माघ ५ अर्थात् बलिदानी दिवसः संघर्षको डगर यथावत

माघ ५ अर्थात् बलिदानी दिवसः संघर्षको डगर यथावत

१२३१ दिन अगाडि

|

५ माघ २०७९

लुगा चोरलाई चिठी

लुगा चोरलाई चिठी

१२३१ दिन अगाडि

|

५ माघ २०७९

राजु स्याङ्तान  प्रिय चोरजी, रात्रीकालीन सम्झना ।  माघ महिनाको यो ठिहीमा म यतिबेला चोरिएको लुगा सम्झिरहेछु । तिमी त्यही लुगा लगाएर जसोतसो आजको रात काट्ने ध्याउन्नमा छौ होला । तिम्रो बाध्यता थियो, लुगा चोर्नु । मेरो बाध्यता थियो, घरबेटीको कार छेउमा लुगा सुकाउनु ।  तिमीले सम्झियौ होला, यत्रो घरवाला मान्छेको एउटा लुगा चोर्दा के होला र ? तर मेरो बाध्यता थियो, ग्राउन्ड फ्लोरमा बसेर बाहिर लुगा सुकाउनु । किनकि मलाई घरबेटीको छतमा जाने अनुमति छैन । तिम्रो बाध्यता थियो, लुगा चोरेरै यो वर्षको जाडो कटाउनु । किनकि तिमीलाई आगो ताप्न समेत सहरमा अनुमति छैन । प्रिय चोरजी  अहिले रातको ११ बजिसक्यो । यो रातको चिसो ठिहीमा भर्खरै म पनि कारखानाबाट डेरामा आइपुगेँ । बाटोभरि मेरो चोरिएको लुगा लगाएको तिमी भेटिन्छु कि भन्दै यता उति हेरेँ । कतै भेटिनँ । चिसो सडक पेटीमा कुकुरसँगै डल्लो परिरहेको तिमी हो कि भनि हेरेँ, होइन रहेछ । पुलमुनि लुगलुग काम्दै सुतिरहेको मान्छे तिमी हौ कि भनि हेरेँ, होइन रहेछ ।  एउटा मान्छेलाई कुकुरले लखेट्दै सडकको पल्लो छेउ पुर्यायो । उसको साथबाट केही खानेकुरा सडकमा खस्यो । त्यो खानेकुरा उसले खान पाएन, कुकुरले खायो । कुकुरले आफ्नो भाग खोसेको हेरिरहेको मान्छे तिमी हौ कि भनि हेरेँ, होइन रहेछ । एकजना मान्छे मिनरल वाटरका खाली बोतलहरु बोकेर बन्द भएको कवाडीखाना नजिक उभिरहेको देखेँ । तिमी हौ कि भनि हेरेँ, होइन रहेछ ।  प्रिय चोरजी, तिमी यो राती कहाँ सुतिरहेका छौ होला । तिम्रो ठेगाना कहाँ होला ? म केही जान्दिनँ । ठेगाना हराएको यो सहर आफै आफूलाई खोज्दै दिनभर भौतारिन्छ । यो सहर आफ्नै ठेगाना नपाएर आफैसँग छुटेको शताव्दीऔं भइसक्यो ।  थाहा छ चोरजी, उहिले उहिले सहर यस्तो निठुरी थिएन रे । उहिले त मान्छेको सेवा गर्न सहर बजार जन्मिएको रे । बजारमा मान्छे होइन, मान्छेमा बजार पुग्थ्यो रे । तर चोरजी समय कहाँ उस्तै रह्यो र ? जसरी सहरमा घरका तलाहरु थपिए, त्यसैगरि विभेद र वर्गका तहहरु पनि थपिए । सबैभन्दा थोरै काम गर्ने सबैभन्दा माथिल्लो तलामा, सबैभन्दा धेरै काम गर्ने सडक किनारमा । प्रिय चोरजी रातको मध्यान्नमा यतिबेला बाहिर सुनसान छ । यो जून लाग्ने रात हो कि होइन, मलाई थाहा छैन । बाहिर किरा भट्याङ्ग्रा, चराचुरुंगी केही कराएको सुनिन्न । पानी कलकल बगिरहेको, हावा सिरसिर चलिरहेको त झन् कहाँ सुन्न पाउनु । मलाई थाहा छ, यी सबैका आवाज सुन्न मैले यहाँबाट बिहानभरी हिँडेर पर पर पुग्नु पर्छ ।  बरु बेलाबेला सुनिन्छ, धर्ती छाड्दै उडेका हवाइजहाजको चर्चो आवाज । अनि सुनिन्छ, रात्रीकालीन मनोरञ्जनपछि घर फर्किरहेका सहरवासीका कल्याङ मल्याङ । मैले यो सबै तिमीलाई किन सुनाएँ भनेँ, मेरो लुगा जुन तिमीले चोरी गर्यौ, त्यो त्यति न्यानो छैन । भृकुटीमण्डपको बजारबाट १८ सयमा किनेको हुँ । त्यो लुगाको १२ सय जतिको न्यानो त मैले नै लगाइसकेँ हुँला । नयाँ देखेर तिमी त्यसैमा भर परौला, त्यसो नगर चोर जी ।  माथि भनिहाँले नि, सहरमा केहीको पनि आवाज सुनिन्न । सुनसान सडकको ल्यामपोस्ट मुनि जाडोले लुगलुग काम्दै तिम्रो च्यापु हल्लिएको यो सहरले देख्दैन, सुन्दैन । भोको पेट कुँइ कुँइ कराएको यो सहरले सुन्दैन । यो सहर त भर्खरै बजारमा आइपुगेको होइन, अराइभल भएको ब्राण्डेड लुगा ओडेर मस्त निदाइरहेको छ । प्रिय चोरजी,  भोलि तिमी र म भेटौं न । म तिमीलाई मेरो ७८ लटको बाइकमा राखेर दिनभर सहर घुमाउँछु । अनि देखाउँछु, यो सहरमा कहाँ कहाँबाट चोर्न मिल्छ कपडा ।  सबैभन्दा पहिला लैजान्छु तिमीलाई काठमाडौंका ब्यापारिक मलहरुमा, जहाँ कपडा मान्छेले होइन, प्लास्टिकले लगाएका छन् धेरै । त्यसपछि लैजान्छु, कपडा सिलाइरहेका मजदुरहरुको कारखानामा, जहाँका मजदुरहरु आफ्नै छालाका एक एक भाग उप्काउँदै जुग जुगदेखि सिलाइरहेछन् ब्यापारीका लागि कपडा ।  अनि हामी जानेछौं, यो देशका राष्ट्रपति, प्रधानमन्त्री, न्यायाधीस र सांसदहरुको पोसाक सिलाउने ठाउँमा, जहाँ लाज जत्ति जम्मै धागोमा उनिएर बसेका छन् र मान्छेजस्ता आकृति मात्रै संसदमा चटक देखाइरहेका छन् । र, हामी जानेछौं चोक चोकमा, जहाँ नक्कली ट्राफिकले समेत सक्कली लुगा लगाएर उभिएका छन् । प्रिय चोरजी,  तिम्रो चोरी पटक्कै पुगेन । सहरभरिका, गाउँभरिका र संसारै भरिका भोका नाङ्गाहरु जम्मा गरेर चोर्न जाउँ । त्यसबेला म पनि उभिएको हुनेछु तिमीसँगै । जब हजारौंले, लाखौंले, करोडौंले एकाध दर्जनको घरमा चोर्न पुग्छन् नि त्यो चोरी हुँदैन, चोरेको हुँदैन, खोसेको हुन्छ, विद्रोह गरेको हुन्छ ।  उही तिम्रो ज्यानमा भएको लुगा लगाउने अघिल्लो मान्छे राजु स्याङ्तान  २०७९ माघ ४  काठमाडौं

ऐतिहासिक माघ २, मधेश विद्रोह र उपेन्द्र यादव

ऐतिहासिक माघ २, मधेश विद्रोह र उपेन्द्र यादव

१२३३ दिन अगाडि

|

२ माघ २०७९

अमरेन्द्र यादव त्यो कस्तो संयोग थियो ! जतिखेर मधेशी राजनीतिका संस्थापक वेदानन्द झा आफूले जन्माएको तराई कांग्रेस पार्टी र श्रद्धेय रामजनम तिवारीहरुलाई अलपत्र पार्दै निरंकुश राजा महेन्द्रको निर्दलीय पंचायती व्यवस्थामा समाहित भएका थिए । ठिक त्यही सेरोफेरोमा सप्तरी जिल्लाको एउटा सानो गाउँको निम्नमध्यम वर्गीय परिवारमा उपेन्द्र यादव नामक बालक जन्मिएका थिए । त्यो कस्तो संयोग थियो ! जतिखेर तत्कालीन राजा विरेन्द्र र उनका टिके प्रधानमन्त्रीहरुले पञ्चायती व्यवस्थालाई युग युगान्तरसम्म टिकाइराख्न अनेक हिंस्रक/अहिंस्रक षड्यन्त्र रच्दै थिए । ठिक त्यही सेरोफेरोमा उपेन्द्र यादव भन्ने जुझारु युवा नेपाल र भारतका कम्युनिस्ट संगठन र प्रशिक्षण शिविरहरुमा माक्र्स र लेलिनलाई पढ्दै मुलुकमा गणतन्त्र स्थापना गर्ने योजना बुन्दै थिए । त्यो कस्तो संयोग थियो ! जतिखेर गजेन्द्रनारायण सिंह र हृदयेश त्रिपाठीहरुले ३ देखि ६ संसदीय सिट जित्दैमा मन्त्री पद खानका लागि दौरा सुरुवाल सिलाउँदै थिए र मन्त्रीपदको छिनाझप्टीमा सद्भावना पार्टी फुटाउँदै थिए । ठिक त्यही सेरोफेरोमा उपेन्द्र यादव नामक एकजना असन्तुष्ट नेताले राजतन्त्र स्वीकार गरेको नक्कली कम्युनिस्ट पार्टीलाई परित्याग गरी मधेश जनअधिकार फोरम नामक राजनीतिक संगठनलाई गोडमेल गर्दै थिए । त्यो कस्तो संयोग थियो ! जतिखेर महन्थ ठाकुर पटकपटकको मन्त्री पद प्राप्तिपछि पनि गिरिजाको किचेन क्याबिनेटमा सदाबहार मन्त्री पदमा विराजमान थिए । ठिक त्यही सेरोफेरोमा उपेन्द्र यादव नामक क्रान्ति पुरुष त्यो विभेदकारी अन्तरिम संविधान जलाउन आफ्ना सदयोद्धा क्रान्तिवीरहरुसँग आन्तरिक तयारी गर्दै थिए । त्यो कस्तो संयोग थियो ! जतिखेर कांग्रेसका कोषविहीन कोषाध्यक्ष ठाकुर अन्तरिम संविधानको घोषणामा मौन समर्थन जनाउँदै थिए, भित्ताभित्तामा ‘गर्वसे कहु हम मधेशी छी...’ लेख्ने मातृका यादव आफूभित्रै दिग्भ्रमित थिए, कुनै एक सद्भावना पार्टीका नेता राजेन्द्र महतो संघीयताविहीन संविधानको घोषणामै सन्तुष्ट थिए । ठिक त्यही बेला उपेन्द्र यादव आफ्ना २८ जना सहयोद्धाहरुसँग एकात्मक नेपालको केन्द्रीकृत राजधानीमा त्यो विभेदकारी संविधानका पानाहरुमा आगो झोँस्दै थिए । त्यो कस्तो संयोग थियो ! जतिखेर एउटा मधेशी नेताले मधेश विद्रोहलाई पानीको फोका भन्दै थिए, कुनै अर्को मधेशी नेताले त्यो विद्रोह एक दुई दिनमै आफैँ बिलाएर जान्छ भन्दै थिए । ठिक त्यही बेला उपेन्द्र यादव काठमाडौंदेखि मधेशसम्मका सडकहरुमा धक्कामुक्का खाँदै अभूतपूर्व मधेश विद्रोहलाई नेतृत्व प्रदान गर्दै थिए । मधेश विद्रोहको १६ वर्षपछि पनि दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रहार झेल्दै त्यही उपेन्द्र यादव नेपालको ‘हार्डकोर’ राजनीतिमा आज पनि सक्रिय छन् । कम्युनिस्ट आन्दोलन र मधेश/पहिचानको राजनीति हुँदै पछिल्लो विभेदकारी संविधानको घोषणापछि उनी अहिले पहिचानसहितको समाजवादी राजनीतिक धार निर्माणमा तल्लीन छन् । उनमा भएको भौतिक उर्जा, वैचारिक सामर्थ्य र भविष्यमुखी राजनीतिक चेतले उनी केही दशक अझै सडकदेखि सरकारसम्मको राजनीति गर्ने निश्चित छ । त्यसैले उनी आज पनि इतिहासको निर्मम कठघारामा उभिएका छन् । उनको समग्र राजनीतिक जीवन र योगदानलाई भविष्यले फैसला गर्ने नै छ । तर एउटा कुरा के ऐतिहासिक रुपमै प्रमाणित भइसकेको छ भने उपेन्द्र यादव मधेश विद्रोहको सर्वोच्च नेता एवं नेपालमा संघीयताको मुख्य प्रवर्तकको रुपमा स्थापित भइसकेका छन् ।  

मधेश प्रदेश र  थरुहट  ‘ढकिया’ परिपुरक जस्तो भए, संघीयता र अधिकार प्राप्ति झन सहज

मधेश प्रदेश र थरुहट ‘ढकिया’ परिपुरक जस्तो भए, संघीयता र अधिकार प्राप्ति झन सहज

१२७९ दिन अगाडि

|

१६ मंसिर २०७९

सोहन साह यो निर्वाचनले मधेश/थरुहटले केही प्रष्ट सन्देश दिएको छ, कि जसरी पनि मधेशबाट कम्तीमा दुइटा वा पर्यो भने तिनवटा (ढकिया , यो पाली नभए अर्को पाली) राष्ट्रिय पार्टी बन्ने नै छ। मधेश केन्द्रीत पार्टीको आधार कम्जोर नभइ अझ वृहत भएको छ। यसै बेला, सरकारमा जाने कि नजाने भन्ने वहियात बहस चलेको छ। कति बुद्धिजीवीले त नयाँ उदय भएका शक्ति सरकारमा जानै हुन्न जस्तो बहस समाजिक सञ्जाल र टिभीमा गर्दैछन्। यो नितान्त इमोशनलर निराशाजनक सोच हो। तर, मधेशको नयाँ शक्तिहरु सरकारमा जानुपर्छ भन्ने तर्क बलियो छ। केही कारण यस्तो होलान् : (१) चुनावमा थुप्रै विकासका वाचा गरेका छन्। यसलाई पूरा गर्न (आंसिक रुपले भए पनि) सरकारमा जानुपर्ने हुन्छ। (२) केही महत्त्वपूर्ण कानुनहरु संविधान लागू गर्न अपरिहार्य छ। जुन, अहिलेको सत्ता गठबंधनसंग मात्र सम्भव छ। ती महत्त्वपूर्ण कानुन पारित भए  त्यस्को श्रय पनि नयाँ मधेशमा उदय भएका शक्तिले पाउने छन्। (३) सरकारमा जानू भनेको साधन पनि हो। बाधक पनि हो। विगत को मधेशी पार्टीले केही गरेनन्  भन्दैमा चरम निराशावादी सोच राख्नु उपयुुक्त हुदैन। नियत राम्रो छ भने सरकारमा जानू साधन जस्तो हो: आफ्नो एजेन्डा, नीति , कार्यक्रमलाई स्थपित गराउन। (४) मधेसी बुद्धिजीवीहरु low equilibrium mindset मा बस्ने बानी भएको छ। यसले चरम निराशावादी सोच र हारको मनस्थिति मधेशी जनतामा निर्माण गरेको छ। कम्तीमा यो निर्वाचनको परिणामले politically confident राजनीतिक पार्टीको रुपमा हौरन (जनमत) र ढकिया (नागरिक उन्मुक्ति पार्टी) स्थापित होस् । अनि confidently सरकारमा गइ , काम गरेर देखाउने मौका पनि हो यो। (५) सरकार मै जानू भएन भने अर्को चुनावमा जनताले भन्लान् : "तपाईं सरकारमै नजाने भएपछि, तपाईंलाई किन वोट दिनु" ! अनि, के उत्तर दिने ? त्यसैले राजनीतिको एक मात्र सुत्र हो, सत्तामा पुग्ने !! अरु सबै, तपशिलको कुरो हो। (६) मधेश प्रदेश र "थरुहट" ढकिया परिपुरक जस्तो भए, संघीयता र अधिकार प्राप्ति झन सहज हुन्छ। एकले अर्को संग निरन्तर सहयोग, समन्वय र सम्बाद होस् । Lets start fresh भने जस्तै !! दुबै सरकारमा जाने वातावरण बनोस् !! आशावादी भइ बस्ने हो। तर्क संग सहमति वा विमती राख्न पाइयो।

दाङ क्षेत्र नं १ का उम्मेदवारहरुः कसले कसलाई कस्तो आरोप लगाए

दाङ क्षेत्र नं १ का उम्मेदवारहरुः कसले कसलाई कस्तो आरोप लगाए

१२९४ दिन अगाडि

|

१ मंसिर २०७९

छविलाल कोपिला  यसपाली सबै उम्मेदवारहरुको भाषण सुन्न पाइएन । दाङ क्षेत्र नं. १ का केही उम्मेदवारहरुको भाषण सुन्न मौका मिल्यो । यस पटकका भाषणमा अधिकांशमा व्यक्तिगत गाली, लान्छना काम सुनियो । १. शान्ता चौधरी, प्रतिनिधिसभा प्रत्यक्ष  उम्मेदवार नेकपा एमालेकी सचेतक एवम् पूर्व सभाषद् शान्ता चौधरी सबैभन्दा बढी व्यक्ति गाली, गलौज, लान्छना लगाउनेमा देखिनु भयो । उहाँले मेटमणिदेखि रेशमसम्म गाली गर्न भ्याउनु भयो । मेटमणिलाई त झन घुमाइ फिराइ सत्तोसराप गर्नु भयो । २. सुरेन्द्र चौधरी, प्रतिनिधिसभा प्रत्यक्ष  उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले अन्य दलको सामान्य टिकाटिप्पणी गर्नु भयो र मेटमणि चौधरीले गाउँका केही प्रलोभनका सामाग्री वितरण गरिरहेको जानकारीमा आएको कुरा सुनाउँदै यस्तो कार्य गरेको पाइएमा कडा प्रतिवाद गर्ने पनि बताउनु भयो । ३. योगेन्द्र चौधरी, प्रतिनिधिसभा समानुपातिक  उम्मेदवार नेपाली कांग्रेसका लोकप्रिय नेता योगेन्द्र चौधरीले रेशम चौधरीप्रति सहानुभूति प्रकट गर्दै ढकियाले केही स्थानमा विजय हुँदैमा रेशम चौधरीलाई जेलबाट छुटाउन नसकिने बताउँदै यसको लागि सबै एक जुट भएर नीति परिवर्तन गरेर मात्रै सम्भव हुने कुरा जोड दिनुभयो । उहाँले एमालेको पटक पटक संसद विघटन, ७० वर्षपछि जनताले प्राप्त गरेका संविधान भङ्ग र सरकार बाहिर रहेसम्म लगातार संसद अबरुद्ध गरेकोले गठबन्धन आवश्यक रहेको बताउनु भयो । व्यक्तिगत आरोप सुनिएन । ४. मेटमणि चौधरी नेकपा एकिकृत समाजवादीका नेता एवम् शहरी विकास मन्त्री मेटमणि चौधरीले योगेन्द्र चौधरीको मन्तव्य माथि सहमति जनाउँदै आफ्ना चुनावी योजना बारे कुरा राख्नु भयो । उहाँको मन्तवयमा व्यक्तिगत रुपमा कसैप्रति टिकाटिप्पणी सुनिएन । ५. अनुराग खड्का, प्रदेशसभा प्रत्यक्ष उम्मेदवार नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काले आफ्नो बुबा खुमबहादुर खड्काको साख जोगाउन राजनीतिक क्षेत्रमा लागेको बताउँदै आफू युवा भएकोले सबैको साथ सहयोगको अपेक्षा सहित आफू जिम्मेवारी पूर्वक विकास गरेर देखाउने प्रतिबद्धता जाहेर गर्नु भयो । व्यक्तिगत रुपमा टिकमाटिप्पणी गर्नु भएन । ६. कुलबहादुर के.सी, प्रदेशसभा प्रत्यक्ष उम्मेदवार नेकपा एमाले नेता एवम् निवर्तमान लमही नगरपालिकाका मेयर कुलबहादुर के.सी.ले शालीन तारिकाले आफ्नो बिश्लेषणात्मक योजनाहरु राख्नु भयो । सामान्य दलगत टिकाटिप्पणी बाहेक व्यक्तिगत आरोप सुनिएन ।

 उचाइ सिनेमाले लिएको ‘उचाइ’

 उचाइ सिनेमाले लिएको ‘उचाइ’

१२९५ दिन अगाडि

|

३० कात्तिक २०७९

डा सावित्री मल्ल कक्षपति भर्खरै हिन्दी सिनेमा ‘उचाइ’ सिनेमा हेरेर फर्किएँ । संस्कृतिविद् तेजेश्वर बाबू ग्वँगले नेपालीले लगाउने नेपाली टोपीलाई भावनात्मक रूपमा सगरमाथा (माउन्ट एभरेष्ट)को उचाइसँग तुलना गर्नुभएको छ । हुन पनि हामी नेपालीको सांस्कृतिक पहिरनको खाँटी र बिम्बात्मक अभिव्यक्ति हो यो ।  सिरको यही उचाइलाई बोकेर अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनीले यो टोपी लगाएर सिनेमाको प्रस्थान विन्दु तय गरेको छ र कथा माउन्ट एभरेष्ट बेस क्याम्पतिर अगाडि बढेको छ । सिनेमामा अधिकांश रूपमा नेपालको प्राकृतिक सुन्दरताले स्थान पाएको छ । यसबाट सांस्कृतिक पर्यटनको प्रवर्द्धन हुन पुगेको छ । विश्व परिवेशमा पूर्वीय लोक विश्वासमा विशेष गरी हिमाली क्षेत्रका समुदायले हिमाललाई भगवान् वा देवी मानेर उनको चरण स्पर्श गर्ने गर्दछन् । घटनाको कार्यव्यापारले विभिन्न पात्रका विभिन्न जीवनभोगाइका विभिन्न तहको अन्तर्विकास गर्दै मृतक साथीको खरानीलाई बेसक्याम्पमा पुर्‍याएर समर्पण गर्नुले यसलाई पुष्टि गरेको छ ।  कथा,पटकथा, सिनेमाटाग्राफी र निर्देशन राम्रो छ । कथाको विकासको केन्द्रमा माउन्ट एभरेष्ट चढ्ने कार्य आएको छ । तर एभरेष्ट चढ्न हिँडेका र कथ्यको मूलधारमा आएका हरेक पात्रलाई आआफ्नो जीवनभोगाइ अभिव्यक्त गर्ने  स्थान दिएर प्रस्तुतिले न्याय गरेको छ । विभिन्न जीवनका विविध भोगाइलाई कतै दृश्य र कतै सूच्य प्रस्तुति दिएर निर्देशकले आफ्नो सिर्जनशील परिकल्पनाको उचाइलाई स्थापित गर्न सफल भएका छन् । ठाउँ ठाउँमा हाँसो छ, तर त्यो हाँसो जवर्जस्ती स्थापित भएको छैन, चरित्रको स्वाभाविक स्वभावसँग घुलेर आएको छ , चियासँग चिनी मिसिएजस्तै ।  मूलकथा जेष्ठ नागरिकले बोके पनि पछिल्लो युवापुस्ताको जीवनभोगाइ पनि सम्बोधन भएको छ । त्यही सम्बोधनले बेसक्याम्प पुग्न अवरोध भइरहेको बाटो खुलेर कथाको उद्देश्य पूरा भएको छ । नेपालमा भारतीय सिनेमा सुटिङका लागि सहयोग गर्नका लागि नेपाली जनशक्ति तयार भएकोमा खुसी लागेको छ । सुटिङका लागि लद्दाख छान्दै गर्दा नेपालमा सुटिङ गर्नुपर्छ भनेर यसलाई नेपाल भित्र्याएकोमा सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छु । यसरी त हुने हो पर्यटन प्रवर्द्धन । युवाले त गर्दैछन् । यस्तो कामलाई नीति निर्माताले सहजीकरण गर्नुपर्छ ।  नेपालको हिमाल र प्रकृति सिनेमाको माध्यमबाट विश्ववबजारमा पुग्नु यसको विशेषता हो । नेपालका र भारतका सम्पूर्ण टोलीलाई हार्दिक बधाई ।

भोट माग्न आउनेहरूलाई थापाजीका ३ सजिला प्रश्न, उत्तर पो गाह्रो

भोट माग्न आउनेहरूलाई थापाजीका ३ सजिला प्रश्न, उत्तर पो गाह्रो

१२९५ दिन अगाडि

|

२९ कात्तिक २०७९

शिव सत्याल  गत मंगलबार सहकर्मी सुवास श्रेष्ठसँग तनहुँको स्थलगत रिपोर्टिङ सकेर लमजुङ उक्लियौँ । दमौलीबाट डुम्रे आएर बेसीशहरतिर मोडिएको हाम्रो बिहानी यात्रा रोचक, कष्टकर र चुनौतीपूर्ण पनि थियो ।  कात्तिक महिना भए पनि बाटो छोप्ने गरी हुस्सु झरेको थियो । तर त्यत्ति शीत पनि थिएन, जसले हाम्रो ज्याकेट निथ्रुक्कै भिजाओस् ।  डुम्रेबाट अलि माथि डाँडामा पुगेपछि बाटो पनि सोध्ने र चिया पनि खाने भन्दै सहकर्मी सुवासजीले मोटरसाइकल छेउ लगाए । र, छिर्‍यौँ नजिकैको एक चियाखाजा घरमा । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको दमौली बजारस्थित घरमा खाएको चियाले डुम्रे आइपुग्नु अघि नै छोडिसकेको थियो । विहानको ७ बजेअघि नै पौडेलसँग लिएको भिडियो अन्तरवार्ता छिट्टै कार्यालयमा पठाउन पाए हुन्थ्यो भन्ने हुटहुटीले हामी दुबैलाई पिरोलेको थियो । किनकि छिट्टै पठाउन पाए भिडियो एडिटिङ हुँदै गर्‍थ्यो र टेक्स्ट पठाउने बित्तिकै भिडियोसहित अन्तरवार्ता हाल्न पाइन्थ्यो ।  चिया खान छिरेको होटलमा वाइफाइ रहेछ । राम्रै चल्दो पनि रहेछ । अनि त, क्यामेराबाट भिडियो डाउनलोड गरी एडिटिङको लागि केन्द्रीय कार्यालय पठाइ हालियो ।  ‘भिडियो पनि गयो, मनमा सन्तोक लाग्यो । अब बेसीशहर कसरी पुग्ने भन्ने चिन्ता मात्रै रह्यो,’ सुवासजीले यसो भन्दै गर्दा होटलवालीले चनाको प्लेट ल्याएर हाम्रो टेबुलमा राखिदिइन् । ‘भिजाएको चना छ, फ्राई गर्न केही समय लाग्छ है’ भनेर होटलवालाले भनेकाले त्यति चाँडै चना आइपुग्छ भन्ने हामीलाई लागेकै थिएन ।  होटलको विल तिर्ने बेलामा रमाइलो भयो । कति भयो भनेर सोध्दा होटलवालीले ४५० रुपैयाँ भनिन् । दुई प्लेट चना, दुइटा अम्लेट र २ कप चियाको त्यति हुन्छ जस्तो लागेन । अनि विल बनाउन भन्यौँ । विल छैन भनिन् । मोबाइलको क्यालकुलेटर निकालेर हिसाब सोध्न थाल्यौँ । उनले हिसाब सुनाउनुको साटो बाहिर कतै निस्किएका सायद श्रीमान्लाई फोन लगाइन् । र, हाँस्दै भनिन्– मैले त ४५० भन्ने सुनेको, होइन रहेछ, २५० भयो रे ।  ‘दिनुस् सर, जाम,’ धेरै नबोल्ने स्वभावको सुवासजीले पैसा तिरेर हिँडिहाल्ने मनसाय व्यक्त गरे । लाग्यौँ बेसीशहरतिर । अलि पर पुगेपछि बाटोमुनि धान ढलेको खेत भेटियो । ‘नेतालाई भोट र किसानलाई धान भित्र्याउने चटारो भन्ने थिममा फोटो फिचर गर्ने त ?’ भनेर कुरा गर्‍यौँ । हुन्छ भन्ने भयो । मोटरसाइकल रोकेर सुवासजी क्यामेरा सोझ्याउन थाले धानखेततिर । केही शट फोटो खिचेपछि भने ‘जाम, यो फोटोको काम छैन ।’ ‘किन, के भयो र ?’ मैले सोधें । ‘धानखेत पनि थोरै छ, फेरि बिजुलीको तारले फोटो पनि राम्रो आएन’ सुवासजीले कारण खोले । बढियो बेसीशहरतिर । म पनि मनमनै गमें, चुनावको समाचार पढ्न छाडेर धानको समाचारको शेयर के पो बढ्ला र । जाडो, धुलो, थकाई र अलिअलि भोक पनि । अलि पर पुगेपछि फेरि बसियो चिया खान । बाटो मुनितिरको एउटा होटल । होटल पनि खासमा दारु र सेकुवा मात्रै पाइने खालको रहेछ । कालो चिया पाइन्छ होला भन्ने लागेर मोटरसाइकल रोक्यौँ । त्यो ठाउँलाई रामादी भनिदो रहेछ । ‘कालो चिया पाइन्छ दाइ ?’ होटलवालालाई सोध्यौँ ।  फरासिलो स्वभावका रहेछन् होटलवाला । ‘कालो, सेतो, चिसो जस्तो पनि चिया पाइन्छ यहाँ’ उनले भने । हामी भने होटल नछिरी नजिकैको बेन्चमा घाम ताप्दै बस्यौँ ।  हामी होटलेसँग गफिँदै गयौँ । र, हामी रिपोर्टिङमा हिँडेको मुख्य विषय चुनावकै बारेमा कुरा झिक्यौँ ।  ‘जाँड बेचेर बस्नेलाई कसले चुनाव जित्छ भन्ने कहाँ थाहा हुन्छ र ?’ लमजुङमा कुन पार्टीले चुनाव जित्ला भन्ने प्रश्नमा होटलवालाले मुखभरिको जवाफ फर्काए हामीलाई । तर, हामी पनि उनको यो जवाफले चुप लाग्नेवाला थिएनौँ । र, सोध्यौँ– तपाईंकोमा दारु खान आउनेले कसले जित्छ भन्छन् भनेर सोधेको नि दाइ ? ‘पोहोर परारको जस्तो दारु खाँदै चुनावको कुरा गर्नेहरू आएका छैनन् है मेरोमा अझै । अघिल्ला चुनावहरूमा भने यो बेलासम्म मेरोमा बियर र सेकुवा धेरै गइसकेको हुन्थ्यो । कुरा पनि चुनावका मात्रै हुन्थे । रक्सी खाएको बेलामा मान्छेले सही कुरा बोल्छ । त्यसैले कसको पक्षमा माहौल छ भन्ने पनि थाहा हुन्थ्यो,’ उनी थप खुल्न थाले । ‘तपाईंसँग चुनावका बारेमा केही कुरा गर्न खोजेको दाइ,’ मैले ज्याकेटको खल्तीबाट सानो स्पाइरल प्याड निकाल्दै भनेँ । उनले ‘हुन्छ’ भनेपछि सुवासजीले क्यामेरा झिके । मैले परिचय मागेँ । ‘मेरो नाम रिखिराम थापा हो, खरायोको ख है, स नलेखिदिनु होला,’ नेपाली विषयका शिक्षकले जस्तै गरी उनको नाम लेख्न सिकाए । ‘अनि, कसलाई हाल्नु हुन्छ भोट ?’ हामीले सोध्यौँ ।  ‘पोहोर परार हो भने तपाईंलाई म यो प्रश्नको जवाफ दिने थिइनँ, यसपालि भने दिन्छु, मेरो घरमा ५ भोट छ, हामी एकै ठाउँमा हाल्छौँ तर, कसलाई हाल्ने भन्ने ठेगान भएको छैन, मेरा ३ वटा प्रश्न छन्, ती प्रश्नको सही जवाफ जसले दिन्छ, हाम्रो परिवारको भोट उसैलाई,’ थापाले हाजिरी जवाफ शैलीमा भने । के हुन् त उनका ती ३ वटा प्रश्न ? हामीले जान्ने प्रयास गर्‍यौँ ।  उनले विद्यार्थीलाई प्रश्न टिपाए झैँ भने– ल टिप्नुस् न त मेरा प्रश्न । उनको पहिलो प्रश्न रहेछ– तिम्रा घर तकको बाटो (घरसम्म जाने बाटो) पिच गर्ने कि नगर्ने । दोस्रो प्रश्न– आफन्त र नातागोतालाई जागिर लगाउने कि नलगाउने । र, तेस्रो प्रश्न– चुनावपछि भेट्दा चिन्दिनँ भन्ने कि नभन्ने ? यो त कुन गाह्रो प्रश्न भयो र ?  ‘प्रश्न गाह्रो छैन, उत्तर सही दिनु पर्‍यो नि,’ उनले सही बोल्नेलाई नै भोट हाल्ने बताए । हामी थापासँग गफिँदै चिया खाँदै गर्दा पार्टीको झण्डा राखेको गाडीसहित माइकिङ गर्दै एक टोली भोट माग्न नजिकै आइपुग्यो । त्यस टोलीबाट ३ जना कार्यकर्ता थापासँग भोट माग्न होटलमा आए । एक जना फोनमा व्यस्त हुँदै थिए ।  नभन्दै थापाले भोट माग्न आउनेहरूलाई आफूसँग केही प्रश्न भएको र त्यसको सही जवाफ दिनेलाई मात्रै भोट दिने सुनाए । भोट माग्न आउनेले उनलाई प्रश्न सुनाउन भने । थापाले अघि हामीलाई भनेकै तीनवटा प्रश्न सोधे ।  ‘दाइ, तपाईंले कसैलाई भोट त हाल्नैपर्छ, तपाईंले प्रश्न सोधेर जवाफ दिए पनि त्यो वाचा पूरा गर्ने होइनन्, किन बेकारको प्रश्न सोधेर उम्मेदवारलाई दिक्क पार्नु हुन्छ ?’ भोट माग्न आउनेले थापालाई जवाफ फर्काए ।  थापा भोट माग्न आउनेसँग उनका प्रश्नको जवाफ उम्मेदवारसँग सोधिदिन भनिरहेका थिए । भोट माग्न आउनेहरू प्रश्न सोधेर केही नहुने भनेर थापालाई नै सम्झाउन खोज्दै थिए । थापा आफ्नो कुरामा अडिग भए । भोट माग्न आउनेहरू झण्डा हल्लाउँदै अलि अलि गर्दै थापाबाट तर्किए । हामी भने चियाको पैसा तिरेर हुइँकियौँ बेसीशहरतिर । ...खै, मौन अवधिअघि मङ्सिर १ गतेसम्म थापाजीका यी यक्ष प्रश्नको जवाफ कुनै उम्मेदवारले दिइ पो हाल्छन् कि ?