७९

किरण आचार्य संसारभरि नोभेम्बर १४ लाई मधुमेह दिवसका रूपमा मनाउने गरिएको छ । विश्वभरि यसरी मधुमेह दिवस मनाइरहँदा नेपालमा यस रोगको नियन्त्रणका लागि भएका तयारी र अवस्थाबारे खासै चर्चा भएको छैन । यसको उपचार र नियन्त्रणमा देखिएको अत्यन्तै डरलाग्दो अवस्थाबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।  रोगबारे जानकारी स् विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वव्यापी रूपमा मधुमेहका करिब ५० प्रतिशत बिरामीलाई आफूलाई यो रोग लागेको छ भन्ने थाहा हुन्न । नेपालमा भने ८०–९० प्रतिशत बिरामीलाई यसबारे जानकारी रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । तुलनात्मक रूपमा यो संख्या राम्रो देखिए पनि सन्तोषजनक भने होइन । मधुमेह लागेका हरेक बिरामीलाई आफूलाई यो रोग लागेको जानकारी हुनु अत्यावश्यक छ । उपचार   नेपालमा आफूलाई मधुमेह लागेको जानकारी पाएका सबैले यसको उपचार गर्न स्वास्थ्यकर्मीको सल्लाह लिने र नियमित औषधि खाने गरेको पाइन्न । नेपाल हेल्थ रिसर्च काउन्सिलले गरेको एउटा अध्ययनमा एकचौथाइ बिरामीले औषधि आफैं छाड्ने गरेको पाइयो । यस पंक्तिकार लगायतले गरेको अर्को अध्ययनमा १०० जनामध्ये ७४ जनाले नियमित औषधि खाएको भेटियो । यसका तुलनामा विकसित देशहरूमा मधुमेहका बिरामीले नियमित औषधि सेवन गर्ने मात्रा धेरै बढी पाइएको छ । नेपालमा यसरी बीचमै औषधि छाड्ने वा नियमित नखाने गर्नुका प्रमुख कारणहरूमा डाक्टरसँग नियमित परामर्शको अभाव, औषधिप्रतिको गलत भ्रम, इन्सुलिन लिनुपर्ने बिरामीहरूले त्यसप्रति डर, औषधिमा हुने खर्च नै रहेको पाइयो । नियन्त्रण  नेपालमा मधुमेह उपचारमा सबैभन्दा डरलाग्दो अवस्था यसको नियन्त्रणमा देखिएको छ । नियमित औषधि नखानेहरूको अवस्थाको त कुरै छाडौं, नियमित औषधि खाइरहेका बिरामीहरूमध्ये पनि रगतमा सुगरको मात्रा धेरै कम बिरामीहरूमा मात्र खोजेजस्तो नियन्त्रित भेटियो । हाम्रो अध्ययनमा औषधि सेवन गरिरहेकामध्ये केवल ३४ प्रतिशतमा यो पूर्ण नियन्त्रणमा रहेको पाइयो । युरोपमा ७० प्रतिशतभन्दा बढी, अमेरिकामा ५० प्रतिशतभन्दा बढी र चीनमा ४५ प्रतिशत बिरामीमा यो रोग पूर्ण नियन्त्रणमा रहेको पाइएको छ । औषधि खाइरहेका बिरामीमध्ये केवल एक तिहाइमा मात्र खोजेजस्तो नियन्त्रण हुनु भनेको अत्यन्त चासो र चिन्ताको विषय हो । यस रोगको नियन्त्रणमा भएको सरकारी, स्थानीय निकाय र जनताको व्यक्तिगत मिहिनेत, खर्च र अन्य लगानीको प्रतिफल उत्साहजनक देखिएन । मधुमेहका घातक असरहरू कम गर्न गरिएका उपायहरू अधुरा देखिए । विकसित देशहरूमा उच्चस्तरको स्वास्थ्य प्रणाली, औषधिको सर्वसुलभता र स्तरीयता मापन, बिरामीहरूको शिक्षाको स्तर, राष्ट्रले दिने सुविधा, इन्सुलिनप्रतिको सकारात्मक सोच र राष्ट्रहरूले स्वास्थ्यलाई दिएको प्राथमिकता नै सहज नियन्त्रणका प्रमुख कारक देखिए । विकसित देशमा जस्तो स्वास्थ्य प्रणाली नेपालमा विकास गर्न नसकिए पनि हाल भइरहेको प्रणालीले मधुमेहजस्तो घातक नसर्ने रोगको राम्रो नियन्त्रण गर्न नसक्ने प्रस्ट भएको छ । भएका स्वास्थ्य संस्थाको स्तर उकास्ने, स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउने, जनतामा चेतना उकास्न आवश्यक कदम चाल्ने, सबै स्थानीय निकायले मधुमेह स्क्रिनिङ गरेर बिरामी पत्ता लगाउने, सबै बिरामीले नियमित डाक्टरको सल्लाह बमोजिम औषधि थपघट वा परिवर्तन गर्ने र आवश्यक परे इन्सुलिन लिन गाह्रो नमान्ने, रगत जाँच नियमित गर्ने, खानपान र व्यायाममा ध्यान दिने गर्नु जरुरी छ । यो तथ्यप्रति बेलैमा सबै जना सचेत रहेर आवश्यक कदम नउठाए एकातिर बिरामीको संख्या बढ्दै जाने र अर्कातिर औषधि गरेका बिरामीको पनि राम्रो नियन्त्रण नरहने देखिएको छ । यसबारे सम्बन्धित निकाय र स्वयं बिरामी अत्यन्त संवेदनशील हुनु आवश्यक छ । कान्तिपुरबाट आचार्य मधुमेह रोग विशेषज्ञ हुन् ।

जाडोमा छालालाई सुख्खापन हुनबाट कसरी जोगाउने ?

जाडोमा छालालाई सुख्खापन हुनबाट कसरी जोगाउने ?

१०३९ दिन अगाडि

|

२२ कात्तिक २०७९

माया श्रेष्ठ  जाडो याममा छालामा धेरै प्रकारका समस्या देखा पर्ने गर्छन् । यस याममा छाला सुख्खा, हावा अनि चिसोले एलर्जी, फुस्रो हुने लगायतका समस्या देखिने गर्छ । यद्यपि यस याममा अधिकांशले अनुहार र हातलाई बढी स्याहार गरेको पाइन्छ ।  जाडो मौसममा छाला सुख्खा हुँदा चहर्‍याउने, चिलाउने, पोल्ने, फुट्ने, औँलाहरू रातो भएर सुन्निने र घाउ हुनेजस्ता समस्याले प्रायलाई सताएकै हुन्छ । त्यसैले, जाडो मौसममा अनुहार र हातलाई मात्रै स्याहार नगरी शरीरको सम्पूर्ण छालालाई ध्यान दिनुपर्ने हुन्छ ।  यस्तै, नियमित औषधि सेवन गर्नेको छालामा बढी सुख्खापन आउने वीर अस्पतालकी छाला रोग विशेषज्ञ डा। लैला लामा बताउँछिन् । सुगर, ब्लड प्रेसर, मिर्गौला औषधि सेवन गर्नेको छालामा सुख्खापना बढी देखिने गर्छ । यसरी आउँछ छालामा सुख्खापन   छालामा सुख्खापन विभिन्न कारणहरूले आउने गर्छ । धेरैले चिसो हुन्छ भनेर गर्मी याममा भन्दा कम पानी पिउँदा सुख्खापन आउने गर्छ । खानपिनमा ध्यान नदिँदा समस्या सिर्जना हुन्छ । यस मौसममा धेरैले तातो पानीले नुहाउँदा, साबुनको धेरै प्रयोग गर्दा छालामा समस्या आउने गर्छ ।  जाडोमा धेरै लामो समयसम्म घाममा बस्दा शरीरमा घामका विकिरण छिर्दा पनि छालामा समस्या आउन हुन सक्छ । बजारमा पाइने जुन पायो, त्यही मोस्चराइजर क्रिम र साबुनको प्रयोग गर्दा छालामा विभिन्न खालका समस्या देखिने गर्छ ।  जाडोमा छाला जोगाउन यसो गरौँ    जाडो मौसममा छालामा समस्या आउन नदिन प्रशस्त  पानी पिउनुका साथै खानपानमा जोड दिन जरुरी हुन्छ । छालालाई सुख्खा हुन नदिन अनुहारलाई मात्रै बढी ख्याल नगरेर हात, खुट्टामा नियमित बिहान साँझ मोस्चराइजर प्रयोग गर्नुपर्छ । नुहाइ सकेपछि मोस्चराइजरको लगाउनुपर्छ ।  ओठमा लीपबाम लगाउने, अनुहारमा नियमित सनस्क्रिनको प्रयोग गर्नुपर्छ । जाडोमा सामान्य छाला पनि खस्रो हुने भएकाले छाला सुख्खा हुन नदिन नियमित रूपमा मोइस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।  जाडोमा ऊनबाट बनेको बाक्लो लुगा लगाउँदा शरीर सुख्खा भएर चिलाउने गर्छ । त्यसले शरीर चिलाउने हुँदा सुतीको पातलो लुगा लगाएरमात्र बाहिरबाट उनीको लुगा लगाउनु उचित हुन्छ । यसले छालामा सुख्खापन आउन दिँदैन ।  चिसोले छाला सुख्खा हुँदा कत्ला निस्कने गर्छ । छालाबाट कत्ला निस्किएको अवस्थामा चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ । यदि चिल्लो पदार्थको प्रयोग गर्दा पनि समस्या कम नभए छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ । यस्तै, जुन पायो, त्यही साबुनले नुहाउँदा छालामा धेरै सुख्खापन आउन सक्छ । त्यसैले जाडो र गर्मी मौसममा नुहाउँदा प्रयोग गरिने साबुन फरक फरक हुनुपर्छ । जाडोमा नुहाउँदा कसैलाई ग्लिसिरिनयुक्त साबुनको प्रयोग गर्नुपर्ने हुन सक्छ भने कसैलाई मोस्चराइजर साबुन प्रयोग गर्नुपर्छ । काठमाडौँलगायत देशका पहाडी तथा हिमाली क्षेत्रमा बस्ने प्रायःलाई हात, खुट्टाका औँला रातो भएर सुन्निने समस्याले सताउने गर्छ ।  त्यसैले पानी खेलाउनुभन्दा अगाडि रबरको पञ्जा लगाएमा औँला सुन्निदैन । यस्तै, औँला सुनिन नदिन ‘हट वाटर ब्याग’ ले हात सेक्नुपर्छ ।  जाडोमा जुत्ता लगाउँदा पातलो सोल भएको लगाउन हुँदैन । ‘स्पोर्टस’ जुत्ता लगाउनु पर्छ । यस्तै, हातखुट्टामा न्यानो पञ्जा तथा मोजा लगाउनु पर्छ ।  छाला सुख्खा हुन नदिन नरिवलको तेल निकै लाभदायी मानिन्छ भने मह, जैतुनको तेल, दूधको क्रिम र एलोभेरा जस्ता घरायसी चिजलाई मोइस्चराइजरको रूपमा छालामा प्रयोग गर्न सकिन्छ । 

मानिसहरूबीच सम्बन्ध बिग्रँदै छ कि मानसिक स्वास्थ्य ?

मानिसहरूबीच सम्बन्ध बिग्रँदै छ कि मानसिक स्वास्थ्य ?

१०६७ दिन अगाडि

|

२५ असोज २०७९

डा. करुणा कुँवर मकहाँ परामर्शका लागि आउने कतिपयले भन्ने गर्छन्– ममा त कुनै समस्या छैन, मेरो श्रीमान् वा श्रीमतीमा समस्या छ । हामी दुवैमा समस्या हुन सक्छ भनेर नबुझ्दासम्म सम्बन्धलाई सुधार्ने वा सुदृढ बनाउने आधार मिल्दैन । कतिपय घर वा सम्बन्ध पूरै टुट्नुअघि विशेषज्ञबाट परामर्श मिल्यो भने त्यो घर वा सम्बन्ध जोगिन सक्छ । मानसिक समस्या भएको व्यक्तिले कुनै पनि सम्बन्धमा खटपट आउँदा त्यसमा आफ्नो गल्ती देख्दैन । आफूलाई ठीक ठान्ने, अरु व्यक्ति वा अन्य कारण समस्या आएको भन्ठान्ने प्रवृत्ति उसमा देखिन सक्छ । यस्तो समस्यालाई ‘नार्सिसिस्ट पर्सोनालिटी डिसअर्डर’ भनिन्छ । यस्तो समस्या भएको व्यक्तिले आफूलाई बढी महत्त्व दिन्छ । यस्ता व्यक्तिको सम्बन्ध प्रायः बिग्रिएको नै पाइन्छ । यस्तो व्यक्तिले हरेक कुरामा गुनासो गर्ने गर्छ । उसले सबै कुरा ‘पर्फेक्ट’ (पूर्ण) बनाउन कोसिस गर्छ । उसले ठानिरहेको हुन्छ, म असाध्यै पर्फेक्ट छु, तर अरुले मलाई कोअपरेट (सहयोग) गरिरहेको छैन । यस कारण अन्य व्यक्तिसँग उसको सम्बन्ध बिग्रिरहेको हुन्छ । आफूमा मानसिक समस्या भएकै कारण पनि कतिले अर्कोबाट राम्रो व्यवहारको अपेक्षा गरिरहेका हुन्छन् ।  आपसका स–साना कुरामा राम्रोसँग छलफल भएन भने त्यसले मनमुटावको रुप लिने हो । सानो घटनाले ठूलो दुर्घटना निम्त्याउन सक्छ । सम्बन्ध र मानसिक समस्या एकातिर मानसिक स्वास्थ्यकै कारण सम्बन्धमा समस्या आउँछ भने अर्कोतिर सम्बन्ध बिग्रेकै कारण मानसिक स्वास्थ्यलाई असर गरिरहेको छ । सम्बन्ध बिग्रनुको मूल कारण हो– आपसमा छलफल वा कुराकानी नहुनु । आपसमा राम्रोसँग कुराकानी नहुनुको पछाडि मानसिक समस्या कारक हुन सक्छ । सम्बन्धका कारण कतिपयमा मानसिक समस्या आएको पनि पाइन्छ । बाल्यावस्थादेखि व्यक्तिले घर–परिवारमा बाबुआमाको सम्बन्ध राम्रो देखेन, घरेलु हिंसा देखिरह्यो, परिवारका सदस्यहरूबीच झैझगडा र कलह मात्रै देखिरह्यो भने उसले भविष्यमा निभाउने सम्बन्धहरू प्रभावित हुन सक्छन् ।  हामीकहाँ मानसिक समस्या भन्नेबित्तिकै पागलपनलाई सम्झने गर्छौं । सामान्य देखिने मानिस पनि मानसिक रोगी हुन सक्छ । व्यवहारमा आउने स–साना परिवर्तन पछाडिको कारणमा पनि मानसिक समस्या जिम्मेवार हुन सक्छ । तनाव, डिप्रेसन आदि मानसिक समस्याका कारण मानिसको व्यवहारमा परिवर्तन देखिने हो । दुईमध्ये एक व्यक्तिमा मानसिक समस्या हुँदा पनि उनीहरूबीचको सम्बन्ध बिग्रँदै जान सक्छ । नैराश्यता, दुःखीपन, इरिटेसन (चिडचिडाहट) आदिका कारण कुनै व्यक्तिलाई अर्को व्यक्तिसँग सम्बन्ध निभाउन समस्या परिरहेको पनि देखिन्छ ।  हामीकहाँ मात्रै होइन, विश्वव्यापी रुपमै मानसिक स्वास्थ्यलाई सामान्य रुपमा लिइन्छ । मानिसको कतिपय शारीरिक रोगमा मानसिक समस्या कारण हुन सक्छ । तर, त्यसमा ध्यान दिइँदैन । मानसिक समस्याका कारण मानिसलाई टाउको दुख्ने, छाती दुख्ने हुन सक्छ ।   सानोतिनो मानसिक समस्या बाहिरबाट देखिँदैन र यो झट्ट व्यक्तिको व्यवहारमा पनि देखिँदैन । हामीले पागलपनलाई मात्रै मानसिक समस्या भनिरहेका हुन्छौँ । दैनिक जीवन गरिने साधारण व्यवहार र शारीरिक रोगमा समेत मानसिक स्वास्थ्यले प्रभाव पारिरहेको हुन्छ ।  टाउको दुख्दा हामी ‘फिजिसियन’कहाँ जान्छौँ । मुटुसम्बन्धी समस्या आउँदा हामी सिधै मुटुरोग विशेषज्ञकहाँ जान्छौँ । चेकजाँचपछि केही देखिएन भने भनिन्छ, तिम्रो मुटुमा कुनै समस्या छैन । त्यसपछि बिरामी घरमै बस्छ । एन्जाइटीका कारण कतिपयलाई मुटु हल्लिने समस्या आउन सक्छ । टाउको दुख्ने समस्या पनि मानसिक स्वास्थ्यसँग जोडिएको हुन सक्छ । त्यसैले सही उपचारका लागि मनोचिकित्सककहाँ जानुपर्ने हुन सक्छ । र, यस्ता बिरामीलाई घर–परिवारबाट विशेष सहयोग आवश्यक पर्न सक्छ ।  सानो उमेरमा विवाह वा प्रेम सम्बन्ध बालविवाह गर्ने वा परिपक्व नभई विवाह गर्ने र सानो उमेरमा प्रेम गर्ने कतिपयले मानसिक समस्या झेलिरहेको पाइन्छ । विवाहपछि स्त्री र पुरुष दुवैले विभिन्न जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । स्त्रीको हकमा अझ जिम्मेवारी आउँछन् । तर व्यावहारिक रुपमा ती जिम्मेवारी पूरा गर्न सहज हुँदैन । त्यसैले कतिपय व्यक्ति मानसिक उल्झनमा फस्न सक्छन् ।  अर्कोतिर, सानै उमेरमा मानिस प्रेममा पर्न सक्छ । सानो उमेरमा एक खालको आकर्षणले सम्बन्ध बनाउन पुगेका हुन्छन् । त्यो आकर्षण केही समयपछि हराउन सक्छ तर आफू कोहीप्रति आकर्षित हुनुलाई किशोरकिशोरीले अन्तिम सत्य ठान्न सक्छन् । पहिलोपटक कोहीप्रति आकर्षित हुनुलाई मानिसले महत्वपूर्ण ठानेको हुन्छ, यो पहिलो घटना भएकाले उसको मन–मस्तिष्कमा यसले छाप छाडेको हुन्छ । कुनै कारणले त्यो सम्बन्ध विफल भयो भने उसले त्यसलाई ठूलो रुपमा लिन्छ र उसले मानसिक रुपमा क्षति बेहोर्न सक्छ ।  त्यसैले किशोरावस्थाका विद्यार्थीलाई विद्यालयबाटै यौन र आकर्षणका बारेमा राम्रोसँग बुझ्ने शिक्षा दिइन आवश्यक छ । विद्यालय मात्रै होइन, अभिभावकले पनि किशोरकिशोरीलाई यस सम्बन्धमा शिक्षा दिन भूमिका खेल्नुपर्छ । कसैको आकर्षणमा परेको आफ्नो किशोरावस्थाको सन्तान कुनै मानसिक उल्झनमा छ भने त्यस्तो बेला अभिभावकले उसलाई साथ दिनुपर्छ । यस्तो अवस्थामा सन्तानलाई ‘तैँले यस्तो गरिनस्, यस्तो गर्नुपथ्र्यो’ भनेर गाली गर्नुहुँदैन । यसले थप दुर्घटना निम्त्याउन सक्छ । गएको भदौमा काठमाडौंं बुद्धनगरस्थित निर्माणाधीन भवनको पाँचतलाबाट हाम फालेर किशोरावस्थाका एक जोडीले आत्महत्या गरे । अभिभावकले साथ नदिँदा, बालबालिकाको भावना र समस्यालाई बेवास्ता गर्दा यस्ता घटना निम्तिन पनि सक्छन् । उनीहरूको समस्यामा परामर्शका लागि विशेषज्ञकहाँ लैजानुपर्ने हुन्छ ।   दम्पतीबीचको सम्बन्ध र हिंसा अहिले मैले लैंगिकतामा आधारित हिंसासम्बन्धी एउटा परियोजनामा काम गरिरहेकी छु । यसमा काम गर्दा मैले के पाएँ भने, दम्पतीबीच सम्बन्ध बिग्रँदा ठुल्ठूला हिंसा निम्तिएका छन् । हिंसाका कतिपय पाटा हाम्रा संस्कार, संस्कृति र पितृसत्तात्मक सोचसँग जोडिएका पनि छन् । संस्कार–संस्कृतिका आधारमा पुरुषले महिलालाई हेर्ने एउटा दृष्टिकोण निर्माण भएको हुन्छ ।  ‘श्रीमान्ले कमाउने हो, श्रीमतीले घर हेर्नुपर्छ, महिला कमजोर हुन्छन्, उसलाई सम्पूर्ण अधिकार दिनुपर्दैन’ भन्नेजस्ता सोच पुरुषको विश्वास बनेको हुन्छ । यस्तो विश्वासका कारण कतिपय पुरुषले आफ्नी श्रीमतीलाई काम वा पेसा गर्न घरबाहिर जान नदिन सक्छन् । कतिपयले श्रीमतीलाई पोसाकमा पनि बन्देज लगाउन सक्छन् । दम्पतीबीच झैझगडा हुँदा श्रीमान्ले ‘यस्तो हुनैपर्छ’ भनी अडान लिएको पनि पाइन्छ । सानैदेखिको विश्वासमा टेकेर उसले व्यवहार गरिरहेको हुन्छ ।  यो गरे पुण्य हुन्छ, त्यो गरे पाप हुन्छ भन्ने धार्मिक विश्वास पनि झैझगडा हुँदा व्यक्त भइरहेका हुन्छन् । यसरी दम्पतीबीच कलह वा हिंसाको परिस्थिति निम्तिन सक्छ, जसले उनीहरूको मात्रै सम्बन्ध बिगार्दैन, छोराछोराको मानसिकतामा पनि असर गरिरहेको हुन्छ । छलफल नै सम्बन्धको बलियो आधार सम्बन्ध बिग्रनुमा विभिन्न कारण होलान्, तर छलफलबाट समझदारीमा पुग्न सकिन्छ । सम्बन्ध बिग्रन पुगेका सम्बन्धित व्यक्तिहरूले आपसमा कुराकानी वा छलफल गरिरहनुपर्छ । यसो गर्दा समस्याको गाँठो फुकाउन सहजता मिल्छ । सम्बन्ध सुमधुर सुदृढ बनाउन एकअर्काबीच सम्बन्ध पारदर्शी हुन आवश्यक छ । पारदर्शी सम्बन्धले समस्या आउन दिँदैन ।  मानसिक स्वास्थ्यका कारण दम्पतीबीच सम्बन्ध बिग्रिएको छ भने उनीहरूले छिटो विशेषज्ञको सल्लाह लिनुपर्छ । आफूले सानो उमेरमा भोगेका घटनाबाट प्रभावित हुनु हुँदैन । पुराना भोगाइ नितान्त अर्को कथा हो, अर्को पाटो हो र पछि जोडिएका सम्बन्ध फरक हो भन्ने बुझाइ हुन जरुरी छ ।  दुई व्यक्तिको सम्बन्ध टुट्नु वा बिग्रनु उनीहरू बीचको मात्रै कुरा होइन, त्यसले अरु सदस्यलाई पनि प्रभावित पारिरहेको हुन्छ । सम्बन्ध सुधार्न अर्कोबाट अपेक्षा गर्नुको सट्टा आफ्ना कमजोरी नियालेर आफैँले पहल गर्नु बुद्धिमानी ठहर्छ । 

महिनावारी सार्ने औषधि स्वास्थ्यका लागि कति खतरा ?

महिनावारी सार्ने औषधि स्वास्थ्यका लागि कति खतरा ?

१०७१ दिन अगाडि

|

२१ असोज २०७९

माया श्रेष्ठ  चाडपर्वलगायत लामो यात्रा तथा अन्य विशेष अवसरमा महिलाहरूले महिनावारी सार्ने औषधि सेवन गर्छन् । दसैँ, तिहार, लामो यात्रामा  महिनावारीको समय पर्नेहरुले महिनावारी सार्ने औषधि बढी सेवन गर्ने स्त्रीरोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारी बताउँछन् ।  यस समयमा स्वास्थ्यकर्मीको परामर्शबिना औषधि सेवन गरेको पाइन्छ । यसले भविष्यमा स्वास्थ्यमा गम्भीर खालका समस्या देखिने चिकित्सकहरू बताउँछन् । कतिपय महिलाले महिनावारी सार्ने औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आउँछ भन्ने जानकार हुन्छन् । तर घरमा पूजापाठ, श्राद्ध लगायतको बेला काममा असर नपरोस् भनेर महिनावारी सार्ने औषधि सेवन गर्छन् ।  अर्को थरी औषधि सेवनपछि हुने बेफाइदाबारे ज्ञान नभएर सेवन गर्ने गरेको डा अधिकारी बताउँछन् । पछिल्लो समय सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा बढी मात्रामा महिनावारी सार्ने औषधि खाइरहेका छन् । हरेक महिना २८ देखि ३९ दिनको बीचमा हुने प्राकृतिक चक्र महिनावारी सुरु हुन्छ । यसलाई चाहेर पनि रोक्न सकिदैन । तर पूजा, चाडपर्वको बेला यो टाउको दुखाइको विषय बन्छ । फलस्वरुप यसलाई रोक्न महिनावारी सार्न प्रयोग गर्ने औषधि हर्मोन चक्की सेवन गर्छन् । जसको कारण हर्मोन परिवर्तनले तत्कालका लागि महिनावारी सर्छ ।  स्वास्थ्यमा गम्भीर असर महिनावारी पर सार्ने औषधिले हर्मोनलाई असन्तुलित बनाउँछ । यस्तोबेला औषधिका रुपमा परिवार नियोजनको साधन पिल्स लगायत सेवन गर्दा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोन बढ्छ । तात्काल महिनावारी रोकिएपनि पछि रक्तस्राव बढी हुन सक्छ ।  पछि यसको असर देखिन्छ । जसमा वाकवाक लाग्ने, धेरै सेवन गरेमा शरीर सुन्निने, उच्च रक्तचाप, मोटोपन, रगत बाक्लो, तौल बढ्ने, स्तन दुख्ने, महिनावारी हुँदा पेट दुख्ने, डाक्टरको सल्लाहबिना धेरै पटक महिनावारी रोक्ने औषधि सेवन गरेमा भविष्यमा पाठेघरको क्यान्सरको जोखिमसमेत हुन्छ । खास गरी मुटुका बिरामी, बढी वजन भएका, विगतमा स्ट्रोक भएकालाई हर्मोनको औषधि सेवन हुँदैन । जथाभाबी औषधि सेवन गर्दा यदि गर्भवती हुने योजना बनाउँदा यसले खतरा निम्त्याउँछ ।  महिनावारी गडबड भएपछि त्रास महिलाहरू महिनावारी गडबड भएपछि अस्पताल पुग्ने गर्छन् । औषधि सेवन गर्न छाडेपछि महिनावारी भएन भन्ने गुनासो लिएर खास गरी किशोरीहरू आत्तिएर अस्पताल पुग्ने चिकित्सकको भनाइ छ ।  महिनावारी सार्ने औषधि सेवन गर्न छाड्ने बित्तिकै महिनावारी हुन्छ भन्ने धेरैलाई लाग्छ । तर, औषधि खान छाडेको केही दिनपछि मात्रै हुन्छ । महिनावारी सार्नका लागि खाने औषधि कति मात्रामा खाने, कुन उमेरकाले कति वजनको औषधि सेवन गर्ने, यो औषधिको असर के हुन्छ, औषधि सेवन गर्न हुन्छ कि हुँदैन रु यसबारे गम्भीर भएर ख्याल गर्नुपर्ने डा अधिकारी बताउँछन् । नखाऔँ महिनावारी सार्ने औषधि  खास गरी महिनावारी सार्ने औषधि ठुला पर्व दसैँ, तिहारमा बढी खपत हुन्छ । यस्तै, लामो समयसम्म गरिने पूजाहरूमा पनि धेरैले यो औषधिको सेवन गर्छन् । प्राकृतिक चक्रलाई जबरजस्ती रोक्न खोज्दा भविष्यमा स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्ने भएकाले चक्र सर्ने औषधि सेवन गर्नु हुँदैन । अझ चिकित्सकको सल्लाहबिना जथाभाबी औषधि सेवन गर्दा झन् हानिकारक हुन सक्छ ।    नडराऔँ महिनावारीसँग  त्यसो त महिनावारी पछि सर्ने औषधि नेपालमा मात्र नभई भारत, चीन, श्रीलङ्कालगायतका देशमा औषधि सेवन गरेर महिनावारी पर सार्ने गरेको पाइन्छ ।  मर्यादित महिनावारीबारे समुदायमा जानकारी नहुँदा आफैलाई हानी गर्ने औषधि सेवन गरेको पाइन्छ ।  महिनावारी रोक्ने औषधिले तुरुन्तै समस्या नदेखिए पनि यसले  दीर्घकालमा स्वास्थ्यमा गम्भीर समस्या ल्याउने डा अधिकारी बताउँछन् ।    

गोठदेखि ओठसम्म आइपुग्दा मासु कसरी सुरक्षित राख्ने ?

गोठदेखि ओठसम्म आइपुग्दा मासु कसरी सुरक्षित राख्ने ?

१०७४ दिन अगाडि

|

१८ असोज २०७९

डा प्रकाश अधिकारी परापूर्व कालदेखि नै दसैँमा हरेक घरमा  खसी, राँगा, बँदेल वा कुखुरा काटेर मासुका परिकार खाने र टीका थाप्न आउने इस्टमित्रलाई खुवाउने चलन छ । आफ्नो गच्छेअनुसार हरेक घरले पशुपक्षी काट्ने हुँदा अन्य समयको तुलनामा धेरै मासु राखेर लामो समयसम्म खाने गरिन्छ । मासु स्वस्थको लागि फाइदाजनक भएता पनि उपयुक्त तरिकाले तयारी, भण्डारण र सेवन नगर्दा चाडको समयमा मानिसहरू बिरामी पर्नेदेखि ज्यानै जाने जोखिम हुन्छ ।  त्यसैले दसैँको समयमा मासुको उपभोगबाट आइपर्ने समस्याबाट बच्न पशुपक्षी किन्दादेखि नै धेरै कुरामा ध्यान पुर्‍याउनु पर्छ । अर्को शब्दमा भन्नुपर्दा गोठदेखि ओठसम्म आइ पुग्दासम्म नै मासु सुरक्षित र स्वास्थ्य राख्नुपर्छ । कस्तो पशुपक्षी किन्ने  ?  स्वस्थको दृष्टिकोणले कम बोसो भएको सेतो मासु हितकर हुन्छ । मानिसमा लाग्ने ७० प्रतिशत रोग पशुपक्षीबाट सर्ने हुँदा विशेष ध्यान पुर्‍याउनु पर्छ । रोगी पशुपक्षीको मासुबाट मानिसमा एन्थ्राक्स, क्षयरोग, ब्रुसेलोसिस, साल्मोनेलोसिस, लिस्टेरिओसिस, ट्राइकेनेलोसिस, टेनियासिस लगायत अन्त्य थुप्रै रोग लाग्न सक्छ ।  त्यसैले, सम्भव भएसम्म कुनै पनि पशुपक्षी वध गर्नु पहिला दक्ष पशुचिकित्सकबाट परीक्षण गराउनु पर्दछ । दसैँको समयमा सरकारले देशका मुख्य  बजारमा  पशुपक्षीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको हुन्छ, जसअनुसार स्वास्थ्य खसी, बोकाको सिङमा हरियो रङ र अस्वस्थ खसी, बोकामा रातो रङ लगाउने गरिन्छ । त्यसैले खसीबोका किन्दा सिङमा हरियो लगाएको खसीबोका मात्रै किन्नुपर्छ ।  यो बाहेक उपभोक्ता स्वयम्ले पनि स्वास्थ्य खसी, बोकाका लक्षण थाहा पाइराख्नु पर्दछ । हेर्दा फुर्तिलो, चलाख र चर्ने वा घाँस दिदा रुचिका साथ खाने पशु छान्न्नु पर्छ ।  नाक र मुखबाट सिंगान र र्‍याल निस्केको, पेट फुलेको, छेरेको वा पुच्छर वरिपरि धेरै गोबर टाँसिएको, अत्यधिक दुब्लो, शरीरमा गिर्खागुर्खी भएको, किर्ना, उपियाको सङ्क्रमण भएको पशुपक्षी किन्नु हुँदैन ।  पशुपक्षी किनेको लामो समय यात्रा गर्नुपर्ने भएमा ल्याएको केही समयपछि मात्र घाँस, दाना पानी दिनुपर्छ । थोरै ठाउँमा धेरै पशुपक्षी, साँघुरो  ठाउँमा कोचेर यात्रा गराउनु हुँदैन । पशुपक्षीलाई वध गर्दा ध्यान दिनुपर्ने पक्ष   किनेर ल्याउने बित्तिकै तुरुन्तै पशुपक्षी वध गर्नु हुँदैन । वध गर्नु पहिले केही घण्टा पशुपक्षीलाई भोकै राख्नु स्वास्थ्यको हिसाबले उपयुक्त हुन्छ । पशुपक्षी वध गर्ने स्थल, औजार र पानी सफा र स्वस्थ हुनु अति आवश्यक हुन्छ ।  पशुपक्षी वध गर्दा पशुपक्षीको रगत र लादी मासुको सम्पर्कमा आउन दिनु हुँदैन । नेपाली समाजमा पशुपक्षीको वध गरेपछि रगतको टीका लगाउने र रगतलाई काँचै वा पकाएर खाने चलन छ, जुन स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिँदैन । रगतमा जीवाणुहरूको सङ्क्रमण अत्यधिक मात्रामा एकदमै छिटो हुने हुँदा रगत पिउनु हुँदैन । यदि फोहर पानी र वातावरणमा पशुपक्षी वध गरिएमा त्यस्तो मासुमा साल्मोनेला, सिजेला, इ कोलि, प्रोटिअस, स्टाफाइलोकोकस र ब्यासिलस जस्ता जीवाणुको सङ्क्रमण हुन सक्छ । यस्ता जीवाणुले मासुमा विषाक्त सिर्जना गर्छ । र, यस्तो मासु सेवन गर्दा झाडापखाला लाग्ने वा खाद्य विषाक्त भई ज्यानै जान सक्छ ।  मासु राम्ररी पकाउँदा जीवाणुु, विषाणु र ढुसी नष्ट हुने भएता पनि तिनबाट उत्पादित विषाक्त र स्पोरहरु नष्ट हुँदैनन् । त्यसैले पशुपक्षी वध गर्ने स्थान, पानी र औजारको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।  त्यसै गरी पशुपक्षी वध गर्दा पशुपक्षीको रगत र लादी मासुको सम्पर्कमा आउन दिनु हुँदैन । नेपाली समाजमा पशुपक्षीको वध गरेपछि रगतको टीका लगाउने र रगतलाई काँचै वा पकाएर खाने चलन छ, जुन स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिँदैन । रगतमा जीवाणुहरूको सङ्क्रमण अत्यधिक मात्रामा एकदमै छिटो हुने हुँदा रगत पिउनु हुँदैन । मासु बिग्रन नदिन के गर्ने  ? सफा र सुरक्षित तरिकाले वध गरेता पनि मासुको भण्डारण उपयुक्त  नभएमा  मासु बिग्रन सक्छ । त्यस्तो मासु सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकुल असर पर्छ । मासु उच्च प्रोटिन र अन्य पौष्टिक तत्त्वले भरिपूर्ण हुने हुँदा जीवाणु, विषाणु र ढुसी छिट्टै विकसित भई मासु कुहिने, गनाउने र खान अस्वस्थ हुन्छ । त्यसैले मासु काटेपछि जतिसक्दो चाँडो उपयुक्त तरिकाले भण्डारण गर्नुपर्छ ।  मासु भण्डारण गर्दा शून्य डिग्री वा त्योभन्दा कम अर्थात् डिप फ्रिजमा गर्नुपर्छ । त्यसो गर्दा मासुजन्य तन्तुमा हुनसक्ने सबै खाले गतिविधि निष्क्रिय भई जीवाणु र ढुसीको सङ्क्रमण हुन पाउँदैन । चिस्याएर राखेको मासु ताजा भन्दा केही कम स्वादिलो भए पनि स्वस्थ हुन्छ ।  उपयुक्त तरिकाले भण्डारण गरिएमा राँगाको मासु १२ महिना, खसीको ९ महिना, बँदेलको  ६ महिना र कुखुराको ७ महिनासम्म सुरक्षित राख्न सकिन्छ । यो बाहेक मासुलाई घाम, आगोमा सुकाएर पानीको मात्र घटाइ सुकुटीको रूपमा पनि भण्डारण गर्न सकिन्छ । छोटो समयको लागि नुन नराखीकन, मरमसालाको उचित प्रयोग गरेर पनि मासु सुरक्षित राख्न सकिन्छ । बिग्रेको मासु कसरी चिन्ने  ? उपयुक्त तरिकाले वध र भण्डारण नगरिएको मासु छिटो बिग्रन्छ । जीवाणु र ढुसीको सङ्क्रमण भएमा मासुको सतह चिप्लो चिप्लो हुने, ग्यास उत्पादन  हुने, गन्ध फरक हुने र बोसो पग्लने हुन्छ ।  चारैतिरबाट बन्द गरेर भण्डारण गरिएको मासुमा अक्सिजन नहुने हुँदा, अक्सिजन बिना बाँच्ने जीवाणुहरु विकसित भई मासु कुहिएर दुर्गन्धित हुने, ग्यास उत्पादन हुने र अमिलो हुन सक्छ । पकाएको मासु लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैन । त्यसैले एकै पटक धेरै मासु पकाउनु राम्रो होइन । लेखक पशु सेवा विभागमा पशु चिकित्सकको रूपमा कार्यरत छन्