हुम्लाः संस्कृतिको घर, प्रकृतिको वर
६७० दिन अगाडि
|
१८ साउन २०८१
हुम्लाको वसन्ते पर्व चैतलो ।
नया नया ह्युँ पड्याको, काँ कोरु कटुकी
खाई हाँलु कि खल्ती हालुँ, दूधको बटुकी
संस्कृति र प्रकृतिको धरातलीय रेखाचित्रका अनेकौं दस्तावेजहरूलाई हिमशिखरको काखमा जोडी नयनको रुपमा रहेका दूधेकुण्ड र लडेकुण्डहरू प्रकृतिमा भएका देवकीय अर्थात् सत् र आसुरी अर्थात् खराब आत्महरूलाई सन्तुलनमा राख्न प्राकृतिक तराजुको काम गरेको छ । जहाँको पबित्र जलले सिञ्चित जडिबुटीहरूले मानव तथा प्राकृतिक भूगोललाई प्रत्यक्ष र परोक्ष रुपमा प्रभाब पारेको छ ।
बदलिंदो विश्व परिवेशमा हुने खाने देशहरूको प्राकृतिक तथा मानवीय स्रोत संसाधनहरूको अति दोहनका कारण एकातिर विनासको लहर बढ्दो छ भने अर्कातिर त्यसको प्रभाब व्यापक रुपमा बढ्दै गएको छ । प्रकृति र संस्कृतिको संघारका रुपमा चिनिएको छ हुम्ला । यसैले पनि विविधतायुक्त छ यो जिल्ला । यहाँको गैरकाष्ठ वनपैदावारले जिल्लालाई प्राकृतिक स्रोत साधनको धनी भूगोलका रुपमा चिन्ने र चिनाउने गर्छ । तर पनि प्रकृतिमाथि मानवीय कलुषित भावनाका कारण हुम्लामा दिनप्रति दिन प्राकृतिक निधि र विधिहरू नाश हुँदै गएको छ ।
अमिवा आकारको हुम्लामा अनेकौं प्रकारका विविधता पाइन्छन् । नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग किमि क्षेत्रफलमध्ये हुम्ला ६,०१२ वर्ग किमि क्षेत्रफल रहेको छ । राष्ट्रिय भूगोलको ३.८५ प्रतिशत भूभाग हुम्लाले ओगटेर देशकै दोस्रो जिल्लाको स्थान पाएको छ । यो जिल्ला समुद्र सतहबाट ४ हजार फिटदेखि २४ हजार ६४ फिटसम्मको उचाईमा रहेको छ । सदरमुकाम सिमकोटको उचाई ९५०० फिट छ । यो जिल्ला पृथ्वीको २९०३५’ देखि ३००३५’ उत्तरी अक्षांस र ८१०१५’ देखि ८२०३०’ पूर्वी देशान्तरका बीचमा रहेको छ । यो जिल्ला साविक २७ गाविस, ९ इलाका र १ निर्वाचन क्षेत्रमा विभाजित थियो भने हाल एक संघीय निर्वाचन क्षेत्र, दुई प्रादेशिक निर्वाचन क्षेत्र, ७ गापा, ४४ वडा र जिल्ला समन्वय समिति सहितको राजनीतिक विभाजन रहेको छ ।
यो जिल्लाको भूबनोट तथा हावापानी तीन प्रकारको छ । हिमालय तथा उच्च पहाड क्षेत्र ११००० देखि २४०६४ फिट, होचो तथा पहाडी क्षेत्र ५००० देखि ११००० फिट र नदीको वेँसी क्षेत्र ४००० देखि ५००० फिटसम्मको उचाईमा रहेको छ । यहाँ शितोष्ण, समशितोष्ण र उपोष्ण हावापानी रहेको छ । यस जिल्लाका प्रख्यात नदीनाला, छहरा, ताल, कुण्ड र तप्पनहरू छन् । हुम्ला कर्नाली नदी कैलाश मानसरोवरको समीपमा रहेको च्छोलङकारी तालबाट उद्भव भएर माप्चा नदीको नाममा प्रख्याति पाएको छ । हुम्ला कर्नाली नदी जिल्लाको मध्य वक्षस्थलमा नागवेली भएर बगेको छ ।
हुम्ला जिल्लाको ऐतिहासिकतालाई केलाउँदा विसं ६६३ देखि विसं २०८१ सम्म १४१८ वर्षको कालखण्डमा कर्नाली प्रदेशको इतिहासलाई केलाउँदा धेरै उथलपुथल भएको पाउँछौं । ग्याल्बु गेसरको विशालकाय लोकगाथा, राजा नोर्जाङका लोककथाहरू, चार्ची, फाक, धमारी, माँगल र देउडा गीत हुम्ली जनजीवनको आवाज बनेको छ ।
राज्यले उपेक्षा गरे पनि विभिन्न समयमा विभिन्न विद्वानहरूको अथक योगदानस्वरुप कर्नालीको ऐतिहासिकताका बारेमा अध्ययन गर्नेहरूमा युरोपमा पादरी एन्टोनियो आन्डडा, विलियम मुरक्रोफ्ट, ह्यामिल्टन, राहुल साँस्कृत्यायन, कर्कपेट्रिक, स्वामी प्रभावानन्द, प्रो।रामरुहल, कोर्नेल जेष्ठ, टोनी हेगन, दितरे शुद्धु, जोसेप टुची, टेरी व्याग, बेरीबिसप, योगी नरहरीनाथ, रामनिवास पाण्डे, डा।राजाराम सुवेदी, डा।सूर्यमणि अधिकारी, रत्नाकर देवकोटा, पूर्णप्रकाश नेपाल यात्री, सत्यमोहन जोशी, चुडामणि बन्धू, प्रदिप रिमाल, स्थीरजङ्गबहादुर सिंह, डोरबहादुर बिष्ट, मोहनप्रसाद खनाल, श्रीकृष्ण गौतम, रमेश खड्का, हुमकान्त पाण्डे लगायतका धेरैको लगानी रहेको छ ।
स्थानीय लेखक, पत्रकार तथा साहित्यकारहरूमा छक्कबहादुर लामा, गोरखबहादुर बोगटी, जयबहादुर रोकाया, कर्णबहादुर रोकाया, डा मानबहादुर रोकाया, डा दिनेश रोकाया, डा बिनु रोकाया, कन्जोक लामा, लक्ष्मी ऐडी, जिग्मे लामा, डबलबहादुर महतारा, भिमबहादुर फडेरा, डा दीपेन्द्र रोकाय, दीपक बुढा, माधुरी शाही, बसन्ती शाही, बखतबहादुर शाही, बसन्त रोकाया, कर्णबहादुर रावल, जनक महतारा संकेत, मनप्रसाद काफ्ले, गोरखबहादुर बुढा लगायतको उल्लेख्य योगदान रहेको छ ।
ॐ मत्रिमुदे सालेदु हुँ, ॐ मणि पदमे हुँ, ॐ चन्द सूर्य मरुत् जस्ता समन्वयात्मक सांकेतिक मन्त्रहरूमा छरिएर रहेका ताम्रपत्र, कनकपत्र, शिलापत्र, ताडपत्र, भोजपत्र र स्मृतिपत्रहरू पनि प्राकृतिक साधान स्रोतहरूको बाहुल्यता रहेको छ ।
ॐ मत्रिमुदे सालेदु हुँ, ॐ मणि पदमे हुँ, ॐ चन्द सूर्य मरुत् जस्ता समन्वयात्मक सांकेतिक मन्त्रहरूमा छरिएर रहेका ताम्रपत्र, कनकपत्र, शिलापत्र, ताडपत्र, भोजपत्र र स्मृतिपत्रहरू पनि प्राकृतिक साधान स्रोतहरूको बाहुल्यता रहेको छ । जहाँ कोरिएका, लेखिएका तथा संग्रह गरिएका कथा, व्थथा र गाथाहरूमा उल्लेख भएको छत्तीस कर प्रणाली रहेको थियो । कर्नाली साम्राज्यको आर्थिक मेरुदण्डलाई बलियो बनाउने काममा प्राकृतिक स्रोत साधनहरू भएका, रहेका र छरिएका खानी, पानी, जडिबुटी, पात, पतकर, घाँस, दाउरा, स्याउला, सोतर, झ्याउ, च्याउ, ल्याग्रु, ईरु, ऐंजेरु तथा अन्य विभिन्न प्रकारका वनस्पतिहरूले सम्पन्न बनाएका प्रमाणहरू छन् । यसैले भनिन्छ “आकासको इगडी, पातालको निध” भन्ने कुरा नै यसकै प्रमाण हो ।
पुस हिउँ शिला, माघ हिउँ बिला
नाम अनेक भए पनि एरोमाथेरापी, हाइड्रोथेरापी, एपीथेरापी, ग्रेनथेरापी, स्टोनथेरापी, फायरथेरापी, सनथेरापी, मडथेरापी, नेचुरलथेरापी र रेजीनथेरापी जस्ता विभिन्न प्रकारका उपचार विधि र विधानको प्रयोग गरेर जीवनलाई स्वस्थ, स्वच्छ र निर्मल बनाउने काम गरेको पाइन्छ । यसैले त हाम्रा अग्रजहरूको आयु दीर्घजीवी भएको अनेकौं उदाहरण पाइन्छन् । यसैकारण पनि हिउँलाई एक प्राकृतिक औषधीका रुपमा मान्ने र जान्ने हुम्ली संस्कृति भएकोले नै “पुस हिउँ शिला, माघ हिउँ बिला” भन्ने वैज्ञानिक कथ्य र तथ्यको झड्को दिन्छ । त्यसैले पनि हिउँ खाएको जौ धेरै रोगको उपचारका लागि प्रयोग गरिन्छ ।
हुम्ली संस्कृतिको सम्बन्धसँग जैविक विविधताका उर्बर सम्भावनाहरूले आय आर्जनको अवसर प्रदान गरेको छ । जसरी हुम्ला प्राकृतिक तथा सांस्कृतिक रुपमा विविधतामा चित्रित छ । त्यसरी नै सामाजिक संस्कारहरूको विविधतालाई एकतामा अनेकता र अनेकतालाई एकताको मालामा गाँसेको छ ।
त्यसको उदाहरणहरूमा स्याँडाको लसुन, खगालगाउँ र बराईँको रातो चिनु, बरागाउँ र तोर्पाको खिस्से फापर, बुराउँसेको चोती कोइरा, पुमाको गहुँ, सिमकोट र रिमीको जौ, रायाको कोदो, थालीको उवा, दार्मा मिमीको धान, दुल्ली र पिप्लाङको मकैहरूको चर्चा परिचर्चा हुन थालेको छ । लेख, दोजाम, हेप्का, तांगिन, यांगुगाउँहरू महका घारहरूका उपमा भएका छन् ।
हुम्लाको बहुउपयोगी अन्न चिनु ।
जब जंगलमा खेर गएका चुली, खाम्बु, आरु, धुपी, रिगा, तारुचुक, भाँगाविलो, डिम्बर, वनजीरा, वनलसुन, लौठौ, ढँडेलो, चुत्रो, दारिम, च्याउ, स्याउ र झ्याउ जस्ता विभिन्न किसिमका फलफुल, पातपति¨र सबै आम्दानीका स्रोत बन्दैछन् । यसबाट घरेलुदेखि व्यवसायी उद्योगका रुपमा स्थापना हुन थालेका छन् ।
अहिले यी कुराहरूसँग समायोजन गरी दिगो, सस्तो र सरल प्रविधिको हस्तान्तरणका उदाहरणहरू स्वरुप आधुनिक घट्ट, सोलार ड्रायर, डोकेचुलो, सुधारिएको चुलो, झोल विषादी, झोल मल, आलु चिप्स, रष्टिक स्टोर, ग्रीनहाउस, गँडयौला मल, बीउ विकास बैक, जैविक चिया, खामुको तेल, ढँटेलाको पीना, हरियो बार, महको प्रशोधन, जडिबुटी खेती र यस्ता विभिन्न किसिमका गतिविधिहरूले गर्दा ब्यापार, व्यवसाय र रोजगारीका अवसरहरूको पनि सिर्जना गर्ने काममा सकारात्मक सूचकहरू देखा परेका छन् ।
वनस्पतिको बास्नादार सुवासको लाभा छाउँछ । कितपतङको सांगीतिक जाभा चल्मलाउँछ । वर्षको एक बाली पाक्ने यी गाउँ ठाउँहरूमा वैशाखदेखि जेठसम्म नाफल, फापर, उवा, जौ, तोरी, चोती, कोइरा, कला, चिनो र कागुनो छरेर असोज कार्तिकमा मात्र पाकेर थन्क्याउने गरिन्छ । यी दुई महिनाले बाँकी ७, ८ महिनाका लागि मान्छे र पशुवस्तुहरूको गाँस, बास र कपासको व्यवस्था गर्नैपर्छ ।
तिलखुरो बनेलु फल
छ्याङमा राखिएका विभिन्न जडिबुटीबाट बनाइएको मदिरा औषधीको रुपमा प्रयोग गरिन्छ । चीरु र फुरुलाई सम्पन्नता र विपन्नताको रेखा मानिन्छ । यो पनि पछिल्लो समय संक्रमित छ । बचाउने कि नयाँ स्वीकार गर्ने ? यसैले पनि हाम्रो समाज परसंस्कृतिकरण र आत्मीकरणको दोधारमा अल्झेको छ । यसैले पशुपालन जीवनको आधार बनेको छ । चौरीका लस्करहरूले जीवित स्पन्दनको आभा दिन्छ ।
हुम्लाको भाषिक पुरात्तत्व, सांस्कृतिक मानवशास्त्र, पर्यावरणीय संस्कृति, जातीय निधि र विधिहरूको अथाह स्रोत र साधनहरूको धरातलमा प्रकृतिको व्यापक प्रभाव परेकाले पर्यावरणीय भूगोललाई एक खुला विश्वविद्यालयको अर्थशास्त्र मान्न सकिन्छ ।
भनिन्छ कि हुम्ला सम्भावना र अवसरहरूको मेल्टीङ पट, माइल स्टोन, हर्बेरीया, फूलबारी र सप्तरङ्गी क्यानभास हो । र, त जैविक नमुनाका गाउँहरूमा माँसपुर, लिमी, चाला, नेप्का, राँती, निमागाउँ, लेख, याङ्गु, यारी र तम्मु अनेकौं छन् । जहाँका किसानहरूले जानी नजानी जैविक कृषिलाई नै जीविकोपार्जनको उत्तम पेशाको रुपमा अँगालेका छन् । तर पनि वैधानिक रुपमा जैविक कृषिलाई अँगालेर नमुना किसानहरूको उपाधि पाउने गाउँ लाङदुक हो । यहाँको सांस्कृतिक धरातलमा प्रकृतिको उपस्थितिलाई सहअस्तित्व, सहकार्य र सहकारीको रुपमा हुम्लीहरूले अँगालेका छन् । कामहरू सँगालेका छन् । दामहरू जम्मा गरेका छन् ।
नेपालमा सामुदायिक वन उपभोक्ताहरूको हक अधिकारको स्थापना, संरक्षण र सम्बद्र्धन गर्ने अभिप्रायले २०५२ जेठ १८ गते सामुदायिक वन उपभोक्ता महासंघको स्थापना भई हालसम्म विभिन्न सामुदायिक वन उपभोक्ता समुहहरूको सवाललाई स्थानिय तहदेखि राष्ट्रिय, अन्तराष्ट्रिय तहसम्म पैरवी र वकालत गर्दै आएको छ । यसले वन र वन व्यवस्थापनको कामका बारेमा व्यापक जानकारी र सन्देश दिन सफल भएको छ । यो विश्वको लागि एक नमुना अभ्यास पनि हो ।
नेपालमा सामुदायिक वनको नीति लागु भइसकेपछि यसका सकारात्मक तथा नकारात्मक कुराहरूको प्रभाव व्यापक रुपमा देखिन थाल्यो । यसले कर्नाली क्षेत्रको अर्थ सामाजिक क्षेत्रका भूइँचालो ल्याइदियो । एकातिर परम्परागत पशुपालन व्यवसाय लोप हुन थाल्यो भने अर्कातिर प्राकृतिक स्रोत साधनहरूमा स्थानीय समुदायको सहभागिता, उपयोगिता तथा व्यवस्थापनमा प्रत्यक्ष संलग्नता बढेर लोकतान्त्रिक अभ्यास हुन थाल्यो । यो कामले परेको दरार अझैसम्म पनि पुरिन सकेको छैन ।
यसले एकातिर वर्षौदेखि खेर गइरहेका प्राकृतिक स्रोत साधनहरू आय आर्जनको माध्यमका रुपमा रुपान्तरण भए भने अर्कातिर विकासका लागि स्थानीय स्रोत साधनको माध्यमबाट उपयुक्त प्रविधिको विकास विस्तार र हस्तान्तरणले समुदायको जीवनस्तर उकास्ने काममा सहयोग गर्ने कुरा प्रमाणित भयो ।
यसका केही उदाहरणहरूमा मेखालागाउँमा गठित रोचा सावउसको वनबाट संकलन गरी बेचिएको रकमले पेल्टिक सेटबाट बिजुली उत्पादन गरियो । यसपछि साविक मिमि गाविसको ऐडीबाडा, साविक दार्मा गाविसको रिमी, बोहराबाडा, साविक बरगाउँ गाविसको लाङदुक, साविक मेल्छाम गाविसको मेल्छाम, साविक खार्पुनाथ गाविसको दुर्पा, साविक सिमकोट गाविसको खाद्दक र पाँवाडा गाउँमा आधुनिक घट्ट निर्माण गरिने काम भएको थियो ।
पछिल्लो समय विकाससंगै विनाश पनि आउँछ भने झैँ केही मात्रामा भ्रष्टाचार, विनाश, विकृति पनि मौलाउन थाल्यो ।
यसका अलावा विभिन्न गैससहरूले बिजुली, आधुनिक घट्ट, सोलार, ग्रीनहाउस, फलफुल बगैंचा, नर्सरी, जडिबुटी खेती, पशुपालन, सहकारी र उपयुक्त प्रविधि प्रयोग र हस्तान्तरणमा सहयोग पुर्याई नयाँ आयाम थप्ने काम गरेका थिए । यसबाट सामुदायिक काम कार्यहरूका लागि महिला, दलित, जनजाति तथा विपन्न वर्ग तथा समुदायहरूको सहभागिता पहुँचको कुरामा बहसका साथै जनसहभागिता, पारदर्शिता र प्रतिबद्धताका सवालहरू बहसमा आएका हुन्, भलै लामो समयसम्म लागु नभए पनि । पछिल्लो समय विकाससंगै विनाश पनि आउँछ भने झैँ केही मात्रामा भ्रष्टाचार, विनाश, विकृति पनि मौलाउन थाल्यो ।
हुम्ला जिल्ला सम्भावनाहरूको सरोवर भएको हुनाले यहाँका प्राकृतिक तथा सांस्कृतिक साधन स्रोतहरूको समुचित रुपमा प्रयोग हुने सकेको खण्डमा यहाँको अर्थतन्त्रलाई व्यापक रुपमा सहयोग पुग्ने देखिन्छ । यसका लागि विभिन्न क्षेत्र, विषय, रुचि, चाहना र स्तरका समुदायहरू माझ समतामुलक विकासस, चेतनालाई प्रत्येक व्यक्ति, घरदैलो र समुदायको स्तरमा पुर्याउने कुरा नै पहिलो चुनौती हो ।
के काठका औजारहरू ? के स्थानीय हस्तकलाका प्रशाधनहरू ? के खानाका परिकारहरू ? के उपयुक्त सीप र प्रविधिका प्रचलनहरू हुन् ? के विभिन्न प्रकारका जडिबुटीहरूको प्रयोग र व्यापार ? यस्ता सम्पदाहरूको समुचित रुपमा खोज, संरक्षण, विकास र विस्तार गर्ने समय आइपुगेको छैन र ? त्यसले नै सम्भावनाहरूले अवसरहरूको खोजी गर्छ । अवसरहरूले रोजगारीको सिर्जना गर्छ । रोजगारीले आयमा सबलता ल्याउँछ । आयले व्यक्ति, घर, गाउँ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म बढाउनमा सहयोग गर्छ । सहयोग नै सामुहिक भावनाको आधार हो । यो आधार नै सद्भावको सदाचार हो । सदाचारले सीप, प्रविधि र प्रवृत्तिको प्रचार प्रसार गर्ने काममा टेवा गर्छ । यसैले हुम्ला सुनको थालीभित्रको मिठो परिकार मात्रै नभएर अवसरको स्रोत पनि हो ।
आम मानसिकता चामल फोविया
हुम्ला साधन र स्रोतले अत्यधिक धनी भईकन पनि उचित रुपमा परिचालन र व्यवस्थापन नहँुदा आम मानसिकता चामल फोविया, फास्टफुड फोबिया, झिनीगिन्टी मेनिया, मैदा मेनिया र गैससको राहतमा रुमलिएको छ । वनमा आगो लगाउने बहादुर नाममा चिनिन्छ । कालोधन्दा गर्ने धनीमानीको अग्रपंक्तिमा गनिन्छ । तर प्रकृति र संस्कृतिको समुचित प्रयोग गर्नु नै आजको आवश्यकता हो । यसैले, कुनै पनि कुराहरूका लागि जानकारी, बहस, छलफल र सन्देश प्रवाह गर्नु अति आवश्यक पर्छ । त्यसका लागि सीप र आम्दानी आवश्यकता पर्छ । आम्दानीले व्यावसायिता दिन्छ । व्यावसायिकताले प्रविधिको हस्तान्तरण गर्छ । प्रविधिले सचेतना बढाउँछ । सचेतनाले सञ्चार र सन्देश दिन्छ । सञ्चारले ज्ञानविज्ञानको खोजी गर्ने कार्यमा सहयोग गर्छ । खोज अनुसन्धानले जागरण ल्याउँछ । जागरण नै समयको परिवर्तन हो । परिवर्तनले नै समय, व्यक्ति, समाज र युगलाई नयाँ नयाँ रुपमा रुपान्तरण गर्छ, विकास गर्छ र निकास दिन्छ ।
पछिल्लो समय देखिएको वायोपाइरेसीको समस्या हो । यसका बारेमा जानकारी दिन आवश्यक रहेको छ । यदि कुनै पनि जैविक स्रोतहरू जस्तै वनस्पति, जीवजन्तु, सूक्ष्म जीवाणु, आनुवाशिंक वा वंशाणुगत श्रोतहरू वा तिनका कुनै अंश वा कुनैपनि स्थानीय ज्ञान, सीप, सूचना आदिको संकलन, अध्ययन तथा व्यवसायीकरण सम्बन्धित स्रोत–समुदाय वा स्रोत–राष्ट्रसँग पूर्वसूचना तथा पूर्वस्वीकृति नलिइकन कसैले हासिल गरी एकाधिकार जमाउदँछ अथवा चोरी गर्दछ भने त्यसलाई वायोपाइरेसी भनिन्छ ।
यो शब्द बायो अर्थात् ‘सजीव’ वा ‘जीव’ र पाइरेसी अर्थात ‘चोरी’ शब्दहरू मिलेर बनेको हो । यसरी उक्त बाहिरी व्यक्ति वा संस्थाले उक्त जैविक विविधता वा ज्ञान सीपमा एकाधिकार प्राप्त गरेपछि त्यही ज्ञान सीप तथा सम्पदाको प्रयोगलाई रोक लगाउन सक्छन् । यसरी एकाधिकार प्राप्त गरेपछि कृषक, समुदाय, राष्ट्रले आफ्नै परम्परागत ज्ञान, सीप र सम्पदाको पनि त्यसै उपभोग गर्न पाउँदैनन्, उपभोग गरेवापत कर, सलामी तिर्नुपर्ने हुन्छ ।
हाल सालैको एक प्रतिवेदनले केही अफ्रिकी मुलुक लगायतका विश्व विभिन्न देशहरूमा सयौं वायोपाइरेसीका घटनाहरू घटेको जानकारीमा आएको छ । खास गरी विकासोन्मुख मुलुकहरूबाट यसका जैविक विविधताहरू दिनानु दिन ह्रास हुँदै गइरहेको छ । यसैले पनि समुदायस्तरमा बायोपाइरेसीका बारेमा व्यापक सचेतना जगाउनु पर्ने आजको आवश्यकता हो ।
हाम्रो ज्ञान, सीप र सम्पदाको लेखाजोखा राखी भविष्यमा आइपर्ने यस्ता वायोपाइरेसीको रोकथामका लागि हामीले तुरुन्तै उचित कदमहरू चाल्नुपर्ने हुन्छ । वायोपाइरेसीको रोकथाम गर्न र स्थानीय संघ संस्थाहरूले स्थानीय जैविक रैथाने ज्ञानको पञ्जीकरण गरेर त्यसका विविधताको अनुसन्धान गर्दै सदुपयोग गर्न अग्रसर हुनुपर्छ । यसबाट वायोपाइरेसीलाई नियन्त्रण गर्न सकिन्छ ।
हुम्ला डायरीका स्तम्भकार कर्णबहादुर रोकाया, ग्रामीण पत्रकारितालाई आधार बनाएर कर्नाली प्रदेशको हुम्ला जिल्लाबाट साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएको छ ।