Above Header
Above News Title

सिँचाई आयोजनाकै कारण चौकीबाँधको अस्तित्व संकटमा 

सिँचाई आयोजनाकै कारण चौकीबाँधको अस्तित्व संकटमा 

सयौं बिगाहा खेतलाई सिँचाई गरेको र भबिष्यमा हजारौं बिगाहालाई सिँचाई गर्न सक्ने चौकीबाँध यतिबेला राष्ट्रिय गौरबको आयोजना भनिने रानी जमरा कुलरिया सिँचाई आयोजना, कुला चौधरी र जनप्रतिनिधिहरुका कारण संकटमा परेको छ ।

यसले कुलापानी चौधरी, जनप्रतिनिधि, भलमन्सा, आयोजनामा कार्यरत कर्मचारी, ठेकेदार गम्भीर भएनन् भने अस्तित्व समाप्त हुन समय लाग्दो रहेनछ भन्ने सिख दिएको छ ।

कुरा कैलालीको लम्कीचुहा नगरपालिका–७, हरदहनी गाउँमा पर्ने चौकी बाँध र त्यससँग जोडिएको सामुहिक भूमिको हो । २०५२ सालअघि गाउँमा एउटा प्रहरी चौकी थियो, त्यही चौकी नजिकै बाँध भएका कारण त्यसको नाम चौकी बाँध रहन गएको हो । पहिले गाउँतिर चोर, डाँका बढी लाग्ने गरेकाले गाउँमा चौकी स्थापना भएको थियो । माओवादीको सशस्त्र युद्ध शुरुवात भएसँगै चौकी हटेपनि बाँधको नाम भने चौकीबाँध नै रह्यो । 

गाउँले किसानहरु स्याउला, ढुँगाले बाँध बाँध्दै थकित भएपछि करिब २०५५ सालदेखि चौकी बाँधबाट पानी पटाउने काम बन्द भएको थियो । बाँध बुढीकुलोमा बाँधिन्थ्यो र पश्चिम सहायक कुलो खनी खेतमा लगाइन्थ्यो । बुढीकुलोबाट खेतमा जाने सहायक कुलो हालको कुलो भन्दा करिब १५/२० फिट तल (दक्षिण) रहेको थियो । र, कुलोको दक्षिण लालबहादुर चौधरीको जमिन जोडिएको थियो, जुन अहिले पनि छँदैछ । 

उक्त कुलो पश्चिमतर्फ रहेको छोटेलाल चौधरी र खरकट्टुको घरको बिचबाट निस्की दक्षिणतिर बग्ने गर्दथ्यो । कुलो बन्द भएपछि लालबहादुर चौधरीका बुवाले पुरानो कुलो मासी त्यसलाई अलि माथि सार्ने काम गरेका थिए । केही वर्षपछि पश्चिम हुँदै दक्षिण बग्ने कुलो किसानहरु संचालन गर्न नसकेपछि छोटेलाल र खरकट्टुले कुलो मासे । तर कुलो मास्दा स्थानीय कुलापानी चौधरी, भलमन्सा, जनप्रतिनिधि यसबारे बोलेनन् । पहिले असार, साउनमा पानी यही कुलो भएर बग्दथ्यो । तर कुलो मासिसकेपछि पानी जाने बाटो बन्द भयो । पानी निकास नभएपछि टोल डुबानमा परिरहेको छ, डुबान परेपनि त्यसलाई खोल्ने काम भइरहेको छैन । 

साझा भूमि र त्यसमाथिको संकट

चौकीबाँध गाउँको दक्षिण थियो । बुढीकुलोमा बाँधिने यो बाँधको नजिकै (उत्तर) सानो काठे पुल थियो, जो अहिले पक्की पुलमा रुपान्तरण भएको छ । किसानहरु बुढीकुलोबाट कुलो पश्चिम फर्काई दक्षिणतिर लगेर खेत सिँचाई गर्दथे । दक्षिण कुलो, पूर्ब कुलो, पश्चिम सडक, उत्तर सडक र बिचमा सार्बजनिक जमिन थियो । यो जमिनमा पूर्व वडाध्यक्ष हरिराम चौधरीका बुवा कल्लु थारु खलिहान (धान दाईं गर्ने स्थान) बनाउँदथे र यही खलिहान बनाउने ठाउँमा पछि प्रहरी चौकी बसेको थियो । 

चौकी हटेपछि यो खलिहान गाउँको साझा भूमि बन्न पुगेको छ । र, यही सामाजिक भूमिमा अहिले गाउँको सार्बजनिक कार्यक्रम हुन्छ । यहाँ चिरैं, भजहर भागिन्छ । गुरही पिटिन्छ, अष्टिम्की मनाउँदा पुजा सामाग्री सेलाइन्छ । दशैंमा पितृ पूजा सामग्री सेलाइन्छ, पितृ सेलाउँदा महिलाहरु हातखुट्टा धुने गर्दछन् । राम्रो संरक्षण पायो भने यो भूमिमा भलिबल, ब्याडमिन्टन खेल्न सकिने ठाउँ छ । त्यसैले यो साझा भूमिको गाउँमा ठूलो महत्व छ । 

साझा भूमिको ठूलो महत्व हुँदाहुँदै पनि यसमाथि संकट आइपरेको छ । ग्लोबल आईएमई बैंक लम्की शाखामा कार्यरत लालबहादुर चौधरीले यसको दक्षिणी भूभागलाई ओगटेका छन् । आर्थिक अवस्था मजबुत भएका उनलाई साझा जमिनमाथिको मोह किन बढ्यो होला ? बुझि नसक्नु छ ।  

 

बाँध संकटमा पर्नुका अनेक कारण 

जतिबेला कुलामा सरकारी ध्यान थिएन, परम्परागत रुपमा देशाहुर चल्थ्यो । त्यतिबेलासम्म चौकीबाँध सुरक्षित थियो । २०५५ सालपछि आफ्नो बलबुतोमा किसानहरु कुला सञ्चालन गर्न नसकेपछि बाँध संकटमा पर्दै गयो । सरकारले राष्ट्रिय गौरबको आयोजना संचालन गरे पश्चातका दिनहरुमा धेरै बाँध बने, बनाइए । मान्छेहरुमा पक्की बाँधको आशा पलाउन पुग्यो । चौकी बाँध पनि मेरो दिन आउला भनी सोचिरहेको थियो । तर बाँधको सोचाईमा तुषारापात भयो । यसरी बाँध संकटमा पर्नुका मुख्य कारणहरु निम्न छन् ः

पहिलो कारणः कुला मासिंदा कुला चौधरीहरु मौन भएका कारण यो मासेको मास्यै भयो । सिँचाई आयोजना गाउँमा पुग्दा, पुलको मात्र कुरा गर्दा बाँध ओझेलमा पर्दै गयो । यहाँ रहेको पुरानो बाँध बनाउनु पर्छ भन्ने कुरामा चासो र जोडबल नभएको कारण कुला मास्ने कार्यले प्रश्रय पायो । यसरी चौकी बाँध समाप्त हुनुको पछाडी पहिले काम गरेका कुला चौधरी र हाल कार्यरत कुला चौधरीको पहिलो गल्ती देखिन्छ । हालका कुला चौधरी रुद्र चौधरीले सरोकारवालाहरु (खेतका मालिक, कुला मास्ने ब्यक्ति, सिँचाईका कर्मचारी) बिचमा कहिल्यै छलफल नगराएका कारण चौकी बाँध संकटमा परेको देखिन्छ ।   

दोश्रो कारणः भलमन्साको कमजोरी पनि हो, जो गाउँको हरेक कुरासँग उसको सम्बन्ध हुन्छ । बाटोबाटो, पुलपुलेसा, मुद्दामामिला, चाडपर्व, भोजबिबाह सबैसँग भलमन्साको सम्बन्ध रहन्छ । कुलाबारे कुलाचौधरी त प्रमुख हो नै, सँगसँगै गाउँको हरेक समस्या पनि भलमन्साको जिम्मेवारीभित्र पर्ने भएकोले भलमन्सा यसबाट अछुतो रहन मिल्दैन, अछुतो रहन सक्तैनन् । त्यसैले उनको पनि कमजोरी भएको छ । 

तेश्रो कारणः जनप्रतिनिधिहरुको पनि कमजोरी देखिएको छ । गाउँको कुरा जनप्रतिनिधिलाई थाहा हुन्छ ।  बाँधको अस्तित्व समाप्त हुँदा, सिँचाई आयोजनाले पुल बनाउँदा नक्शा कोर्दा जनप्रतिनिधिले पनि ख्याल गर्नुपर्ने हो । आयोजनाले पनि जनप्रतिनिधिसँग सम्पर्क, समन्वय गरी पुल र कुलोको नक्शा कोर्नुपर्ने हो, त्यो देखिएन । पुल बन्दा बाँधको अवस्था के हुने हो ? चासो भएन । कुलो मासियो, सार्बजनिक जग्गाका केही भाग पनि मिचियो, तर जनप्रतिनिधिहरु प्रष्टसँग बोल्न सकेनन् । हालका जनप्रतिनिधिले पनि त्यही कुरालाई निरन्तरता दिए । किन टाउको दुखाउनु, गल्ती भए होस्, मेरो के जान्छ भन्ने सोंचले स्थान पायो । त्यसैले बाँधको अस्तित्व समाप्त हुनुमा जनप्रतिनिधिहरुको पनि कमी कमजोरी रह्यो भन्ने कुरा स्पष्ट छ । 

चौथो कारणः रानी जमरा कुलरिया सिँचाई आयोजनाको कमजोरी हो । आयोजनाका कर्मचारी पुल, बाँधको लागि सर्बेमा आउँदा छलफलमा सरोकारवालाहरुलाई बोलाई गहन छलफल गरेको देखिएन । पहिले बाँध कहाँ बाँधिन्थ्यो ? कहाँदेखि कुलो थियो ? गाउँ डुबानमा पथ्र्यो वा पर्थेन ? त्यसबारे छलफल गरिएन । थारुहरुको परम्परागत संगठन भलमन्सा प्रणालीलाई हेला (डोमिनेट) गरेको देखियो । भलमन्सा, पुरा गाउँले, जनप्रतिनिधि, बिगतमा पानी पटाउने किसानहरु सबै सरोकारवाला हुन्, कुला चौधरी मात्रै बाँधका हर्ताकर्ता होइनन् भन्ने कुरा सिँचाईले बुझेन वा भनौ त्यसमा कार्यरत निर्देशक, इन्जिनियर, ओभरसियरहरु (आदि) ले बुझेनन् । 

फलस्वरुप रानी जमरा कुलरिया सिँचाई आयोजनाका कर्मचारीहरुले छलफलमा सबै सरोकारवालाहरुलाई बोलाएनन् । पुल, बाँध नजिक रहेका कुला मास्नेहरु र उनीहरुलाई समर्थन गर्नेहरुलाई मात्रै बोलाइयो । उनीहरु त्यहाँ बाँध बाँध्दा गाउँ डुबान हुने गलत सूचना प्रवाह गरे । कुलो मासेको कुरा भनेनन् । उनीहरुकै कुरालाई सिँचाईले विश्वास गर्‍यो, त्यही अनुसार पुलको नक्शा कोर्‍यो, कार्यान्वयन गर्‍यो । जुन कार्यले चौकीबाँधको घाँटी निमोठिन पुग्यो । २०५५ साल अगाडी त्यही ठाउँमा स्याउला, झाला, ढुङ्गाले किसानहरु बाँध बाँध्ने, खेत सिँचाई गर्ने गर्दथे । त्यतिबेला गाउँ डुब्दैनथ्यो, अहिले आएर गाउँ डुब्ने कुरालाई सिँचाईले बिश्वास गर्दा कुला मास्नेहरुलाई बल पुग्यो । कुला चौधरी, भलमन्सा र जनप्रतिनिधिले सिँचाईलाई बुझाउन सकेनन् वा सिँचाईका कर्मचारी, ठेकेदार कसैको दवाव या प्रभावमा परे, त्यो कुरा तिनीहरु नै जानून् । तर कुलो मासिंदा टोल डुबानमा पर्दैछ भने गाउँलेहरु नहरबाट बञ्चित भएका छन् ।   

नहर बनाउँदा गाउँ डुबानमा पर्ने भ्रम सुन्दा मनमा सम्झना आउँछ, हाम्रा बाबा, काका, बाजेहरु कसरी बाँध बाँधे ? बाँध बाँध्ने ब्यक्तिमध्ये यो पंक्तिकार पनि हो, त्यतिबेला । हाम्रा काका बाबाहरुले बाँधे बाँध, त्यसपछि हामीले बाँध्यो बाँध, गाउँ डुबेन । के खेतमा पानी लगाउने किसानहरु पागल थिए ? अहिले आएर गाउँ डुब्ने कुरा पत्याउनु वा त्यसलाई मलजल गर्नुले सिँचाईका कर्मचारीका नियतमा केही खोट छ भन्ने कुरामा शंका गर्ने ठाउँ छ । नहर बन्छ, तपाईहरु मासिएको कुलालाई बिस्तारै खोल्नुस्, खोल्न लगाउनुस् भन्न सक्थ्यो । तर, त्यसो भएन । सिँचाईको यो ब्यवहारले पनि सिँचाईको गल्ती रहेको देखिन्छ । 

पाँचौ कारणः पाँचौ गल्ती राम्रो काम हुँदा खुट्टा तान्ने ब्यक्तिहरुको छ । समाजमा राम्रो भएको देख्न नचाहने ब्यक्ति पनि हुन्छन् । बाँध बन्दा हामी सबैले सिँचाई गर्न पाउँदैनौ, किन बोल्ने ? बिपक्षमा किन नबोल्ने ? भन्ने सोंचका ब्यक्तिहरुका कारण पनि चौकीबाँधको घाँटी निमोठ्ने काम भएको छ । पूर्व नहर बन्दा पश्चिमकाले दःुख मान्ने, पश्चिम बन्दा पूर्वकाले दुःख मान्ने, सबैको राम्रो होस्, कल्याण होस् भन्ने सोंच नभएका ब्यक्तिहरु हाबी हुँदा पनि बाँधको अस्तित्व संकटमा परेको हो भन्दा फरक नपर्ला ।

छैटौं कारणः आफू बोल्न नपरोस्, अरुले बोलिदेओस् भन्ने सोंच भएका ब्यक्तिहरुका कारण पनि बाँधमा समस्या आएको देखियो । बाँध चाहिएको छ, तर बोल्दा आँखाको कसिंगर भइएला । आपसमा मनमुटाव होला, भोट नपाइएला आदि डरले मान्छेलाई निमुखा (नबोल्ने) बनाउने गर्दछ । “बोलल् बराबर दुःख नाई, चुपाइल बराबर सुख नाई” (बोल्नु जत्तिको दुःख हुँदैन, चुप लाग्नु जत्तिको सुख हुँदैन) भन्ने थारु लोकोक्ति पनि छ । बाँध र साझा भूमिका लागि यसले पनि समस्या पारेको छ ।  

अबको विकल्प के ? 

माथि उल्लेख गरिसकियो, यसमा धेरैको गल्ती छ । लहरोझैं बल्झिएको छ । तलदेखि माथिसम्मकै गल्ती छ । हामी सबै मिली चौकीबाँधको घाँटी निमोठेका छौं । चौकीबाँधको शायद अब कल्पना गर्न सकिन्न कि जस्तो लागेको छ । बाँधको नामोनिशान मेटाइएको छ, कुला मासिएको छ । बाँध बाँधिएको देख्नेले नबताउँदासम्म यहाँ बाँध थियो भन्ने कुरा कसैलाई थाहा हुँदैन । त्यसैले अबको विकल्प के ? त्यस बारेमा सोच्न जरुरी भैसकेको छ । 
गाउँमा आमबाँध बन्दैछ, आम बाँधले गाउँको दक्षिणी भूभागलाई सिँचाई गर्न सम्भव छ कि छैन एक ? दोश्रो माथिल्लो खर्गौली हुँदै हरदहनी आउने महदेवा कुलामा थप पानी ल्याई कसरी गाउँको दक्षिणपट्टीको भूभागमा पर्याप्त पानी पुर्याउन सकिएला ? यी बिषयमा कुलापानी चौधरी, भलमन्सा, जनप्रतिनिधि, सिँचाईका कर्मचारीहरु र गाउँ समाजले गहन बहस गर्न र निष्कर्ष निकाल्न जरुरी देखिन्छ । 

त्यसैगरी साझा भूमि र पानी निकासबारे पनि छलफल गर्न आवश्यक छ । तीनबट्टीमा रहेको साझा भूमि गाउँको भूमि हो । यसमाथिको अतिक्रमण राम्रो होइन । यसमा नियमित सार्वजनिक कार्यक्रम हुने गर्दछ । चिरैं, भजहर, अष्टिम्की, अनत्तर, गुरही, दशैं मनाउँदा यो साझा भूमिलाई स्पर्श नगरी सम्पन्न हुन गार्हो छ । यसले राम्रो संरक्षण पायो भने भोलिका दिनमा भलिबल, ब्याडमिन्टन खेल्ने स्थान वा भोज बिबाह गर्ने स्थानको रुपमा पनि यो विकसित हुन सक्छ । त्यसैले मिचिएको भूमि फिर्ता गर्ने वा मिच्न दिने भन्ने बिषयमा पनि गहन छलफल चलाउन र निकास दिन जरुरी छ । 

निष्कर्षः 

अन्तमा के भन्न सकिन्छ भने गल्ती कमीकमजोरी मान्छेबाटै हुने गर्दछ । काम गर्नेले गल्ती पनि गर्दछ, काम नगर्नेबाट गल्ती हुँदैन । गल्ती गर्दै सिक्दै जाने हो । बाँध बाँध्ने हामी नै थियौं, त्यसलाई समाप्त पार्नमा पनि हाम्रो भूमिका रहेको छ । साझा जमिन छुट्याउने पनि हामी नै हौं, त्यसलाई अतिक्रमण गर्ने प्रयास पनि हामीमध्येबाटै भइरहेको छ । हामी गाउँले हौं । कुला मासेको धेरै समय भैसक्यो, सार्बजनिक जग्गा अतिक्रमण गरेको पनि धेरै समय बितिसक्यो । धेरै समय उपभोग गर्दा धर्तीसँग गाढा माया बस्दछ । हामी धर्तीसँग छुट्टिन नसक्ने अवस्थामा पुग्दछौं ।  

अर्कोतिर जो किसान बाँध बाँधी कुलोमार्फत् खेतमा पानी लान्थे, कुलो मासिंदा उनीहरुलाई पनि पक्कै दुःख लाग्यो होला । यस्तो अवस्थामा मुख खोलाखोल, भनाभन हुन्छ, जो स्वाभाविक हो । तर सबैले बुझ्नुपर्ने कुरा के हो भने हामी एकै गाउँले हौं, छिमेकी हौं । एकै ठाउँमा बस्ने मनुवा हौं । सँधैभरी बाझाबाझ गरेर कसैको कल्याण हुँदैन । सबैको कल्याणको लागि मिलेरै बस्नु पर्दछ । तर मिल्ने नाउँमा मनपरी गर्ने होइन । कुलो, सडक, सार्वजनिक जमिनको ख्याल गर्नै पर्दछ । 

चौकीबाँध बाँध्दा डुबान हुने हो भन्ने गलत भाष्य निर्माण गर्नु हुँदैन । बरु खेतमा पानी पुर्याउने कुलो मासियो, कसैको चित्त दुखाएर कुलो निकाल्न सकिन्न, बाँध बनाउन सकिन्न भनौं र सिँचाईको बिकल्पबारे बहस गरौं । यसमा सहमत हुन सकिन्छ । त्यसैगरी पानीले बहाव खोज्दछ । देशको भौगोलिक बनावट भनेको उत्तरबाट पानी दक्षिण बग्ने गर्दछ । कुलामा पानी चलाउँदा पश्चिम हुँदै दक्षिण बग्ने पानीलाई थुनी दक्षिणबाट पूर्बोत्तर फकाई पानी निकास दिंदा पानीको बहाव सोचेजस्तो हुन सक्तैन । यसमा कुला चौधरी, इन्जिनियर, ओभरसियरहरुले पनि सोच्ने कुरा हो । 

त्यसैगरी कुलो मास्नु वा सार्बजनिक भूमि अतिक्रमण गर्नु गलत कुरा हो भन्ने कुरा पनि सम्बन्धित पक्षले महशुश गर्ने कुरा हो । कुलो र भूमिकै कारण यो पंक्तिकारको पनि अति सहयोगीहरुसँग दन्तबझान हुन पुगेको छ । सत्य बोलेर गल्ती गरियो भन्ने महशुश भइरहेको छ । बोल्दा दुःख पुग्ने, नबोल्दा आफ्नो चित्त नबुझ्ने पनि समस्या हो, यसले मनलाई भटभटी पोलिरहेको छ । शायद अरुलाई पनि त्यस्तै भएको हुन सक्छ । बाँध, भूमि र पानी निकासको बिषयलाई लिएर भएको गरमागरम बहसले कतिपयको मनमा अटेस मटेस पनि भएको होला । अटेस मटेसलाई ठाँटी राख्नु पर्दछ र अगाडी बढ्नु पर्दछ । अझै पनि सौहार्दपूर्ण बाताबरणमा बहस हुन जरुरी छ । विकल्प खोज्न, निकास निकाल्न जरुरी छ । समयमा नबोल्दा, समयमा कसैलाई नरोक्दा गाउँ समाजलाई ठूलो घाटा हुन्छ भन्ने पाठ पनि सिक्नु पर्दछ । सबैको जय होस्, सबैको कल्याण होस् ।  


 

प्रकाशित:

१४८ दिन अगाडि

|

४ वैशाख २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१०६७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

११०१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

११११ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१०६६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१०१६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१०७२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१००४ दिन अगाडि

|

२७ मंसिर २०७९