शिक्षकहरु आफै डिप्रेस्ड छन्, बालबालिकाहरुलाई कसरी मोटिभेशन गराउँछन् ?

शिक्षकहरु आफै डिप्रेस्ड छन्, बालबालिकाहरुलाई कसरी मोटिभेशन गराउँछन् ?

६४५ दिन अगाडि

|

२१ मंसिर २०८०

भूकम्प प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन सक्ने खतरा

भूकम्प प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन सक्ने खतरा

६७६ दिन अगाडि

|

२० कात्तिक २०८०

माया श्रेष्ठ  जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति ११ः ४७ मा गएको भूकम्पबाट मानवीय तथा भौतिक क्षतिसँगै घाइतेहरूको उपचार निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । साथै, राजधानीका ठूला संघीय अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । हाल राहत, उद्धारसँगै र  प्रभावित क्षेत्रमा घाइतेको आकस्मिक उपचारमा सरकारी तथा अन्य संघसंस्थाका तर्फबाट मेडिकल टिम संक्रिय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  आकस्मिक उपचारपछि सरकार भूकम्पजस्ता प्राकृतिक विपत्ति आउँदा सम्बन्धित निकायले ध्यान दिन नसक्दा संक्रामकजन्य रोगका कारण प्रकोप फैलिन सक्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन् । भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रुपमा बस्न बाध्य छन् । आकस्मिक उपचार उद्धारपछि  विगतका देशमा आएका प्राकृतिक प्रकोप आएको एक साता पछिबाट संक्रमकजन्य रोगहरूले सताउने गरेको उदाहरण पाइन्छ । प्रभावित क्षेत्रमा खाना, पानी, किट्जन्य रोग, हावाबाट सर्ने संक्रमणजन्य रोगले सताउन सक्ने सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन सुनाउँछन् ।  जाजरकोट, रुकुममा यसअघि देखिएका संक्रमजन्य रोगको प्रकोप, भूकम्पपछि आउने सक्ने स्वास्थ्यका जोखिमबारे अव पूर्व तयारीको आवश्यकता रहेको उनको भनाइ छ ।   भूकम्प प्रभावित क्षेत्रमा संक्रामकजन्य सरुवा रोग फैलिने सम्भावना उच्च रहेकाले सरुवारोगसम्बन्धी स्वास्थ्य संयन्त्र बनाइ काम गर्नु पर्नेमा उनको जोड छ ।    प्रभावित क्षेत्रमा यी रोगले सताउन सक्छ  भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उपचार र गाँस, बास, कपासको तत्काल आवश्यक पर्छ । त्यस समयमा घरबाहिर धेरै मानिस सामूहिक बस्नुपर्ने बाध्यतामा पर्छन् ।   सामूहिक रुपमा बस्दा शुद्ध पानी र खानेकुरामा शुद्धता भएन भने हैजा, झाडापाखला, फूड पोइजनिङ र किटजन्य रोगले समस्या उत्पन्न हुन सक्ने सरुवारोग विषेशज्ञ डा पुनले सुनाए ।   यस अवस्थामा सामूहिक रुपमा बाहिर बस्दा बाहिरै शौच गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो अवस्थामा एकजना व्यक्तिलाई हैजा लागेको खण्डमा अन्यमा चाँडै फैलिने सम्भावना हुने उनले बताए । उनले भने, ‘जाजरकोटमा अघिपछि पनि बेला बेलामा हैजा, पखालाको प्रकोप फैलिएको समाचार आउने गरेको छ । अहिले बाध्यतावश धेरैजना घर बाहिर बस्न बाध्य हुनहुुन्छ । यस समयमा ख्याल नगरेमा संक्रामकजन्य रोगले नसताउला भन्न सकिन्न ।’ अन्य किट्जन्य रोग  नेपालमा २०७२ सालको भूकम्पपछि स्क्रबटाइफस देखिएको विभिन्न अध्ययनहरूले देखाएको छ । सामूहिक रुपमा खुल्ला स्थानमा बस्दा स्क्रबटाइफस रोगको संक्रमणको जोखिम रहन्छ ।  बाहिर बस्दा माइट भन्ने किराले टोक्ने सम्भावना बढी हुने भएकाले मानिस बिरामी पर्न सक्ने डा पुनले बताए ।  ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७६ जिल्लामा डेंगु संक्रमण पुुष्टि भएको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम लगायतका स्थानमा डेंगुको संक्रमण न्यून वा हाल शुन्य अवस्थामा पुगेपनि राजधानीदेखि प्रभावित क्षेत्रमा मानिसहरू धमाधम जिल्ला गइरहेकाले संक्रमणको अर्को खतरा हुन सक्ने डा पुनको भनाई छ ।  यस याममा मौसमी फ्लूको संक्रमण देखिएको छ । अर्थात् रुघाखोकी लक्षण भएका बिरामी धमाधम पुष्टि भइरहेका छन् । फ्लू भाइरलले विगतमा जाजरकोटमा प्रकोपको रुप लिएको थियो ।  भूकम्प प्रभावित क्षेत्रमा मास्कबिना आतव जावत गर्नेको संख्या ठूलो भएकाले हावाबाट फ्लू फैलिने सम्भावना रहेको डा पुनको जिकिर छ । मौसमी फ्लू मुखको छिटा, सिँगान, कफ र सरसफाईको अभावमा संक्रमण हुने सम्भावना हुन्छ । यस विषम परिस्थितिमा आकस्मिक उपचार, गाँस, बास र कपासलाई जसरी महत्वका साथ लिएका छौँ, सोहीअनुसार स्वास्थ्य तथा सरसफाईलाई पनि प्राथमिकतामा पार्नुको विकल्प नभएको डा पुनको सुझाव छ । भूकम्पको सुरुवाती समयमा आकस्मिक उपचार भएपनि भूकम्पपछि फैलिन सक्ने रोगको प्रकोपलाई ध्यान राख्न उनको जोड छ ।  कसैमा पखाला, ज्वरो लगायतका समस्या देखिएमा आइसोलेट गरी उपचारको व्यवस्था गरेर प्रभावित क्षेत्रमा तत्काल फैलिन नदिने संयन्त्र बनाइ अघि बढेमा संक्रामकजन्य रोग फैलिनबाट जोगिन सकिने उनको भनाइ छ । 

सूपका उत्कृष्ट ‘हेडसर’ जित सर

सूपका उत्कृष्ट ‘हेडसर’ जित सर

६७७ दिन अगाडि

|

१९ कात्तिक २०८०

                                                                                                                  राष्ट्रपति पुरस्कार ग्रहण गर्दै जित सर । कैलालीको धनगढी नपा–१४, फूलवारी, सी गाउँस्थित सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक जितबहादुर चौधरीलाई हालै एक सहृदयीले सूचनाको लिंक पठाइ दिए । त्यो सूचना थियो, पीपी प्रसाई फाउण्डेशनले यस वर्ष (२०८०) को दसौं राष्ट्रिय पीपी प्रसाई शिक्षक पुरस्कारका लागि सातै प्रदेशका एक एक जना उत्कृष्ट शिक्षकको लागि आह्वान ।  सूचना पुर्याउनेकै करवलले उनले फारम भरे । अन्ततः सुदूरपश्चिम प्रदेशबाट जितबहादुर चौधरी र उनको विद्यालय उत्कृष्ट ठहरियो ।  उनी भन्छन्, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट ५० हजार नगदसहित सुदूरपश्चिम प्रदेशको उत्कृष्ट शिक्षक भनी पुरस्कृत भएको क्षण मेरो जीवनकै उत्कृष्ट दिन हो ।’  प्राथमिक तह पढ्दादेखि नै उनको बुबाको सपना थियो, उनलाई एक कुशल र असल शिक्षक बनाउनु । आज आएर आफ्नो सपना पूरा भएको उनले महसुस गरेका छन् । उनको घरको आर्थिक स्थिति कमजोर थियो । किनकि उनको पारिवारिक पृष्ठभूमि कमैया थियो । २०५८ सालमा एसएलसी गरे । त्यसपछि ट्यूशन गर्दै ऐच्छिक नेपाली विषयमा एमएड सकाए ।  पढ्दै पढाउँदै शिक्षक बन्नकै लागि सुरु सुरुमा त बिना तलब शिक्षण गरे । पछि नाम मात्रको ज्यादै न्यून पारिश्रमिक पाए । असल शिक्षक बन्ने धुन सवार भएर भारतको गोरखपुरमा समेत गएर ‘प्राथमिक शिक्षा वर्ग’ भन्ने तालिम लिए । २०७१ साल साउन २४ गते मावि तहको स्थायी शिक्षकमा नाम निस्केको दिन उनी आफ्नो जीवनको ‘टर्निङ प्वाइण्ट’ ठान्छन् । उनको दरवन्दी कैलालीको तात्कालीन निगाले गाविसस्थित शिव मावि, तीनतलामा भयो । डोटीको सिमाना पहाडी क्षेत्रको दुर्गममा स्कूल भएकाले एक वर्ष पछि घरपायक सरुवाको लागि प्रयास गरे । तर, सरुवा हुनै ४ वर्ष लाग्यो । अनि फेरियो सर्वाेदय माविको काँचुली २०७५ सालमा घरपायक सर्वाेदय माविमा आएपछि उनलाई स्कूलको अवस्था देख्दा रुन मन लाग्यो ।  एसईई परीक्षामा शून्य नतिजा ल्याउने विद्यालयको रुपमा चित्रित थियो । त्यसैले, विद्यालय छेउमै घर भएकाले पनि व्यस्त हुलाकी सडक पार गरेर छोराछोरीलाई टाढाको विद्यालयमा भर्ना गर्थे ।  विद्यालयमा धारा थियो, पानी थिएन । शौचालय थियो, प्रयोग गर्न सक्ने अवस्था थिएन ।  अनि त जित सरलाई झोंक चल्यो । भन्छन्, ‘घरबाटै बाल्टिन ल्याएर आफै शौचालय सफा गरें । रङ्रोगन गरी शौचालय चिटिक्क पारें । खानेपानीको व्यवस्था गरें ।’  सुरुमा उनलाई उडाइयो पनि, नयाँ जोगीले धेरै खरानी घस्छ । हेरौं, यो हेडमास्टरले कति दिन विद्यार्थीको गुहु सोहोर्छ ।  जित सरको एक्ली छोरी छिन्, नाम राखेका छन् क्रान्ति । समाजमा क्रान्ति ल्याउन कम्मर कसेका जित सरले पढ्ने उमेर भैसकेकी छोरी क्रान्तिलाई आफू पढाउने स्कूलमै बालकक्षामा भर्ना गरे । अनि आफ्नो कुरा काट्ने सारा अभिभावकको मुखमा बुजो लाइदिए ।  हेडमास्टरले त आफ्नो सन्तान यही पढाउँदै छ भने हामी भने टाढाको स्कूलमा छोराछोरी किन पठाउने ? यो मास्टरले अब पक्कै स्कूल सपार्छ है । अभिभावकको मनमा यस्तो विचार मनमा पसेपछि स्कूल गुल्जार हुँदै गयो ।  सुविधा शून्य भएको विद्यालय आज पक्की भवन, कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्तकालय, बालउद्यान छ । शैक्षिक सामग्रीद्वारा सुसम्पन्न छ । अनि, सरस्वती मावि सुदूरपश्चिम प्रदेशकै पहिलो प्रविधिमैत्री विद्यालयको रुपमा परिचित छ । आधुनिक, शैक्षिक विधि र प्रविधि स्मार्ट बोर्ड प्रोजेक्टर, साउण्ड सिस्टमले सुसज्जित छ ।  जित सर आउनु पहिले मुस्किलले २ सय विद्यार्थी रहेकोमा अहिले विद्यार्थी संख्या ५ सय नाघेको छ । एसईईमा शून्य नतिजा ल्याउने, विद्यार्थीहरू नहुने विद्यालयको रुपमा चित्रित यो विद्यालय आज धनगढी क्षेत्रकै राम्रो विद्यालयको रूपमा गनिएको छ । त्यस्तै, जित सरले वित्तीय ज्ञान तथा बानीको विकास गर्न सर्वोदय विद्यार्थी बैंक स्थापना गरी मासिक रुपमा बचत गर्ने नयाँ संस्कार बसाल्ने जमर्को गरेका छन् ।  एउटा ठुटोसम्म नरहेको विद्यालयमा जित सरको आफ्नै खर्चमा वृक्षारोपण तथा पुष्परोपण कार्यको थालनी गरिएको छ । ‘हाम्रो विद्यालयलाई हामी नमूना बनाउँछौ’ भन्ने अभियानसहित  पढाई स्तरोन्नति संगसंगै हरितमय वातावरण बनाइएको छ ।  श्रमप्रति सम्मान गर्ने बानीको विकास गर्न फुर्सदको समयमा आयआर्जन गर्ने खालको गृहकार्य दिने परम्परा जित सरले बसालेका छन् । जस्तै आफ्नो घरमा आवश्यकताभन्दा बढी भएका फलफूल, सागपात आदि स्थानीय बजारमा बिक्री वितरण गर्न प्रोत्साहित गर्छन् ।  त्यस्तै, विद्यालयको केही जग्गा छुट्याएर त्यसमा मौसमी तरकारी खेती गर्न लगाई विद्यार्थीमा पौरखी भावना विकास गरी तिनीहरूलाई जीवन निर्वाहमुखी बनाउने प्रयत्न गरेका छन् ।  कक्षा ९ का विद्यार्थीलाई पाककलाअन्तर्गत थारू परिकार ढिक्री, चटनी बनाई स्कूलमै टिफिन टायममा बेचबिखन गर्न लगाउँछन् । स्थानीय सीप तथा संस्कृतिको उन्नयन प्रवद्र्धनका लागि विद्यार्थीलाई दुना, टपरी बनाउने प्रशिक्षण दिइएको छ । यसो गर्दा तिनमा अर्थोपार्जन गर्ने सिपको विकाससँगै स्वाबलम्बी भावनाको विकास भएको प्रअ चौधरीको बुझाइ छ ।  कक्षाकोठामा आवश्यक पर्ने डस्टर आदि शैक्षिक सामग्री पनि विद्यार्थीहरूलाई खेर जाने कपडाहरूको प्रयोग गरी बनाएर ल्याउने संस्कारको विकास गरिएको छ । प्रअ चौधरीको विचारमा स्कूलको थोरै रकम जोगिनु पनि समग्रमा विद्यार्थीहरुकै रकम जोगिनु हो । जित सरले विद्यालयको चौर, कक्षाकोठा तथा शौचालयको सरसफाई सँगसँगै समय समयमा स्थानीय मन्दिर, चोक, चौतारीको सरसफाई अभियान चलाएका छन् ।  अहिलेका केटाकेटीको जन्मदिन निकै खर्चिलो हुँदै गएको छ । तर, जित सरले विद्यालयका विद्यार्थीको जन्मदिनको अवसरमा विद्यालयका लागि विद्यार्थीबाट पुस्तकालय निर्माण भनेर विद्यार्थी जन्मोत्सव पुस्तकालय निर्माणलाई अघि बढाएका छन् । प्रअ चौधरी भन्छन्, ‘यहाँका विद्यार्थीहरू जीवनमा जुनसुकै क्षेत्रमा सफल होऊन् । यही उद्धेश्यका साथ नयाँ नयाँ अभ्यासहरूको थालनी गरेको छु ।’                                                                                                                   विद्यालय परिसरमा छोरीसँग जित सर । साहित्यमय विद्यालय प्रअ जितबहादुर चौधरी आफूलाई नेपाली साहित्यको विद्यार्थी मान्छन् । एउटा थारु र अर्को नेपाली भाषामा गरी उनका दुइवटा कविता संग्रह पनि प्रकाशित भएका छन् । उनको साहित्यिक नाम हो, जित ‘ट्रासन’ । थारु भाषामा ‘ट्रासन’को अर्थ हुन्छ, मादलको ताल । हाल थारू लेखक संघ नेपाल, कैलालीको अध्यक्षसमेत रहेका उनी आफ्नो नामजस्तै विद्यालयलाई साहित्य र संगीतमय बनाउनमा लागी परेका छन् ।  भाषा, साहित्य तथा संस्कृतिको उत्थानका लागि विद्यालयमा नियमित साहित्यवाचन कार्यक्रम सञ्चालन गरेका छन् । साहित्यकारहरूको वृत्ति विकास तथा सम्मान गर्न अक्षयकोष निर्माणमा सहयोग गरेका छन् ।  शिक्षण पद्धतिलाई रोचक बनाउन पाठ्यपुस्तकबाहेक अन्य शैक्षिक सामग्रीको प्रयोग गर्छन् । पावर प्वाइन्टमार्फत् पढाउँछन् । उनी जब कुनै नविन ज्ञान, सिप र अनुभव आर्जन गर्छन्, तब आफ्ना सहकर्मी शिक्षकहरूलाई सोको बारेमा बताउन आतुर हुन्छन् । विभिन्न तालिम लिएर आएका सहकर्मी शिक्षकहरूबाट ज्ञान, सिप र अनुभव शेयर गर्न अनुरोध गर्छन् ।  आफ्नो क्षेत्रमा जानकार शिक्षाविद्, प्रशिक्षक, व्यवस्थापक, साहित्यकार, गाउँका बरघर, लोकसाहित्य लगायतका जानकारहरुको अनुभव सुनाउनका लागि समय समयमा विद्यालयमा अतिथि शिक्षकको रुपमा आमन्त्रण गर्छन् । स्कूल सुधार्न अन्य विद्यालयका प्रअ, शिक्षक तथा विव्यसका सदस्यहरूसँग भेटघाट तथा छलफल गर्छन् ।  जित सरबाट अन्य शिक्षकले सिक्नुपर्ने पाठ जित सर विद्यालयको समयभन्दा हरेक दिन कम्तीमा १५ मिनेट अगावै पुग्छन् । पाठयोजना बनाएर मात्रै कक्षाकोठामा छिर्छन् । विद्यालय र विद्यार्थीका लागि अतिरिक्त समय दिएवापत कुनै लाभ लिदैंनन् । सार्वजनिक विदामा समेत स्वेच्छिक रुपमा विद्यालयको समग्र विकासका लागि खटिन्छन् । विद्यालयमा कार्यरत आयाको पारिश्रमिक भत्ता आफ्नै तलब भत्ताबाट बेहोरेका छन् ।  विद्यालय व्यवस्थापन समिति, शिक्षकका छोराछोरीहरूलाई आफ्नै विद्यालयमा पठनपाठन गर्ने गराउने कामको थालनीको सुरुवात जित सरले आफ्नै छोरीबाट गरेका छन् । उनकी छोरी अहिले कक्षा ४ मा पढ्छिन् । उनको चाहना छ, छोरीले यहीबाट एसईई गरोस् । शिक्षक मासिक (कार्तिक अंक) बाट ,

आयु बढाउन चाहनु हुन्छ ? अपनाउनुहोस् यस्तो जीवनशैली

आयु बढाउन चाहनु हुन्छ ? अपनाउनुहोस् यस्तो जीवनशैली

६८६ दिन अगाडि

|

१० कात्तिक २०८०

तपाई कति वर्षसम्म बाँच्नु हुन्छ ? आयु प्रायः जिन, पर्यावरण र तपाईको जीवनशैली आदिमा भर पर्ने कुरा हो । जीवनशैलीमा केही हेरफेर गर्दा मात्रै पनि व्यक्तिको बाँच्ने क्षमता बढाउन सकिने केही अध्ययनहरूले देखाएका छन् । सन्तुलित र स्वास्थ्यकर भोजन: ताजा फलफूल, तरकारी, साग, अन्न, प्रोटिन अनि हेल्दी फ्याट लगायत पोषक तत्त्व भरपुर खानेकुरा खाँदा समग्र स्वास्थ्यमा सकारात्मक असर पर्छ । यसले तपाईको उमेर बढाउन मद्दत मिल्छ । शारीरिक गतिविधि: तपाई हरेक दिन व्यायाम गर्नु हुन्छ ? हरेक दिन व्यायाम गर्नु मुटुको स्वास्थ्यको लागि राम्रो हुन्छ । यसले इम्यून सिष्टमले ठिकसँग काम गर्छ अनि समग्र स्वास्थ्य पनि राम्रो हुन्छ  । हेल्दी वेटः मोटोपना रोगको घर नै हो । यसका कारण कयौँ किसिमका समस्याहरू निम्तिन्छ । व्यक्तिको उमेरमा पनि  असर गर्छ । उपर्युक्त आहार र व्यायामको साहाराले तौल मेन्टेन्ट गर्न मद्दत मिल्छ । पर्याप्त निद्रा: खराब निद्राले अनेकौँ स्वास्थ्य समस्या निम्त्याउँछ । हरेक  दिन ७ देखि ९ घण्टासम्मको निद्रा पुर्‍याउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसले तपाई बढी बाँच्ने सम्भावना पनि बढाउँछ । तनाव: तनावले स्वास्थ्यको साथसाथै उमेरमा पनि नराम्रो असर पुर्याउँछ । यसको कारण कयौँ खाले रोग लाग्छ । सकेसम्म तनाव कम गर्ने कोसिस गर्नुस् । सामाजिक सम्बन्ध: सामाजिक सम्बन्ध मजबुत बनाएर राख्नुहोस् । साथीभाइ अनि परिवारसँगको नेटवर्क पनि राम्रो छ भने शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ । यसले पनि तपाईको आयु लम्ब्याउन मद्दत गर्छ । रक्सी सेवन: धेरै रक्सी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । खाँदै नखानु भन्ने होइन । तर ठिक्क, सीमित मात्रामा पनि रक्सी सेवन गर्नुहोस् । पर्याप्त पानी पिउने: तपाईको शरीरमा आवश्यक  पानीको मात्रा पुगेको छ भने शरीरका सबै अङ्गहरूले राम्रोसँग काम गर्न सक्छन् । दिनमा कम्तीमा पनि २ लिटर पानी पिउन जरुरी छ ।  एजेन्सी

बिहान सबेरै खाली पेटमा नखानुहोस् यी ४ चिज

बिहान सबेरै खाली पेटमा नखानुहोस् यी ४ चिज

७१७ दिन अगाडि

|

९ असोज २०८०

उठ्ने बित्तिकै धेरै मानिस खाली पेटमा चिया वा कफी पिउन थाल्छन् । कतिलाई जुस पनि पिउन मनपर्छ । यदि तपाईं पनि यसो गर्नुहुन्छ भने होसियार किनकि यी कुराले तपाईंको दिन बिगार्न सक्छ ।  राती सुतेपछि हाम्रो पेटमा पाचन प्रक्रियाले ढिलो काम गर्ने भएकोले बिहान खाली पेटमा हाइड्रोक्लोरिक एसिड बढी हुन्छ । यस्तो स्थितिमा केही खानेकुराले यो एसिडलाई बढाउने काम गर्छ । केही खानेकुराले पेटमा हाइड्रोक्लोरिक एसिडलाई थप बढाउने काम गर्छ जसका कारण पेटमा अत्यधिक ग्यास, एसिडिटी, ब्लटिङ आदिको समस्या बढ्ने गर्छ । यसले गर्दा तपाईंको स्वास्थ्यलाई नकारात्मक असर पार्न सक्छ ।  हामी आज हामी तपाईंलाई खाली पेटमा खान नहुने केही खानेकुराबारे जानकारी दिँदै छौँ ।  १. सोडा वा कोल्ड ड्रिङ्क सोडा वा कोल्ड ड्रिङ्क्सले पेटको ग्यास वा एसिडिटी कम हुन्छ भनेर धेरैले सोच्ने गर्छन् तर खासमा यी पेय पदार्थले ग्यासको समस्या बढाउँछ । त्यसैले तपाईंले बिर्सेर पनि खाली पेटमा सोडा वा कोल्ड ड्रिङ्क खाने गल्ती नगर्नुहोस् ।  २. सिट्रस फलफूल कतिपयले बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला सुन्तला खाने गर्छन् । तर बिहान खाली पेटमा यो सिट्रस फल खाँदा तपाईंको पूरा दिन खराब हुनसक्छ किनभने सुन्तलाले पेटमा ग्यास र एसिडलाई बढाउँछ जसले समस्या निम्त्याउँछ । कागती, सुन्तला, अङ्गुर आदि सिट्रस फल हुन् । बिहान खाली पेटमा सुन्तला खाँदा पेटमा एसिडको मात्रा बढी हुन्छ । जसका कारण पेट फुल्ने र दिनभरि असहज हुने गर्दछ ।  ३. कफी टाइम्स अफ इन्डियाको समाचार अनुसार, धेरै मानिसले आफ्नो दिन कफीबाट सुरु गर्छन् । कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । त्यसैले खाली पेटमा यसको सेवन गर्दा तपाईंको पूरा दिन खराब हुनसक्छ । कफी पिएपछि पेटमा अत्यधिक मात्रामा हाइड्रोक्लोरिक एसिड बन्न थाल्छ । बिहान खाली पेटमा पहिले नै हाइड्रोक्लोरिक एसिडको मात्रा बढी हुन्छ । यसको अर्थ यसले ग्यास र एसिडिटीलाई बढाउँछ र ग्यास्ट्रिकको समस्या बढाउन सक्छ ।  ४. मसालेदार खानेकुरा बिहान खाली पेटमा मसालेदार खाना खानु हुँदैन । यसले पेटमा ग्यास र एसिडिटीलाई बढाउँछ जसले स्वास्थ्यमा समस्या निम्त्याउँछ । मसालेदार खानाले पेट त फुलाउँछ नै आन्द्राको लाइनिङमा घाउ बनाउन थाल्छ । त्यसैले बिहान मसालेदार खाना नखाएकै राम्रो । एजेन्सी

पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ सातै प्रदेशमा दिइँदै

पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ सातै प्रदेशमा दिइँदै

७३० दिन अगाडि

|

२७ भदौ २०८०

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ को ‘पाइलटिङ डेमोन्सट्रेसन’ आज भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट यो खोपको शुभारम्भ गर्ने भएको छ ।  हाललाई यो खोप १४ वर्ष पुगेका र १५ वर्ष ननाघेका(२०६५ भाद्र ३०–२०६६ भाद्र २०) किशोरीहरुलाई लक्षित गरी दिइने जनाइएको छ । सातै प्रदेशका १–१ वटा अस्पतालबाट १४ वर्षका किशोरीलाई ६ महिनाको फरकमा दुई मात्राको एचपीभी खोप दिन लागिएको खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन् । निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश एचपीभी खोपलाई विस्तार गर्दै १० –१४ वर्षसम्मका सबै किशोरीलाई यो खोप लगाइने उनको भनाइ छ । उनका अनुसार तोकिएका अस्पतालहरूबाट उपलब्ध गराइने एचपीभी खोपको पहिलो मात्रा लिनका लागि उमेर खुल्ने आधिकारिक प्रमाणपत्र/जन्मदर्ता/जन्म खुलाउने अन्य कागजात लिएर जानुपर्नेछ। त्यसैगरी दोस्रो मात्रा लिनका लागि खोपको पहिलो मात्रा लिएको खोप कार्ड साथमा लैजानुपर्नेछ । यो खोप कहाँ–कहाँ दिइँदै छ? - कोशी प्रदेशमा कोशी अस्पताल – विराटनगर - मधेश प्रदेशमा नारायणी अस्पताल – वीरगन्ज - वाग्मती प्रदेशमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल – थापाथली - गण्डकी प्रदेशमा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान – पोखरा - लुम्बिनी प्रदेशमा भेरी अस्पताल - नेपालगन्ज - कर्णाली प्रदेशमा प्रदेश अस्पताल – विरेन्द्रनगर - सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल – डडेलधुरा सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा ९ देखि १४ वर्षका किशोरीहरूका लागि लक्षित गरी यो कार्यक्रमलाई विस्तार गरिने झनेको थियो । यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा नै घोषणा गरेको भए पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको थिएन । सरकारले सन् २०१६/२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो ।नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ भने विश्वमै चौथो प्रमुख क्यान्सरको रुपमा । एचपीभी इन्फर्मेसन सेन्टरका अनुसार नेपालमा सन् २०२१ मा २ हजार २४४ महिलामा पाठेघरको क्यान्सर पुष्टि भएकोमा १ हजार ४९३ जनाको मृत्यु भएको छ । प्राइभेटले फाट्टफुट्ट यो खोप दिइराखेपनि अभियानकै रुपमा भने सरकारले यो पहिलोपटक सबैतिर विस्तारको सुरुआत गरेको हो । यही असार १९ बाट चीनबाट २० हजार मात्रा एचपीभी खोप खरिद गरी ल्याइएको थियो । अहिले दिन लागिएको खोपको नाम ‘सिकोलिन’हो ।यसले एचपीभी भाइरसको प्रजाति ‘१६’ र ‘१८’ को कारणले हुने पाठेघरको मुखको क्यान्सर रोग न्यूनीकरणमा प्रभावकारी रहेको देखिएको छ । पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप के हो ? विश्व स्वास्थ्य संगठनका अनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपीभी भाइरसले हुने गरेको छ । यो भाइरसले पाठेघरको क्यान्सर गराउनुका साथै यौनांग, टाउको, घाँटीमा पनि संक्रमण गराउन सक्छ । एचपीभीबाट क्यान्सर भएकाहरूमा कुनै पनि लक्षण नदेखिन सक्छ‚ जबसम्म क्यान्सर अन्तिम स्टेजमा पुगिसकेको हुँदैन । त्यसैले खोप र नियमित स्क्रिनिङ अपिरहार्य रहेको चिकित्सकहरूको सुझाव छ । मुख्यतः एचपीभी भाइरसको प्रकार ‘१६’ र ‘१८’ ले क्यान्सरको जोखिम बढाउँछन् । एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छ र यो खोप सुरक्षित र प्रभावकारी पनि पाइएको छ । क्लिनिकल अन्कोलोजिस्ट डा. रश्मी पुनले यो खोप पाठेघरको क्यान्सर रोक्न सक्ने माध्यम भएको बताउँदै भन्छिन्‚ ‘यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने देखिको छ । यो खोपले अरु यौनजन्य रोगहरुबाट पनि बचाउँछ ।किशोरी तथा महिलाहरुलाई यो खोप एकदम लाभदायिक छ।’ धनी राष्ट्रहरूमा एचपीभीविरुद्धको खोपको उपलब्धता, स्क्रिनिङ र उपचारको पहुँच भएकाले यी देशहरूमा मृत्युको दर कम रहेको पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यौन सम्पर्क भइनसकेका ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि एचपीभीको खोप सिफारिस गरेको छ । यो उमेर समूहमा खोप नलगाएकाले २६ वर्षको उमेरसम्म लगाउन सक्छन् । १५ वर्षमुनिका बालबालिकालाई पहिलो डोज लगाएपछि ६ महिनामा दोस्रो डोज लगाउनुपर्ने भनिएको छ । साथै १५ वर्षमाथिकालाई ३ डोज भनिएको छ । जुन पहिलो डोज लगाएको २ महिनामा दोस्रो डोज र अर्को ६ महिनामा तेस्रो डोज लगाउनुपर्ने भनिएको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ ।यसका लागि नियमित स्क्रिनिङ आवश्यक छ ।विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित १२५ राष्ट्रले एचपीभी खोप हालसम्म भित्र्याइसकेका छन् । खोप सीमित, पहिला आउनेलाई प्राथमिकता परिवार कल्याण महाशाखाले जनाएअनुसार यो खोप लगाउनुपर्ने १४ वर्ष उमेर समूहका किशोरी संख्या ३ लाख ५८ हजार ७५४ रहेका छन् भने १० देखि १४ वर्ष उमेर सख्यांका किशोरीहरु १६ लाख ८८ हजार ७६८ रहेका छन् । त्यसैगरी हाल खोप दिइने भनिएको ७ जिल्लामा १४ वर्ष उमेरका किशोरीहरु ४५ हजार ७ जना रहेका छन्‚ जसमा ९ हजार ५०५ जना जतिलाईमात्र खोपको दायरामा समेट्न सकिने अवस्था रहेको खोपा शाखाको प्रमुख डा. गौतम बताउँछन् । उनी भन्छन्‚ ‘हाल यो खोप कम परिमाणमा मात्र उपलब्ध भएकाले थुप्रै चुनौती छन् । जिल्लाको जनघनत्वको आधारमा भ्याक्सिन वितरण गरिएको छ तर खोप सीमित भएकाले ४–५ दिनसम्म दिने भनिएपनि पहिलो वा दोस्रो दिनमा नै खोप प्रयोग भइसक्ने सम्भावना छ ।’ उनले क्यान्सर स्क्रिनिङ कार्यत्रम पनि सरकारको प्राथमिकताको कार्यक्रम रहेकाले ३० वर्ष उमेरपछि हरेक महिलाले ५ वर्षको अन्तरालमा पाठेघरको मुखको क्यान्सरको जाँच गर्ने सुविधा सुझाए । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लाल सरकारले चाहेर पनि यो खोप धेरै मात्रामा ल्याउन नसकिएको बताउँछन् । भन्छन्‚ ‘विश्वमै यो खोपको माग जति छ‚ उपलब्धता त्यति नै कम छ । हालसम्म ३ वटा कम्पनीले मात्र यो उत्पादन गरिरहेका छन् ।त्यसैले अहिले जति छ‚ त्यति नै समतामूलक वितरण होस् भनेर यसरी खोप दिन लागिएको हो ।’ उनका अनुसार सरकार गाभी (ग्लोबल अलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) को सहयोगबाट नियमित खोपमा समावेश गर्ने गरी पर्याप्त मात्रामा उपलब्ध गराउनका लागि निरन्तर सम्पर्कमा छ । डा. विवेक भन्छन्‚ ‘प्रपोजोल पेस गरिसकेका छौँ । ग्रिन सिग्नल पनि पाइसकेको अवस्था छ । स्वीकृतिको चरणमा जान्छ होला । सन् २०२४ सम्म यो खोप ल्याउने संकल्प हो ।’ खोप शाखाका अनुसार सन् २०२४ देखि एचपीभी खोप नियमित खोप सेवामा समावेश गरेर कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालयबाहिरका १० वर्षका बालिकाहरुलाई एचपीभी खोप प्रदान गरिनेछ । त्यसैगरी ७ देखि १० सम्म अध्ययन गर्ने बालिकाहरू र विद्यालय बाहिरका ११ देखि १४ वर्षका बालिबालिकाहरूलाई एचपीभी खोप अभियानको रुपमा दिने बताइएको छ ।

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिमका उत्कृष्ट हेडसर, राष्ट्रपतिबाट सम्मानित 

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिमका उत्कृष्ट हेडसर, राष्ट्रपतिबाट सम्मानित 

७३७ दिन अगाडि

|

२० भदौ २०८०

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिम प्रदेशको उत्कृष्ट प्रधानाध्यापकको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधवार शितल निवासमा सम्मानित भएका छन् । उनी थारु लेखक संघ, कैलालीका अध्यक्षसमेत हुन् । नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई यो वर्षको राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्ड प्रदान गर्ने क्रममा सो सम्मान दिइएको हो । देशैभरबाट छनोट गरिएका व्यक्तित्वहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उक्त अवार्डबाट सम्मानित गरेका हुन्। राष्ट्रपतिको कार्यालयमा आयोजित अवार्ड वितरण कार्यक्रममा यस वर्षको ‘पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ। प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’बाट कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट जनकल्याण माध्यमिक विद्यालय बौद्धका कमला राई, गण्डकी प्रदेशबाट पञ्चमुनिदेव मावि, पाल्पाका टुकादेवी आचार्य पुरस्कृत भएका छन्। यसैगरी, लुम्बिनी प्रदेशबाट मोहन कन्या मा।वि। तानसेनका गोपालप्रसाद बस्याल, कर्णाली प्रदेशबाट तिरपुरा मावि जगदुल्ला डोल्पाका जयबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशबाट सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी ‘ट्रासन’ सम्मानित भएका छन्।                                                                             सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी ‘ट्रासन’ प्रतिष्ठानले हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशिल शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ। जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरूको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेसामा आउन चाहनेलाई प्रहोत्साहन गर्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो। पर्यटन क्षेत्रमा अनवरत लाग्नेलाई हरेक वर्ष पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने गरिएको छ।