देउसी, भैलोको रकम यसरी सदुपयोग गरे कसो होला ?

देउसी, भैलोको रकम यसरी सदुपयोग गरे कसो होला ?

१३१० दिन अगाडि

|

१४ कात्तिक २०७९

‘एक बागी’  नागरिक अगुवाको बखान

‘एक बागी’ नागरिक अगुवाको बखान

१३११ दिन अगाडि

|

१३ कात्तिक २०७९

२०७२ को त्यो दिन सम्झन्छु, खगेन्द्र सङ्ग्रौला, सिकेलाल, कृष्ण खनाल, विजयलाल कर्ण, कृष्ण हाछेथु, दीपेन्द्र झा, युग पाठकलगायत विराटनगर पुगेका थियौँ ।  हामीलाई त्यहाँ बोलाउने वा पुर्याउने विराटनगरका मित्रहरू थिए। उनीहरू मध्ये दुई जना चिनेका खुसियाली सुब्बा र राकेश मिश्रको सम्झन चाहान्छु । अरू अरु मित्रहरू त्यतिखेर नै नचिनेको र अहिले पनि। कार्यक्रमको मकसद थियो नेपालको संविधान, २०७२ जारी भयो, त्यस पछिको अवस्थाको बारेमा विमर्श गर्नु। एकदिवसीय कार्यक्रम सम्पन्न भई फर्कँदा खगेन्द्र संग्रौला दाइले भन्नु भयो, आजकल नितान्त एक्लो भएको महसुस हुन्छ । अरु त अरू मोर्निङ्वाक हिँडने मेरो साथीले पनि छोडे। म बाटाको वारि पट्टि हिँड्छु, पारिपट्टिकाले धारे हात लाएर मेरो कुरो काट्दै, सराप्दै हिँडछन्। के भएको यो, माबुहाङ सर ? म पञ्चहरूको जगजगीमा पनि यति एक्लो कहिले भएको अनुभव गरिनँ। खगेन्द्र संङ्ग्रौला जस्तो निस्वार्थी, देश र जनताको बोली बोल्नु सिवाय उसको भन्नू अरु केही थिएन र छैन। उनले भनेको कुरा के थियो भने भूईँ मुन्छे जनजाति, मधेसी, दलित, महिला, संविधानमा आँटेनन्। उनीहरूलाई बाहिर पारेर जारी गरेको संविधानको के अर्थ ? उनको अपराध जन्यबोली त्यही थियो र अहिले पनि छ। अर्थात् ०७२ को संविधानमा तत् तत् समूहले हारेको थियो, खसआर्य समुदायले जितेको भाष्य चौतर्फी बनेको थियो। खगेन्द्र दाईको कुरा सुनेर मनमा माया पनि लाग्यो। मानौ दाइलाई मर्निङ वाकमा साथी  दिन पाए हुन्थ्यो तर उनी बस्ने चाबहिलमा, म कीर्तिपुरमा। युग पाठकसित कुरो भएको पनि हो, दाइसित अलिक बाक्लो भेटघाट गरौँ न पनि भने। तर जुरेन।  दाइलाई त्यो बेला मैले भनेको बिर्सेको छुइन, ‘दाइ यो कथित नेपाली समाज कति विद्रुप र कुरुप छ भने परिवारको कुनै सदस्य, छोराछोरीलाई नै भनौँ  कुष्ठ रोगले भेट्यो भने उसलाई एकान्त जङ्गलमा बास पारेर त्याग्ने समाज हो। त्यति कुरुप परिवार र समाज हो। तपाईंले जुन कुराको पक्षमा उभिनु भयो, उनै मान्छेहरु हुन्, जो जङ्गलमा नै बास गरून् भन्ने समाज हुन, दाइ, सँधै अवस्था त्यस्तो रहन्न।’  कार्तिक १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानको डबली अटि नअटि भेला भएका मनुवाहरु एकसरो हेरेँ, खगेन्द्र सङ्ग्रौला दाइलाई सराप्ने मित्रहरू छन् कि भनेर । कसैलाई देखिन । उज्वल प्रसाईको एउटा ह्वाटस एपको खबर सुनेर भेला भएका मुन्छे रिटठो नबिराई गन्दा ५ सयको वरिपरि हुन पर्छ। खगेन्द्र दाइ को हुन् ? डा सविन निङ्लेकु को बखानमा, पाको जानकार, बुढोहरू सबै मरिसकेको अवस्था, युवा नयाँ पुस्ता जन्मि नसकेका वा हुर्कि नसकेको बखत पिसाचहरूले उत्पात मचाउँछन्, त्यो देखेर तिनका विरुद्ध लेख्ने खगेन्द्र सङ्ग्रौला, मैजिकल मार्कसिस्ट हुन्। सटिक विश्लेषण लाग्यो ।  खगेन्द्र सङ्ग्रौलाबारे उज्जवल प्रसाईंले लेखेको पुस्तक ‘एक वागी’को सार्वजनिकीकरण भएको आजको दिन उदघोषक गगन थापा, कमेन्टेटर डा सबिन निङ्लेकु, डा महेश मास्के, उषा श्रेष्ठ र लेखक उज्जवल प्रसाईंको विचारहरु सुनेर दिन फलदायी रहेको अनुभव गरेँ। लेखक उज्वल प्रसाई, र खगेन्द्र संग्रौलाको जय होस् ।

बेईमानहरू नजितून् भन्ने चिन्ता बढी लाग्छ 

बेईमानहरू नजितून् भन्ने चिन्ता बढी लाग्छ 

१३१३ दिन अगाडि

|

१२ कात्तिक २०७९

यही ३१ असोजमा मधेसी आयोगले थारू तथा मुस्लिमहरूलाई पनि मधेसीमा सूचीकरण गर्ने सिफारिश गरेछ । यसको थारू आयोग, थाकस लगायत विभिन्न संघसंस्थाहरूले विरोध गरेका छन् ।  तर गाँठी कुरा के हो भने दलित, मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, समावेशी आयोग भनेका सुझाव तथा सिफारिस आयोग मात्र हुन् । ऐनमा यिनको अधिकार भनेको सरकारलाई सुझाव दिनु र सिफारिस गर्नुमै सीमित छ ।  जनता अधिकार खोज्दा उनीहरूलाई फकाउन, भुलभुलैयामा राख्न र केहीलाई जागिर खुवाउन मात्र यी आयोगहरूको गठन भएको छ, यी अधिकार सम्पन्न आयोग होइनन् । बराबर हैसियतका यी आयोगहरू कुनै शक्तिशाली हुने र कुनै कमजोर हुने कुरा सरकार वा सत्तासीनहरूसँगको साँठगाँठमा भर पर्दछ ।   हालसम्म हाम्रो देशको सरकारले जनता अधिकार खोज्दा अधिकारविहिन आयोग गठन गर्ने, कुनै घटना घ्टदा छानबिन समिति गठन गर्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने, मूल कानुनलाई अध्यादेश, विधेयक, ऐन, नियम, बिनियममार्फत् कमजोर पार्ने, समतामूलक समाज बनाउन नचाहने, समान अधिकार दिन नचाहने संकीर्ण सोंचका साथ काम गर्दै आइरहेको देखिएको छ ।  समावेशी आयोगको जन्म पनि शासकहरूको त्यही संकीर्ण र विकृत मानसिकताको उपज हो । विकृत उपज भएकै कारण त्यसले आरक्षणको सुविधा हटाउन सिफारिस गरिसकेको समाचार आइसकेकै छ ।  मधेसी आयोगमा पनि त्यस्ता विकृत मानसिकताका ब्यक्तिहरू छन्, जसले आफू हेपिंदा आवाज उठाउने र नबोल्नेलाई हेप्ने दुस्साहस गर्न सक्छन् । यस्तो दुस्साहस उनीहरू ईमान नभएका बेइमानहरूको साथ, संगत, समन्वयमा गर्न सक्छन् । सरकार ईमान भएकाहरूको छ भने यस्तो समस्या आउँदैन । सरकारमा बेईमानहरूको हाली मुहाली भयो भने यो समस्या आउँछ । यतिबेला हाम्रो सरकारमा बेईमानहरूको हालीमुहाली छ भन्ने कुरा लोकसेवा आयोगले थारूहरूको कोटा नछुट्याउनुबाट प्रष्ट हुन्छ ।   त्यसैले मधेसी आयोगका ती बिचराहरूदेखि मलाई खासै चिन्ता लाग्दैन । किनकि ती पनि सुझाव तथा सिफारिस आयोगका सदस्य हुन्, सुझाव दिएका होलान्, सिफारिस गरेका होलान् । त्यो भन्दा बढी चिन्ता त मंसिर ४ को चुनावमा कतै फेरी बेईमानहरू चुनिएर जाने त होइनन् भन्ने लाग्छ ।   

मतदान गर्दा हजार पटक सोचौं

मतदान गर्दा हजार पटक सोचौं

१३१८ दिन अगाडि

|

७ कात्तिक २०७९

२०७९ मंसिर ४ मा हुने चुनावमा खास गरी त्रिपक्षीय प्रतिस्पर्धा हुन गइरहेको छ । सत्तापक्षीय गठबन्धन, प्रतिपक्षीय गठबन्धन र अन्यको बिचमा । सत्तापक्षीय गठबन्धन र प्रतिपक्षीय गठबन्धन देशब्यापी छ ।  १. सत्तापक्षीय गठबन्धनमा काँग्रेस, माओवादी, लोसपा, माओवादी, एकिकृत समाजवादी र जनमोर्चा छन् ।   २. प्रतिपक्षीय गठबन्धनमा एमाले, जसपा, राप्रपा, राप्रपा नेपाल, काँग्रेस (बीपी) छन् ।  ३. अन्यमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेमकिपा लगायत साना दल एक्ला एक्लै लडेका छन्  । स्वतन्त्रहरु त एक्लै लड्ने नै भए । घनश्याम भुसाल लगायत स्वतन्त्रलाई  अपवादको रुपमा गठबन्धनको साथ छ ।  खस गरी सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको धेरै निर्बाचन क्षेत्रमा सत्तापक्षीय गठबन्धन (काँग्रेस गठबन्धन) र प्रतिपक्षीय गठबन्धन (एमाले गठबन्धन) लाई नागरिक उन्मुक्ति पार्टीले कडा टक्कर दिइरहेको छ भने धेरै निर्वाचन क्षेत्रमा स्वतन्त्रले कडा टक्कर दिइरहेका छन् ।  क, ख, ग, घ जो उठेपनि सत्तापक्ष समूहको नेतृत्व शेरबहादुर देउवाले, प्रतिपक्ष समूहको नेतृत्व केपी ओलीले गरिरहेका छन् भने नागरिक उन्मुक्ति पार्टीको नेतृत्व जेलबाट रेशम चौधरीले गरिरहेका छन् ।  देउवा र ओली आआफ्नो क्षेत्रबाट चुनाव लडिरहेका छन भने रेशमलाई निर्वाचन आयोगले चुनाव लड्नबाट रोकेको छ । देउवा र ओली भोटको लागि धेरैजसो ठाउँमा आफैं पुग्ने वातावरण छ भने रेशम चौधरी सशरीर आफैं पुग्न सक्ने अबस्था छैन ।  एकातिर काँग्रेस र एमालेको २ वटा गठबन्धन (पाँच पाँच पार्टीको) उभिएको छ भने अर्कोतिर नागरिक उन्मुक्ति पार्टी एक्लै उभिएको छ ।  अथवा भनौं एकातिर देउवा र ओली समुहसहित उभिएका छन् भने अर्कोतिर अधिकारको लागि आवाज उठाउँदा जेल सजाय पाइरहेका रेशम चौधरी एक्लै उभिएका छन् ।  तीनटैले जनताको अमूल्य मतको हकदार आफू रहेको दावी गरिरहेका छन् । न्यायाधीशको कुर्सीमा यतिबेला जनता छन् । न्याय दिने वा नदिने, कसको पक्षमा उभिने त्यो अधिकार जनतालाई छ ।  त्यसैले कसैको दवाव वा प्रभावमा पर्न नचाहने हो भने, सत्य र न्यायको पक्षमा उभिने हो भने जनता कुनै पनि उम्मेदवारको नगदी, जिन्सी, रक्सी, मासुको लोभबाट टाढा रहने र भोट हाल्नु अगाडि हजार पटक सोच्नुपर्ने बेला आएको छ । 

नेवार समुदायको दसैंः मोहनी नखः

नेवार समुदायको दसैंः मोहनी नखः

१३३९ दिन अगाडि

|

१६ असोज २०७९

सुनिल उलक नेवाः परम्परा अनुसार कौलाथ्व पारुको दिनदेखि मोहनी नखःको शुरुवात हुन्छ । नेवाः वर्षमा कौला अन्तिम महिना हो । नेवाःहरुको पात्रो चन्द्रमास अनुसार हुने गर्दछ । पहिलो दिन प्रत्येक महिना पारु (परेवा तिथि)बाट नयाँ महिनाको शुरुवात हुने गर्दछ । कौला महिनाको पहिलो दिन मोहनी नखःको शुरुवात हुन्छ । यसपछि आउने महिला कछलामा नेवाःहरुको नयाँ वर्ष शुरु हुन्छ । जुन म्हपूजाको दिन पर्दछ ।  हुन त अरु जातिले मनाउने दशैमा झै मोहनी नखः मा पनि घटस्थापनाकै दिन नल स्वाः (जमरा) रोपिन्छ । एकाबिहानै नजिकै रहेको खोलामा गएर खोलाको किनारबाट शुद्ध बालुवा तथा शुद्ध जल ल्याएर नल स्वाः रोप्नका लागि माटोको भेग (मुख खुला भएको भाँडा) मा बालुवा ओछ्याएर त्यसमा एकदिन अगाडि भिजाएको जौ (कसैले मकै पनि मिसाएर) छर्केर बालुवाले नै छोपेर रोपिन्छ । पूजा गरि जौ रोपिसकेपछि सो भेगःलाई फेरी अर्को भाँडाले छोपिन्छ । यसरी जमरा रोप्नुको कारण देवीका लागि शुद्ध फूल तैयार गर्नु हो । सूर्यको पनि आँखा नलागोस् । किरा पुतलीहरुले पनि जुठो नगरोस भनेर पूर्ण शुद्ध जमरा तैयार गर्नका लागि नित्य पूजा गर्ने गरिन्छ । तर नल स्वाः रोपिए पछि बिचका दिनहरुमा खासै केही गरिदैन । काठमाडौमा भने पञ्चमीको दिन पचिमह्र अर्थात पचली भैरवको जात्रा मनाउने गरिन्छ । अन्यथा नल स्वाः रोपे पछि सात दिनसम्म दैनिक नित्य पूजाको साथमा नल स्वाः को पूजा मात्र गरिन्छ ।  सप्तमीको दिनमा नेवाःहरु फूलपाती भित्र्याउने गर्दैनन् । फूलपाती पृथ्वीनारायण शाहको विजय अभियानसंगै बिभिन्न स्थानमा मनाउन थालिएको हो । नेवाःहरुको मोहनी नखःको शुरुवात भने सप्तमीको बिहान राँगोको मासु भित्र्याएपछि शुरु हुन्छ । यस दिन गुठीमा काटिएको राँगोको भाग गुठियारहरुमा बाँडिन्छ । यो मासु घरमा भित्राउने बेलामा मूल ढोकामा पुगेपछि एकैछिन बिसाउनु पर्दछ । यही मूलढोकामा बसेर मासुको सानो सानो तीन टुक्रा निकालिन्छ । यस मध्य एक टुक्रा दाँया तर्फ देवतालाई चढाउनु पर्दछ । बाँया तर्फ पितृलाई चढाउनु पर्दछ । अर्को एक टुक्रा शिर नघाएर पछाडी चढाइन्छ । यो टुक्रा पिखालखुको लागि चढाउने गरिन्छ । यसरी मासु भित्राए पछि बिहान समयवजी खाने गरिन्छ । यस दिन खासै भोज खाने चलन हुदैन । अष्टमीबाट भने दशैको रौनक अलग किसिमको हुने गर्दछ । बिहान पूजा पछि सप्तमीको दिन भित्राइएको मासुको परिकार बनाएर अष्टमीको दिन भोज खाने चलन छ । अष्टमीको बिहान समयवजी खाने गरिन्छ । समयवजीको भाग मूलढोका अगाडि रहेको पिखालखुमा पनि चढाउने गरिन्छ । अष्टमीको राती हरेक नेवास्हरुको घरमा ूकुछिभ्वयू खाने गरिन्छ । कुलको सबै सदस्यहरु मिलेर लाइनै बसेर खाने भोज भएको हुँदा ूकूलछिभ्वयू भनिएको हो । तर पछि अप्रभंश भइ ‘कुछिभ्वय’ भन्न थालियो । यो भोज नेवाःहरुको परम्परामा बिशेष महत्व राख्ने गर्दछ । यस भोजमा कूलका कुनै सदस्य उपस्थित हुन सकेन भने पनि उसको स्थानमा ब्व (भाग) राख्नुपर्छ । साथै बिबाहित दिदीबहिनीहरुको ब्व राखेर भोलिपल्ट उनिहरुको घरमा छोड्न जानुपर्ने परम्परा छ । तर अचेल खासै त्यस्तो गरेको देखिदैन । साथै अर्को महत्वपूर्ण कुरा कुछिभ्वय कुनै पनि साल जस्तोसुकै अवस्थामा पनि छुटाउनु हुदैन भन्दै परिवारको सदस्यको मृत्यु भइ मोहनी नख नै मनाउन नहुँदा पनि कुछिभ्वय भने खानैपर्छ भन्ने परम्परा छ । यदि कुछिभ्वयकै दिन परिवारको कुनै सदस्यको मृत्य भएमा पनि दाहसंस्कार समाप्त गरिसकेपछि अदुवालाई मासुको रुपमा तथा मासको वस्को ठाँउमा केराउको ब्वः बनाएर भोज खाने गरिन्छ । कुछिभ्वयको ब्व लगाउँदा सबैभन्दा पहिले द्यब्व (देवताको भाग) लगाउनु पर्छ । घौब्व तथा आगँब्व (आँगनमा पिखालखको भाग) लगाइसकेपछि परिवारको संख्या बराबर ब्व लगाउनुपर्छ । कुछिभ्वको भाग लगाउँदा केराको पात (म्वाय् लप्ते)मा राखिन्छ । भागको बिचमा च्यूरा (कतै कतै दुइमाना भनिन्छ) राखिन्छ । त्यसपछि बिभिन्न खानेकुरा राखेर सजाइन्छ ।  परिवारका सबै सदस्यहरु जेष्ठता क्रमको आधारले लहरै बसेपछि प्रत्येकको अगाडि केराको पात (म्वाय् लप्ते)मा राखिन्छ । क्रमश सबै भागमा सबैभन्दा पहिले च्यूरा राखिन्छ । कतै कतै कुछि भ्वयलाई दुइमाना च्यूरा खानुपर्छ भन्दै कुरुवाले च्यूरा भरेर भाग लगाउने पनि गरिन्छ । यसपछि झोल भएको मासु र अचार राखिन्छ । यो खाँदै गर्दा बिचमा च्यूरा थप्न आँउछ । च्यूरा थपिए पछि झोल भएको अन्य तरकारीहरु राखिन्छ । यसमा आलुको तरकारी, सिमी, बोडी, तथा फर्सीको तरकारीहरु हुने गर्दछ । यो मासु नखानेहरुको लागि बिशेष रुपले बनाएको पनि हुन्छ । यस पछि भने तःकू ला राखिन्छ । शुरुमा झोल भएको मासुको तरकारीमा मासुको सानो सानो टुक्रा बनाइएको हुन्छ । जसले गर्दा सो शुरुको मासुलाई चिकु ला भनिन्छ तर पछि राखिने मासुमा भने ठूलो ठूलो टुक्रा बनाइएको हुँदा यसलाई तस्कू ला भनिन्छ । यो मासु बिशेष प्रकारले बनाइएको हुन्छ । झोल नहुने तथा दहि राखेर धेरै बेरसम्म पकाएर बनाइन्छ । तस्कू ला भने परिवारको हैसियत अनुसार दुइ प्रकारको पनि बनाइन्छ । एउटा राँगोको अर्को बोकाको । यो संगै भुटुवा, छ्वयला, नलु, हिघासा, क्वेँ जस्ता मासुका अन्य परिकारहरु पनि आउने गर्दछ । भनिन्छ खानेकुराहरु कम्तिमा १२ प्रकारको हुनुपर्छ । साथै भागमा राखिने छ्वयलाको संख्या पनि १२ नै हुनुपर्छ । नेवाःहरुको हरेक भोजमा रक्सी तथा जाँड खाने प्रचलन परापूर्वकाल देखि नै रहेको छ । तसर्थ मासुको साथमा रक्सी पनि दिने गरिन्छ । पुरुष सदस्यलाई रक्सी  र महिला सदस्यहरुको लागि जाँड दिने गरिन्छ । रक्सी र जाँड बिशेष प्रकारको सलीमा दिने गरिन्छ । रक्सी सानो सलीमा राखिन्छ भने जाँड केही ठूलो सलीमा राखिन्छ । सली माटो वा ढलोटको हुने गर्दछ । मुख फराकिलो हुने भाँडोलाई सली भनिन्छ । तस्कू ला पछि राखिने परिकार भने वाउँ चा ल्याउने गरिन्छ । वाउँ चा भनेको हरियो सागसब्जी हो । वाउँ चा आउनु अगाडि कुनै पनि परिकार थप्दै खाने सकिन्छ । तर वाउँ चा आएपछि भोज अन्तिम भयो भन्ने बुझ्नु पर्दछ । वाउँ चा पछि भने कुनै पनि परिकार थप्नको लागि अनुरोध गर्न पाइदैन । वाउँ चा भनेको हरियो सागसब्जी हो । वाउँ चा आउनु अगाडि कुनै पनि परिकार थप्दै खाने सकिन्छ । तर वाउँ चा आएपछि भोज अन्तिम भयो भन्ने बुझ्नु पर्दछ । हरियो साग पछि पाउँ क्वा वा मी क्वा आउँछ । लब्सीबाट बनाइने पाउँ क्वा तातो तातो वा चिसो दुइ प्रकारको हुने गर्दछ । यहि लब्सीको झोलमा मेथी झानियो भने त्यसलाई मी क्वा भनिन्छ । खासमा यो अमिलो खानेकुरा पचाउनको लागि महत्वपूर्ण हुने हुँदा भोजको करिव करिव अन्तिममा दिने गरिन्छ । यो अमिलोले रक्सिको नशालाई पनि कम गराउन गर्दछ । अचेल भने सबै परिकार एकैसाथ राखिदिने तथा थाहा नपाइकन सबै मिसाएर एकसाथ खाने गरिएको पाउँछौ । यसपछि दही दिने गरिन्छ । दही बाँड्न आँउदा भने इच्छा अनुसारको च्यूरा पनि राखिने गरिन्छ । तर दहीसंग इच्छा नलागेकोले दही मात्र पनि खान सकिन्छ । दही राख्ने बेलामा पनि जेष्ठता क्रममा नै राख्ने गरिन्छ । दही शुभमंगलको पनि प्रतिक भएको हुँदा शुरुमा खाने ब्यक्ति भाग्यमानी हुने हुँदा कहिले काँही परिवारको कुनै एक सदस्यलाई सबैभन्दा पहिले दही दिएर पनि उसले चाहेको पुरा होस भनेर शुरुमा दिने पनि चलन यदाकदा भेटिन्छ । दही पछि सिसाफुसा ल्याइनछ । सिसाफुसा भनेको फलफूल काटेर टुक्रा टुक्रा बनाइएको हो । तर फलफूलको साथमा भिजाइएको केराउ र काटेको मुला पनि हुने गर्दछ । सिसाफुसासंग अन्तिम पटक रक्सी तथा जाँड पनि राख्ने गरिन्छ । यसपछि बल्ल कुछिभ्वय समाप्त हुन्छ ।  कुछिभ्वय खाने सकिए पछि जो मन लाग्यो उहि जुरुक्क उठ्न पाइदैन । सबैभन्दा जेष्ठ सदस्य उठिसके पछि मात्र उठ्न पाइन्छ । साथै आफ्नो दाँया बाँया बस्ने दाइ भाइ वा दिदीबहिनीलाई म उठ्छु है भनेर अनुमति लिएर मात्र उठ्न पाइन्छ । बिचमा उठ्नु पर्दा सबैभन्दा पहिले जेष्ठ सदस्यसंग अनुमति लिनु पर्छ । त्यसपछि आफ्नो दाँयाबाँया बसेकोसंग अनुमति लिए पछि मात्र उठ्न पाइन्छ । यसरी कुछिभ्वय समाप्त हुन्छ । कुछिभ्वय खाने सकिए पछि जो मन लाग्यो उहि जुरुक्क उठ्न पाइदैन । सबैभन्दा जेष्ठ सदस्य उठिसके पछि मात्र उठ्न पाइन्छ । साथै आफ्नो दाँया बाँया बस्ने दाइ भाइ वा दिदीबहिनीलाई म उठ्छु है भनेर अनुमति लिएर मात्र उठ्न पाइन्छ । कुछिभ्वयको भोलिपल्ट ‘स्याक्वत्याक्व’ भनिन्छ । यस दिन काटमारको काम हुन्छ । यस दिन सवारी साधनको पूजा तथा बलि दिने गरिन्छ । यस दिन पूजा गर्ने हुँदा विश्वकर्मा पूजाको दिन सवारी साधनको पूजा गर्ने गर्दैनन् । तर अचेल भारतीय देखासिखी गर्दै नेपालमा पनि विश्वकर्मा पूजाको दिन सवारी साधन तथा ज्यावलहरु पूजा गर्ने चलनको शुरुवात भएको पाउँछौ ।  ‘स्याक्वत्याक्व’ शव्द भने सयेकुक्व त्यात शव्दबाट अप्रभंश भइ भएको भन्ने मान्यता छ । सयेकुक्व त्यातको अर्थ जति सिक्यो त्यति फाइदा हो । यसरी जति सिक्यो त्यति राम्रो भनिएको शव्द अचेल काटमार गर्ने दिनको रुपमा बुझ्ने गरिन्छ । घरमा काटिएको जनावर (कुखुरा वा खसी)को टाउकोको भागलाई सिकाःभूू लिने गरिन्छ । परिवारको ठूलादेखि साना सम्मको पुरुष सदस्यको भागमा नाक, कान, आँखा, बङ्गरा आदी बाँडिन्छ । नवमीको रात मोहनीको मूख्य टीका मोहनी सिन्ह बनाउने गरिन्छ । यही मोहनी सिन्हको नामबाट नै यो चाडको नाम मोहनी रहन गएको हो ।  बलिरहेको दियोमा माथिबाट अर्को पाला घोप्टाएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वाँसोलाई नै मोहनी सिन्ह भनिन्छ । यस टिकालाई पहिले तान्त्रिक बिधिबाट बनाइ यसलाई परिवारको सदस्यको निधारमा लगाइदिएमा सिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास गरिन्छ । बलिरहेको दियोमा माथिबाट अर्को पाला घोप्टाएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वाँसोलाई नै मोहनी सिन्ह भनिन्छ । दशमीको दिनलाई नेवारहरु चालं भन्ने गर्दछन् र अन्य जातिले मनाउने दशैमा झै नेवारहरुमा पनि घटस्थापनाको दिन रोपिएको नल स्वाः निकालेर मोहनी सिन्ह लगाइदिने र नल स्वाः पनि दिने गरिन्छ । साथै नेवारहरुमा रातो वा सेतो रङको क्वखा अर्थात कपडाको धजा पनि लगाइदिने गरिन्छ ।  दशमीको भोलिपल्ट चालं क्वकायेगु भनिन्छ । यो दिन अष्टमीमा पूजा गरिएको औजारहरु तथा पुस्तकहरुलाई निकालिन्छ । यसरी निकालिँदा परिवारको सदस्यलाई लस्ल्हाये (दिने) गरिन्छ । टीका भने पूर्णिमासम्म नै लगाउने गरिन्छ । आफ्ना फुकी (दाजुभाइ) तथा आफन्तहरु सबैकोमा टीका थाप्न जानुपर्छ ।

चेपुवामा थारू समुदाय

चेपुवामा थारू समुदाय

१३४९ दिन अगाडि

|

७ असोज २०७९

नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रिय र बिबिध प्राकृतिक सम्पदाले भरिएको देश हो । यहाँको सामाजिक बनोट बिबिधताले भरिएको छ । सबै समुदायको आआफ्नो पहिचान छ । थारू समुदाय नेपाल निर्माण हुनु भन्दा अगाडिदेखि नै तराईमा हजारौं वर्षदेखि बसोबास गर्दै आएकाले मूलबासी आदिवासी हो भन्ने कुरामा दुइ मत छैन ।  अंग्रेजी शब्द इण्डिजिनियस पिपुलको नेपाली अनुवाद मुलवासी भए पनि ब्यबहारमा आदिवासी प्रयोगमा छ । त्यस्तै ट्राइब्सको नेपाली अनुवाद कविला हुनुपर्नेमा जनजाति राखिएको छ । यिनै शब्दजालमा पारेर आदिवासी, जनजातिलाई हिन्दू धर्मको वर्णसंग जोडेर आदिवासी र जनजातिको परिभाषा बिरोधाभाषपूर्ण बनाएका छन् । के नेपालका हिन्दू धर्मावलम्बी कविलाहरु यहाँका आदिवासी होइनन् ? के आदिवासी जनजातिहरु हिन्दू धर्म लेखाउँदा शुद्र हुने हो ?  नेपालको खसआर्यको सन्दर्भमा हिन्दू धर्मको वर्णाश्रमको आधारमा ब्राह्मणबाट पदच्युत हुँदै जैशी, क्षेत्री, खत्री, कामी, दमाई, सार्की तल्लो वर्णमा झरेका हुन् । कतिपय दलितका गोत्र र थर केलाउँदा उच्च ब्राह्मण, क्षेत्रीका गोत्र र थरसंग मिल्दछ, यो सत्य हो ।  सयकडौं बर्षदेखि दलितलाई उच्च वर्णका जातिले सामाजिक र राज्य शासनको आडमा विभेद गर्दै आएकोले सामाजिक बहिष्करणले अछुत दलित बनाइएको हो । वर्षौ देखिको सामाजिक बहिष्करणले दलित बनेका हुनाले सामाजिक विकासमा पछाडि परेका हुन् । पहाडी दलितहरु खसआर्य भए पनि खसआर्यमा राखिएको छैन ।  पूर्वतिर विष्ट थरीलाई क्षेत्रीमा गनिन्छ तर महाकाली, गढ्वाल तिरका विष्ट उपाध्याय बाहुन हुन् । नेपालको खसआर्यहरु मुलवासी होइनन् । यस प्रकार नेपालको खसआर्यमा वर्णाश्रमको विकास भएर जातिमा परिवर्तन भएको हो। खसआर्य भनेर ब्राह्मण, ठकुरी, क्षेत्री, दशनामीलाई मात्र समावेश गरेका छन् भने कामी, दमाई सार्कीलाई दलितमा राखिएको छ । जुन समुदाय पुर्खौदेखि आफनो ठाँटथलोमा बसोबास गर्दै आएको छ र आफ्नो सामाजिक शासन विधानअनुसार चलेको छ । आफ्नो परम्परा, रितिरिवाज, संस्कार, खानपान, रहनसहन, भाषा, मुल्य मान्यता, धार्मिक आस्था मानेर आज सम्म चल्दै आएको छ । र, हिन्दू वर्णाश्रम जस्तो सामाजिक विभेद गरेर तल्लो वर्णमा झारेको पाइदैन भने ती कविलाहरु त्यहाँका मुलबासी हुन् भनेर समाजशास्त्रीहरुको भनाई छ ।  मूल धारका राजनीतिक पार्टीमा लागेका थारू समुदायका अगुवाहरु पार्टीभित्र कठपुतली भएर कति दिन बस्ने हो ? थारू समुदायले पहिचानका लागि राजनीतिक विद्रोह गरेको कुरा राष्ट्रिय मुद्दा कहिले बनाउने हो ? चेपुवामा परेको थारू समुदाय कहिले उठ्ने हो ?  नेपालमा मुलबासी, आदिवासीलाई हिन्दू वर्णाश्रमभित्र नपर्ने भनेर राखिएको छ, जुन परिभाषा गलत छ । त्यसैले             मुलबासी कविलाहरुमा हिन्दू वर्णाश्रम जस्तो जातीय र वर्ण विभेद नभएको भनेर परिभाषित गर्नु पर्नेछ ।                             यही आदिवासी जनजातिको परिभाषाको कारणले आदिवासी जनजातिहरु आफ्नो जाति परम्परा र मुल्य मान्यताको आधारमा हिन्दू धर्म लेखाउन छोडदै गएका हुन् । सनातनदेखि कुल परम्परालाई त्यागेर धर्मान्तरमा लागेका छन् ।  आदिवासी जनजातिहरुले हिन्दू धर्म लेखाउँदा शुद्र वर्णमा पर्ने र आफ्नो स्वाभिमान मेटिने सामाजिक मनोभाव देखिएको छ । यसले जनजातिमा हीनताको बोध भएको छ भने आदिवासी जनजाति उत्थान प्रतिष्ठानको क्रियाकलाप पनि यही दिशा अपनाएको देखिन्छ ।  सरकारले थारू समुदायलाई आदिवासी जनजाति प्रतिष्ठानको समितिमा समावेश नगरेर बिभेद गरेको छ । यसले गर्दा पनि जवरजस्ति प्राकृतिक वा बुध्द धर्ममा रुपान्तर गर्नमा मनोवैज्ञानिक प्रभाव र दवाव दिइएको खवरहरु पढ्न पाईन्छ  । यस सवालमा थारू सामाजिक अगुवाहरु निरीह देखिएका छन् ।  एकातर्फ सरकारले थारू समुदायलाई सरकारी सेवामा आरक्षण नदिएर  बन्चित गर्ने र अर्कोतर्फ आदिवासी जनजाति उत्थान प्रतिष्ठानले खेदो गर्ने गरेको यथार्थ अवस्था हो ।  अहिले नेपालका राजनीतिक पार्टीहरुले पनि थारू समुदायलाई जनजाति कोटामा समावेस गरेको देखिदैन । यसको ज्वलन्त उदाहरण नेपाली काँग्रेसले गठन गरेको आदिवासी जनजाति संघ हो, जसमा एउटा थारु पाि परेनन् ।  मधेसीले थारूलाई मधेसी नमान्ने र थारू समुदाय पनि मधेसी होइन भन्ने द्वैध मानसिकताले मधेसवादी पार्टीहरु पनि थारू समुदायलाई प्रयोग गरेर सक्दो फाइदा मात्र लिएका छन् । पहाडे समुदायले थारू समुदायलाई तराईको मुलबासी हो भने पनि मधेसीको दर्जामा राखेर साथ सहयोग दिएको गरेको पाइएको छैन र भावनात्मक रुपमा एक हो भने पनि ब्यवहारमा छैन । आखिर थारू समुदायलाई सबै तिरबाट एक्ल्याउदै गएको कारण के हो ? राजनीतिक सिमाङ्कनले झन थारू समुदाय बसोबास गरेको ठाउँलाई टुक्रा टुक्रा पारेर कहिले पनि  संघीय, प्रदेश सभामा प्रतिनिधि पुग्न नसकिने अवस्था सिर्जना गरेको छ । स्थानिय निकायको अवस्था पनि यो भन्दा फरक छैन ।  नेपालको संविधान बमोजिम समानुपातिक समावेसी र प्रतिनिधित्व कसरी गराउनेतर्फ शासन चलाई रहेका राजनीतिक पार्टीहरुको सोच कहिले आउला ? मूल धारका राजनीतिक पार्टीमा लागेका थारू समुदायका अगुवाहरु पार्टीभित्र कठपुतली भएर कति दिन बस्ने हो ? थारू समुदायले पहिचानका लागि राजनीतिक विद्रोह गरेको कुरा राष्ट्रिय मुद्दा कहिले बनाउने हो ? चेपुवामा परेको थारू समुदाय कहिले उठ्ने हो ?  इटहरी–१२, सुनसरी 

पुष्पलालदेखि मदन भण्डारी जत्तिकै थियो प्रभु नारायण चौधरीको योगदान

पुष्पलालदेखि मदन भण्डारी जत्तिकै थियो प्रभु नारायण चौधरीको योगदान

१३५८ दिन अगाडि

|

२९ भदौ २०७९

राम सागर चौधरी स्वर्गिय प्रभु नारायण चौधरीका बारेमा कमै पढ्न, सुन्न पाईन्छ । यस पटक स्व प्रभु नारायण चौधरी प्रतिष्ठानले थारु युवालगायत अरुलाई पनि सम्मान गरेको समाचार पढ्न पाउँदा खुसी लाग्यो ।  कमरेड मनमोहन, पुष्पलालदेखि मदन भण्डारी जत्तिकै उहाँको कम्युनिष्ट आनदोलनमा योगदान रहेको छ । तर सोचनीय प्रश्न यो छ कि उहाँ किन ओझेलमा पर्नु भयो ? अरुका त कुरा छाडौं, आफ्नै सुनसरीबासी र मार्क्सवादी, एमाले कम्युनिष्टले किन बिर्से उहाँलाई ? राजनैतिक ईमानदारी र निष्ठाको मूल्यांकन यही हो त ? राजनीतिमा अग्रणी भए पनि थारु भनेर किनारा लगाएका हुन् कि ?  आफू मात्रै राम्रो असल, अरु सबै खराब प्रबृत्तिका सोचले ग्रसित हो कि ? प्रभु नारायणबारे धेरै बर्षदेखि मनमा उठेका यिनै खुलदुली र थोरै स्मरण यो लेखमा राख्ने चेष्टा गरेको छु । मैले स्व प्रभु नारायण चौधरीलाई २०३२ सालमा काठमाडौंमा पढ्न बसेदेखि चिनेको हुँ । उहाँले लामो जेल जीवनमै बीए,बीएल गर्नु भयो र जेलबाट बाहिर आएपछि काठमाडौंमै वकालत पेशा गर्न थाल्नु भयो । पुतलीसडकमा उहाँले अफिस राख्नु भएको थियो । फुर्सदका बखत म उहाँलाई भेट्न जान्थे ।  गाउँघरबाट किसानहरु कानुनी दाउपेंच र पहुँच नभएका कारणले जिल्ला, अञ्चल अदालतमा हारेर मलिन दुःखित भएर उहाँलाई बेदनाहरु सुनाउँथे । सर्वोच्चमा जित्ने झिनो आशमा पुगेका हुन्थे । दाङ, बर्दिया, कैलालीका थारु किसानका हालत झन नाजुक थियो । थारुका जग्गा जामिन पहाडेले हड्पेर सखापै पारेको भान हुन्थयो । मोरङ, सुनसरी, झापाका थारु तथा राजबंशीहरुको हालत पनि उस्तै थियो । बहुत मार्मिक कथा ब्यथाहरु सुन्ने र बुझ्ने मौका पाएँ । उहाँ आफ्ना ग्राहकका कुरा सुनेर सुन्यमा बिलिन हुनुहुन्थ्यो । कति पटक त आँखा रसाएको पनि महसुस गरें । उहाँले धेरैका मुदाहारुमा बहस गर्नु भयो । मेरो बसाइँ पुतलीसडकमै भएकाले मुद्दा फैसला अन्तिम पेसीका दिन बेलुका मलाई बोलाउने गर्नु हुन्थ्यो । प्रायः मुद्दामा सफल नै हुनुभयो र सफलता प्राप्त भएका मुद्दामा बडो गर्व र खुसी मान्नु हुन्थ्यो । किसानहरु जितमा हर्षका आँसु खसाल्दथे । साँच्चै त्यो क्षण रोमाञ्चकारी लाग्थ्यो । उहाँ मलाई पढन हौसला दिनु हुन्थ्यो र खर्चबर्च कसरी चल्छ सोध्नु हुन्थ्यो  । त्यसबखत काठमाडौंमा पढ्ने थारु विद्यार्थी औंलामा गन्न सकिने थियो । मलाई क्याम्पसले महिनाको रु २ सय छात्रबृति दिन्थ्यो । त्यस बखत त्यो ठुलै रकम थियो र उहाँ पनि खुसी मान्नु हुन्थ्यो र अरुलाई पनि मेरो बारेमा भन्नु हुन्थ्यो ।  यस्तै छुट्टीमा कहिले पिकनिकमा, कहिले स्व रमानान्द प्रसाद सिंहको घर पुल्चोकमा भेटघाट भइरहन्थ्यो । सामाजिक काममा मलाई चाख र अलि जिज्ञासु भएकाले आफूलाई लागेका कहिले सामाजिक, कहिले राजनैतिक  कुराहरु पनि सोध्ने गर्थें ।  उहाँ पञ्चायती शासनले आँंखा गाडेका ब्यक्ति भएकाले मलाई राजनीतिदेखि सकभर टाढा नै राख्ने प्रयास गर्नु भयो । सायद आफूले पाएको दुःख मैले नपाओस् भन्ने चाहना थियो कि ? या म पञ्चायतको बिरोधी भएर पनि प्रजातान्त्रिक विचारमा काँग्रेसको निकट भएर हो कि ? उहाँ एकपटक भूमिसुधार मन्त्री पनि हुनु भयो । तर कमाउनमा लाग्नु भएन । मेहनती, कर्मठ, धैर्यवान र आत्मविश्वासका धनी र असल मानिसका साथै राजनैतिक निष्ठाका उदाहरणीय ब्यक्ति हुनुहुन्थ्यो उहाँ । म जागिरे भएपछि पनि काम विशेषले काठमाडांै आउँदा उहाँलाई भेट्थें । एक पटक यस्तै भेटघाटमा के कति कारणले नेपालमा डुल्दैछौ सोधनु भएछ र मैले पनि एमबीबीएस पढ्न निवेदन दिन आएको बताएँ । स्वास्थ्य सेवा बिभागले दिने अंकभार र आफूले प्राप्त गरेको अंक जोडेर छनौट गरने प्रक्रिया बारेमा भनें ।  उहाँले भन्नुभयो, ‘हाम्रो माथि कोही आफन्त मानिस छैनन् । त्यसैले राजालाई बिन्तीपत्र लेखिदिन्छु दरवारमा चढाउनु । यसरी निवेदनको नमूना तयार गरिदिनु भयो । मैले नमूना त लिएँ तर किन हो कुन्नि दरवारमा  बिन्तीपत्र हाल्न मन लागेन । त्यसै बर्ष हुकुम प्रमांगीबाट एकजना छनौट भएको थाहा पाएपछि मलाई ग्लानीबोध र लाजले उहाँसंग भेटघाट कम हँुदै गयो । उहाँ पेसाप्रति इमानदार, ग्राहकप्रति उदार, कानुनप्रति निष्ठावान हुनुहुन्थ्यो । समाजसेवा र राजनीतिमा बराबर हिस्सा लिनुहुन्थ्यो । पेसाले अनि काठमाडौं बसाइँका कारणले जिल्लावासीसंग नजिकको हिमचिम हुन सकेन । र, जिल्लावासीले पनि उहाँको इमानदारी, राजनीतिक निष्ठालाई कदर गर्न चुक्यो कि भन्ने भान हुन्छ ।  उहाँ एकपटक भूमिसुधार मन्त्री पनि हुनु भयो । तर कमाउनमा लाग्नु भएन । मेहनती, कर्मठ, धैर्यवान र आत्मविश्वासका धनी र असल मानिसका साथै राजनैतिक निष्ठाका उदाहरणीय ब्यक्ति हुनुहुन्थ्यो उहाँ । अन्तमा उहाँका बिचारहरुले समाजलाई प्रेरित गरिरहोस् ।  ईटहरी–१२, खनार, सुनसरी