पपुलिज्मको भूत
१२७ दिन अगाडि
|
१४ माघ २०८२
भुवन चौधरी
मान्छे गाउँ छाडेर,
जब शहर बस्तीमा घुम्छ,
मान्छे ऐनामा होइन,
भीडको आँखामा
आफूलाई खोज्न थाल्छ ।
कहिले जात फेर्छ,
पहिचानको छाला फुकालेर
कालो षड्यन्त्रको,
नयाँ नारा ओढ्छ ।
कहिले धर्म फेर्छ,
आफ्नो डिउरहार जलाएर
आस्थामाथि चोट पुर्याई ,
ताली बज्ने ठाउँ रोज्छ ।
कहिले पार्टी फेर्छ,
विचार होइन,
बैगुनी रंग भरिएको
बेलुन जस्तै,
हावा बगेको दिशा पछ्याउँदै ।
कहिले नाम फेर्छ,
इतिहास लुकाएर
आफ्नो
धरातल बिर्सिएर
क्षणिक लोकप्रियताको फ्ल्यासप्रिन्ट वाला
साइनबोर्ड टाँस्दै ।
र कहिले त
हुलिया नै फेर्छ,
बोली, चाल, आँखा, अनुहार
सबै उधारो लिन्छ भीडबाट,
आफूचाहिँ हराउँछ ।
खै किन हो कुन्नी,
पपुलिज्मले मान्छेलाई
माटोसँग जरा गाँसेको
स्वामीको रुख बन्न दिँदैन
एकै क्षणमा
ओइलाइ जाने
गमलाको फूल हुन सिकाउँछ ।
पानी ताली हो,
हुरी जाली
माटो वाहवाही र आयु
अर्को ट्रेन्ड आउँदासम्म ।
....................
घोराही १६, भगवानपुर, दाङ